पोखरा:  पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ ।  बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फा...

काठमाडौं:    गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरीले बलले पुर्‍याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याएको बताउनुभएको छ ।       २४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको बताउनुभयो ।      “दङ्गा तथा गम्भीर अशान्ति नियन्त्रण होस् वा दैवी प्रकोप र महामारीबाट प्रभावित जनताको उद्धारमा सशस्त्र बलले आफ्नो भूमिका निष्ठापूर्वक निर्वाह गरेको छ”, गृहमन्त्रीले भन्नुभयो, “कठिन परिस्थितिमा पनि देश र जनताको सेवामा निरन्तर खटिने र प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने यहाँहरूको भूमिका मुलुकको शान्ति र स्थिरताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ ।”           गृहमन्त्रीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मिसनमा व्यावसायिकताका साथ काम गरी नेपालको नाम उच्च बनाउने कार्यमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घीय मिसनमा थप सहभागिताका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।                  सीमा तथा सीमास्तम्भको सुरक्षा, सीमापार अपराध, अवैध चोरीपैठारी, मानव बेचबिखन तथा लागू पदार्थको ओसारपसारलगायत अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी ‘डेडिकेटेड’ फौजका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा सामाजिक कार्यमार्फत यस्ता अपराधलाई न्यूनीकरण गर्न अग्रसर हुन आग्रह गर्नुभयो । सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि थप जनशक्तिको व्यवस्थासहित बोर्डर आउट पोष्ट स्थापनाको प्रयास भइरहेको उहाँको भनाइ छ ।            सरकार सशस्त्र प्रहरी बलको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्ति व्यवस्थापन र सुविधाको विस्तारमा सधैँ प्रतिबद्ध रहेको जनाउँदै गृहमन्त्री लेखकले आगामी दिनमा सशस्त्र प्रहरीलाई अझ थप प्रभावकारी सङ्गठनको रूपमा विकास गर्न आवश्यक सबै पक्षलाई बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।           इमान्दारिता पूर्वक कर्तव्य निर्वाह गर्ने सन्दर्भमा आइपर्ने कुनैपनि समस्यामा सकल दर्जाको पेसागत सुरक्षाका लागि नेपाल सरकार र गृह मन्त्रालय अभिभावकत्व प्रदान गर्ने विश्वास दिलाउँदै उहाँले सशस्त्र प्रहरीसम्बन्धी कानुनलाई केही दिनभित्रै संसद्मा दर्ता गरिने बताउनुभयो ।  सम्पुर्ण अधिकृतदेखि जवानसमेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको जानकारी दिँदै उहाँले लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिएको बताउनुभयो ।            मुलुकको अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न दशगजाको सरसफाइ, अवैध संरचना र खेती हटाउने कार्यलाई समकक्षीसँग समन्वय गरेर अघि बढाइएको बताउनुभयो । उहाँले सीमा इलाकामा हुने अवैध चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई सङ्गठनले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।            सबै सुरक्षा निकायसँग निकट समन्वयका साथ राज्यप्रदत्त कार्यादेशलाई कुशलतापूर्वक वहन गर्दै सरकारको निर्देशनलाई पालना गरेर सकलदर्जा परिचालित हुँदै आएको स्पष्ट पार्नुभयो ।                  समारोहमा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक नवराज विष्टलाई ‘एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’ र उत्कृष्ट कार्यसम्पादन गर्ने नं ३ गढीमाई बाहिनीका प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो । त्यसअवसरमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलले प्रकाशन गरेको ‘एपिएफ वर्ष पुस्तक’ लोकार्पण गर्नुभएको थियो ।            सो क्रममा सशस्त्र प्रहरीका खेलाडीले जुडो, उसु र तेक्वान्दो खेल प्रदर्शन गरेका थिए । त्यसअवसरमा भूकम्प, केबलकारमा अड्किएका यात्रुको उद्धार र शान्ति मिसनमा खटिँदा अपहरणमा परेका प्रहरी प्रमुखको सकुसल रिहाइ गरेको नमुना अभ्यास प्रदर्शन गरिएको थियो ।        सशस्त्र प्रहरीले २४ वर्षको अवधिमा सीमासुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ । सशस्त्र प्रहरीले ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ नारासहित यसवर्ष लागुऔषध विरूद्धको वर्ष मनाउने निर्णय गरेको छ ।        चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आवमा रू एक अर्ब ६४ करोड छ लाख सात हजार बराबरको चोरीनिकासी नियन्त्रण गरेकामा चालु आवको छ महिनामा रू एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व सङ्कलनमा योगदान गरेको छ ।  

