प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो भन्नुभएको छ । “राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।  “विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ,” शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ–मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ । लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने हामीले बिर्सन नहुनेमा राष्ट्रपति पौडेलले जोड दिनुभएको छ ।  नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अङ्गिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपतिले प्रजातन्त्र दिवसले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ । 

काठमाडौं:     आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ ।   विक्रम संवत् २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सरकारले दिवसको अवसरमा  फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने यसअघि नै निर्णय गरेको थियो । सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा  ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च, टुँडिखेलमा विगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा भोलिसम्म प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्ज्वलन गरिनेछ ।

दमौली:   तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।   मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

पोखरा:     खराब अवस्थासँग जुध्दै आइरहेको नेपालको अर्थतन्त्र यतिबेला इतिहासकै सबैभन्दा अप्ठ्यारो समयमा छ ।  देशको शाशन व्यवस्था, कुटनितिक सम्बन्ध, प्राकृतिक प्रकोप आदिका कारण विभिन्न समयमा प्रहार भइरहेको नेपालको अर्थतन्त्र सधैँ तंग्रिने प्रयासमा मात्रै रहेको देखिन्छ । अहिलेको अवस्थाबाट नेपाललाई आर्थिक समृद्धितर्फ कसरी लैजान सकिन्छ भन्ने विषयमा आइतबार पोखरामा छलफल भएको छ ।  सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन व्यवसायी निर्वाण चौधरी र अर्थशास्त्री समीर खतिवडासँग छलफल भएको हो, जसको सहजीकरण अर्का व्यवसायी निरञ्जन श्रेष्ठले गरेका थिए ।  अर्थशास्त्री खतिवडाका अनुसार नेपालको अर्थतन्त्रमा दिर्घकालिन रुपमा दुई मुख्य ठूला समस्या रहेका छन् । जसमा आर्थिक वृद्धिदर कजोर हुनु र रोजगारी सिर्जना गर्न नसक्नु हुन् । त्यस्तै निजि क्षेत्र र सरोकारवाला निकायबिच समन्वय नहुनु, सहि ठाउँमा लगानी हुन नसक्नु, अस्वस्थ कर्मचारीतन्त्र आदि अहिलेका समस्या रहेको उनले बताए ।  हाल विद्यमान समस्याका बारेमा बोल्दै चौधरीले नेपालको परम्परागत कृषी पद्धती तथा पर्यटन व्यवसायमा परिवर्तन ल्याउनु पहिलो आवश्यकता रहेको जनाए । देश समृद्धि तर्फ उन्मुख हुने सम्भावना अझ रहेको बताउँदै उनले भने, ‘भारतमा पनि १५÷२० वर्ष अगाडि ब्रेन ड्रेनको समस्या थियो । बिस्तारै सहि दिशामा जाँदैछ । भुटान, बंगलादेश, श्रीलंका पनि नेपालका लागि उदाहरण बनिसकेका छन् ।’ ‘भारतमा स्पेशल इकोनोमिक जोनमा ठाउँ, कर, तथा नीतिगत रुपमा विभिन्न सुविधा दिइएको हुन्छ । त्यसो गर्दा स्थानियले रोजगार पाउँछन् । यो त्यहाँ पछिल्लो १५ वर्षमा देखिएको परिवर्तन हो ।’ उनले भने, ‘अहिले अस्तित्वमा रहेका प्रविधिको प्रयोग गर्न नसक्दा कृषीमा आधारित अर्थतन्त्र भएर पनि हामीले चामल मगाउनुपर्ने अवस्था छ ।’ रातो चामल, कालो चामल जस्ता नेपालका विभिन्न ठाउँमा उत्पादन हुने मौलिक अन्नलाई विश्व बजारमा लैजान नसक्दा त्यसको फाइदा उठाउन नसकिएको उनले बताए ।  त्यस्तै नीतिगत अस्थिरता नेपालको अर्को कमजोरी रहेको खतिवडाले बताए । निजी क्षेत्र असफल हुँदा देशको अर्थतन्त्रमा पनि धक्का लाग्ने जिकिर गर्दै उनले भने, ‘हाम्रोमा जस्तो करको दायरामा चलखेल अरु देशमा देखिँदैन । नीतिगत भ्रष्टाचारले गर्दा निजी क्षेत्र मारमा परेका छन् ।’ साथै नीतिगत रुपमा सहयोग नहुँदा निजी क्षेत्रबाट सरकारले पनि पाउने आर्थिक लय गुमाउने उनले संकेत गरे ।  नीति बनाउनमा निजी क्षेत्रको प्रत्यक्ष हात नभए पनि निजी क्षेत्रले गर्न सक्ने ठाउँ धेरै रहेको चौधरीले बताए । पछिल्लो पाँच वर्षमा खुलेका १५ चाउचाउ कम्पनी मध्ये १० कम्पनी बन्द भएको बताउँदै त्यसमा ति कम्पनीको बजार व्यवस्थापन तथा आन्तरिक रणनीति नै मुल कारक रहेको उनले जनाए । निजी क्षेत्रमै पनि पुरानोलाई बचाउन गाह्रो भइरहेका बेला नयाँमा कसरी लगानी गर्ने भन्ने मानसिकता रहेको उनको भनाइ थियो । साथै नीतिगत रुपमा स्थिरता आएपछि मात्रै आर्थिक समृद्धि हाँसिल हुनेमा उनले जोड दिए ।  आर्थिक वृद्धिको चाहना गरेर जादुको अपेक्षा गर्ने र सिस्टम मै हेराफेरी गर्नु नेपालको अर्को ठूलो समस्या रहेको अर्थशास्त्री खतिवडाले बताए । ‘विहार र युपीमा पनि औद्योगीकरण नभएसम्म वृद्धि हाँसिल गर्न सकिँदैन भन्ने बुझेर लगानी गरेका छन् ।’ भारतका राज्यको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ गारमेन्टमा काम गर्ने त्यसमा सिप भएका जनशक्ति धेरै छन् । जसलाई मध्यनजर गर्दै त्यहाँको सरोकारवाला निकायले जनतालाई घर मै बसेर काम गर्ने वातावरण बनाइदियो ।’ साथै दक्ष जनशक्ति उत्पादनका लागि राज्यबाट लगानी हुनुपर्ने र त्यसले विदेशी कम्पनीलाई आकर्षित गर्न सक्ने उनले बताए ।   उनका अनुसार नेपालले अहिलेको अवस्थामा बंगलादेशको जस्तो अर्थतन्त्र बनाउनका लागि अझै दश वर्षसम्म ७ प्रतिशतका दरले र श्रीलंका जस्तो बन्नको लागि सोही दर २५ वर्षसम्म निरन्तर आर्थिक वृद्धि गर्नुपर्ने अवस्था छ । नीति बनाउने काम गर्दा उक्त तथ्य सम्झिनुपर्ने र छिमेकी राष्ट्रहरुको सफलताका कथाबाट सिक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बंगलादेशमा १५ वर्ष अगाडी मात्रै पनि गार्मेन्ट क्षेत्र एकदमै कम थियो । जुन क्षेत्र अहिले बंगलादेश इकोनोमीको एंकरको रुपमा रहेको छ ।’ निजी क्षेत्र प्रतिको धारणा फेर्न र निर्यात कसरी बढाउने भन्नेमा गम्भिर भएर सोच्नुपर्ने उनले बताए ।   त्यस्तै चौधरीले नेपालको आर्थतन्त्र सबल बनाउनका लागि देशको भौगोलिक अवस्थिति तथा अन्तरराष्ट्रिय सम्बन्ध तथा यहाँका प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।  

