काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासङ्घ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । ‘विभिन्न कठिनाइका बावजुद तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ, संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ’, उनले भने । राष्ट्रपति पौडेलले बजेट, योजना र कार्यादेश अनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गर्नुभयो । ‘गाउँ, नगर र वडामा योजना, प्रक्रिया, कार्यादेश अनुसार काम भए नभएको बारेमा अलिकति चनाखो र सजग भएर क्रियाशीलता बढाउने हो भने विकासका काम पनि अघि बढ्छ, बजेट दुरुपयोग पनि रोकिन्छ र राज्यको पनि ध्यान आकर्षित हुन्छ, यसबाट राष्ट्रको विकासमा योगदान दिन्छ’, राष्ट्रपति पौडेलले भने । आफ्नो भूमिकालाई आफै क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन पनि समन्वय समितिका प्रमुख एवम् उपप्रमुखलाई आग्रह गरे । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको बताउँदै राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको उल्लेख गरे । उनले आफ्नो जिम्मेवारी अझ सशक्त र प्रभावकारी बनाउन आवश्यक रहेको र यसका लागि आवश्यक पर्ने स्रोत साधन, नीति–कानूनको स्पष्टताका लागि सम्बन्धित निकायको ध्यान जाने विश्वास व्यक्त गरे । साथै राष्ट्रपति पौडेलले महासङ्घको ३०औँ स्थापना दिवस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
काठमाडौं: मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उहाँको सालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गर्नुभययो । विसं १९५० मा वनारसमा जन्मनुभएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । उहाँलाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उहाँलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो । शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।
काठमाडौं: नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो–खो टोलीलाई सम्मान गरेको छ । भारतमा केही दिनअघि भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो । रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय बनस्थलीमा सम्मान गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको हो । कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद ९डिपी०अर्यालले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि पार्टी सधैँ प्रतिबद्ध रहने बताउनुभयो । कार्यक्रममा उपसभापति डा स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो । उहाँहरुले नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकामा खेलाडीलाई बधाई दिनुभयो ।
पोखरा: पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । उनका अनुसार मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरुको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । मेलामा हामी गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरुलाई पनि समावेश गर्ने जमर्को गरिरहेका छौँ । मेलालाई सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन,सूचना प्रविधि, शिक्षा,स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने गरी आयोजना गरिँदै छ,’ उनले भनेका छन्,‘ लगानीको सम्वद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप आयोजना हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ,सहकार्यको नयाँ अध्याय सुरुवात गर्दै सो क्षेत्रको लगानी गण्डकी प्रदेशमा आकर्षित गरौँ भन्ने पुनित लक्ष्य पनि हामीले राखेका छौँ ।’ संघकी महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य र सम्भावनाबारे चर्चा पनि हुनेछ । प्रचार प्रसार संयोजक तथा संघका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स (एआई), ९ उन्नत सीसी टिभी सर्भिलेन्स पनि उपलब्ध हुनेछन् ।
गण्डकी: उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पार्नुभएको छ । नेकपा (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताउनुभयो । मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उहाँले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ गठबन्धन भएको स्पष्ट पार्नुभयो । यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उहाँले संसद्बाट अध्यादेश पारित हुने विश्वास व्यक्त गर्नुभयो । सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो । एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफवा पैmलाउनेविरूद्धमा सङ्गठित भएर प्रतीकार गर्न आग्रह गर्नुभयो । एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान भएर अघि बढ्नुपर्ने बताउनुभयो । जनताको घरदैलोमा पार्टी पुर्याउने लक्ष्यका साथ तीनमहिने वडा केन्द्रित अभियान सञ्चालन गर्न लागेको बताउँदै उहाँले यसका लागि सम्पूर्ण कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले वर्तमान सरकार गठन भएदेखि नै आर्थिक सूचकहरू सन्तोषजनक देखिएको बताउँदै समृद्धिका लागि युवालक्षित कार्यक्रमलाई महत्त्व दिनुपर्ने धारणा राख्नुभयो । एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दर्शन लामाले आन्तरिक पार्टी निर्देशनलाई पूर्ण रूपमा पालनासहित कार्यान्वयमा गर्दै आएको स्पष्ट पार्नुभएको थियो ।
