पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् । थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजकबाट टोलीबाट टाइगर कप खेल्न बिहीबार साँझ पोखरा आइपुगेका हुन् । उनीहरुलाई स्वागत गर्न कप्तान अरुणा शाही, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसीसहितका टोली पोखरा विमानस्थल पुगेका थिए । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोली सहभागी बनाउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् । टोलीमा तीन विदेशीसहित राष्ट्रिय यु–२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यू–२० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरिएको छ । माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित एक विदेशी गरी ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोली पनि विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । पुरुषतर्फ पनि एक विदेशीसहित ६ टोली सहभागी भएका छन् ।
खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर निर्वाचित भएका छन् । मञ्चको आज बिहीबार भएको तेस्रो अधिवेशनले एमबीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रतिस्पर्धी सुरज श्रेष्ठलाई पराजित गर्दै एमबी अध्यक्ष निर्वाचित भएका हुन् । निवर्तमान सदस्य एमबीले ३६ मत पाउँदा निवर्तमान उपाध्यक्ष सुरजले २७ मत आएको थियो । उमा आलेमगर उपाध्यक्ष (समावेशी) निर्वाचित भइन् । उमाले ३६ मत पाउँदा उनकी प्रतिस्पर्धी राधिका कँडेलले २७ मत ल्याइन् । पर्शुराम शर्मा महासचिव निर्वाचित भएका छन् । उनले ३८ मत ल्याउँदा प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले २५ मत पाइन् । सचिवमा राजु गिरी ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाइन् । उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा भने विमल तिवारी निर्विरोध भएका थिए । मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको हो । सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पाैडेल चुनिएका छन् ।
स्याङ्जा: स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो। खेतमा जेसिबी लगाउने क्रममा बुधबार सवा १० बजे बम फेला परेको थियो। श्री सिंह सारदुल गुल्मा आँधी खोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बम डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए। उक्त बम टुइच मोटरमा लाग्ने एचई बम रहेको प्रहरीले जनाएको छ। फलामको बोतलजस्तो खिने उक्त बम खेतमा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो। राष्ट्रपति कार्यालयका अनुसार जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लिामक गणतन्त्र इरानका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
ताप्लेजुङ: दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व संकटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार महोत्सवमा सरोकार भएका निकायका प्रतिनिधिसँग हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अध्ययन, अवलोकन गरी अनुसन्धानमार्फत समस्या समाधानका विषयमा छलफल हुनेछ । गाउँपालिकाको आयोजनामा पछिल्लो समयमा जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रको प्रभावका विषयमा अध्ययन, अवलोकन गर्नुका साथै महोत्सवमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको उनले जानकारी दिए। कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । कञ्चनजङ्घा हिमाल हेर्न आउनेका लागि गाउँपालिकाले सङ्घीय र स्थानीय सरकारको साझेदारीमा साहसिक पदमार्ग निर्माणमार्फत यात्रा सहज र रमणीय बनाउने काम गरिरहेको प्रवक्ता गौतमले बताए। उनका अनुसार आगामी वैशाखमा आयोजना हुने महोत्सवमा निर्माणाधीन साहसिक पदमार्गको प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्द्धनका साथै स्थानीय कला, संस्कृति र परम्परालाई चिनाउने उद्देश्य राखिएको छ । महोत्सवमा चार हजार पाँच सय मिटर उचाइको साहसिक कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने प्रवक्ता गौतमले जानकारी दिए । गत मङ्सिर २३ गते बसेको कार्यपालिका बैठकमा महोत्सव आयोजना सचिवालय समितिले मिति र स्थान तय गरी पेस गरेको थियो । सोही बैठकले सर्वसहमतिका आधारमा आगामी वैशाख १३ गतेदेखि १५ गतेसम्म नयाँ झोडेनीमा महोत्सव गर्ने निर्णय गरेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए। उनले भने, ‘वर्ष नयाँको अवसर पारेर झोडेनीमा आयोजना हुने महोत्सवमा म्याराथुन प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गर्ने योजना छ ।’ म्याराथुन प्रतियोगिताका लागि नयाँ झोडेनी र मछेवा बीचको दूरी कायम गरिएको उपाध्यक्ष माबोले बताए । यो स्थान कञ्चनजङ्घा हिमशृङ्खलाको सबै भन्दा उत्तम भ्यू पोइन्ट रहेको सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले गत कात्तिकमा निर्माणाधीन याम्फुदिनको आम्जि खोलाबाट कञ्चनजङ्घा बेस क्याम्पसम्मको साहसिक पदमार्गको अनुगमन गर्नुका साथै महोत्सव आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । महोत्सव आयोजनाले कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सहयोग पुर्याउने गाउँपालिकाले जनाएको छ । वडाध्यक्ष गुरुङका अनुसार झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । ‘यो यहाँको मुख्य विशेषता हो । चौरी तथा याकको अवलोकन, नेपालको राष्ट्रिय फूल लालीगुराँस र हिमालले छपक्क छोपेको पहाड, पहाडको सिरैमा सेताम्मे हिमाल, हिमाली धुपी र सल्लाले यहाँको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । यी सौन्दर्यले पर्यटकको थकान मेटाउने छ र मनोरञ्जन प्रदान गर्दछन्’, उनले भने। महोत्सव आयोजनाले आन्तरिक पर्यटकलाई हिमालको महत्व बोध गराई हिमाल हेर्न जान उत्साहित बनाउने विश्वास लिइएको गाउँपालिकाका प्रवक्ता गौतमले बताए। यो स्थानमा महोत्सव आयोजना गर्दा खर्च कम लाग्नुका साथै नजिकबाट धेरै हिमालको अवलोकन गर्न सकिने हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको उनले उल्लेख गरे ।
काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गर्नुभएको छ । मन्त्री डा। राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गर्नुभयो । गएराति भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको छ ।
काठमाडौं: रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । ‘‘विश्व हिमोफिलिया महासङ्घबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौं ।’’ स्वास्थ्य मन्त्रालयले यस औषधीका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासङ्घमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताउनुभयो । नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ । मन्त्रालयले सङ्घीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
काठमाडौं: मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने विनोद पौडेल रहेका छन् । एनसिबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिआएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ । डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यलयका प्रमुख कृष्णबहादुर थापाले बताए । उनका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ । आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए । आगलागी भएको स्थानबाट मानवबस्ती करिव तीन किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।