बागलुङ: भारत-चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रूपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको आयोजना अन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका-६ र बागलुङको जैमिनी नगरपालिका-८ को सिमाना पालुङ खोलादेखि मालढुंगसम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ । उक्त खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ,भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उहाँको भनाई छ । पालुङ खोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुंगासम्मको १० किलोमिटर खड्का/कृष्ण/बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इन्जिनियर खत्री बताउँछन् । उनले भने , “बागलुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुन सकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि काम चाहिँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मी याम सुरु भयो भने काम हुने छ ।” कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ । तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवर्द्धन ठूलो टेवा पुर्याउने उनको भनाई छ । “कोरिडोर एउटा देशमा मात्रै छैन, यसले तीन वटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठूला सहर पोखरा, बुटवल र भैरहवासँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रूपमा विकास हुँदै गएको छ,” उनले भने “अब गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजारीकरण हुने छन् भने व्यावसायिक वातावरण तयार भएर बसाइसराइ रोकिने छ, कोरिडोर पैसा बोकेर आएको अब यसलाई समात्न सक्ने क्षमता हामीहरूले राख्नुपर्छ ।” नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुंगा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याई दिएको छ ।
मकवानपुर: हेटौंडा उपमहानगरपालिका-१९ दिपज्योती डाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ दोहोरी बस्ने ४२ वर्षीय सुरेश दास थारू र पर्सागढी नगरपालिका-२ बागबना बस्ने २९ वर्षीय अर्जुन महतो थारू रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट रौतहट तर्फ जाँदै गरेको लु १ ख ७३९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सुरेशलाई ५ किलो ५ सय ६० ग्राम र अर्जुनलाई ५ किलो ४ सय ४० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
पोखरा: गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएकाे छ । संघको उपाध्यक्षमा किसन जिसी, सचिवमा अनुष कुँवर, कोषाध्यक्षमा भिममाया गुरुङ (ज्योति), सहसचिवमा शिव प्रसाद न्यौपाने (नवलपुर), सदस्यहरुमा क्षितिज गुरुङ (मनाङ), विकासकृष्ण नकर्मी (कास्की), दिपकराज गिरी (कास्की), अविश्चल भुजेल (स्याङजा), खुमबहादुर कार्की (तनहुँ) र दर्पण श्रेष्ठ (स्याङ्जा) सर्वसम्मत रुपमा चयन भए । संघमा रिक्त एक उपाध्यक्ष र एक सदस्य पदमा प्रदेश खेलकुद परिषद् गण्डकीले मनोनयन गरी संघ १३ सदस्यीय हुनेछ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वोजकुमार गुरुङले अधिवेशनको उद्घाटन गर्दै खेलकुदको विकास र राम्रा खेलाडिहरुको उत्पादनमा प्रदेश खेलकुद परिषद सधैं तत्पर रहने बताउँदै २०८१ चैत्र २३ गते देखि हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गर्न चाडै नै वन्द प्रशिक्षणको लागि तयारी भएको बताए । सो अवसरमा अखिल नेपाल टेबुलटेनिस संघका उपाध्यक्ष एवम् केन्द्रका प्रतिनिधि प्रकाश पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषदका वोर्ड सदस्य एवम् निर्वाचन संयोजक केशव पाठक लगायतले शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गंगाराज पौडेलले र कार्यक्रम संचालन तथा संघको प्रतिवेदन सचिव अनुप श्रेष्ठले प्रस्तुत गरेका थिए ।
पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सव आज सकिदैंछ । गत महिनाको २५ गतेदेखि जारी महोत्सवको समापन आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् । क्लबका महासचिव दिनेश सुनारका अनुसार आज लोकदोहोरीतर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहनेछ । यस्तै लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुती रहनेछ । महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिताकोसमेत आज नै फाइनल प्रतिस्पर्धा हुनेछ । फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभुती र सरस्वती विद्या सदन लामाचौरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबार देखि नागीधार महोत्सव एक दिन थप भएको छ । महोत्सव माघ ६ गते सम्पन्न गर्ने भनिएता पनि कार्यक्रमहरुको चापले गर्दा एक दिन थप गरिएको संयुत्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङले जानकारी दिए । महोत्सवमा खुल्ला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगितातर्फ आदिमकला मञ्च पोखरा प्रथम, लम्तरी युवा क्लब भाचोक द्धितीय, चिप्ली युवा क्लब मादी–६ तृतीय भएका छन् । विजयी समूहले क्रमश २० हजार, १५ हजार र १० हजार ट्रफी प्राप्त गरेका छन् । त्यसैगरी वक्तृत्वकला प्रतियोगिता तर्फ प्रभात आधारभूत विद्यालय मादी–८ का खुशी भुजेल प्रथम, सेवा मिलन आधारभूत विद्यालय मादी–१०का अनित क्षेत्री द्धितीय, नारयण आधारभूत विद्यालय मादी–८ का अनिस परियार तृतीय भए । यस्तै छेलो हान्ने प्रतियोगिता तर्फ रुपा–१ का अरुण विक प्रथम, मादी–११ का रोशन गुरुङ द्धितीय भए । उनीहरुले क्रमश १२ हजार र ६ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरे । यसैगरी पुरुष रसि तान्ने प्रतियोगिता तर्फ रवैडाँडा सिपाही टोल मादी–८ प्रथम, नागीधार टोलका युवाहरुको समूह द्धितीय भए । विजयी समूहले क्रमश १५ हजार, १० हजार नगद र प्रमाण पत्र प्राप्त गरे । महिला समूह तर्फ मादी–१० थुम्सी कोट महिला समूह प्रथम, मादी–८ पाखुरीकोट महिला समूह द्धितीय भए । विजयी समूहले १० हजार, ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरे । महोत्सवमा भएको खुल्ला सेभेन ए साइड पुरुष फूटबलतर्फ नागीधार एफसी ए र नागीधार एफसी वि सेमिफाइनलमा पुगेका छन् । सोमबार काहो एफसी वुढिबजार र पाखुरीकोट एफसी ए बिच पहिलो क्वाटर फाइन खेल र पाखुरीकोट एफसी वि सोथर एफसी बिच दोस्रो क्वाटर फाइन खेल हुने छ । सोमबार नै सेमिफानल र फाइनल खेल हुने खेल संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए । कार्यक्रममा मादी गाँउ पालिकाका अध्यक्ष देवीजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ साथै एन आर एन ए युकेका प्रमुख संरक्षक मेजर डमर घले, समाजसेवी नर बहादुर गुरुङ , संयोजक ओम प्रकाश गुरुङ , नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मादी गाँउ पालिकाका अध्यक्ष देविजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, मादी–१० का वडा अध्यक्ष कृष्णबहादुर गुरुङ, मादी–८का जनप्रतिनिधि लालबहादुर गुरुङ र नेपाली काँग्रेस मादी–८ का सभापति राजेन्द्र अधिकारीले बोलेका थिए । महोत्सवमा चर्चित गायिका उसा गुरुङ, प्रीय गुरुङ, जिफानका महासचिव लब्सन गुरुङले सांगितिक प्रस्तुति दिएका थिए । नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । नागीधार गाउँको सर्वा·िण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने छ ।
पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे । पुरूष फुटबलतर्फ नयाँ गाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ । बन विज्ञान क्याम्पसको खेल मैदानमा वडाबासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँ गाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो । पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्थाले चन्द्र सूर्य क्लबलाई हराएको हो । यस्तै महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्दै उपाधि जितेको छ । विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो । युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कूलले जित्यो । छात्रतर्फ सेन्ट फ्रान्सिसले शुत्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातफर्प ज्ञानकुञ्ज एकेडेमी तृतीय भए । महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृतिकी गंगा नापित दोस्रो भईने भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए । महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए । मितेरी आमा समूहका चन्द«ा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशिला पुर्जा र लालीकुमारी खान तेस्रो बने । पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँ गाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो र कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए । पुरूष ब्याडमिन्टन डबलतर्फ तल्लो सिमलबोट टोल किावस संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनी प्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्ण ब. गुरुङ र पूर्ण बहादुर जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए । महिला रस्साकस्सीमा जनजागृति आमा समूह प्रथम, संगमटोल आमा समूह दोस्रो बने । महिला सडक दौड ३ किमिमा ४८ जना सहभागी भएकोमा जनजागृतिकी पोम कुमारी बुढा प्रथम, संगमकी रुपा बरुलाल दोस्रो र एकताकी मोहनमाया राना तेस्रो बनिन् । पुरुष सडक दौड ५ किमितर्फ नयाँ गाउँका ठाकुर बहादुर थापा प्रथम, कोलपाटनका ओमबहादृुर फोरजना दोस्रो र तल्लो नयाँ गाउँका कुल बहादुर गुरुङ तेस्रो भए । छात्रा सडकदौड ३ किमिमा भ्यूप्वाइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशा कुँवर दोस्रो, सिद्ध माविकी श्रेया मगर तेस्रो बनिन् । छात्र ५ किमि दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हावर्ड एकेडेमीका मनिष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए । ह्विलचेयर दौडमा घना घर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए । ह्वीलचेयर बास्केटबलमा टीम ए रातो प्रथम र टीम बी निलो दोस्रो भए । छात्र साइक्लिङ १० किमितर्फ रत्नज्योति माविका मन्दिप केसी प्रथम, रत्न ज्योतिकै सरोज सारु मगर दोस्रो र सिद्ध माविका मनोजि बिक तेस्रो भए । विजेता, उपविजेता र तेस्रो हुनेहरुले नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । समापनका अवसरमा खेल्छ गण्डकीमा आबद्ध वडा स्थित बालबालिकाहरुलाई पोषणतत्वका लागि विभिन्न थरीका खाद्यान्न प्रदान गरिएको थियो । उक्त अवसरमा सहयोगीहरुलाई मायाको चिनो र प्रशंसापत्र पनि प्रदान गरिएको थियो । समापन कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जुदेवी गुरुङले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिन सक्ने बताइन्। वडा अध्यक्ष तोरण बानियाँले वडा नं. १५ ठूलो क्षेत्रफलमा फैलिएको र यस खेलकुद महोत्सवले वडावासीहरूबीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए। महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले वडा स्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधि जित्दै वडाको गौरव बढाएको र यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । वडा अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।
