पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित भयो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुप¥यो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियोे । पाँचौं सेटमा गण्डकीले सुरुआती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमाउनुप¥यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । यसअघि पुरुषतर्फ भएको खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटले पराजित गरेको थियो । यस्तै आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
पोखरा: व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि-मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुती रहनेछ । व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउनेगरी कार्यक्रम गर्न लागिएको आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । कुनैबेला पोखरा व्याण्डहरुको राजधानी थियो । ९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,उनले भने,‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरी एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यहि विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’ उनले संगीतमार्फत विश्वको ध्यान फेरी एकपटक पोखरामा तान्न कार्यक्रम कोशेढुंगा सावित हुने उनको विश्वास छ । सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।’ कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनिल थापाले बताए । उनले भने,‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्नो सन्ततीलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ ।’ कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन भएर तयारी शुरु भइसकेको कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।
काठमाडौं: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सन्दर्भमा सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरूलाई छिटो अघि बढाई बिजनेस दिन आग्रह गरेका थिए । समितिमा अल्झिएर रहेका विधेयक, अघिल्लो संसददेखि थाँती रहेका केही विषय लगायतमा सभामुखले चासो व्यक्त गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले सदनलाई सहज ढंगले अघि बढाउन आफूहरूको सकारात्मक पहल हुने प्रतिबद्धता जनाएको बताए । त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको प्रभावकारिताका साथै महत्त्वपूर्ण विधेयक अघि बढाउन सत्तारुढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिए । माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको उनले बताए । उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरूलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गरेको जानकारी दिए । संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक अघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रूपमा छलफल गर्ने तय भएको छ । त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उनले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताए । मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उनले राखे। उनले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा गम्भीरताका साथ लागेको जानकारी दिए । हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण भएकाले यसलाई आधुनिकीकरण गरी प्रविधि मैत्री बनाउन जरुरी रहेको उनको भनाइ छ । ‘अब हुलाकको नीति परिवर्तन हुन्छ’, मन्त्री गुरुङले भने, ‘हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ ।’ सो कार्यक्रममा स्थानीय तहका हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरूलाई आग्रहसमेत गरे । ‘हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरु स्थानीय तहका हुलाक कर्मचारीले आआफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस्’, उनले भने । सो कार्यक्रममा हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था र स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती तथा कार्य योजनामन्त्रीसमक्ष जानकारी गराएकी थिइन् ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा सुनिल क्लबले हेल्प नेपाललाई ३–१ सेट पराजित गरेको हो । पहिलो सेट २२–२५ ले गुमाएको सुनिल क्लबले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरामगन गर्दै विजयी सुरुआत गरेको हो । सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो २७–२५ र चौथो सेटमा २५–१६ ले आफ्नो पक्षमा पारेको हो । यसअघि भएको खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब केही बेरमा पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिचको खेल सुरु हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
पोखरा: नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन भने कोषाध्यक्षमा टंक प्रसाद चयन भएका छन् । यसैगरी सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष),जीवन कुमारी राई, सुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका संयोजक रामचन्द्र लामिछानेले जानकारी दिएका छन् । कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने, हकहितको संरक्षण गर्ने तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त)ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए । आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द संचालित रहेको नवनिर्वाचित अध्यक्षले जानकारी दिए। राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । सो अवसरमा उनले कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्याएको योगदानको प्रसंसा गरेका थिए ।
