म्याग्दी: दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र‘ घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो । करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो । कुनै समय गोठमा रहेका पशुचौपाया र ठेँकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो । अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् । गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन् । रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै सङ्कटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन् । गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेँकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आउनुभएका बुर्तिबाङका नोठबहादुर विकले बताए । रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ । काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि सङ्कटमा पर्न थालेका उनको भनाइ छ । ‘व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ’, विकले भने । वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका(५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । १०र१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए । आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक रू २५ र ३० हजारसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए । अहिले मुस्किलले मासिक रू पाँचरसात हजार मात्र कमाइ हुने गरेको श्रीकृष्णलालले बताए । उनले भने, ‘प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।’ बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् । विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।
तनहुँ: तनहुँको भिमाद नगरपालिका– मिछुर्लुङ्गमा कौराहा प्रतियोगिता हुने भएको छ । नेपालीहरुको नयाँ वर्षको दिन मगर समुदायमा प्रचलित कौराहाको संरक्षण गर्दै गाउँको पर्यटन प्रबद्धन गर्नुका साथै स्थानीयको आयआर्जनमा वृद्धि गर्ने हेतुले कौराहा प्रतियोगिता आयोजना गर्न लागेको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । साथै कौराहा प्रतियोगिताको अवसरमा लोकदोहोरी गायक राजु परियार र लोकदोहोरी गायिका शिला आलेको पनि विशेष सांगितक प्रस्तुति हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने समुहले नगद ७५ हजार, द्धितीय हुनेले ५० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुने दुई समुहले १०÷१० हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । कौराहा करिब वि.सं १९८० सालमा तनहुँको रिसिङबाट सुरु भएको पाईन्छ । कौराहा गीत भर्खरका ठिटाहरूले खैँजडी बाजा बजाएर गाउने गर्छन् भने त्यस गीतमा चढ्दो उमेरका युवतीहरू भेषभूषामा सजिएर ताल मिलाएर नाच्ने गर्छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो । भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिनुभएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो । भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।
चितवन: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे । प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए । हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताए । उनले भने, “प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।” तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताए । राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उनले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताए । विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताए। राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो ।
अछाम: अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएको प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा आज आयरल्याण्डसँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ। नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी-२० खेल खेल्नेछ। त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ। सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ। सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी-२० र तीन एकदिवसीय खेल्ने तालिका छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टी-२० र एकदिवसीय खेल खेल्ने टिम घोषणा गरेको थियो। नेपाली टिम रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द।
सुर्खेत: नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला)मा टिकाराम सोमै निर्वाचित भएको एमाले सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भइन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
ललितपुर: ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । होली खेल्ने क्रममा गएराति दुई समूहबीच झडप भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए । उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
पोखरा: पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम गर्न, शिक्षा क्षेत्र सुधारको सुरुवात ९ नम्बर वडाबाट भएको सन्देश राष्ट्रव्यापी रुपमा दिन आग्रह गरे । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षामा ९ नं. वडा कार्यालयलले चासो देखाउँदै सरकारी विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलन गरिएको वडा सचिव कुलराज पौडेले जानकारी दिए । गोष्ठीमा तिन समूहले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोलविकास संस्था र वडा कार्यालयको भूमिकामा समूहगत छलफल गरी प्रस्तुतिमा आएका सुझावहरूलाई नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न गराउन सहमत भई वडा अध्यक्ष दिपेन्द्र मर्सानी, सदस्यहरू गिता चर्माकार, नन्दराम गिरी, भावना श्रेष्ठ र लक्ष्मी पहारीको रोहवरमा प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । वडा कार्यालयले प्रतिवद्धतालाई कार्यान्वयन गर्न आवश्यक बजेट र लगानी गर्ने घोषणा गरेको छ । महेन्द्र माध्यमिक विद्यालय व्यववस्थापन समितिका अध्यक्ष जगतबहादुर खत्री, प्रधानाध्यापक रामदत्त पौडेल, नवप्रभावत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिती पाण्डे, प्रधानाध्यापक मायाकुमारी थापा, सहरा बाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीले ९ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गर्दै नयाँ शैक्षिक २०८१ बाट शैक्षिक गुणस्तर अभिवृद्धि र एकरुपताका लागि सहमति जनाएका हुन् । प्रतिवद्धतामा ९ नं. वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा न्यायोचित बजेट विनियोजन गर्ने, अभिभावकलाई वडा शिक्षा समितिमार्फत् अभिभावक शिक्षा सञ्चालन गर्ने, पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, प्रधानाध्यापकहरूले वार्षिक शैक्षिक कार्ययोजना निर्माण गरी लागु गर्ने, कार्यसम्पादनका आधारमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीले कठिन ठानेका विषयमा आवश्यकता अनुसार अतिरिक्त कक्षा सञ्चालन गर्ने, विपन्न विद्यार्थी पहिचान गरी आर्य आर्जनका लागि सिपमुलक र उद्यमशीलता तालिम सञ्चालन गर्ने, अतिरिक्त सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्न शिक्षकको व्यवस्थापन गर्ने, वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई एकरूपताको लागि एकै प्रकारको व्याचको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । टोलविकास संस्था वडा समन्वय समिति पोखरा ९ को समन्वयमा आयोजित गोष्ठीमा अध्यक्ष उत्तम जोशी, वडा बाल मञ्चकी उपाध्यक्ष परी बस्नेत, महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर खत्री, नवप्रभात माध्यमिक विद्यालयक व्यवस्थापन समितका अध्यक्ष प्रिती पाण्डे, सहारा बाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकाली, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मी, सञ्चारकर्मी सुरेश रानाभाट, शिक्षक जितबहादुर खनाल, रुपा केसी लगायतका वक्ताले वडाभित्रका ३ वटा सरकारी विद्यालयको सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वडाले गरेको पहल प्रशसनीय रहेको धारणा राखे । वडा अध्यक्ष दिपेन्द्र मर्सानीको सभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीमा वडा सदस्य नन्दराम गिरीले स्वागत मन्तव्य राखेका थिए भने वडा सचिव कुलराल पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

