पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

उदयपुर:   होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता  भएकी त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको र बिहान जाल हेर्न जाँदा मृतक मगरको शव पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रेखाको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बताए ।मङ्गलबार मात्र बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको शव पनि घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो । तीन दिनअघि त्रिनपा–१४ साउनेका १२ वर्षीया रेखा मगर, १४ वर्षीय लोकबहादुर मगर र ८ वर्षीय रिदम मगर होली खेलेर सुनकोशीमा नुहाउन जाँदा नदीमा बेपत्ता भएका थिए ।  बेपत्ता बालबालिकाको प्रहरी र स्थानीयसहित सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी राखेका छन् । हराएकामध्ये मङ्गलबार साँझ रिदम मगरको शव फेला परेको थियो । अर्का बेपत्ता १० वर्षीय लोकबहादुर मगरको शव फेला पर्न नसकेको पनि प्रहरीले जनाएको छ ।

पोखरा:    सेती नदीमा हाम फालेर बेपत्ता भएका पोखरा–१६का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो ड्याम खोलिने भएको छ ।  गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोला नभेटिएिपछि कास्की प्रहरीले भोलि (बिहीबार) ड्याम खोलेर खोज्ने तयारी गरेको हो ।  पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।  पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम भोलि (बिहीबार)खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने प्रहरी निरीक्षक रानाले बताए ।  गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलालाई प्रहरीले परिवारको आग्रहपछि फागुन २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो ।  बास्तोलाको परिवारले पुनः दोस्रो ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनको स्मृति प्रतिष्ठान सञ्चालनमा आएको छ। संस्थापक अध्यक्ष पुनमगरको स्मृतिमा ‘हेमबहादुर पुन स्मृति प्रतिष्ठान’ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएर सञ्चालनमा आएको हो।   प्रष्ठिानका सचिव मेजन पुनका अनुसार संस्थापक अध्यक्ष पुनको २० औँ स्मृति दिवसको अवसरमा गत भदौ ३१ मा नेपाल मगर संघको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमले प्रतिष्ठान सञ्चालनमा ल्याउने निधो गरेको थियो। सोही निर्णय बमोजिम संस्थापक अध्यक्ष पुन मगरका छोरा पूर्वमन्त्री उत्तम पुनको संरक्षकत्वमा प्रतिष्ठान विधिवत दर्ता भएर सञ्चालनमा आएको हो। क्याप्टेन रविन्द्र पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहने सचिव पुनले जानकारी दिए। प्रतिष्ठानले संस्थापक अध्यक्ष पुन मगरले देखाएको बाटो फराकिलो पार्दै लैजाने अठोट गरेको सचिव पुनले जानकारी दिए। ‘हेमबहादुर पुन मगर ज्यूले मगर जातिको उत्थानमा गर्नु भएको लगानी त हामीले पूरा गर्न सक्दैनौँ। तर उहाँले देखाउनु भएको बाटो, मगर जातिलाई जागरुक बनाउन प्रतिष्ठानले जति सक्छ प्रयास गर्ने छ,’ उनले भने।   संस्थाले सामाजिक कल्याणका लागि गरिब दिनदुखीको हितका लागि पनि काम गर्ने उनले जानकारी दिए।   संस्थापक अध्यक्ष पुनमगर ब्रिटिश आर्मीबाट अवकाश भएपछि नेपाल आर्मीमा सेकेण्ड लेफ्टिनेन्टमा भर्ती भएका थिए। पुन मगरको विस १९७५ बैशाख ६ गते म्याग्दीको तत्कालिन शिख, हाल अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा जन्म भएको थियो।

काठमाडौं:     विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो । मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । 