काठमाडौं: सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । घटनाको छैटौँ मासिकको पुण्यतिथि (छ महिना) मा नेपाल पत्रकार महासङ्घको सहयोगमा आज आयोजित अन्तरक्रियामा पीडित परिवारले दोषीलाई उन्मुक्ति दिनेगरी छानबिन आयोगले नियोजित प्रतिवेदन तयार पारेको गुनासो गरेका हुन् । गत साउन ९ गते भएको दुर्घटनामा १८ जनाको ज्यान गुमाएका थिए । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचनले महासङ्घ आबद्ध परिवारको सदस्यलाई परेको पीडाको स्वामित्व लिने बताउँदै पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित एयरलाइन्स पक्षलाई कानुनी कारबाहीका लागि राज्यलाई दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । कसैका कारणले कसैको ज्यान जाने खालको वातावरण बन्नुभन्दा ठूलो अन्याय अरू कुनै पनि हुँदैन ।” वरिष्ठ पत्रकार प्रकाश खतिवडाले उडान नै गैरकानुनी भएको बताउँदै एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको जानकारी दिनुभयो । पीडित परिवारलाई न्याय उपलब्ध गराउन आफूले अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । उक्त जाहाज दुर्घनामा परी पत्रकार खतिवडाको छोरी, ज्वाइँ र नाति निधन भएको थियो । “घटनामा मैले तीन सन्तति गुमाएँ तर यो नियति फेरि कसैले भोग्नु नपरोस् । कागज मिलाएर गर्ने बदमासी र त्यसबाट आउने दुष्परिणाम नदोहोरियोस्, घटनाको निष्पक्ष छानबिन गरियोस्,” पत्रकार खतिवडाले भन्नुभयो, “नेपालको हवाई यात्रा सुरक्षित होस् र सन्ततिको सम्झनालाई चिरस्थायी बनाउन र उनीहरूलाई जीवित राख्न सामाजिक अभियानहरू चलाउन सकियोस् । घटनामा उहाँको छोरी, ज्वाइँ र नातिले ज्यान गुमाएका थिए ।” कार्यक्रममा महासङ्घका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, समाजवादी प्रेस सङ्गठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीलगायतको उपस्थिति थियो । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल पत्रकार महासङ्घसहित सञ्चारजगत्को साथ, सहयोग र खबरदारीको अपेक्षा पीडितपक्षले गरेको छ ।
बाँके: वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ । शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न जानुभएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ । “मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुनसक्ने आशङ्का गरेका छौँ”, उहाँले भन्नुभयो, “मृतक चेतीलाई वन्यजन्तुले आक्रमण गर्दै गरेको कसैले नदेखेको हुनाले ठ्याक्कै बाघले नै मारेको भन्न सकिँदैन वा चितुवाले नै मारेको भन्न सकिँदैन । यसको फरेन्सिक जाँच भयो भने मात्र हामीले तथ्यका आधारमा भन्न सक्छौँ ।” वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो ।
पोखरा: पोखरा महानगरपालिका–१३ मा लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो । समितिले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । २०७८ सालमा तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिदैँ चौँथो संस्करण आयोजना गरिएको जनाएको छ । प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक नजिम अलीले जानकारी दिए । प्रतियोगितामा ४०–५० टिमको सहभागिता हुने अपेक्षा आयोजकको छ । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने खेल संयोजक अलीले जानकारी दिए । तेस्रो संस्करणमा प्रथम पुरस्कार १ लाख २५ हजार र द्धितिय पुरस्कार ७५ हजार बाट बढाएर यस पटक पुरस्कार राशी बृद्धी गरिएको अध्यक्ष अलिमियाँले बताए । यस्तै विधागत तर्फ ५ विधामा खेलाडीलाई पुरस्कृत गरिने छ । वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । प्रतियोगिताको पहिलो संस्करण २०७२ र दोस्रो संस्करण २०७४ सालमा भएको थियो । स्थानीय खेलाडीलाई प्रोत्साहन र फुटबलको विकास गर्ने उदेश्यसहित समाजले प्रतियोगिता संचालन गदैँ आएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । समितिले टिम दर्ताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।