स्याङ्जा: स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो बढेको हो । उद्योग वाणिज्य सङ्घले कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनका लागि निःशुल्क उपलब्ध गराएको व्यापारिक कक्षमा गाउँपालिकाले बनाएका हस्तकलाका सामग्री प्रदर्शन गरिएको हस्तकला तथा स्थानीय उत्पादन व्यवस्थापन समितिका संयोजक पीताम्बर भुसालले बताउनुभयो । स्थानीय उत्पादनको प्रचार–प्रसार, प्रोत्साहन, प्रवर्द्धन तथा व्यापारीकरणका लागि आयोजकले निःशुल्क ३० कक्ष उपलब्ध गराएको हो । “महोत्सवमा हस्तकला, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी र प्रतिस्पर्धाका लागि राखिएको छ”, उहाँले भन्नुभयो, “हस्तकला तथा कृषिजन्य उत्पादनको प्रदर्शनीले मेलामा आउने दर्शकको ध्यान तानेको छ ।” गाउँपालिकाले त्यसै खेर गइरहेका केराका थामबाट चकटी, गलैँचा, मोडा, चप्पल, सोली, ढकिया, काँचो कपडा, खादालगायत हस्तकलाका सामग्री प्रदर्शनमा राखेको छ । गाउँपालिकाको तर्फबाट कक्षमा रहनुभएकी कृषि प्राविधिक कस्तुरी थापाले महोत्सवमा आउने दर्शकले निकै चासोका साथ सामग्रीको अवलोकन गर्नुका साथै खरिद गरेर लैजाने गरेको बताउनुभयो । गण्डकी प्रदेश र गाउँपालिकाको साझेदारीमा नवप्रवर्द्धन कोषमार्फत गाउँपालिकाभित्रका ३० जनालाई गत वर्ष तालिम दिइएको गाउँपालिकाका कृषि शाखा अधिकृत अनुप पौडेलले बताउनुभयो । गत वर्ष ‘केराको बहुउपयोगितासम्बन्धी परियोजना’ मार्फत केराका थामबाट हस्तकलाका सामग्री बनाउन ३० जनालाई ४५ दिने तालिम दिइएको हो । “तालिममा सहभागी भएकाहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई प्रचार–प्रसारका लागि महोत्सवस्थलमा राखेका हौँ”, उहाँले भन्नुभयो, “तालिमपश्चात् सिकेको सीपलाई व्यावसायिकरूपमा उत्पादन गर्नुभएका व्यक्ति तथा गाउँपालिका आफैँले उत्पादन गरेका सामग्री ‘स्टल’मा राखेका छौँ ।” केराका थामबाट हस्तकलाका सामग्री बनाउने स्थानीय आठ जनालाई गाउँपालिकाले रोजगारी दिएको छ । अहिले न्यूनतम मासिक पारिश्रमिक दिएर रोजगारी दिएको र आगामी वर्षमा उत्पादनका आधारमा पारिश्रमिक दिने तयारी गरिरहेको उहाँले बताउनुभयो । “हाम्रा बारी कान्लामा त्यसै खेर गइरहेका केराको थामको प्रयोग गरी विभिन्न हस्तकलाका सामग्री बनाउन सकिँदोरहेछ भन्ने देखाउनका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको छ”, पौडेलले भन्नुभयो, “यहाँ उत्पादन भएका हस्तकलाका सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने छ ।” गाउँपालिकाले यो अभियानलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको केराका बोट वितरण गरेको छ । गाउँपालिकाभित्र करिब एक लाख बोट केरा रहेका र आगामी दिनमा थप गर्दै जाने उहाँले बताउनुभयो ।
ढोरपाटन: निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ–घर गर्नुहुन्थ्यो । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो । तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ । पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको दैनिकी नै सहज बनेको छ । अधिकांश समय बारी र गोठामा बिताउने उहाँ दिनमा १०र१२ पटक खोला वारपार गर्नुहुन्छ । पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उहाँमा अझै छ । तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन । खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ । पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उहाँ बताउनुहुन्छ । पहिले बर्खाको समयमा धेरै पशुचौपाया खोलाले बगाई दिएको घर्ती मगरले बताउनुभयो । उहाँले विगतको सम्झना गर्दै भन्नुभयो, “हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे ।” विसं २०७६ पछि निसीखोलामा झन्डै दुई दर्जन झोलुङ्गे पसल निर्माण भएका छन् । जसले यहाँका हजारौँ स्थानीयको दैनिकी सहज बनाइदिएको छ । गाउँपालिकाको ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गरिरहेको छ । निसीखोला गाउँपालिका–४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्ने गथ्र्यो तर पुल नहुँदा स्थानीयले