काठमाडौं: नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ९६ खानीलाई उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिङ्क एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् । घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । ‘नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो’, उनले भने । यस्तै विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ ।
पोखरा: गण्डकी प्रदेश सभाका सांसद विन्दुकुमार थापाले पाएको तलब भत्ता विकास निर्माणदेखि विभिन्न सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सांसदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थापाले एक वर्ष सम्म पाएको पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसबाट दोस्रो पटक निर्वाचित थापाले ०७९ पुस २५ देखि पाएको ८ लाख ९६ हजार १ सय ६० मा रकम थप गरेर ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको सांसद थापाले बताए । गण्डकी प्रदेश सभाको पहिलो कार्यकालमा पनि सांसदले पाउने तलब भत्ता विकास निर्माणमा नै खर्च गरेका सांसद थापाले दोस्रो कार्यकालको तलब भत्तालाई विकास निर्माणमा खर्च गर्ने बताएका हुन् । सांसद थापाले प्रदेश सभाको विभिन्न बैठकभत्तादेखि मासिक पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् । सांसद थापाले पोखरा महानगरपालिका–१६ शान्ति टोलका ५ जनाको घरमा खानेपानीको धारा जडानदेखि विभिन्न बिरामीलाई आर्थिक सहयोग र विकास निर्माणमा खर्च गरेका हुन् ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ। त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो। माघ १२ गते विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। उक्त घटनापछि विमानस्थल सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा बुझाएका थिए। तर उनको राजीनामा फिर्ता गरी प्रहरी प्रधान कार्यालयले उनलाई प्रदेश समन्वय विभागमा सरूवा गरेको थियो।
काठमाडौं: क्यानडाले ओडीआई सिरिजको दोस्रो खेलमा नेपालसामु २ सय ८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रममा लगातार विकेट लिँदै खेलमा फर्केको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी सिंगल चोर्ने प्रयासमा भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे । कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए । ३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा कट बिहाइन्ड गराए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए । ३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२-६ को स्थितिमा पुर्याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए । पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौं विकेटका लागि श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनुअघि ४० रन बनाए । भगवान २० रनमा नटआउट रहे । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २÷२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १÷१ विकेट रह्यो । नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् । क्यानडाले एक परिवर्तन गर्ने क्रममा डिलोन हेलिगरको स्थानमा दिलप्रित बज्वा टोलीमा आएका छन् ।
काठमाडौं: नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको सलान्गर ट्रफ मैदानमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो । जितका लागि हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाईन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएकी हुन् । यस्तै सीता रानामगरले अविजित ३६ र ओपनर कविता कुँवरले चार रन बनाईन् । बलिङमा हङकङ इक्रा सहर र चान बेट्टीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । हङकङका लागि कप्तान चान का यिङ केरीले सर्वाधिक २१ रन, मार्यम बिबीले १९, यम्सिन दास्वनीले १५ र ओपनर नातशा मिलेसले ११ रन बनाईन् । बलिङमा नेपालका पूजा महतो र रुविना क्षेत्रीले दुई दुई विकेट लिईन् । कविता जोशी र सिता रानामगरले एक एक विकेट लिए । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।
काठमाडौं: आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।
चितवन: चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताउनुभयो ।
पोखरा: पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ दी म्याच भारती टिमका ७३ वर्षिय खेलाडी तथा क्याप्टेन लोकमणि भट्ट घोषित भए । ६० वर्षमाथिको खेलमा चार टिमको सहभागिता रहेको थियो । बगर भाइखलकले यस अघिका संस्करणमा ४० वर्षमाथि उमेर समुहको मात्र प्रतियोगिता गराएपनि हाल तीन विधामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूह, ५० वर्षमाथि उमेर समूह र ६० वर्ष माथि उमेर समूहको प्रतिस्पर्धा गराएको हो । भोलि सनिबार ४० र ५० वर्षमाथि उमेर समूहको फाइनल खेल हुँदैछ । ५० वर्षमाथि आयोजक बगर भाइ खलक र संगम भेट्रान उपाधिका लागि भिड्ने छन् भने, ४० वर्षमाथि नागस्वेती भेट्रान हेटौंडा र जोरपाटी भेट्रान काठमाडौं भिड्नेछन् । प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । माघ २१ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
पोखरा: फागुन ११ गतेदेखि नेपाली हलमा प्रदर्शन हुन लागेको गोर्खा वारियर फिल्मी निर्माता टोली प्रचारप्रसार गर्दै आज (शुक्रबार) पोखरा आइपुगेको छ । ‘कथा हाम्रो व्यथा पुर्खाको’ गोर्खा वारियरको प्रदर्शन मिति नजिकिएसँगै निर्देशक मिलन चाम्स प्रचारप्रसार गर्न देश दौदहामा निस्किएका हुन् । शुक्रबार पोखरा आइपुगेका गोर्खा वारियरका निर्देशक मिलन चाम्सले पत्रकारहरुसँग गफिदै करिव ७० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरिएको सुनाए । ‘कथा हाम्रो व्यथा पुर्खाको हो । गोर्खालीहरुको करिव २ सय ९ वर्षको इतिहाससँग जोडिएका धेरै विरताका कथाहरु छन्, यो करिव सातौ पुस्ताको कथालाइ चलचित्रमा समावेश गरेका छौं, निर्देशक चाम्सले भने, ‘जंगलवारको युद्धमा गोर्खाली सेनाहरुको वास्तविक कथावस्तुमा आधारित करिव ७०÷८० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरेका छौं ।’ नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार चलचित्र भएको निर्देशक चाम्सले बताए । ‘नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार मुभी, यता बित्रिसमा हेर्ने हो भने त जंगलवार पहिलो मुभी हो ।’ उनले भने । उनले जंगलवारमा गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरेकोसमेत बताए । ‘गोर्खा वारियर चलचित्रमा पुर्खाको कथालाई समावेश गरेका छौं । गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र परिवेशलाई समेटेका छौं, उनले भने, ‘यस सिनेमाले आम नेपाली जनता यो देशको रक्षक हौं भन्ने विषय समेटेको छ, सिनेमा मात्र बोल्दैन, कल्चर मात्र बोल्दैन ।’