काठमाडौं:    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा मूल्यवृद्धि भएको विषयप्रति मन्त्रालयले अध्ययन गरिरहेको र यो विवाद चाँडै टुङ्गने बताउनुभएको छ । पछिल्लो समय सिमेन्टमा ७५ प्रतिशतसम्म मूल्यवृद्धि भएको र यसले निर्माण लागत बढाएको भन्दै निर्माण व्यवसायीहरूले सार्वजनीक लेखा समितिमा उजुरी हालेका थिए । उक्त उजुरीउपर समितिले आज उद्योग मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घसँग छलफल गरेको छ ।  समितिमा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धिबारे मन्त्रालय लामो समयदेखि जानकार रहेको र यस विषयमा सिमेन्ट उत्पादक, निर्माण व्यवसायी, उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेको बताउनुभयो । सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीचको विवाद समाधानका लागि मन्त्रालयले सहजीकरण गरिरहेको पनि उहाँको भनाइ छ । “मूल्यवृद्धि भएको विषयमा सरोकारवालाहरूसँग मन्त्रालयमा चार–पाँच पटक औपचारिक रूपमै छलफल भइसकेको छ । यसबारे मन्त्रालयले चाँडै उपयुक्त निर्णय गर्छ,” उद्योगमन्त्री भण्डारीले भन्नुभयो । सिमेन्टको मूल्य बढेका कारण आयोजनाहरूको निर्माण लागत बढेको भन्दै निर्माण व्यवसायीहरूले मन्त्रालय र संसदीय समितिमा उजुरी गरेका थिए । सिमेन्ट उद्योगीहरूले भने लोडसेडिङ बढेको, कोइला र चुनढुङ्गाको मूल्य बढेको, ढुवानी लागत बढेकोलगायत कारणले मूल्य बढेको बताउँदै आएका छन् । सिमेन्टको मूल्यमा ७५ प्रतिशतसम्म वृद्धि भएको विषयमा भने सत्यता नरहेको उहाको भनाइ छ । “सिमेन्टमा मूल्य बढेको बारे मन्त्रालयले अध्ययन गरिरहेको छ र हामी चाँडै उचित निश्कर्षमा पनि पुग्छौँ । तर ७५ प्रतिशतसम्म मूल्यवृद्धि भएको साँचो होइन,” उद्योगमन्त्री भण्डारीले भन्नुभयो, “निर्माण व्यवसायी र सिमेन्ट उत्पादकहरूको विवाद समाधानका क्रममा मन्त्रालयले सहजीकरण गर्दा १० देखि १५ प्रतिशत मूल्य समायोजन गर्नसक्ने सहमति भएको थियो ।”  गत आइतबार मन्त्रालयका रोहबरमा सिमेन्ट उद्योगी र निर्माण व्यवसायीले सिमेन्टको मूल्य समायोजन गर्ने सम्झौता गरेको थिए । एकाधिकार ९कार्टेलिङ० र चर्को मूल्यवृद्धि नियन्त्रण गर्ने विषयमा सरकार चनाखो रहेको उद्योगमन्त्री भण्डारीको भनाइ छ । समितिको आजको बैठकमा सांसदहरूले सिमेन्टको मूल्यवृद्धिबाट उपभोक्ता बढी प्रभावित भएको भन्दै यसमा सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा राख्नुभएको थियो । आजको छलफलपछि समितिले सिमेन्टको मूल्य बढ्नुको कारण अध्ययन गरी सात दिनभित्र जवाफ पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

काठमाडौं:   सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ ।  ।    सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित  पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उहाँले स्पष्ट गर्नुभयो ।     यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।     अर्थमन्त्रालयसम्बद्ध समपूरक अनुदानसम्बन्धी कार्यविधि र विशेष अनुदानसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने तथा सहलगानीसम्बन्धी कार्यविधि, २०७७, र कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ खारेज गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।     एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनय गर्ने तथा सिमरा विशेष आर्थिक क्षेत्रको ‘ब्लक बी’ र ‘ब्लक सी’ लाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको छ ।    यसैगरी नेपाल खानेपानी संस्थान, बुटवल खानेपानी आयोजनाको लागि पाल्पा जिल्लाको साविक तिनाउ गापा–३ स्थित करिब ३० रोपनी जग्गा उपलब्ध गराउन तथा  भारतको नयाँदिल्लीमा यही  माघ १० देखि १३ सम्म हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।     त्यस्तै, जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको कार्यविधि ३५ दिन थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।     विदेशस्थित नेपाली नियोगहरुमा नयाँ स्वीकृत भएका कूटनीतिक कर्मचारीतर्फ र नयाँ स्वीकृत भएका स्थानीय कर्मचारीतर्फको पद तथा विदेशस्थित नेपाली नियोगहरुमा नयाँ स्वीकृत भएका अर्दली पदका लागि पारिश्रमिक स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।   यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्ति नहुँदासम्म जिम्मेवारी तोक्ने तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने, बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ताको कार्यालयको नायब महान्यायाधिवक्ता पदमा र महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