महोत्तरी: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्य मजबुत रहेको बताएका छन् । मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको उनले स्पष्ट पारे । बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको उल्लेख गरे । पछिल्लो पटक वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भएको उनको भनाइ छ । उनले यसले आर्थिक सूचकहरूमा क्रमशः सकारात्मक सुधार देखाएको दाबी समेत गरे । महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि अब हुने निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्नुपर्ने उल्लेख गरे । यसै अभिभाराबाट निर्देशित भएर आफ्नो दल ‘मिसन– २०८४’ अभियानमा लागेको पोखरेलको भनाइ छ । विसं २०८४ को निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने दृढ सङ्कल्प लिएर अघि बढेको पोखरेलको भनाइ थियो । अहिले मुख्य विपक्षी दलका नेताले वर्तमान सरकार अप्राकृतिक बनेको भन्दै हिँडेको सन्दर्भ जोड्दै पोखरेलले बढी मत पाउने मुख्य दल मिलेर बनेको सरकार अप्राकृतिक भन्नु सत्ताबाट बाहिरिनु परेको छटपटी मात्र भएको टिप्पणी गरे ।
काभ्रेपलाञ्चोक: यत्रतत्र छरिएका ढुंगा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ। बेथानचोकका किसान ती जरा ९झ्यास० र ढुंगा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन्। गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन्। बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए। तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ। बर्खामा बाढी आएर बगाउलाझैं हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन्। बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए। आफैले श्रम गरेर क्षतिग्रस्त बारी बनाइरहेको भए पनि बाढी नियन्त्रण र खानेपानीको व्यवस्थापन गरिदिए धेरै सहज हुने उनको भनाइ छ। बाढीले त्यतिखेर लगाएको मकै बाली सबै बगाएर सखाप बनाएको थियो। विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्याएको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताए। माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका यहाँका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ। डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीवन गुजार्नुपरेको उनले पीडा सुनाए। बारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ। कतिपय त गाडीको सहायताले अरू ठाउँमा लगेर थुपार्ने गरिरहेका छन्। स्थानीय रुपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्याएपछि झन् समस्यामा परेको बताए। जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उनले सुनाए। भएको सम्पत्तिका नाममा रहेको बारी र घर बाढीले पुरेर बगर बनाएपछि समस्या झेल्दै आउनुभएका अर्का किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सम्याएर खेती गर्ने तरखर गरेको बताए। ‘जीवन निर्वाहका लागि भएको सम्पत्ति संरक्षण गरेर खेती कमाइ त गर्नैपर्यो। उनले पीडा सुनाउँदै भने, ‘अहिलेसम्म राहत कतैबाट पाएकी छैन।’ बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्। सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो। बाढीपहिरोबाट समस्या झेल्दै आएका यहाँका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन्। रोशी खोलाको नौ किलोमिटर सिमांकन सकियो यसैबीच असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौती खोलाको सिमांकन तथा व्यक्तिको जमिन एकीनकार्यअन्तर्गत रोशी खोलाको सिमांकनकार्य सकिएको छ। दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमांकन सकिएको हो। बाढीपहिरोले खोलाको सिमांकनसँगै व्यक्तिको घर तथा जमिनको स्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा कार्य सुरु गरेका थिए। बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो। भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सिमांकन सकिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले बताए। अधिकृत भुुसालका अनुसार खोलाको सिमांकन सकेर स्थानीयलाई आह्वान गरिएको निवेदनका आधारमा व्यक्तिका जग्गाका कित्ता पुनःस्थापनाकार्य भइरहेको छ। पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘लेआउट’ सहितको कार्य प्रारम्भ गरिएको हो। तीन कार्यालयका टोलीले डिजीपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको अधिकृत भुसालले बताए। उनका अनुसार टोलीले डिजीपिएस प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ। उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने अनुमान गरिएको छ। व्यक्तिले भोगचलन गरिरहेका जग्गाको अवस्था एकीन गर्न चुनौती भइरहेको अधिकृत भुसालले बताए। उनका अनुसार हाल ६० कित्ताको पहिचान गरिसकिएको छ। आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने बताइएको छ। स्थानीयले भने खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्र पुनर्निर्माणको काम सुरु हुनुपर्ने माग गर्दै आएका छन्। पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घरमा आंशिक क्षति पुगेको थियो। उक्त क्षेत्रमा ११ हजार छ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ। यसैबीच पनौती नगरले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। नगरको १६औँ सभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो। सम्बन्धित वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको कटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिने नगरप्रमुख रामशरण भण्डारीले भने। कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगर क्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाँडागाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन्। चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरोपीडितलाई उक्त सुविधा दिइने भएको हो। यस्तै नगरसभामा साधारण निर्माणमुखी रोडा–ढुंगा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्तिकर बुझाइसकेकाको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ।
धनगढी: कैलालीमा भाइले कैँची प्रहार गरी सहोदर दाजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –१७ दीपनगरका ३० वर्षीय प्रकाश बोहराले शनिबार राति आफ्नो दाजु ३५ वर्षीय लालबहादुरको हत्या गरेका हुन् । घरायसी विवादमा प्रकाशले आफ्नो दाइलाई कुटपिट गर्नुका साथै घाँटीमा कैँची प्रहार गरेको जनाइएको छ । कैँची प्रहारबाट गम्भीर घाइते लालबहादुरलाई उपचारका लागि राति नै धनगढीस्थित निसर्ग अस्पतालमा लगिए पनि उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दाइको हत्या गर्ने भाइलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।