झन्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए । अहिले जोगिथुम्पाका–बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुङ्गे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ । पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोला नै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दङ्ग परेको स्थानीय तीर्थबहादुर क्षेत्रीले बताउनुभयो । पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका स्मरण गर्दै अहिले हिउँद बर्खा बाह्रै महिना वारपारमा सहज भएको उहाँ बताउनुहुन्छ । क्षेत्रीले भन्नुभयो, “लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो, समय–समयमा खोला तर्दा केही ज्यान पनि गुमाएँ तर यहाँ पुल बनेपछि यस क्षेत्रका खोलाले बगाएर कसैको मृत्यु भएको छैन, युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको थियो, धेरै समय लाग्थ्यो, तर अहिले समय छोटो समयमै बजार पुगिन्छ, कसैले पनि खोला तर्नु परेको छैन, पहिले धेरै ठाउँमा काठको फड्के हालेर मान्छे खोला वारपार गर्थे, अहिले धेरै ठाउँमा पुल बनेका छन् ।” चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुङ्गे पुल बनेका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म वडा नं १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोलाघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, वडा नं ४ मा कारीखोलाघाट, वडा नं ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नं ५ मा यारीखोलामा झोलुङ्गे पुल निर्माण गरेको गौतमको भनाइ छ । सङ्घीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उहाँले बताउनुभयो । पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९र८० देखि हालसम्म निर्माण भएका सातवटा झोलुङ्गे पुलको रु एक करोड ७६ लाख भुक्तानी दिन बाँकी रहेको गौतमले बताउनुभयो । सङ्घीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकिएको उहाँको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विगतमा यस गाउँपालिका पछाडि पर्दा झोलुङ्गे पुल बन्न नसकेको भन्दै स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको बताउनुभयो । नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको भन्दै अब कुनै पनि नागरिकले पुल नभएका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताउनुभयो । निसीखोलामा स–साना दर्जनौँ खोला रहेको भन्दै सबै ठाउँमा पुल निर्माण गर्दै आएको उहाँको भनाइ छ । पुल निर्माण भएपछि घण्टौँको यात्रा पाँचरदश मिनेटमै छोटिएको अध्यक्ष घर्ती मगरले बताउनुभयो । “पाँच वर्ष अगाडिसम्म निसीखोला क्षेत्रमा थोरै मात्र झोलुङ्गे पुल थिए, थोरै पुलमा धेरै जनताले यात्रा गर्नुपर्ने बाध्यता थियो, ठाउँठाउँमा काठका साँघु हालेर खोला वारपार गर्ने गर्थे, त्यसी यात्रा गर्दै धेरैले ज्यानसमेत गुमाएँ,” उहाँले भन्नुभयो, “जब स्थानीय सरकार आयो त्यस यता धेरै पुल बने, अझै बन्ने क्रममा छन्, पुलले नागरिकलाई सहज बनाउने त भयो नै ज्यान पनि बचाउँछ, समय पनि बचाउँछ, आवश्यक पर्ने ठाउँमा पनि क्रमैसँग पुल बन्नेछन् ।”
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ स्मार्ट बन्दै छ । पोखरालाई स्मार्ट सिटीको अवधारणा दिइरहँदा अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने । गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेशन सहजै प्राप्त गर्ने उनले बताए । श्रृङखलाबद्ध वडाको विकासमा आफु सँगै रहेको र वडाबासीका लागि नयाँनयाँ काम गर्ने विषयमा तत्पर रहेको भनाई उनको छ । नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । नागरिकको सेवामा वडा क्रियाशिल छ । गतिविधि बढाउँदै नागरिकलाई सुसूचित बनाउने बाटोमा पोखरा १३ लागिरहेको उनले उल्लेख गरे । आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता उनको छ ।
काठमाडौं: सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मङ्गलबार सङ्घीय संसद्को महासचिवमा नियुक्त गरेका थिए ।
