पोखरा:  पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ ।  बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फा...

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ मस्यौदामा एआइका क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरोकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताउनुभएको छ ।  सञ्चार मन्त्रालयमा आज भएको छलफलमा मन्त्री गुरूङले एआई क्षेत्रका लागि आवश्यकपर्ने सबै प्रावधान नीतिमा समावेश गरिने विश्वास दिलाउनुभयो ।  “एआई नीति अहिलेको आवश्यकता हो, त्यसैले अलि मेहनत गर्नुपर्ने छ”, सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले, “आवश्यक विषयवस्तु छुटाउनु हुँदैन । गहन र विस्तृत नीति ल्याउनुपर्छ ।”   एन हब संस्थाका संस्थापक दिलीप भट्टराईले मस्यौदामा सुझावसहितको कार्यपत्र प्रस्तुत गर्दै एआइको भविष्य, चुनौती र अवसरबारे स्पष्ट भएर नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । एआईसम्बन्धी विज्ञहरूले बन्दै गरेको नीतिमा डाटा सुरक्षा र गोपनीयताको विषयबारे सरकारको ध्यानार्कषण गराउनुभएको थियो । छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले एआईको नीति बलियो बनाउन अब सरोकारवाला माझ पुग्ने बताउनुभयो । अहिलेसम्म विज्ञहरूको सुझाव दिइएको र अब छिट्टै सरोकारवाला माझ मस्यौदाका विषयमा छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो । मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले एआई नीति सबैको आवश्यकता र चासोको विषय भएकाले प्रभावकारी नीति बनाउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।  त्यस्तै, मन्त्रालयका सूचना प्रविधि विज्ञ डा शालिग्राम पराजुलीले एआई क्षेत्रलाई ‘अटोनमस बडी’ को रूपमा लानुपर्ने बताउँदै जनस्तरबाट प्राप्त सुझावको भावनाअनुरूप नीति तयार पारिने बताउनुभयो ।

ढोरपाटन:   उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताउनुभएको छ ।  नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यसभन्दा अगाडि बनेका धेरै सरकार अस्थितर बन्दा नागरिकमा निराशा बढेको भन्दै अहिले दुई ठूला दल मिलेर यो सरकार गठन भएको मन्त्री सिंहले स्पष्ट पार्नुभयो । सरकार गठन गर्दा भएको सात बुँदे सम्झौत अनुसारनै अगाडि बढेको भन्दै नागरिकमा भरोसा जगाउने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको मन्त्री सिंहले बताउनुभयो ।  उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन गर्‍यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ ।” देशमा सङ्कट पर्दा कांग्रेसले निकास दिँदै आएको र पार्टीलाई बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीका हरेक कार्यकर्ताले सङ्गठनलाई मजबुत बनाउनुपर्ने भन्दै नागरिकका समस्या समाधानमा समन्वयात्मक भूमिका खेल्नुपर्ने उप्रधानमन्त्री सिंहले बताउनुभयो ।

गोरखा:   स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको पालुङटार गाउँपालिका–५, लामागाउँस्थित हवाईग्राउण्ड नजिकै बा ८२ प २१९९ नम्बरको स्कुटर दुर्घटनामा हुँदा स्कुटर चालक २४ वर्षका सुरेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो । तीव्रगतिमा लामागाउँबाट हवाई ग्राउण्डतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परेको उहाँको भनाइ छ ।  अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका गुरूङ पालुङटारमा बस्दै आउनुभएको थियो । दुर्घटनाग्रस्त स्कुटर र शव आज फेला परेपछि घटनाको अनुसन्धान गर्दा गुरूङ आफैले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो । स्थानीयवासीले दुर्घटनाग्रस्त स्कुटर र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीव्रगतिका कारण स्कुटर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवन:   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पार्नुभएको छ ।  चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताउनुभयो ।  अध्यक्ष दाहालले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।”   आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताउनुभयो ।  माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उहाँले जानकारी दिनुभयो । 

लमजुङ:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दुई ठुला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलकमा विकासले लय लिन थालेको बताउनुभएको छ ।       एमाले लमजुङद्वारा आज बेँसीसहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्र, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रले गति लिनथालेको बताउनुभयो । सुशासन र प्रभावकारी सेवाका लागि कानुन बनेकाले सहकारी पीडितले समेत राहत पाउन थालेका उहाँको भनाइ थियो ।       “अधिकार सम्पन्न सहकारी प्राधिकरण बनेको छ”, उहाँले भन्नुभयो । मुलुकमा देखिएको सङ्कट समाधान गर्न दुई ठुला दल एक ठाउँमा आएका उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताउनुभयो । सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भए त्यसले कुनै असर नपार्ने उहाँको भनाइ थियो ।       “कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालन गर्न दुवै दल गम्भीर छन्”, उपमहासचिव ज्ञवालीले भन्नुभयो ।  बर्तमान सरकारलाई बलियो बनाएर अघि बढ्दै एमालेलाई एक नम्बरको राष्ट्रिय शक्ति बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग कुनै सम्बन्ध नरहेको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो ।  

काठमाडौं:  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु ईन्सुरेन्स कम्पनी लिमिटेड बीच सुनचाँदी व्यवसायको प्रवद्र्धन र व्यवसायीहरुलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रले सुनचाँदी व्यवसायीहरुको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिएको महासंघका अध्यक्ष किसान सुनारले बताए ।  समझदारी अनुसार, प्रभु ईन्सुरेन्सले सुनचाँदी व्यवसायीहरुका लागि विशेष बीमा योजना र सेवाहरु प्रदान गर्नेछ ।  यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पु¥याउनेछ । साथै, महासंघले व्यवसायीहरुबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवद्र्धन गर्न प्रभु ईन्सुरेन्ससँग सहकार्य गर्नेछ । प्रभु ईन्सुरेन्सका अध्यक्ष श्री राजेन्द्र मल्ल, प्रमुख कार्यकारी अधिकृत श्री सन्चित बज्रचार्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका श्री किसान सुनारको समुपस्थितिमा भएको हस्ताक्षर समारोहमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तर्फबाट महासचिव श्री निर बहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख श्री राम महर्जन साथै प्रभु ईन्सुरेन्स कम्पनी लिमिटेड तर्फबाट बजार विभाग प्रमुख श्री समिर तामाङ र वित्त विभाग प्रमुख श्री अरविन्द कुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष श्री किसान सुनारले भने, “यस समझदारीले सुनचाँदी व्यवसायीहरुको जोखिम व्यवस्थापनमा नयाँ सम्भावना खोल्नेछ । बीमाको माध्यमबाट व्यवसायीहरु थप सुरक्षित महशुस गर्नेछन् र व्यवसाय विस्तारमा आत्मविश्वासका साथ अघि बढ्नेछन्।”  