पोखरा:   महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यबारे त यहाँहरुलाई जानकारी भएकै हुनुपर्छ । म चाहिँ देवकोटाको साहित्यिक पक्षभन्दा देवकोटाको व्यक्तित्व कस्तो थियो । देवकोटाको आनीबानी कस्तो थिए । देवकोटाका रमाइला कुराहरु केके थिए । यस्ता विषयमा केन्द्रीत हुन चाहेको हो  मैले ।  म त्यतै प्रति नै आफुलाई केन्द्रीत हुँदै लैजानेछु । अब महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरो पिताजी पण्डित सोमनाथ घिमिरे व्यासका मित्र हुनुहुन्थ्यो । मेरो पिता जि पनि नेपाली साहित्य र अंग्रेजी साहित्यमा विद्धान हुनुहुन्थ्यो, लेखक पनि हुनुहुन्थ्यो । हाम्रो मुल घर रामेछाप हो । रामेछापबाट पिता जि बेलाबेलामा भाषा पाठशालामा पढाउनुहुन्थ्यो र काठमाडौं आउने गर्नुहुन्थ्यो । त्यहि आउने शिलशिलामा आफु साहित्य अनुरागी भएको हुनाले लक्ष्मीप्रसाद देवकोटासँग मेरो पिता जि चिनजान गर्न जानुभो । यो चाहिँ विस १९९६ को घटना हो । त्यो बेलादेखि पिता जिको देवकोटासँग परिचय भएको हो । परिचयमा प्रगाढता कसरी थपिदै गयो भने । मेरो पिता जि त्यो बेला श्री ३ भीम शमशेरको टंगाल दरवारमा सम्बन्धित हुनुहुन्थ्यो । त्यहाँ पण्डितको कार्य गर्नुहुन्थ्यो । र यहि टंगाल दरवारमा लक्ष्मीप्रसादकी साइली दिदि पनि कार्यरत हुनुहुन्थ्यो । दिदीको माध्यमबाट देवकोटासँगको मित्रतामा प्रगाढता थपिदै गयो । यसरी आउने जाने क्रम चल्दै गयो ।  मेरो पिता जि धार्मीक कुराहरु लेख्ने । लेखेका कुराहरु देवकोटालाई देखाउनु जानुहुन्थ्यो । देवकोटाले त्यो हेरेर भन्नुहुन्थ्यो रे ‘पण्डित जि तपाईंको चस्माको गलास कहाँको हो । इन्डियन गलास हो की युरोपियन’ । पिता जीले इन्डियन भन्नुभएछ । त्यसपछि देवकोटाले इन्डियाको गलासको काम छैन । युरोपियन चस्मा लगाउनुपर्छ । तपाईंको लेखन रुढिबादी भयो । त्यो इन्डियन क्लासकै प्रभाव हो त्यसैले युरोपियन गलास लगाउनुस् तपाईंले अनि मात्र लेखहरु लेख्नुस् भन्नुभएछ ।  त्यो भन्नुको मतलब तपाईंले आफ्नो लेखनमा दृष्टि विस्तार गर्नुस् । आधुनिक युगलाई सुहाउने खालको पनि लेख्नुस् भन्नृभएको होला भन्ने मलाई लाग्दछ । र यही प्रसंगमा पिता जीले भनेअनुसार देवकोटाको घरमा जानुहुन्थ्यो । देवकोटाको कविताहरु पनि सुन्ने, आफ्नो लेख रचना सुनाउने क्रम चलिरहन्थ्यो । हामी त केटाकेटी थियौं । म चाहिँ १९९८ सालमा जन्मिएको हुँ । मैले ६÷७ वर्षदेखि देवकोटा जिलाई आफ्नो घरमा देख्ने अवसर पाएको हुँ ।  मेरो पिता जि संगीतमा शौख राख्नुहुन्थ्यो । उहाँ तबला पनि बजाउने हार्माेनी पनि बजाउने र देवकोटा जि पनि त्यस्तो संगीतमा चाख राख्ने मेरो पिता जीको बैठकमा उहाँका केही मित्रको जमघट हुने गर्दथ्यो । त्यसमा देवकोटा, उहाँका काइला भाई मधुसुदन देवकोटा, जनकराज शर्मा, रिदयराज शर्मा  यिनीहरुको जमघट हुन्थ्यो । देवकोटा जी हार्माेनियम बजाउँदै गीत गाउन थाल्नुहुन्थ्यो शास्त्रिय संगीत ।  