पोखरा:   आगामी १५ गतेदेखि २१ गतेसम्म पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा हुने १४ औं संस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सन्दर्भमा बगर भाइखलकले चौंथो च्यारिटी डिनर आयोजना गरेको छ । उक्त कार्यक्रमबाट कुल ७ लाख ३१ हजार संकलन भएको च्यारिटी डिनकार संयोजक याम गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि थप रकम जुटाउने र आपसी भाइचाराको सम्बन्धलाई ताजा बनाउने च्यारिटी डिनर आयोजना गरिएको हो । उक्त कार्यक्रममा लेकाली व्याण्ड, ओपन सि व्याण्ड, गायीका प्रिया गुरुङ र उषा गुरुङ, प्रकाश राना लगायतले सांगीतिक प्रस्तुती राखेका थिए । अन्तरराष्ट्रिय भेट्रान्स फुटबलमा ४०, ५० र ६० प्लस उमेर समूहको प्रतिस्पर्धा  भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले  प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ । ४० वर्षतर्फको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछ । यस्तै ५० वर्षतर्फ विजेताले नगद रु १ लाख र उपविजेताले नगद रु ५० हजार हात पर्नेछ । भने, ६० वर्षतर्फ विजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।  

काठमाडौं:   सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ । लेखा समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भन्नुभयो, “सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ । के कति कारणले मूल्य बढेको हो भनेर अध्ययन विश्लेषण गरी सात दिनभित्र पेस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।” त्यस्तै उपभोग्य वस्तुमा मूल्य निर्धारण प्रणाली विकास गरी कार्यान्वयन ल्याउन पनि समितिले निर्देशन दिएको छ ।  उद्योगमा अहिले पनि १२ घण्टासम्म लोडसेडिङ भएको भन्ने गुनासो समितिमा आएको उल्लेख गर्नुहुँदै सभापति पोखरेलले उद्योगमा के कति लोडसेडिङ छ भनेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग पनि जवाफ माग गर्ने निर्णय भएको बताउनुभयो । समितिले आज सिमेन्टको मूल्य बढेको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घसँग छलफल गरेको थियो ।

ढोरपाटन:     उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।       आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै हाशा जगाउने काम गरिररहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना बनाएर अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।       स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडि नलाग्ने उहाँले आग्रह गर्नुभयो ।      सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरिरहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुने मन्त्री सिंहले बताउनुभयो । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उहाँले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।       उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छाचाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग समबोधन गर्दै गएको छ, देशमा कहिले कोभिडले, कहिले अन्य प्रकोपले गर्दा आर्थिक अवस्था खस्कँदो थियो, अहिले चलायमान हुँदै गएको छ । नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिँदै गएको छ ।”      सो अवसरमा मन्त्री सिंहले बागलुङ नगरपालिका–१३ मा पर्ने गणेशमान सिंह मार्ग समयमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । बागलुङ नगरपालिकाले जस्तै अन्य पालिका पनि चाँडै बालमैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौं:    आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।  मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।    अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई÷दुई विकेट लिए ।           त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।       बलिङतर्फ नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिइन् भने सीमना केसीले दुई र रिया शर्माले एक विकेट झारेकी थिइन् । विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।       यो जितसँगै अष्ट्रेलियाले समूह चरणको खेलमा अपराजित रहँदै सुपर सिक्समा छनोट भएको छ । अष्ट्रेलियाले यसअघि स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो ।

पोखरा:   माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ ।  कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम र खेलकुदको विकासलाई सहयोग गर्ने उद्देश्यका साथ एनसेल टाइगर कपसंग जोडिएको हो ।   देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ ।  यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्ने टाइगर कपका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।    देशको एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ ।  यस्ता सहकार्य तथा साझेदारी केवल खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । यो प्रतियोगीतामा एनसेल प्रमुख प्रायोजनका रुपमा आवद्ध भएको हो ।   यसअघि एनसेलले नेपाल प्रिमियर लिगका लागि क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग ‘पावर्ड बाई एनसेल’ साझेदारका रुपमा सहकार्य गरेको थियो । खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने एनसेलको अपेक्षा छ ।    एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँग पनि सहकार्य गरेको छ ।  यस सहकार्यमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ । पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितहरुमा सहभागिता जनाउन सहयोगका साथै कम्पनीले क्रिकेट, फुटबल, भलिबल र गल्फलगायतका खेलमा सहयोग प्रदान गर्दै आएको छ ।  माघ १९ गतेसम्म चल्ने टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा २ विदेशीसहित १२ टोलीले सहभागिता जनाएका छन् । उक्त प्रतियोगिताका खेलहरु पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।  

पोखरा:   कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ ।  घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि सुरु हुने बताए ।  ‘सबै मौसममा पर्यटन भन्ने नारालाई आत्मसाथ गर्दै तेस्रो घान्द्रुक पर्यटन महोत्सव फागनु ७ देखि १० गतेसम्म सञ्चालन गर्दै छौं’, अध्यक्ष गुरुङले भने, ‘४ दिनसम्म सञ्चालन हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।’ अध्यक्ष गुरुङले खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुदलाई जोडिएको बताए ।‘खेलकुद पनि पर्यटनसँग जोडिएको छ, पर्यटन महोत्सवमा खेलकुदलाई जोड्दा खेलाडी र पर्यटकीय क्षेत्रलाई दुवैलाई फाइदा छ, उनले भने, ‘ढुङ्गेनी गाउँले परिचित घान्द्रुकलाई जोड्न खेलकुदले पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षासमेत लिएका छौं । मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।  क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक एवम् महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए ।  उनका अनुसार भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६÷६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०÷१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।   पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।