गण्डकी: पोखरा महानगरपालिका वडा नं २४ बास्कोट र वडा नं २३ चापाकोटलाई भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको छ । वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छ । अधिकांश बास्कोटवासी खेतीपातीका लागि चापाकोटमा आउने र चापाकोटवासी बास्कोटतिर जाने भएकाले पुलको अभावमा वर्षौंदेखि समस्या झेल्दै आएको स्थानीय मानबहादुर जिसीले बताए। “हर्पन खोलामाथि नजिकै पुल नहुँदा बास्कोटबाट चापाकोट आवतजावत गर्न एक घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ”, उनले भने, “यहाँबाट माथि वाम्दी पुगेर मात्रै पुल तर्न पाइन्छ भने तल पामे बजार नै निस्कनुपर्छ ।” पुलको अभावमा वर्षौंदेखि आफूहरू समस्यामा परिरहेको उनले बताए । हिउँदका समयमा बाँसको फड्के हालेर गुजारा गर्ने गरिए पनि वर्षातमा खेती गर्न जानका लागि त्यो पनि सम्भव नरहेको स्थानीयवासी बताउँछन् । बास्कोट तथा चापाकोट यस क्षेत्रका पुराना बस्ती हुन् । नेपालका बाइसेचौबिसे राजाका पालामा कास्कीकोटमा राज्य गरी बस्ने राजाहरू सिकार खेल्न आउँदा यही बास बस्ने भएकाले त्यसै समयदेखि यस ठाउँको नाम बास्कोट रहन गएको हो । हर्पन खोलाको कटानसँगै बास्कोट माथिबाट आउने ढन्डुरा खहरे खोलाका कारण प्रत्येक वर्षातको समयमा यस क्षेत्रका बस्ती जोखिममा परिरहेको जिसीले बताए । खोलाले वर्षातमा तहसनहस बनाउने गरेको बताउँदै उनले यसको प्रभाव नियन्त्रणका लागि पनि राज्यको सहयोग आवश्यक भएको बताए । ढन्डुरा खोला हर्पन खोलामा आएर मिसिन्छ । पोखराको पर्यटकीय गन्तव्य फेवातालको सिरान भएका कारण यसलाई पर्यटनसँग जोड्नका लागि स्थानीयले पहल थालेका छन् । स्थानीय सक्रियतामा गठित सिर्जनशील क्लबको पहलमा बास्कोटस्थित हर्पन खोलाको किनारामा वनभोजस्थल निर्माण गरिएको क्लबका अध्यक्ष शिव जिसीले जानकारी दिए । स्थानीय सक्रियतामा दुई महिनायता वनभोजस्थललाई व्यवस्थित गर्न खोजिएको बताउँदै उनले पोखराका विभिन्न स्थानबाट वनभोजका लागि समूहसमूहमा मानिस आउने गरेको जानकारी दिए । क्लबले वनभोजस्थल उपयोग गरेबापत प्रतिस्थलको रु दुई हजार लिने गरिएको बताउँदै उनले यसबीचमा ५५÷५६ समूह वनभोजका लागि आइसकेको जानकारी दिए । “हामी वनभोजस्थलका माध्यमबाट यहाँको पर्यटकीय विकासलाई जोड दिएका छौँ”, उनले भने, “यसबीचमा वनभोजस्थलबाट आएको रकम सडक बत्ती, सरसफाइआदिमा उपयोग गर्न थालिसकिएको छ ।” खोलाको किनारमा रहेको फराकिलो फाँटमा विभिन्न प्रजातिका चराको चिरविराहट सुन्दै वनभोज खान पाउनु यहाँको विशिष्टता रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । नाट्टा गण्डकी प्रदेशले हालै बास्कोटमा पारिवारिक वनभोज सम्पन्न गरेको बताउँदै उनले यसको प्रवद्र्धन र विकास गरेमा यसबाट यहाँका स्थानीयले अधिकतम लाभ लिनसक्ने देखिएको बताए । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको नजिकै रहेर पनि विकासका दृष्टिले यो क्षेत्र अझै पनि पछाडि परेको स्थानीय भरतबहादुर देवकोटाले बताए । यस क्षेत्रमा विगतमा स्कुल तथा वडाले विभिन्न नाममा वितरण गरिएका ४३ रोपनी क्षेत्रफलका प्रतिजग्गा रहे पनि तिनीहरूको समुदायबाट उपयोग हुने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । समुदायमा सामुदायिक भवन, मन्दिरआदि संरचना निर्माणका लागि जग्गा उपलब्ध नहुँदा समस्या पर्ने गरेको बताउँदै स्थानीय मानबहादुर जिसीले जग्गाकै अभावमा बाटोलगायत समस्या भोग्नुपरेको बताए। समुदायमा एक वडा एक फुटबल मैदानको अवधारणामा पाँच÷छ वर्षअघि फुटबल मैदान निर्माण सुरु गरिए पनि त्यो अहिलेसम्म सम्पन्न हुन नसकेको उनले जानकारी दिए।