अब देवकोटा जी विरामी हुनुभयो । क्यान्सर रोगले ग्रसित हुनुभयो । मेरो पिता जि टंगाल दरबारसँग सम्बन्धित भएको हुनाले यहाँका राणाहरुको घर कलकत्तामा पनि थियो । त्यो देवकोटालाई पनि थाहा थियो । देवकोटाले पण्डित जी रोगको उपचार गर्न जानुप¥यो । रानी समून्द्रकुमारीको घर हामीलाई उपचार गर्न जानुछ । केही बस्ने व्यवस्था तपाईंले मिलाइदिनुहुन्छ की भनेर भन्नुभएछ । पिता जीले हुन्छ नी किन नहुनु भनेर मिलाइदिनुभयो । उहाँ उपचारका लागि कलकत्ता जानुभयो ।  एकदिन देवकोटाका भाई मधुसुदनले मेरो पिता जिलार्य भन्नुभएछ, पण्डित जि तपाईंलाई दाईले भेट्न खोज्नुभएको छ । एकपटक अस्पताल जानुप¥यो । अनि पिता जी त्यहाँ जानुभयो । जानेवित्तिकै देवकोटा जी जुरुक्क उठेर तल झर्नुभएछ । म बंगभूमिमा मर्ने भएँ । मलाई आफ्रनै भूमिमा पशुपतिनाथ, पवित्र बागमती नदिमा पुग्ने त्यहाँ मर्ने, त्यहाँ जल्ने इच्छा छ मलाई त्यहाँ जाने व्यवस्था मिलाइदिनुस् भनेर देवकोटाले ढोग्दै खोज्नुभएछ । त्यसपछि पिताले उठाउनु भयो । त्यसपछि परिवारप्रति जंगिदै देवकोटाले के भन्नुभएछ भने यीनीहरु मलाई उपचार गर्न आएका हुन् र यहाँ कलकत्ता शयर गर्न आएका हुन् । यहाँ मलाई विरामीलाई छोडेर घुम्न जान्छन् । देख्नुभो अहिले मलाई पागल भन्छन् । देखिहाल्नुभयो होला नी भनेर पिता जीलाई भन्नुभएछ । अनि पिता जीले मैले के सहयोग गर्नुप¥यो । मेरो नेपाल पुग्ने खर्चपर्च जति ल्याएको थिए । सकियो । परिवारसहित काठमाडौं पुग्ने खर्चको व्यवस्था तपाईंले गर्दिनुप¥यो भन्नुभएछ । पिता जीले देवकोटाको भाईलाई सोध्नुभएछः हामीलाई काठमाडौं जान कति लाग्छ । उहाँले ५ सय भए पुग्छ भन्नुभयो । ल म त्यति त दिइहाल्छु नी दिनुभएछ । र महाकविले के भन्नुभएछ भने मैले तमसुक लेख्दिनु प¥यो । त्यसपछि मेरो पिताले भन्नुभएछ मैले तमसुकलाई पत्याएर दिएको हो र मैले त मेरो मित्र लक्ष्मीप्रसाद देवकोटालाई पत्याएर दिएको हुँ । तमसुक समसुक चाहिदैन मलाई । सक्नुभयो भने फिर्ता गरिदिनु होला सक्नुभएन भने मलाई केही चाहिदैन भन्नुभएछ । फेरि महाकविले भन्नुभएछ म त बाच्दिन मरिहाल्छु । व्रमश्वो खाएर मर्छु की भन्ने डर लाग्छ मलाई । भनेर जवरजस्ती गरेर देवकोटाले लेख्नुभएछ अगाडि रहेका किताव र पत्रिकामा लेख्नुभएछ । मैले सोमनाथ घिमिरे व्याससँग ५ सय भारु सापट लिएको छु । त्यो चाहिँ मेरो सन्तानले तिरिदिनु भनेर ४÷५ वटा किताब र पत्रपत्रिकामा लेख्नुभएछ । यो लेखेपछि देवकोटाले भन्नुभएछ, यो देखेपछि मेरो सन्तानले तपाईं पैसा तिर्छन् । अनि मलाई शान्ति मिल्छ ।  (पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा रोचक घिमिरेले ‘महाकवि: महाआख्यान’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश)

