पोखरा: नेकपा एमाले कास्कीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । कास्कीमा नयाँ नेतृत्वका लागि माधव बास्तोला र बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् । बास्तोला र क्षेत्रीले प्यानल बनाएर उम्मेदवारी दिएपनि त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । २०७४ को निर्वाचनबाट जिल्ला समन्वय समिति कास्कीका सभापति समेत बनेका क्षेत्री एमाले कास्कीका सचिव हुन् । युवा संघको केन्द्रीय उपाध्यक्षसमेत बनेका अध्यक्षका उम्मेदवार बास्तोला मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष समेत हुन् । माधव समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् । क्षेत्री समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् । अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचन गर्ने कार्यतालिका छ । उक्त अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिइरहेका छन् । जिल्ला अधिवेशन चैत १० गते सुरु भएको हो ।
बाँके: कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते विकले आफ्नी श्रीमती २१ वर्षीया सुशीला सुनारको ढाडमाथि धारिलो हतियार प्रहार गरि घाइते बनाएको र उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याएका थिए । धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि विकले औषधि उपचारका लागि अस्पताल पुर्याएको जानकारी पाएर प्रहरी त्यहाँ पुग्दा सुशीला सुनारको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ । अस्पतालबाटै विकलाई मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका विकमाथि थप अनुसान्धान जारी रहेको कोहलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विक दम्पती कोहलपुर नगरपालिका वडा नं। १४ पार्वतीपुरस्थित वागेश्वरी होम पाइप एण्ड पोल उद्योगमा काम गर्दै आएका थिए ।
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको छ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली २४ सै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए । उनले सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको बताए । यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ । जिम्मेवारी ईलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितिबारे जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुनगई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिबृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन हुनेछ । साथै एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग ‘लिङ्कअप’ गरी गस्तीलाई चक्रको रुपमा निरन्तरता दिने जनाइएको छ ।
ललितपुर: ललितपुरमा दुई जनाको हत्या भएको घटनामा पक्राउ परेका १८ जनामध्ये चारसहित पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाइन लागिएको जानकारी दिएको हो । प्रहरीका अनुसार खोटाङका विजय राई, सुलभ राई, भोजपुरका मुकारुङ राई र काठमाडौँका छेङ्वीहाङ राई विरुद्ध मुद्दा चल्नेछ । उनीहरु यसअघि नै पक्राउ परिसकेका छन् । यस्तै घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको र उनीविरुद्ध पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा दुई युवाको हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यो पनि पढ्नुहोस ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप, दुईजनाको मृत्यु ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टमा सोमबार राति दुई जनामाथि चक्कु प्रहार भएको थियो । घटनामा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ । पुजन राईलाई सुमेरु अस्पतालमा र रोबसलाई पाटन अस्पतालमा भर्ना गरेपछि प्रहरीले खबर पाएको थियो । राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
काठमाडौं: प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । उनका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो । निजहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए ।
धनुषा: धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए ।
म्याग्दी: म्याग्दीका जनप्रतिनिधिको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठसँगको भेटमा सङ्घीय सरकारमार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति दिने विषयमा पनि छलफल भएको छ । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, माओवादी केन्द्रका युवा नेता नगेन्द्र केसी सहभागी भएका थिए । माओवादी केन्द्रका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्मा र गण्डकी प्रदेशसभाको संसददीय दलका नेता हरिबहादुर चुमानसमेत सहभागी प्रधानमन्त्री दाहालसँगको भेटघाटमा गण्डकी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल भएका प्रदेशसभा सदस्य भण्डारीले बताए । “भेटघाटका क्रममा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था, थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो,” उनले भने, “बेनी अस्पतालको भवन, मालढुङगा–बेनी, बेनी–जोमसोम सडक, बृहत पिप्ले–भगवती, घोप्टेखोला खानेपानीलगायत सङ्घीय सरकारमार्फत सञ्चालित योजनामा भएको ढिलाइका विषयमा ध्यानाकर्षण गराएका छौँ ।” बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव स्विकृत गर्न अर्थमन्त्री पुनलाई अनुरोध गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताए । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठलाई बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन– रुकुम पूर्व जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउन प्रस्ताव गरिएको उनले बताए । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट व्यवस्था मिलाउन पनि अर्थमन्त्रीलाई टोलीले अनुरोध गरेको टोलीले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग बेनी बजार संरक्षण आयोजनालाई पूर्णता दिन थप बजेट व्यवस्थापन, बगरफाँट, सिङ्गा, तातोपानी, बाबियाचौर, दरवाङ, गलेश्वर, तिप्ल्याङ, भुरुङ्ग–तातोपानी, पोखरेबगरलगायत तटीय बस्ती संरक्षणका लागि नयाँ आयोजना माग, निर्माणाधिन राहुघाटलगायत जलविद्युत, विद्युतिकरण र प्रशारण लाइन आयोजनालाई गति दिने विषयमा छलफल भएको थियो । टोलीले सहरी विकास मन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री राजेन्द्र राई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग पनि भेटघाट गरेर विकास आयोजनामा बजेट व्यवस्थापनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।
पोखरा: नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन पोखरा समागृहमा जारी छ । नयाँ नेतृत्वका लागि सहमति जुटाउने प्रयासभएपनि संभावना नदेखिएपछि आज (मंगलबार) दिउँसो साढे १ बजेदेखि मतदान हँुदैछ । आज हुने चुनावमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्यानल खडा गरेरै चुनावी मैदानमा उत्रिएका छन् । यद्यपी गुट उपगुट नभएको भन्दै यसलाई प्रजातान्त्रिक पद्धतीको परिभाषा दिइएको छ । तर यो चुनाव दुई गुटबीच हुँदैंछ । जसलाई केआर र पिएस नामबाट सम्बोधन गर्ने गरिएको छ । के आर समूहबाट अध्यक्ष पदका लागि बैन बहादुर क्षेत्री चुनावी मैदानमा छन् भने पिएस गुटबाट माधव बास्तोलाले टक्कर दिदैंछन् । यस्तै सचिवमा के आरको समूहबाट लेख बहादुर (दर्शन) लामा तामाङ उम्मेदवार छन् भने पिएस समूहबाट सुरेन्द्र गुरुङ उम्मेदवार छन् । विद्युतीय मेसिनबाट मतदान गराउने तयारी रहेको निर्वाचन कमिटीले जनाएको छ । १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नका लागि कुल ९ सय ३५ जना प्रतिनिधिले मदतान गर्नेछन् । यस्तो छ प्रचार समाग्री:- बैन बहादुर क्षेत्री दर्शन लामा माधव बास्तोला सुरेन्द्र गुरुङ
म्याग्दी: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो । “नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।” सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताउनुभयो । यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ । सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो । विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “सामान्य अवस्थामा २० मिनेटमा बेनीबाट मालढुङ्गा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ”, उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।” यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरलानाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

