पोखरा:    पोखरा महानगरपालिका भित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।  पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित...

दार्चुला:  यहाँको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।       जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जिप आज ४ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।       दुर्घटनामा जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।       त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ ।  ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिनुभयो ।  प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचखिनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्यूरोमा ल्याएर सोधपुछ गरिएको हो ।  आवश्यक पर्दा पुनःबोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो ।  अमेरिकी अधिकारीहरुले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । त्यसपछि आजै अध्यागमन विभागले प्रहरीको मानव बेचबिखन ब्यूरोमा पठाएको हो ।

सिरहा:  सिरहाको  नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।  घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका–१७ स्थित दशगजा क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द पासवानले जानकारी दिनुभयो ।  उहाँका अनुसार आरोपित मण्डललाई आजै जिल्ला अदालतबाट दुई दिनको म्याद थप गराई थप अनुसन्धान सुरू गरिएको छ । यस सम्बन्धमा बिहीबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने उहाँले बताउनुभयो । गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कुको स्थानीय रूपेशसहित तीन युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको आरोप छ । सो घटनालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउन माघ २९ र ३० गते दुई पटक छलफल गरी पीडित परिवारलाई प्रहरीमा जान नदिएको सार्वजनिक भएको थियो ।  पहिलो दिनको छलफलले रूपेशलाई रु एक लाख ५० हजार जरिवाना गर्ने निर्णय सुनाएको थियो । भोलिपल्ट अर्को छलफलका क्रममा उपस्थितबीच नै कुटाकुट भएको थियो । सोही साँझ रिङ्कु आफ्नो घरको कोठामा शङ्कास्पद अवस्थामा झुन्डिएर मृत भेटिएकी थिइन् ।  पहुँचका आधारमा घटना दबाउन खोजिएको भन्दै पीडकलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखी प्रतिनिधिसभा तथा राष्ट्रियसभामा समेत आवाज उठेको थियो । इलाका प्रहरी कार्यालय लहानले सुरूमा आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दर्ता गरेको थियो ।  घटनाको एक सातापछि फागुन ८ गते मृतक रिङ्कुकी आमा सीतादेवी सदायले रूपेशसहित मुख्य आरोपी तीनजना र छलफलमा सहभागी पाँचजना गरी आठजनाविरूद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र कसुरमा पुरक जाहेरी दिनुभएको थियो ।  पूरक जाहेरीको आधारमा प्रहरीले फागुन ११ गते सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएकामध्ये नवराजपुर—१ भगवतीपुरका ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा मुद्दा चलाएको थियो ।

काठमाडौं:   प्रतिनिधि सभाले पाँचवाटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारले जारी गरेको ६ मध्ये पाँच अध्यादेश  स्वीकृत भएको हो । बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ,आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृति गरेको हो । प्रतिनिधि सभ बाट पारित अध्यादेश भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा निर्णायार्थ  पेश गरिने कार्य  सूची रहेको छ । सरकारले ल्याएको अध्यादेशहरु संघीय सदनको अधिवेशन सुरु भएपछि ६० दिन भित्र सघीय स दुबै सदनबाट स्वीकृत गर्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

काठमाडौं:    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मङ्गलबारदेखि तीन दिने ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र विकास बोर्डमा आयोेजित महोत्सवको दोस्रो दिन आज विभिन्न चलचित्र प्रदर्शन गरिए ।  प्रदर्शनसँगै विभिन्न अन्तरक्रियात्मक कार्यक्रम पनि गरिएको आयोजक समितिका अध्यक्ष केकी अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो महोत्सवले महिलाका विषयमा निर्माण भएका चलचित्रलाई प्रवर्द्धन गरिरहेको छ । चलचित्र हेर्दै त्यसमा गरिने अन्तरक्रियाले आगामी दिनमा काम गर्न सहज बनाउने गर्छ ।” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “हामी सुविधासम्पन्न स्टुडियो निर्माण गरेर चलचित्रकर्मीलाई सुविधा दिने प्रयासमा छौँ । यसले महिला चलचित्रकर्मीलाई अभिनय बाहेकका अन्य प्राविधिक विधामा काम गर्न प्रेरणा दिनेछ । किनकि बाहिर चलचित्र छायाङ्कन गर्दा स्टुडियो जस्तो सेवा सुविधा उपलब्ध हुँदैन ।”  महोत्सवको पहिलो दिन नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिनुका साथै उक्त चलचित्रका अभिनेता विश्व बस्नेत र अभिनेत्री बसुन्धरा भुसालसँग चलचित्रको विषयमा अन्तरक्रिया गरिएको थियो । 