पाल्पा:    पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेकी छन् । रिब्दीकोट गाउँपालिका वडा नं। १ ख्याहाकी १८ वर्षीया पद्यमा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी हुन् । बिहान नौ बजेतिर नुहाउन भनी घरबाट हिडेकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिए ।  वडाध्यक्ष पोखरेलकाअनुसार उनको हातको औला, पाखुरा र अन्य स्थानमा पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनाबारे अनुसन्धानका लागि जिल्लास्थित प्रहरीको टोली र स्थानीय घटनास्थलमा पुगेका छन् । घटनास्थल पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले पनि धारितो हतियार प्रयोग भएको हुँदा हत्या भएको हुने सक्ने बताए । अनुसन्धान जारी रहेको हुँदा घटनाको पूर्ण विवरण आउन बाँकी रहेको श्रेष्ठको भनाइ छ ।

तनहुँ:    तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण  भएको छ ।  तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताउनुभएको छ ।  पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उहाँले बताउनुभयो । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।

पोखरा:     पोखरामा जारी नेकपा एमालेको कास्कीको ११ औं जिल्ला अधिवेशनमा अन्तिम दिन उम्मेदवारीको अन्तिम सूची प्रकाशन भएको छ । मंगलबार निर्वाचन मण्डलले अन्तिम नामावली प्रकाशन गरेको हो ।  अधिवेशनले १ सय २१ सदस्यीय उम्मेदवार चयन गर्नेछ । नयाँ नेतृत्वको लागि दुई प्यान बनेको छ । यद्यपि अध्यक्षमा एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।    माधव बास्तोला र बैनबहादुर क्षेत्रीको अध्यक्षमा उम्मेदवारी परेको हो । उनीहरुले छुट्टाछुट्टै प्यान बनाएका छन् । यद्यपि विवेक त्रिपाठीको उम्मेदवारी अध्यक्षमा परेको छ ।  

हेटौँडाः   बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको छ । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।    उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र  बागमती प्रदेश प्रमुखलाई जानकारी गराएको बताउनुभयो । हाम्रो नेपाली पार्टीले गत वर्ष पुसमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएको थियो ।    संसदीय दलका नेता वज्राचार्यले  प्रदेशमा आफूहरुले मुख्यमन्त्री माग गरेको बताउँदै मुख्यमन्त्री नपाएमा विपक्षमा बस्ने बताउनुभयो ।    यसअघि नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । यस प्रदेशमा हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् । 

काठमाडौंः   इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ ।    पाँचथर तथा ताप्लेजुङ जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसन लाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाउँपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जडान गरिएको छ ।    २०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पूरा गरेको हो। यो आयोजना निर्माण सम्पन्न गर्नका  लागि एक सय ९४ करोड रुपियाँ लागत लागेको छ ।    जसमध्ये संस्थापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नविल बैङ्क लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाउँपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ ।    यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावर हाउसमा पानी खसाली विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावर हाउसको काम लटिनाथ कन्स्ट्रक्सन कम्पनी प्रालि र इन्टेक तथा पाइप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो  । यसको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो ।    यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरू युरोपियन प्रविधिको छनोट गरी जेपट हाइड्रो अस्ट्रियाबाट खरिद गरिएको कम्पनीका कार्यकारी सञ्चालक सतिस न्यौपानेले जानकारी दिनुभयो ।    जेपट हाइड्रो अस्ट्रियाबाट आयात गरिएको टर्वाइन  र गामेशा स्पेनबाट आयात गरिएको जेनेरेटर राखिएको छ । कन्ट्रोल रुममा राखिएका प्यानल वोर्डहरु क्रोएसियाको प्रो–इन्ट्रीगिस कम्पनीबाट आयात गरिएको समेत न्यौपानेले बताउनुभयो ।    यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको छ । गुरुप्रसाद न्यौपानेको अगुवाइमा प्रवर्द्धन गरिएका न्यौपाने समूहको अगुवाइमा रहेका आयोजनाको सङ्ख्या १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सबस्टेशनमा जडान गरी आरपुर–दमक १३२ केभि ट्रान्समिसन लाइनमार्फत नेपालभर आपूर्ति भएको छ ।