काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अब ४ खेल बाँकी रहेका छन् । त्यसमध्येको पहिलो क्वालिफायरमा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगको आज हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । ८ खेलको लिग चरणमा पोखरा शीर्ष स्थान र धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका थिए । ललितपुरले काठमाडौं विरुद्ध लिगको अन्तिम खेलमा जित हासिल गर्न नसकेपछि धनगढीको दोस्रो स्थान पक्का भएको हो । पोखराले भने अन्तिम खेल अगावै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको थियो । धनगढी लगातार दोस्रो र पोखरा पहिलो पटक क्वालिफायरमा पुगेको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।
संघीयतापछि मुलुक शक्ति पृथक्कीकरणको बाटोमा गएपनि गाउँपालिकाले भने संघ र प्रदेश सरकारबाट आवश्यक बजेट पाउन नसकेको ठहर गरेको छ । मुख्यत: स्थानीयस्तरमा भएका श्रोत र साधनबाट उठाइएका करमा माथिल्ला सरकारले आफुखुशी प्रयोग गरेकोमा रोष प्रकट गर्दै गापा (गाउँपालिका) प्रमुखहरुले हालै ‘११ बुँदे माछापुच्छ्रे घोषणा’ जारी गर्दै आफ्नो आवाज सार्वजनिक गरेका छन् । देशैभरका गापा जनप्रतिनिधिको छाता संगठन ‘गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल’ केन्द्रीय कार्यसमितिको पाँचौ बैठकले विविध निर्णयसहित घोषणापत्र जारी गरेको हो । कास्कीको माछापुच्छ्रे गापास्थित घलेलमा भएको बैठकले मुलतः अन्नपूर्ण संरक्षण क्षेत्रलगायत देशैभरका संरक्षित क्षेत्रबाट उठाइएका राजश्व, रोयल्टी स्थानीय सरकारमा पनि बाँडफाँड हुनुपर्ने माग गरेका छन् । उनीहरुले राजश्वमा स्थानीय सरकारको अधिकार सुनिश्चित गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको ध्यानाकर्षण समेत गरेका छन् । त्यस्तै, घोषणापत्रमा महासंघले पटकपटक उठाउँदै आएको दूरसञ्चार फ्रिक्वेन्सीको राजश्व स्थानीय तहलाई पनि तत्काल उपलब्ध गराउनुपर्ने बताएको छ । स्मरणीय छ, उक्त राजश्व बाँडफाँड गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयमा सिफारिश गरिसकेको छ । सिफारिश कार्यान्वयन नभएपछि महासंघले अर्थ मन्त्रालयलाई पुनः ध्यानाकर्षण गराएको जनाएको छ । महासंघले घोषणामा उल्लेख गरे अनुसार राष्ट्रिय भूमि आयोगबाट पनि रजिष्ट्रेशन शूल्कमार्फत उठाइएको रकममा पनि दाबी गरेको छ । आयोगले अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गर्दा उठाउने राजश्वलाई रजिष्ट्रेशन शूल्ककारुपमा परिभाषित गरी पालिकालाई पनि दिन भूमि व्यवस्था तथा सहकारी र अर्थ मन्त्रालयलाई जानकारी गराएको छ । देशभर निर्माण गर्ने भनिएका २ सय ५९ अस्पताल, प्रशासनिक भवन, सडक, पुललगायत बहूवर्षीय ठेक्का लागेका तर सामग्री र बजेट अभावमा सम्पन्न हुन नसकेका योजनालाई यथाशीघ्र सम्पन गर्न महासंघले सचेत गराएको छ । यसैगरी, गाउँपालिकाको लेटरहेड, बोर्ड आदिमा गाउँपालिकाको लेटरहेड, बोर्ड आदिमा ‘स्थानीय सरकार’ लेख्न र छाप प्रयोग गर्न स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा उल्लेख भएअनुसार हुनुपर्ने पनि माग रहेको छ । महासंघका अनुसार हाल देशभरका करिब १ सय बढी पालिका प्रमुख प्रशासकीय अधिकृतवीहिन छन् । जसकारण दैनिक कार्यसञ्चालनमा समेत कठिनाई भएको छ । यस समस्या हल गर्न तत्काल अधिकृतको व्यवस्था गर्न र सरुवा प्रणाली व्यवस्थित गर्न महासंघले माग गरेको छ । कतिपय जिल्लामा एउटै अधिकृतले तीनवटासम्म पालिकाको जिम्मेवारी लिनुपर्ने समस्या यथावत छ । यही कारण अधिकृतहरु सकेसम्म छिटो सरुवा मिलाउने ध्याउन्नमा लाग्ने गरेको पाइएको छ । यसर्थ, सरुवा प्रणालीमा समेत महासंघले सुधार चाहेको अध्यक्ष लक्ष्मीदेवी पाण्डे बताउँछिन् । महासंघको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयक, सार्वजनिक खरिद ऐन तथा नियमावली, संघीय निजामति विधेयकउपर छलफल भएको छ । यसअघि निर्माण भइसकेका ऐन कार्यान्वयन गर्न र प्रक्रियामा रहेका ऐन निर्माण तत्काल पुरा गर्न निरन्तर दबाब दिइने महासंघका महासचिव खिमबहादुर थापाले जनाए । बित्तीय हस्तान्तरणसम्बन्धी विद्यमान कानूनलाई जनसंख्यामात्र हैन भूगोलको आधारमा पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै महासचिव थापा भन्छन् ‘पाँच–पाँच वर्षमा बित्तीय हस्तान्तरण सूत्रको समीक्षा गरी कामका आधारमा पनि स्रोतको बाँडफाँड हुनुपर्छ ।’
काठमाडौं: दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस)मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् । सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिनुभयो । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ । सो शाखाका अनुसार गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन् । त्यसले गर्दा पनि आवेदन दिनेको सङ्ख्या बढेको हो । गत साउनमा पानीजहाज निर्माणसम्बन्धी कामका लागि इपिएसले कोरिया भाषाको परीक्षा लिएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकालाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णयविरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो । रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने छ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो सङ्ख्यामा आवेदन खुलाएको हो । यो क्षेत्रका लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन । सन् २०२४ का लागि दक्षिण कोरिया सरकारले नेपाललाई १६ हजारको कोटा उपलब्ध गराएको छ । आवेदन दिएका परीक्षार्थीको परीक्षा ढिलोमा फागुनसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ । कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा श्रमिक लैजान थालेको हो । अहिलेसम्म एक लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको इपिएस कोरिया शाखाले जनाएको छ । अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् ।