पोखरा: नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ । पार्टी जिल्ला कमिटी सचिव दर्शन लामाको प्रमुख आतिथ्यतामा सोमबार क्याम्पस गेटमा आयोजित कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इलाका इन्चार्ज महेन्द्र उपाध्याय (मन्नु)ले उम्मेद्वार घोषणा गरेका हुन् । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुबाट संगठनका क्याम्पस कमिटी संयोजक आविष्कार केसी सभापति लड्ने इन्चार्ज पौडेलले सार्वजनिक गरे । प्रत्यक्ष निर्वाचन हुने सचिव, कोषाध्यक्ष र सदस्यका उम्मेद्वारको नाम मनोनयन दर्ताअघि घोषणा गरिने अनेरास्ववियु क्याम्पस कमिटी सचिव सचिन अधिकारीले जानकारी दिए । स्ववियु कार्यसमितिका उपाध्यक्ष, सहायक सचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । उम्मेद्वार सार्वजनिक कार्यक्रममा बोल्दै एमाले कास्की सचिव दर्शन लामाले अनेरास्ववियुलाई निर्वाचनमा पराजित हुने छुट नरहेको बताए । विद्यार्थीको मुद्दा उठाउँदै आएकाले अनेरास्ववियुमा विद्यार्थीको आकर्षण देखिएको उनको भनाइ थियो । त्रिवि स्ववियुअन्तर्गत सोमबार क्याम्पसहरूमा विद्यार्थी संगठन दर्ता भएका छन् । स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । जनप्रिय बहुमुखी क्याम्पसमा करिब ३ हजार ५ सय विद्यार्थी छन् । क्याम्पसले बुधबार मतदाता नामावली प्रकाशन गरेपछि क्याम्पसमा कति सदस्यीय समिति बन्ने भन्ने तय हुनेछ । हाल विद्यार्थी संख्याअनुसार मतदाता नामावलीको संख्या आएमा जनप्रियमा १९ सदस्यीय समिति बन्ने छ । त्यसमा दुई पदाधिकारीसहित १० जना समानुपातिक र तीन पदाधिकारीसहित ९ जना प्रत्यक्षतर्फका हुनेछन् । समानुपातिक सदस्य निर्वाचित भएकामध्येबाट उपाध्यक्ष र सहायक सचिव निर्वाचित हुन्छन् । को हुन् आविष्कार ? स्याङ्जा चापाकोट घर भएका आविष्कार जनप्रिय क्याम्पसमा एम.बी.एस दोस्रो सेमेष्टरमा अध्ययनरत छन् । उनले सोही क्याम्पसबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरे । कक्षा ११–१२ पढिरहँदा उनी अनेरास्ववियुको क्याम्पस कमिटीमा आबद्ध भएका थिए । आविष्कारले जनप्रियमै बी.बी.ए सके । २०७३ सालमा उनी संगठनको कक्षा ११÷१२ कमिटीको सदस्य भए । २०७४ देखि २०७८ मा उनी संगठनको क्याम्पस कमिटी सदस्य र सचिवालय सदस्य भए । २०७८ मा उनले क्याम्पस कमिटी संयोजकको जिम्मा पाए । २०७९ मा क्याम्पस कमिटी सचिव बने । त्यसपछि २०८० देखि उनी संगठनको क्याम्पस कमिटी संयोजक छन् ।
काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई २–० गोलअन्तरले हराउन सफल भयो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल ग¥यो । मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए । यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो । मछिन्द्र र आर्मीबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको थियो । फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुभएको थियो । रङ्गशाला दर्शकले खचाखच भरिएको थियो । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।
पोखरा: पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३सम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ । इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो । परियोजना अन्तरगत इसिइसिले शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधिहरूका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयहरूमा २०७९ पौषदेखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा सञ्चालनमा रहेको छ । सन् २००१ मा स्थापना भएको उक्त संस्थाले देशभर विभिन्न सरकारी तथा निजी विद्यालयहरूसँग सहकार्य गरी शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको इसिइसिका प्रबन्ध निर्देशक पीताम्बर न्यौपानेले बताउनुभयो । कार्यक्रममा इसिइसिका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमी र परियोजना इन्चार्ज विजय तामाङले परियोजनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजनाले विद्यालय तहको शैक्षिक सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो ।
पोखरा: पोखरामा भोलिदेखि पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको संयोजनमा प्रतियोगिता हुन लागेको हो । भोलिदेखि फागुन २४ गतेसम्म पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता हुन लागेको चिर्को युनिटी पोखराले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । चिर्को युनिटी पोखराका अध्यक्ष अञ्चल शाही ठकुरीले काठमाडौं पछि पोखरामा पहिलो पटक पार्क पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘पार्क पुरुष भलिबल प्रतियोगिता हामीले पहिलो संस्करणमा काठमाडौंमा समेत सम्पन्न गरिसकेका छौं, अध्यक्ष ठकुरीले भने, ‘काठमाडौंपछि पोखरामा पहिलो पटक प्रतियोगिता सञ्चालन गर्दै छौं, पोखरामा यस प्रतियोगितालाई निरन्तरता दिँदै आउँदो प्रतियोगितामा महिला भलिबललाई समेत प्राथमिकता दिँदै जान्छौं ।’ भोलिदेखि सुरु हुने पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडलर र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडmी सर्भर, डिफेन्डर, सेटर, स्पाइकर, ब्लकर र प्रशिक्षकले ट्रफी प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सातौं, आठौं र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका १ जना खेलाडीलाई मात्र एक टिममा समावेश गर्न पाउने अध्यक्ष ठकुरीले बताए । यस प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगिता पोखरा महानगरापालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा सञ्चालन हुनेछ । पार्क भलिबल प्रतियोगितामा एक टिममा ५ जना खेलाडी र प्रशिक्षक हुनेछन् ।
खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौतापत्रको लक्ष्य छ ।” भारत र नेपाल दुवै देशहरूबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवद्र्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य लिइएको छ । सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदानप्रदान, बर्सातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख छ । कार्यक्रममा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, भारत सरकारको जलशक्ति मन्त्रालयका सचिवद्वय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता छ । मन्त्री यादव भोलि मङ्गलबार स्वदेश फर्किने तालिका छ ।
काठमाडौं: यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीसाधन र डिजेलबाट सञ्चालित सवारीसाधनको खरिदका लागि मौद्रिक नीतिले गरेको व्यवस्था हटाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी विद्युतीय सवारीसाधनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको सरकारले सोही सवारीसाधन खरिदका लागि मौद्रिक नीतिमा भएको व्यवस्थाले व्यवसायीहरु मारमा परेको दाबी गर्नुभयो । हरित ऊर्जालाई उच्च प्राथमिकता दिने निर्णय गरेको सरकारले वायु प्रदूषण न्यूनीकरण र स्वदेशमा उत्पादित ऊर्जालाई खपत गर्न विद्युतीय सवारीसाधन खरिदमा सहुलियत दिनुपर्ने साटो मौद्रिक नीतिले विद्युतीय सवारीसाधन प्रयोगलाई निरुत्साहित गरेको महासङ्घको जिकिर छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विद्युतीय सवारी खरिदमा ऋण मूल्य अनुपात घटाएर ६० प्रतिशत बनाएको थियो । यसअघि उक्त व्यवस्था ८० प्रतिशत थियो । अर्थात् अब विद्युतीय सवारी साधन खरिदमा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ६० प्रतिशत ऋण पाइन्छ । महासङ्घले विद्युतीय सवारीसाधन तथा डिजेलका सवारीसाधन खरिदमा ऋण मूल्य अनुपात ८० प्रतिशत बनाउन माग गरेको छ ।
चितवन: यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शवपरीक्षण गरी रोगको परीक्षण गरेको थियो । कार्यालयका प्रमुख विजयकुमार श्रेष्ठका अनुसार वातावरणमा हुने ब्याक्टेरियाका कारण इकोलाई २९५, गम्बारो भाइरस १६८, सिआरडी ब्याक्टेरिया १५४, ढुसी (माइक्रोटक्सिन) ११२ र साल्मोनेला ब्याक्टेरिया ७२ वटामा देखिएको छ । यस्तै, एसआइटिस (पेटमा पानी जम्ने) ५९, सिसिआरडी ब्याक्टेरिया ४१, फाउल कलेरा (कुखुराको हैजा) २५, कक्सी डियोसिस ९रातो छेर्ने० १९, जुका १४ र रानीखेत आठ वटामा देखिएको थियो । यही अवधिमा चार वटा खोरका ‘ब्वायलर’ कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शत्प्रतिशतसम्म मृत्यु हुने भएकाले जैविक सुरक्षा अपनाउनुपर्ने उहाँको भनाइ छ । रानी खेत, बर्डफ्लुजस्ता कारण शत्प्रतिशत कुखुरा मर्ने गर्दछन् । गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उहाँले समयमा नै सतर्कता अपनाउन कृषकहरूलाई सुझाव दिएको बताउनुभयो । फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ । मौसम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशैभरका कुखुरापालक कृषकले ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ । यस कार्यालयले देशैभरिका पन्छीका नमूना लिएर परीक्षण गर्ने गर्दछ । यस वर्षको पुससम्ममा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १६ जिल्लामा पालिएका पन्छीहरूको नमूना परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमूना चितवनका रहेका छन् ।
गोरखा: गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उहाँले बताउनुभयो । दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताउनुभयो । बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार हुनुहुन्छ । अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिनुभयो । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
भैरहवा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणमा उहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा सञ्चार भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाइको सरकार बने पनि पूर्णरुपमा बहुमत नपुगेको उहाँको भनाइ थियो । उहाँले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रुपमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारमा अन्य पार्टीहरु पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुराहरुलाई आपसी छलफलबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो । नेपाली कांग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३० जना सहभागी छन् । साथै सोही सङ्ख्यामा क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरु तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । संयोजक खडकाले त्यसअवसरमा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधार, संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहने बताउनुभयो । यस्तै समसामायिक विषयवस्तुसँग जोडिएका विभिन्न छ वटा विषयमा प्रस्तुति रहने उहाँको भनाइ छ । दोस्रो दिन सात वटा समूह विभाजन गरी सहभागीले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतका बारे गहन छलफल गर्नेछन् । अर्को सत्रमा सरकारसँग जोडिएका विषयमा छलफल गरी सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको खड्काले जानकारी दिनुभयो । त्यसअवसरमा पार्टीबाट सरकारमा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिनुहुनेछ कार्यक्रम छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ ।