काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको छ । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताउनुभयो । उहाँले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्भाव खलबलाउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने स्पष्ट गर्नुभयो । “अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामीले काम गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी समृद्ध र सिङ्गो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।” प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश र पार्टीप्रति गरेको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गर्नुभयो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ४ गल्छीमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी ३ का करिब १९ वर्षीय रोमन लम्साल रहेका छन् । खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नम्बरको मोटरसाइकल र दुलेगौंडातर्फ जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल गएराती एकापसमा ठक्कर खाएका थिए । सोही क्रममा दुलेगौडातर्फ जादै गरेको मोटरसाइकलका चालक लम्साल गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारकालागि जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वाश केन्द्र लगिएको थियो । लम्साललाई त्यसपछि चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै अर्का मोटरसाइकलमा सवार शुक्लागण्डकी ४ कार सुशान आले र सोही वडाकै निश्चल गुरुङपनि गम्भीर घाइते भएको बताइएको छ ।
पोखरा: युनाइटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ । १५ औं वार्षिकोत्सवको अवसर पारि नयाँ वर्षको दिन (बैशाख १ गते) पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण समेत सम्पन्न गरिसकेको युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा पोखराको अमरसिंहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बोल्दै रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधीक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा रक्त अभावमा रहेकाहरुलाई सहयोग पुग्ने बताए । युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । युनाइटेड क्लबले नयाँवर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको र दोश्रो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको उनको भनाई थियो । युनाइटेडले सामाजिक कामलाई निरन्तरता दिनेसमेत थापाले बताए । युनाइटेड क्लबका कार्यसमिति सदस्य विष्णुकुमार गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
हेटौँडा: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक बाराको कोल्बी नगरपालिका– ११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा भएको खुल्ला नृत्य प्रतियोगितामा कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भएकी छिन् । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते)देखि सञ्चालन भएको मेलामा आयोजित खुल्ला नृत्य प्रतियोगितामा ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् । यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे । खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए । उनका अनुसार म्युजिकल चियर प्रतियोगितामा निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो । कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो । भलिबल तर्फ पहिलो चरणकै खेल जारी मेलामा जारी पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै तीन खेल सम्पन्न भए । बुधबार भएको पहिलो खेलमा भोर्लेले नाम्चेलाई २–० को सोझो सेटमा पराजित गर्याे । पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० ले भोर्लेले जित हात पार्याे । दोस्रो खेलमा थामडाँडाले दुर्गेलाई २–० को सोझो सेटमा हरायो । थामडाँडाले पहिलो सेट २५–१५ र दोस्रो सेट २७–२५ ले जितेको थियो । यसैगरी बुधबार भएको अन्तिम खेलमा कोल्माले माथिल्लो काल्खुलाई २–१ को सेटमा पराजित ग¥यो । कोल्माले पहिलो सेट २०–२५ ले जितेपनि दोस्रो सेट २५–२३ ले गुमाएको थियो । निर्णायक तथा तेस्रो सेटमा फेरि पुनरागमन गर्दै कोल्माले २७–२५ ले जितेको थियो । आज (बिहीबार) पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । अध्यक्ष रानामगरका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे अर्जुनले १४ बलमा २ चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिदैँ आउट भए । उनले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । विपिन रावल १६, खगेन्द्र जोशी ४ रनमा आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिदैँ आउट भए । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सोहन कुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारी १३ र सन्दिप खड्का १ रनमा आउट भए भने चन्दन यादव, आतिश दास, पंकज यादव शुन्यमै पेभिलियन फर्र्किए । अकिल खान९ रनमा नटआउट रहे । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशिल साउदले समान २–२ तथा भोजराज भट्टले १ विकेट लिए । त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले हराएको थियो । १४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२.३ ओभरमा ३ विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्काको मद्धतमा सर्वाधिक ८० रनको योगदान दिएपनि टिमलाई सेमीफाइनलमा पु¥याउन भने सकेनन् । अमर मिश्र ३७ रनमा नटआउट रहे । हरैचाका लागि प्रकाश कार्की र आयुष डंगेलले १–१ विकेट लिए । त्यसअघि टर हारेर ब्याटि थालेको सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मनिष थापाले ४७ रनको योगदान दिएका थिए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रितेश राय २३ रनमा आउट भए । होरिजोनका लागि निर्मल गुरुङ, सुवम खनालले २÷२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले १÷१ विकेट लिएका थिए । अत्तरियाले कुल ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दर हरैचा क्रिकेट क्लब जितविहिन हुँदै पुछारमा रह्यो । यस अघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थियो । भोलि पहिलो सेमीफाइनल काठमाडौं र हिमाल तथा दोस्रो सेमीफाइनल गण्डकी र अत्तरियाबिचमा हुनेछ । चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि बस्दै छ । कार्यवाहक सभापति डीपी अर्यालले बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक आव्हान गरेका हुन् । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।
काठमाडौं: नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए । बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे । बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।
काठमाडौं: नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो । चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए। टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाउनुभएको थियो । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ । यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, ब¬ङ्गलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्दछ । विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् । यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या आठ सय ९९ पुगेको छ ।