पोखरा:       पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता  सम्पन्न भएको छ ।  प्रतियोगिता अन्तरगत समुहगत प्रतिष्पर्धामा बेसलाइन एकेडेमीले उपाधि जित्न सफल भयो । कुल १६ समुहले भाग लिएको यो विधातर्फको उपाधि जितेको बेसलाइनले १ लाख रुपैयाँ हात समेत पा¥यो ।  समुहगततर्फ द्धितिय बनेको निश्चल डान्स एकेडेमीले ५० हजार र तृतीय बनेको कास्की मोडनाइज्ड एकेडेमीले २५ हजार रुपैयाँ हात पारे । समुहगततर्फ पब्लिक च्वाइस अवार्ड इन्ट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले जित्यो । समुहगततर्फ सहभागी भएको रोटरी क्लब अफ पोखरा लेकसाइडलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।   रोटरी दिवसको छेको पारेर आयोजना गरिएको नृत्य प्रतियोगिता अन्तर्गत एकल प्रतिष्पर्धामा रोट्याक्ट क्लब अफ स्यम्भुका सन्तोष थापा मगरले बाजी मारे । कुल ११ जनाबीच भएको एकल प्रतिष्पर्धाको उपाधि जितेका उनले नगद ५० हजार रुपैयाँ हात पारे । एकलतर्फ द्धितिय बनेकी रोट्याक्ट क्लब अफ वालिङकी विन्दु नेपालीले २५ हजार रुपैयाँ र तृतीय बनेकी रोट्याक्ट क्लब अफ बनेपाकी नीति नर्कमीले १२ हजार रुपैयाँ प्राप्त गरे । एकल तर्फ पब्लिक च्वाइस अवार्ड रोट्याक्ट क्लब अफ पोखराकी कुसुम कुमारी थापाले जितिन् ।   स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो । गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना भएको प्रतियोगिताको निर्णायकमा मन कुमार श्रेष्ठ, रबिन गुरुङ र राज बहादुर गुरुङ रहेको कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले जानकारी दिइन् ।   रोटरी क्लब अफ पोखरा प्याराडाइजका उपाध्यक्ष डा. हरि विक्रम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताका सहभागीलाई हौसला प्रदान गर्न ड्रिष्टिक गर्भनर राजेन्द्र धोजु, ड्रिष्टिक गर्भनर नोमिनी विनोद कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल लगायत पुगेका थिए । कार्यक्रमको थप आकर्षणको रुपमा स्टार्स एकल गुरुङ नृत्य प्रतियोगिता २०७९ को मनोरञ्जनात्मक अवार्ड विजेता अर्चना गुरुङको प्रस्तुती समेत रहेको थियो । रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा समुहगततर्फ भने खुल्ला प्रतिष्पर्धा गरिएको कार्यक्रम संयोजक गुरुङले खुलाइन् ।   रोटरी क्लब अफ पोखरा प्याराडाइजले सामाजिक कार्य मार्फत आफूलाई स्थापित गर्न खोजिरहेको छ । कार्यक्रमबाट बचत भएको रकम नृत्य मार्फत महिला शसक्तिकरण अभियानको लागि छात्रवृत्तिमा खर्च गरिने आयोजकले बताएका छन् । रोटरी क्लब अफ पोखरा प्याराडाइजका सचिव देवेन्द्र पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी थापा गिरी र जसु गुरुङले गरेका थिए ।