प्रभु ईन्सुरेन्सका अध्यक्ष श्री राजेन्द्र मल्लले भने, “हामीले विशेष रुपमा डिजाइन गरिएको बीमा सेवा प्रदान गरेर सुनचाँदी व्यवसायको दिगो विकासमा सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं।” समझदारीको उद्देश्य सुनचाँदी क्षेत्रको आर्थिक विकासलाई गति दिनुका साथै जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । यो पहलले व्यवसायीहरुमाझ बीमाको पहुँच वृद्धि गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । प्रभु ईन्सुरेन्स र महासंघले भविष्यमा पनि थप सेवा तथा कार्यक्रमहरुमार्फत व्यवसायीहरुको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

चितवन:    चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोगगर्दा सवाधानी अपनाउन आग्रह गरेको छ ।  विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली  हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो ।      निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साँझ परेपछि दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई सामूहिक रुपमा मात्र पठाउने गरिएको छ ।  उहाँले भन्नुभयो “निकुञ्ज हुँदै कसराको बाटो प्रयोग गर्नेलाई साँझ ५ः३० बजेपछि एक्लै यात्रा नगर्न अनुरोध गरेका छौँ ।” समूहमा यात्रा गर्न या ठूला सवारीसाधनको पछि मात्रै यात्रा गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । ध्रुवे हात्ती निकुञ्ज मुख्यालय क्षेत्र र कसरा सडक क्षेत्रमा रहेकाले सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।      भरतपुर–माडी दैनिक पाँच सय दुई पाङ्गे्र तथा चार पाङ्ग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन् । साँझपख बढीजसो दुईपाङ्ग्रे सवारीसाधन गुड्ने गरेका छन् । सडक छेउछाउ हात्तीले आक्रमण गर्नसक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापा मगरले बताउनुभयो । 

काठमाडौं:    खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।      धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उहाँले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिनुभयो ।  मन्त्री यादवले भन्नुभयो, “जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।”       लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताउनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

महोत्तरी:     माघको पहिलो साता सकिनैलाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न दलित बस्ती अझै चिसोको कहरबाट निस्कन सकेका छैनन् । दुई दिनयता मध्याह्नतिर घाम देखिए पनि त्यसअघिको शीतलहरले दलित बस्ती अझै जाडोको केही सहारा पाइन्छ कि भन्ने आशमै छन् ।      पछिल्लोपटक माघे सङ्क्रान्तिसँगै बढेको लगातारको बाक्लो हुस्सु र त्योसँगै बहने चिसो स्याँठले दलित बस्तीका पराले झुप्रामा ओसले लछ्रप्प भिजाएको भुइँ अझै ओभाएको छैन । बस्ने भनौँ कि सुत्ने खरको भित्ता र परालको छानोका केही झुप्रा छन् । झुप्राभित्र न ओढ्ने, न ओछ्याउने केही छैन । केवल पराल ओछ्याइएको छ, त्यो पनि ओसले भिजेको छ । अहिले महोत्तरीका सबैजसो स्थानीय तहका गरिब बस्तीको अवस्था हो यो । खासमा मुसहर र बाँतर जाति समुदायका बस्तीमा जाडोको कहरले अझै छाडेको छैन ।      पुस मध्यपछिको शीतलहर काटेर अन्त्यतिर घाम देखिन थालेपछि यसपालिको कष्ट पार लगाइयो भन्ने सोचेका यस्ता बस्तीका गरिबले तिला सक्रायत (माघे सङ्क्रान्ति) राम्ररी मनाउन पाएनन् ।  आफ्ना अभाव र दुःख लुकाउँदै मनाइने तिला सक्रायत (माघे सङ्क्रान्ति) कै दिन बढेको हुस्सु र चिसो स्याँठले लगलगी मुटु कमाउने जाडो बढेपछि गरिब बस्तीमा पर्वको रौनक छाउन नसकेको ती बस्तीका दलित बताउँछन् ।  “जाड स सारा शरीर सुकैरगेल, कि पावैन मनवैतो” (जाडोले कक्य्राएको थियो, के पर्व मनाउनु ?) पर्वका दिनको अवस्था सम्झदै भङ्गाहा–३ सकरीको दलित बस्तीकी पारो बाँतर भन्नुहुन्छ, “आस तकैछी जे कोई अई जाडके सहारा बैनतै” (पर्खदै छौं, सहारा बनेर कोही आइहाल्थे कि ?)।  पारोजस्तै सो बस्तीका मुसहर र बाँतरका ५० परिवार अहिले राहत पर्खदैछन् । नजिकको भङ्गाहा–४ रामनगरको मुसहरी टोलकी हेमनी सदा मुसहर जाडोले कक्य्राएको शरीर अझै कतै काममा जानसक्ने नभएको बताउनुहुन्छ ।   “कतो काज कर नई जासकैछी, झुपडीमें आब न खाएके दाना अई, न पहिरके कोनो गरम कपडा” (जाडोले कतै काम गर्न जान सकेको छैन, झुप्रोमा अब न खाने अन्न छ, न न्यानो कुनै लुगा) हेमनी भन्नुहुन्छ, “आब नई बुझाइय, जे इ ठण्ड पार करब” (अब लाग्छ, यो चिसो काट्न सकिन्न) । हेमनी मात्र नभएर सो बस्तीका ३५ घर मुसहरको उस्तै अवस्था छ ।       जिल्लामा अति विपन्न अरु जाति समुदाय पनि छन्, तर मुसहर, बाँतर भने अन्यभन्दा निकै कष्टमा छन् । यी दुबै जाति समुदायजस्तै मेस्तर, डोम, खत्बे, हलखोर, चमार र पासवानसहितका दलित समुदायको अवस्था दयनीय देखिन्छ ।  यद्यपि, यी समुदाय बाँतर, मुसहरभन्दा आमरुपमा अलि उक्सेका जस्ता देखिन्छन् । कुनै बस्ती छिचोल्दा पराले झुप्राका गुजुमुज्ज बस्ती देखिएपछि सो ठाउँबारे अनजानले पनि यो मुसहर, बाँतरको बस्ती रहेछ भनेर लख काट्न सक्ने भङ्गाहा–४ को मुसहर बस्तीकै नजिकका ७५ वर्षीय वृदेवसिंह दनुवार बताउनुहुन्छ ।       मुसहर, बाँतरको भन्दा यी अरु समुदाय थोरै माथि देखिन्छन् । यिनमा पनि डोम, हलखोर र मेस्तर अरूभन्दा निम्सरा नै देखिने सामाजिक संस्था प्रयास महोत्तरीका अध्यक्ष एकडाराको भटौलिया बस्तीका प्रवीण कर्ण बताउनुहुन्छ ।  “मुसहर, बाँतरका उस्तै पराले झुप्रा हुन्छन्, यी दुबैको रहनसहन, चाडपर्व र कामको क्षेत्रपनि मिल्दाजुल्दा छन्”, कर्ण भन्नुहुन्छ, “यी समुदाय शिक्षा, स्वास्थ्य र अन्य विकासका अवसरबाट निकै पछि छन् ।”      शिक्षा, स्वास्थ्यमा पहुँच र विकासका अन्य अवसरबाट पूरै बेखबर यहाँका मुसहर र बाँतरको मुख्य काम कृषि मजदुरी हो । आफ्नो गरिबी र अभावबारे भगवान्बाहेक कसैसँग यिनीहरुको गुनासो छैन । ‘न राख्ने अन्न, न साँच्ने धन’ आहानका लागि मुसहर, बाँतर उदाहरणमा उभ्याइन्छन् ।  गिरहतको (काम गर्न गइने धनी किसानलाई यिनीहरु गिरहत भन्छन्) खेतबारीमा गरेको कामबापतको बनी (पारिश्रमिक) ले ल्याएको अन्न यिनीहरु कहाँ सामान्यतया बासी रहन्न । ‘कुटी ल्यायो, भुटी खायो’ यिनीहरुका लागिको चलनचल्तीको अर्को आहान हो ।       पछिल्लो माघे सङ्क्रान्तिका दिनदेखि अचाक्ली बढेको जाडोबीच यिनको तातोको सहारा भनेको सडकमा फालिएका झुत्रा, पतिङ्गर र प्लास्टिकका टुक्रा जम्मा पारेर बालिएको ‘घूर’ (आगो सल्काइएको पतिङ्गर वा भूसको थुप्रो) हो ।  लछ्रप्प भिजेका यस्ता झुत्रा, प्लास्टिकका टुक्रा र पतिङ्गर राम्ररी नबलेर पचपची धुँवामात्र फाली रहे पनि यिनीहरुका सपरिवार त्यही ‘घुर’ वरिपरि बसेर ‘फू फू’ फुक्दै तातिने आसमा हात फैलाएर बसिरहेका देखिन्छन् । बस्तीका ससाना नानी नाङ्गो आङ्मै त्यही ‘घूर’ को सहारामा तातो खोजिरहेका देखिन्छन् ।      