पोखरा: पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सात खेल सम्पन्नसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको प्रिक्वाटरअन्तरगत मंगलबारको पहिलो खेलमा ठमेल भेट्रान काठमाडौंले फ्रिडम फाइटरलाई ५–३ ले हरायो । ठमेलका लागि नगेन्द्र देवानले ह्याट्रिक गरे । टासी छिरिङ र नविन न्यौपानेले एक–एक गोल गरे । फ्रिडमका लागि विकर्ण श्रेष्ठले दुई तथा धनविर चौधरीले एक गोल गरे । दोस्रो खेलमा चिया पपले थापागाउँ भेट्रानलाई २–१ ले हरायो । मित्र बहादुर बस्नेत र सन्तोष नेपालीले एक–एक गोल गरे । थापा गाउँका लागि नारायण कार्कीले एक गोल गरे । निकै रोमाञ्चक बनेको तेस्रो खेलमामा नागस्वेती हेटौडाले संगम भेट्रान पोखरालाई सडनडेथमा ६–५ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी हुँदा सडनडेथमा पुगेको थियो । चौथो खेलमा चावहिल काठमाडौंले कुमण्डोल ललितपुरलाई २–१ ले हरायो । चावहिलको जीतमा पासाङ शेर्पाले दुई गोल गरे भने, कुमण्डोलका लागि रमेश सिकेमानले एक गोल गरे । पाँचौ खेलमा आयोजक बगर भेट्रानले एमएमभी पाँचथरलाई टाइब्रेकरमा २–० ले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । छैटौं खेलमा जोरपाटीले चितवन भेट्रानलाई १–० ले हरायो । जोरपाटीको जीतमा सुमन मोक्तानले गोल गरे । दिनको अन्तिम खेलमा हेटौडाले नाइटकिंग काठमाडौंलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । प्रतियोगितामा भोलिदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लेनदेन मुद्धामा फरार रहेकी दीपा लामिछानेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले लामिछानेलाई आज (मंगलबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले २०८०÷१०÷५ गते बिगो लेनदेन मुद्धामा पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ४४ वर्षीय दीपा लामिछानेलाई १ वर्ष कैद सजाय तोकेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधमुद्धाका फरार प्रतिवादी २६वर्षीय रितिक परियारलाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले परियारलाई आज (मंगलबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले परियारलाई गएको असोज १५ गते लागूऔषध मुद्धामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसाल गरेको थियो । अदालतले कैद र जरिवाना फैसला गरेपछि पोखरा महानगरपालिका २० स्थायी घर भई पोखरा–१६ दीप बस्ने परियार ४ महिनापछि प्रकाउ परेका हुन् ।
मकवानपुर: साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आर्थिक संकट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ल्याई सकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया सुरु भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । कोइला ल्याउने ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकल्पिक उपाय अवलम्बन गरी आपसी समझदारीका आधारमा थप कोइला उधारोमा ल्याइरहेको पनि उनले सुनाए। सिमेन्ट उत्पादन गर्न प्रयोग हुने क्लिङ्कर यन्त्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि दैनिक १०० मेट्रिकटन कोइला आवश्यक पर्दछ । यसैबीच सो उद्योगका महाप्रबन्धक पाण्डेले अब नियमित कोइला आपूर्ति भइरहने हुँदा निकट भविष्यमा उद्योग बन्द नहुने बताए। उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेकामा हाल विभिन्न उपकरण जीर्ण भएको हुँदा अहिले दैनिक १० हजार बोरामात्र सिमेन्ट उत्पादन हुने गरेको सो उद्योगले जनाएको छ । रु एक अर्ब ३८ करोडको लगानीमा विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । सो सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्ट उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा खपत गर्दै आएको थियो । अहिले सो उद्योगमा प्रशासन, प्राविधिक र मजदुर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । हालै सिमेन्ट उद्योगले उत्पादन गरेका करिब दुई लाख २५ हजार बोरा सिमेन्ट काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत अन्य सहरमा खपत हुन नसक्दा उद्योगले आर्थिक संकटबाट मुक्त हुन नसकेको पनि उद्योगका महाप्रबन्धक पाण्डेले बताए। महाप्रबन्धक पाण्डेले उक्त उद्योगलाई अब नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन सरकार र सम्बन्धित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग व्यवस्थापनले वैकल्पिकरुपमा नयाँ यन्त्र जडान गर्न र आवश्यक कच्चा पदार्थ कोइला खरिदका लागि अनुदान रकम उपलब्ध गराइदिन विभिन्न चरणमा वार्ता भइरहेको तथा उनीहरुलाई उद्योगको अवस्थाबारे स्थलगत अध्ययन गराइसकेको स्पष्ट पारे ।