लमजुङ: लमजुङका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा तीन सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । आव २०७८/७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची बिक्री गरी रु १५ करोड आम्दानी भएको थियो । आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची बिक्री गरी रु १८ करोड २० लाख आम्दानी भएको थियो । आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यसैगरी, आव २०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची बिक्री गरी किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । जिल्लामा सबैभन्दा बदी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका स्थानीयले मात्र यस वर्ष छ हजार सात सय केजी अलैँची बिक्री गरी रु एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताउनुभयो । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ । जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो ।
काठमाडौं: मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । पर्यटन व्यवसायी मिङ्मादोर्जे शेर्पाको अग्रसरतामा द लास्ट फ्रन्टायर्स ट्रेकिङ कम्पनीको आयोजना तथा नेपाल पर्यटन बोर्ड र एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको सहकार्यमा आइतबार राति यहाँ आयोजित कार्यक्रममा नेपाल र इन्डोनेसियाका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिए । कार्यक्रमका लागि इन्डोनेसियाको जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनको १३ जनाको टोली केही दिनअघि यहाँ आइपुगेको थियो । आयोजक कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिङ्मादोर्जे शेर्पाले कार्यक्रमले दुई देशबीच संस्कृति आदानप्रदान हुनाका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । “यस सांस्कृतिक आदानप्रदान कार्यक्रमले एकअर्काको मुलुकको संस्कृति जान्ने मौका प्रदान गरेको छ, आगामी दिनमा हामी दुवै देशको पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “इन्डोनेसियामा रहेका २० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई हामी नेपाल ल्याउन सक्छौँ ।” त्यस अवसरमा जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनका प्रमुख सदस्य तथा गायिका रत्ना देवी कार्तिकाले इन्डोनेसियाको लोकगीतका साथै केही पप गीत गाउनुभयो । “जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनमा इन्डोनेसियाका ३८ प्रान्तमा १० हजारभन्दा बढी सदस्य आबद्ध छन्, यसको मुख्य उद्देश्य इन्डोनेसियाको कला र संस्कृति प्रवर्द्धन हो”, गायिका कार्तिकाले भन्नुभयो, “कला, संस्कृति र दुई देशको पर्यटन प्रवर्द्धनका लागि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ ।” कार्यक्रममा इन्डोनेसियाका तर्फबाट लातिस्या चान्जी बार्डेल स्टेयाज, सयिफा नुरुल अज्जुरा र डिजिक्रा औरेलिया देत्रियानीलगायतले नेतृत्व प्रस्तुत गरेका थिए । नेपालका तर्फबाट कलाकारहरु देविका बन्दना, राजेश महर्जन, खुसी कुलुङ राईलगायतले गीत प्रस्तुत गर्नुभयो भने नृत्यकार कमल राईको समूहले विभिन्न लोकभाकामा नृत्य प्रस्तुत गरेको थियो । त्यस अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, भारतीय ज्योतिष एट्लान्टा कश्यपका साथै पर्यटनकर्मी तथा कलाकारहरुको उपस्थिति थियो ।
तनहुँ: गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । मन्त्रालयले आइतबार दमौलीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा सुझाव सङ्कलन गरेको छ । सरकारले मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा बनाउन विधेयक तयार गरेको छ । सोही विधेयकमा टेकेर प्रदेशका विभिन्न जिल्लामा पुगेर सुझाव सङ्कलन गरिएको मन्त्री थापाले बताउनुभयो । गण्डकी प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, संवर्द्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धि गर्न खोजिएको मन्त्री थापाको भनाइ छ । भाषा आयोग काठमाडौँले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरु पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको मन्त्री थापाले बताउनुभयो । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा गण्डकी प्रदेश सरकारले गत साउन २२ गतेको निर्णयबमोजिम उक्त विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्राप्त भई मस्यौदा निर्माण प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । आगामी हिउँदे अधिवेशनबाट संसद्मा टेबुल गर्ने सरकारको योजना छ । गण्डकी प्रदेशमा मगर समुदायको बसोबास १८ दशमलव ८ प्रतिशत र गुरुङ समुदायको ११ प्रतिशत छ । गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदायको रुपमा छ ।