जिल्लामा मुसहर, चमार, पासवान, डोम र खत्बे धेरथोर सबै स्थानीय तहमा बसोबास गरे पनि हलखोर र मेस्तरको बसोबास जलेश्वर वरपर मात्रै भेटिन्छ । यसैगरी, बाँतर जिल्लाको भङ्गाहा नगर क्षेत्रमा मात्र भेटिन्छन् । मुसहर र बाँतरको मुख्य गुजारा खेती मजदूरीमा छ भने अन्य भने अरु काममा पनि देखिन्छन् । डोम सुँगुर पाल्ने र बाँसका चोयाको सामान बनाउँछन् । मेस्तर सरसफाइको काम गर्छन् ।       जिल्लामा कुल जनसङ्ख्या सात लाख छ हजार नौ सय ९४ भित्र यी सबै दलितको बसोबास झन्डै १५ प्रतिशतको हाराहारीमा छ । जिल्लामा मुसहर २७ हजार तीन सय ५२ र खत्बे १९ हजार ६ सय २५ जनसङ्ख्या रहेको २०७८ को राष्ट्रिय जनगणना तथ्याङ्कले देखाएको छ । यसैगरी, डोम, हलखोर र मेस्तरसमेत १० हजारको हाराहारीमा छन् । जिल्लामा चमार २५ हजार दुई सय ३० र पासवान १७ हजार ६ सय नौ रहेको सो गणना तथ्याङ्कले देखाएको छ ।       बर्खाको भेल, गृष्मकालको गर्मी र शीतकालीन चिसो खेप्नु यिनीहरुको साझा नियति झैँ बनेको छ । राज्यका निकायहरुले दलित लक्षित ल्याएका कार्यक्रम पनि दुई÷चार टाठाबाठाबाहेक आम गरिबसम्म नपुगेको यहाँका बुद्धिजीवी बताउँछन् । “खै यिनीहरु जस्ताको त्यस्तै छन्, दलित लक्षित कार्यक्रम कहाँ पुग्छन् को नि !” औरही–१ का सामाजिक राजनीतिक कार्यकर्ता सरोज यादव भन्नुहुन्छ ।      पुस मध्यपछि शीतलहर बढ्दा कतिपय स्थानीय तहले गरिब बस्तीमा राहत उद्धार लगिने बताए पनि यहाँका गरिबले केही पाएका छैनन् । खासगरी दलितभित्र पनि मुसहर र बाँतरको अवस्था दलितभित्रकै अन्य जाति समुदायको भन्दा टिठलाग्दो छ ।  यस्तो बेला कोही दयालु आइहाल्छन् कि भन्ने आस लागे पनि आपूmहरुको दुःख हेर्न कोही नआएका भटौलियाको मुसहर बस्तीकी अइती सदा बताउनुहुन्छ । भटौलिया जिल्लामा मुसहरको निकै बसोबास भएमध्येको बस्ती हो । यहाँ एक सयभन्दा बढी मुसहर परिवारको बसोबास रहेको सो बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता विजय कर्णको भनाइ छ ।       मुसहर, बाँतर बस्तीमा किशोर र युवा उमेरका पुरुष देखिन्नन् । यी कामका लागि भारतको पञ्जाव, हरियाणा जाने गर्छन् । बस्तीमा महिला, ससाना नानीहरु र वृद्धवृद्धा मात्रै छन् । “के गर्नु हजुर, यहाँको बनीबुतोले मुखमा माड लाग्दैन, छोरा नाति पञ्जाव गएछन्, तिनैले ल्याउने पैसोले गुजारा चल्ने हो” औरही–७ को मुसहरीटोलका ६० वर्षीय भुठ्ठा सदा भन्नुहुन्छ, “यस्तै हो, भगवान्ले गरिबको जुनी दिएछ, काट्नु त पर्छ ।”      जिल्लाका अति पछि परेका मुसहर र बाँतर परिवारमा मीठो खाने कुरा छोरा, नाति पञ्जाव जाने अघिल्लो रात र फर्केका दिन हुन्छ । जाने दिन साहु काढेर यिनीहरु भोेज गर्छन्, फर्केको दिन आफ्नो कमाईले । यसबाहेक चुनावका बेला उम्मेदवारहरुले ख्वाएका मासु–रक्सी यिनीहरु सम्झन्छन् ।  “चुनावबेर दु तीन दिन माउस आ दारु चल्लै, ओइके बाद कोई घुइरक नई आयल” (चुनावका बेला दुई÷तीन दिन मासु–रक्सी चल्यो, त्यसपछि त कोही फर्केर आएका छैनन्) भङ्गाहा–२ बखरीको मुसहरीटोलकी नाउँ बताउन नखोज्ने (यी समुदायका महिला अरूलाई आफ्नो नाउँ भन्न हिच्किचाउँछन्) महिलाले भन्नुभयो, “अखनी जाड स मरैछी, कोई नई तकैय” (अहिले जाडोले मर्न लाग्या बेला कसैले हेरेनन्) ती मुसहर समुदायकी महिलाले आफ्नो पीडा पोख्नुभयो ।       मुसहर, बाँतरसहितका दलितको अवस्था फेर्न उनीहरुले गर्दै आएका कामको विविधीकरण र नयाँ पुस्तालाई शिक्षा र भरपर्दो सीपसँग जोड्न स्थानीय तहहरुले योजनाबद्ध काम थाल्नुपर्ने भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ । यस दिशामा स्थानीयतह नेतृत्व उदासीन देखिँदा वर्षको एकपटक एक÷दुई छाक खान दिँदा वा एकसरो लुगा दिइँदैमा भने अवस्थामा सुधार नआउने उहाँले बताउनुभयो ।