अदालतको आदेशपछि यसअघिको परीक्षामा अनुत्तीर्णले आवेदन दिन पाए । दक्षिण कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो । यसअघि रोजगार अनुमति प्रणाली (इपिएस) ले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनेको थियो । यो निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । सो रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो । उच्च अदालतले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्णलाई फाराम भर्न रोक नलगाउन र आवेदन फाराम भर्न दिन आदेश दिएको छ ।
पोखरा: पोखराका विभिन्न ९ वटा रोटरी क्लबहरुको आयोजनामा लेकसाइडमा ‘रोटरी कार्निभल–२०२३’ सम्पन्न भएको छ । शनिबार फेवाताल किनार खहरेमा आयोजित रोटरी कार्निभल उद्घाटन गर्दै रोटरी इन्टरनेशनल ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले हरेक जोनमा रोटरी कार्निभल गर्नुपर्नेमा जोड दिए । उनले रोट्र¥याक्टलाई पनि समेट्दै फेलोसिपसँगै सामाजिक सेवामा कार्निभल उपयोगी हुने बताए । डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले यस किसिमको कार्यक्रम रोटरीमा महत्वपूर्ण रहेको भन्दै निरन्तरताको कामना गरे । उनले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने बताए । कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरीद्वय दुर्गा सुवेदी, दिनेशराज मानन्धर, असिस्टेन्ट गभर्नरहरु जयराम पौडेल, ईश्वरप्रसाद कर्माचार्य, पुरन कुँवर, रोटरी बानेश्वरका अध्यक्ष विष्णु कार्की, रोटरी भरतपुरका पूर्व अध्यक्ष आईपी ढकाल, रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल लगायतले मनोरञ्जन र फेलोसिपसँगै सामाजिक सेवामा रोटरी कार्निभल महत्वपूर्ण रहेको बताए । कार्यक्रमको संयोजन रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले गरेका थिए । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरुले संयुक्त आयोजना गरेको रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिनुका साथै कौडा, तामाङ्सेलो, सालैजा, झोरा लगायत नृत्य पनि देखाइएको रोटरी प्याराडाइजका पब्लिक इमेज चेयरपर्सन तथा सहसचिव जसु गुरुङले बताइन् । नृत्य स्टार्स स्टूडियोको संयोजनमा भएको थियो । रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन यसपालि पोखराका ९ वटै क्लब लागेको बताए । कार्निभलबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको उनले बताए । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय, कलेज व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष समेत रहेका सिग्देलले बताए । आयोजनास्थल आसपासका करिब १० रेष्टुरेन्टले सहभागीलाई विभिन्न प्रकारका खानाका परिकार पस्किएका थिए । जसमा उनीहरु रातिसम्मै रमाए । कार्यक्रममा धन्यवाद ज्ञापन रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले गरेका थिए । रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत १ सय ५४ क्लब छन् । तीमध्ये एउटा भुटान र बाँकी नेपालमा छन् । पोखरामा रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् ।
नवलपुर: नवलपुरकाे जंगलमा घाँस काट्न गएका सासु-बुहारी मृत फेला परेका छन्। विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको हाे । उनीहरूको खोजी गर्न प्रहरीसहित ६० जनाको टोली जंगलमा गएका थिए। आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको डिएसपी पौडेलले जानकारी दिए। मनादेवीको शरीरको पछाडिको भागमा र विष्णुको बायाँ कम्मरमा चोट देखिएको डिएसपी पौडेलले बताए। पोस्टमर्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन । महोत्सवको पहिलो दिन ४० हजार, दोश्रो दिन २० हजार, तेश्रो दिन शनिबार ४० हजार र आईतबार २५ हजार गरि अहिलेसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र आईतबार ६० लाख गरी हालसम्म २ करोड ९० लाख बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए । आईतबार लोकदोहोरी कलाकार पशुपती शर्माले आफ्ना गितहरुमा दर्शकहरुलाई नचाएका थिए भने कृष्ण अखेली, सुनितामी परियार, दिपक कार्कि, सविना गुरुङ, टेक क्षेत्री र अनिशा गुरुङले आफ्नो प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपालीले स्टेज तताएका थिए । महोत्सवमा सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राख्नेछन भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले प्रस्तुती दिनेछन । यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।
नवलपुर: नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्नसँगै निस्केका सासुबुहारीको आज (सोमबार) क्षतविक्षत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपसारी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । आइतबार साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जङ्गलमा खोजतलाश दुबै जनाको शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको हो । प्रहरी उपरीक्षक रेग्मीका अनुसार बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जङ्गलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको मृत्यु भएको हो । मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