जनकपुर:  मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ ।      विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिनुभयो ।      विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि  डा महतो र ठाकुरलाई निलम्बन गरिएको शिक्षामन्त्री तिवारीले बताउनुभयो ।       प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाइएको प्रतिवेदनका आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई बर्खास्त गर्ने निर्णय भएको जनाइएको छ ।      मङ्गलबार अबेर रातिसम्म चलेको बैठकमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री सिंह, सहकुलपति एवं शिक्षा तथा संस्कृतिमन्त्री तिवारीलगायत विश्वविद्यालय सिनेटका पदाधिकारी तथा सदस्यहरू सहभागिता थियोे ।      चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि बैठकबाट पारित भएको थियोे । लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प भएपछि विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले तलब पाउन सकेका थिएनन् ।       सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी, सञ्चारलगायत सेवा अवरोध गरेका छन् भने यहाँ अध्ययनरत कृषि विज्ञानका दुई सेमेस्टरका एक सय विद्यार्थीको नियमित पढाइ भएको छैन ।  नियमित पठनपाठन गराउने तथा विद्यमान समस्या समाधान गर्नका लागि यो बैठक बसेको बताइएको छ । बैठकले गरेका निर्णय कार्यान्वयन भएसँगै विस्तारै समस्या समाधान हुँदै जाने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । 

काठमाडौं:  सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामान्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरको बताउनुभएको छ ।         यदु स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको टीप्पणी गर्नुभयो ।           नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व हामी सबैको हो भन्नुभयो ।   नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र नेपाली कांग्रेसले महत्पूर्ण भूमिका खेल्दै आएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे, जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।”         हिंसात्मक गतिविधि सञ्चालन गरेको विषयलाई माओवादीले आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय हिंसाको अर्को आवरणको रुपमा सामाजिक सञ्जालको गलत प्रयोग भइ समाजमा विकृति र विसङ्गति मौलाएको भनी चिन्ता व्यक्त गर्नुभयो ।  “सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व भएकाले धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन लागेको उहाँले स्पष्ट गर्नुभयो ।   मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाललाई दुरुपयोग गरेर कुनै व्यक्ति, जाति, सम्प्रदाय, धर्म, संस्कृति र भाषामाथि गरिने हिंसात्मक अभिव्यक्ति रोकथाम गर्न सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक ल्याउन लागेको हो । लोकतान्त्रिक विधि, मूल्यमान्यताको उपज भएकाले अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने अहिलेको सरकार अराजकता र अस्थिरताको विरुद्ध रहेको स्पष्ट गर्नुभयो ।   नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्धका नाममा नेकपा माओवादीले हिंसात्मक बाटो रोज्दा धनजनको ठूलो क्षति भई मुलुक पछि परेको दृष्टान्त प्रस्तुत गर्दै माओवादी आन्दोलनलाई इतिहासले माफी नदिने धारणा व्यक्त गर्नुभयो ।      एमाले पोलिटब्युरो सदस्य खेममान खड्काले यदु गौतमको राजनीतिक जीवनशैली, योगदान र क्षमतामाथि चर्चा गर्दै एक साहसिक, जनप्रिय एवं स्थापित नेताका रुपमा स्वर्गीय गौतम आमा जनताबीच चिनिनुहुने धारणा व्यक्त गर्नुभयो ।   वरिष्ठ पत्रकार दिलभूषण पाठकले पत्रकारिताको धर्म सत्यतथ्य र निष्पक्ष हुनुपर्नेमा पछिल्लो समय हाम्रो पत्रकारिता हल्लाको पछाडि दौडिन थालेको भनी चिन्ता व्यक्त गर्नुभयो ।          सो अवसरमा वरिष्ठ पत्रकार पाठकलाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

