काठमाडौं:  जेन-जी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सु...

म्याग्दी:  मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो ।       स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताउनुभयो ।  “जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो”, उहाँले भन्नुभयो, “कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो ।” थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताउनुभयो ।       गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।       स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताउनुभयो । गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उहाँले अनुभव सुनाउनुभयो । बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिनुभयो ।       जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाइएको छ । स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ । हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ ।       घरपझोङ गाउँपालिका–३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गको परिकल्पना गरिएको  जानकारी दिनुभयो ।  उक्त परिकल्पनाअनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।       जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

काठमाडौं:  अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।  नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।  अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ । 

पोखरा:  मिस मगर लोक दोहोरी गायिका निरा थापा मगरको दोश्रो प्रस्तुति ऋषिङ्गे भेना सार्वजनिक गरिएको छ ।  आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरालाई समावेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन ।  मिस मगर २०२३ तनहुँ जिल्ला घिरिङ गाउँपालिका डाँडाथोककी नीरा थापाले आफ्नो स्वर्गीय बुवा यम बहादुर थापा र स्वर्गीय दाइहरु तुल बहादुर थापा र प्रेम थापा प्रति समर्पित गरेर उक्त सांगीतिक कोसेली बजारमा ल्याएकी हुन ।  उक्त गीत आफ्नै युटुब च्यानल नीरा थापा मगरबाट सोमबार सार्वजनिक गरिएको छ । थापाले आफ्नो कोसेलीलाई माया गरिदिन आग्रह गर्दै गीतको माध्यामबाट लोक भाकाको संरक्षण र आफ्नो गाउँठाउँलाई विश्व सामु चिनाउने उद्देश्यले रहेको बताएकी छिन ।  उक्त गीतमा लिड भोकल दुर्गा गुरुङ र नीरा थापा मगरको रहेको छ भने कोरस भोकल रुपी सिंजाली मगर र रिया गुरुङको रहेको छ ।  रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराले एरेन्जर गरेका छनभने खैंजडीमा मनाङ गुरुङले साथ दिएका छन । गीतमा पर्सन गुरुङले रेकर्डिङ संयोजन गरेका छनभने सुर साधना स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।  उक्त गितको डाइरेक्सन कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् भने गायिका स्वयं र आनन्द गुरुङको मोडलिङ रहेको छ ।   

दाङ:   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताउनुभएको छ ।      यहाँको घोराहीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।       नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उहाँले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिनुभयो ।  “अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।”      प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउनुभयो । उहाँले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब अगाडि बढ्ने बताउनुभयो ।            सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताउनुभयो । मुलुकको निराशालाई चिर्न एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको बताउनुभयो ।      लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले विकासका लागि जनताको साथ चाहिने बताउनुभयो । 

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता जारी गरेको छ ।      विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’  अनुसार आचारसंहिता तोकिएको बताउनुभयो ।      उहाँका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।      यस्तै, आचारसंहितामा क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क्याम्पस परिसरमा निर्वाचनसम्बन्धी भित्तेलेखन, तुल, फ्लेक्स तथा कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने, विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसलाई हानी–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न नपाइनेसमेत उल्लेख छ ।      यस्तै, क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम निर्वाचन समितिले सञ्चालन गर्न सक्ने र उक्त कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न नपाइने उल्लेख छ ।      आचारसंहितामा प्रत्येक सङ्घ, सङ्गठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली भएको पर्चामात्र प्रचारप्रसार गर्न पाइने उल्लेख छ ।  निर्वाचनका बेला क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द, हडताल र मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रसारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।      निर्वाचनमा विसं २०५३ फागुन २८ गतेपछि जन्मिएका विद्यार्थी उम्मेदवार हुन नपाउने निर्देशनालयका निर्देशक अधिकारीले बताउनुभयो । देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा एकैदिन मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरी निर्वाचन हुने व्यवस्था गरिएको छ । 

काठमाडौं:   परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ ।      सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उहाँले बताउनुभएको हो ।      एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहनुभएकी मन्त्री डा देउवाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उहाँको सचिवालयले राससलाई जानकारी दिएको हो ।      मन्त्री डा देउवाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहनुका साथै आफूले भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिइएको छ ।      सोहीबमोजिम राजदूत डा शर्माले काम गरिरहनुभएको र केहीबेरअघि नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उहाँले बताउनुभयो । “यसका साथै आज अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको छु । उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको छ ।      यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको छ र मन्त्रालयले पछिल्लो अवस्थाबारे जानकारी पनि गराउने छ”, मन्त्री डा देउवालाई उद्धृत गर्दै उहाँको सचिवालले भनेको छ ।  

काठमाडौं:  गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भइरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामचन्द्र तिवारीले नीतिगत र कानुनी सुधार, शान्तिसुरक्षा, अपराध नियन्त्रण र दण्डहीनता अन्त्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।            बढ्दो सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, राजस्व चुहावट र साइबर अपराध सुरक्षा चुनौतीका रुपमा देखापरेका जनाउँदै प्रवक्ता तिवारीले त्यस्ता चुनौती सामना गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।  नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिई प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ लाई प्रतिस्थापन गरी परिवर्तित सन्दर्भमा नयाँ ऐन तर्जुमा गर्ने विधेयक र नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत माघ १५ गते सङ्घीय संसद्मा दर्ता भएको बताउनुभयो ।       विपद्जन्य घटनामा प्रभावितलाई राहतलगायत पुनःनिर्माण एवं पुनःस्थापनासँग सम्बन्धित कार्यलाई थप प्रभावकारी बनाउन विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१, विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ (प्रथम संशोधन) र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ ।       मन्त्रालयले सीमा तथा अध्यागमन प्रशासनलाई चुस्त बनाउन दार्चुलाको टिङ्कर र मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना, अध्यागमन कार्यालय बेलहियामा सुविधासम्पन्न भवनबाट सेवा प्रवाह, चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनमुतिपत्र उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा आएको जनाएको छ ।       एक हजार ३७० जना क्षमताको नुवाकोटस्थित कारागार सञ्चालनमा आएको तथा मोरङमा २६८ र मुगुमा ३० जना क्षमताको कारागार सञ्चालनको तयारी पूरा भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।  केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीसम्बन्धी सेवा विस्तार गरी २५ जिल्लाका एक हजार ९२२ वडाबाट अनलाइन नागरिकता सिफारिस गर्ने व्यवस्था गरिएको छ ।       राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसँग विभिन्न सार्वजनिक सेवा प्रदायक १२ वटा प्रणालीको अन्तरआबद्धता गरिएको र सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेसनलाई क्रमशः विस्तार गर्दै लगिएको मान्त्रालयले जनाएको छ ।     

रुपन्देही: भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् ।  महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरु सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।  घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो ।  पाँच कारमा सवार उक्त  टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा  भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उहाँले बताउनुभयो । 

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।       हुलाक सेवा विभागले सप्ताहव्यापी रुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा मन्त्री गुरुङले विभागले आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने बताउनुभयो ।       नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधँै जगेर्ना गर्ने दस्तावेज रहेको बताउनुभयो । मन्त्री गुरुङले समाजका रैथाने मूल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवद्र्धन गर्ने खालका विषयवस्तु समेत हुलाक सेवाले आफैले पहिचान गरी छाप्नुपर्ने बताउनुभयो ।       उहाँले हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै जनसेवामुखी भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । साथै उहाँले हुलाक कार्यालयलाई आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको समेत बताउनुभयो ।       कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गर्नुभयो । भगवान् गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन कपिलवस्तु तिलौराकोटको खोज–अनुसन्धान गरी जमिनबाट उत्खनन गरिएको ऐतिहासिक ‘पञ्चमार्क मुद्रा’ हो ।  साथै प्यूठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य थियो ।       हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकटको ऐतिहासिक महत्व दर्शाउँदै विभागले पुरातात्विक महत्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्ययोजना बनाउँदै गरेको बताउनुभयो ।  “यस्ता कैयौँ रोचक र ऐतिहासिक खोजमूलक विषयवस्तु छन्, जुन टिकटमा समावेश गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “विभाग आफैँ पनि अनुसन्धान गर्ने तयारीमा छ ।”