पोखरा:    पोखरामा मोबाईल चोरी गरेको आरोपमा प्रहरीले स्याङ्जाका प्रेम गुरुङलाई प्रकाउ गरेको छ । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले गुरुङलाई शनिबार प्रकाउ गरेको हो ।   पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित मोबाईल पसलबाट चोरी गरेको आरोपमा स्याङ्जाको विरुवा गाउँपालिका–८ आरुखर्क घर भई पोखरा–१२ माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षीय गुरुङलाई प्रहरीले प्रकाउ गरेको हो ।    गुरुङको साथबाट प्रहरीले चोरी भएको ४ थान मोबाईल आइफोन १०, आइफोन ११, सामसुङ र रेडमी मोबाईल बरामद गरेको छ ।  प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरामा अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा मेगबहादुर तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले सिन्धुपाल्चोक बाह्रविसेका ३१ वर्षीय तामाङलाई हिजो (शनिबार) पोखरा–१८ खपौदीबाट प्रकाउ गरेको हो ।  सिन्धुपाल्चोक बाह्रविसे घर भई पोखरा घुम्न आएका तामाङलाई अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  प्रकाउ परेका तामाङको साथबाट प्रहरीले अमेरिकन डलर ५० को ५ थान, नेपाली २० रुपैयाँको ४ सय ५० थान रुपैयाँ बरामद गरेको छ ।  प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरे अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।    

पोखरा:   बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलको समिकरण पूरा भएको छ ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (आइतबार) दोस्रो चरणका सबै खेल सकिएसँगै प्रिक्वाटरफाइनलका समिकरण पूरा भएको हो ।   बेलिज एफसी र दिव्यज्योती युवा क्लबबीच आज भएको पहिलो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ५–४ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गर्याे ।   खेलमा बेलीजका लागि नकुल तामाङले १ गोल गरेका थिए भने दिव्यज्योतीको तर्फबाट विशाल गुरुङले १ गोल गरेका थिए ।     यस्तै कलमपोखरी र लामागाउँ टिम ‘ए’ बीच भएको दोस्रो निर्धारित समया खेल गोलरहित भएपछि टाइब्रेकरमा ९–८ गोल अन्तरले लामागाउँ विजयी बन्यो ।   तेस्रो खेलमा एट टु नाइनले लामागाउँ टिम ‘बि’लाई १–० गोल अन्तरले पराजित गर्याे । एट टु नाइनको जीतमा धु्रव घिमिरेले निर्णायक गोल गरे ।    यस्तै चौथो खेलमा म्याक्सवेल पोखराले रत्नसमाज क्लब कस्केरीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । म्याक्सवेलको जीतमा अर्जुन थकालीले निर्णायक गोल गरे । अब म्याक्सवेलले प्रिक्वाटरमा तारा एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।    पाँचौ खेलमा नमस्ते ब्रदर्शले मण्डला एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । नमस्तेको जीतमा शोभित भण्डारीले २ गोल र आशिष छन्त्यालले १ गोलको योगदान दिए ।   यसैगरी आज भएको अन्तिम खेलमा एन टु क्याफेले एपेक्स काँडेमाथि ४–० गोल अन्तरले सहज जीत निकाल्यो । एन टुको जीतमा विक्रान्त लामाले २ गोल गरे भने उर्गेन लिम्बु र अभय राणाले समान १ गोलको योगदान दिए ।  खेल संयोजक रामकाजी गुरुङका अनुसार सोमबारदेखि प्रिक्वाटरका खेल हुनेछन् ।   प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।