काठमाडौं: सभामुख देवराज घिमिरेले झापाको सुखानी  घटनाका योद्धाहरूका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभएको छ । झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जङ्गलमा हत्या गरिएको  थियो ।      झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जङ्गलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । उहाँहरूको बलिदानीप्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ ।       सङ्घीय सरकारले उहाँहरूलाई विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । यसअघि विसं २०४६ को जनआन्दोलन पछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उहाँहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो । सुखानी सहिदहरूको तस्बिर अङ्कित हुलाक टिकटको मूल्य रु १० तोकिएको छ ।      हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले नेपाली जनताको स्वतन्त्रता, समानता र हकअधिकारका लागि आवाज उठाउँदा  सुखानीको जङ्गलमा हत्या गरिएकालाई राष्ट्रिय सहिद घोषणा गर्दै हुलाक टिकट प्रकाशनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।       उहाँले भन्नुभयो, “मानिस स्वतन्त्र भएर बाँच्न राजनीतिक हक अधिकार, प्रजातन्त्र, लोकतान्त्र र गणतन्त्र चाहिन्छ भनी देशहित र जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने सहिदका नाममा  हुलाक टिकट प्रकाशन हुनु भनेको उहाँप्रतिको सम्मान हो ।”      सभामुख घिमिरेले सहिदको बलिदानीको जगमा राजनीतिक उद्देश्यमा मुलुकले एउटा सफलता प्राप्त गरे पनि समाजलाई उपलब्ध गराइनुपर्ने सुविधा र शासन प्रणाली स्वस्थ ढङ्गबाट अघि जानुपर्नेमा अनेक चुनौती देखा परिरहेका बताउनुभयो ।        उहाँले भन्नुभयो, “सहिदका अधुरा सपनालाई साकार गर्न वर्तमान सरकारले पीडितका पक्षमा काम गर्न सकोस् । सहिदले राष्ट्र र जनताको हितका लागि गरेको योगदानबारे जानकारी गराउन हुलाक टिकट प्रकाशन ऐतिहासिक कदम रहनेछ ।”       सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले हुलाक टिकटमा समेटिएका विषयवस्तुले भौगोलिक, जातीय र सांस्कृतिक पृष्ठभूमिलाई युगौँयुगसम्म अध्ययन र अनुसन्धान गर्न महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “झापाको सुखानीमा साहद प्राप्त गर्नुहुने अमर सहिदको वीरताको गाथालाई हुलाक टिकट प्रकाशन भएबाट सदासर्वदा स्मरण गराउनेछ ।”       हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई ९पङ्गेनी०ले हुलाक टिकटमा समेटिएका ऐतिहासिक धरोहर, सम्पदा, प्रकृति, संस्कृति, पुरातात्विक सम्पत्ति र इतिहासका विभिन्न कालखण्डमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिने व्यक्ति र व्यक्तित्वको पहिचान स्थापित हुने धारणा व्यक्त गर्नुभयो ।      नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक टिकटमा अङ्कित तस्बिरले सहिदको योगदानको देश–विदेशमा समेत पहिचान र स्मरण भइरहने विचार प्रकट गर्नुभयो ।      सुखानी सहिद स्मृति प्रतिष्ठानका सदस्य गेहनाथ पौडेलले तत्कालीन पार्टीको निर्णयअनुरुप किसान र मोहीका हकहितका लागि निस्किएका झापाका युवा विद्रोह नै हालको लोकतन्त्र प्राप्तिको जग भएको भनाइ राख्नुभयो । सो अवसरमा सहिदद्वय दाहालपत्नी विश्वेश्वरा र घिमिरे पत्नी जीवनलाई सम्मान गरिएको थियो । 

पोखरा:  अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँच युक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सञ्चारिका समुह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारमाध्यमले अपाङ्गता सम्बन्धि कुनै पनि समाग्री प्रशारण गर्ने क्रममा संवेदनशिल हुनुुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा कार्यालयका कार्यालय प्रमुख नितु गर्तौलाले अपाङगता भएका महिलाका सवाल निति निर्माण देखि लिएर समाजका हरेक व्यक्तसँग जोडिएको विषय भएकोले यसलाई अभियानको रुपमा लैजानुपर्न बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले अपाङ्गता जसलाई पनि हुनसक्ने भएकोले अपाङ्गता भएका सबैलाई सकारात्मक व्यवहार गर्नुपर्ने बताउदै त्यसको लागि सबैले आफ्नो सोचमा परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । समाजशास्त्री शान्ति भुषालले अन्तराष्ट्रिय महिला दिवसको महत्व, पृष्ठभूमि र इतिहासको बारेमा सहजीकरण गर्दै महिलाहरुको अथक प्रयास र योगदानले आज यो दिवस मनाउने वातावरण सृजना भएको बताउनुभयो । उहाँले श्रमिक महिलाको आन्दोलनका कारण आज ८ मार्चको महत्व बढेर गएको बताउनुभयो । कार्यक्रममा सञ्चारिका समुह गण्डकी प्रदेशका कविता श्रेष्ठले अपाङ्गता भएका महिला र मिडियाको भूमिका विषयमा सहजीकरण गर्दै अपाङ्गताका सवालमा समाचार संप्रेषण गर्दा सञ्चारमाध्यमलाई संवेदनशिल हुन आग्रह गर्नुभयो ।   अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले अपाङ्गताका अधिकार सुनिश्चितताका लागि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानुनी प्रावधानको बारेमा जानकारी गराउँदै आफ्नो हकको लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइराला र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष उमा आलेमगरको सहभागीता रहेको थियो ।   अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारिका समुह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी र अपाङ्गता भएका महिला गरि करिब ५० जनाको सहभागीता रहेको थियो ।