स्याङ्जा: स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान वालिङ नगरपालिका– १४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा ग१च ८९१३ नम्बरको स्कारपियो दुर्घटना भएको हो। दुर्घटनामा वालिङ नगरपालिका– १४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका– ६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।
म्याग्दी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताउनुभएको छ । बेनी नगरपालिका–४ सिङ्गा र तातोपानीमा आज विहान आयोजित कार्यक्रममा उहाँले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने छ भन्नुभयो । “छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ”, उहाँले भन्नुभयो, “त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी(दरवाङ(ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।” पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको रु दुई करोड बजेटबाट रु १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराउनुभएको थियो । साथै अध्यक्ष दाहालले बेनी नगरपालिका(४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गर्नुभएको छ । सो क्रममा अध्यक्ष दाहालले सहिद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै सहिदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताउनुभयो । सिङ्गामा स्थानीय किसानको गुनासो सुन्नुभएको थियो । किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए । सो क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि रु सात अर्ब बजेट विनियोजन गरेको जनाउनुहुँदै त्यसको कार्यान्वयनका अवस्थाबारेमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकारले आज आठौं प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको उनको भनाइ छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो ।
मनाङ: मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ । ‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए । सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताए । उनले भने, ‘सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।’ सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजङ्गलमा आगलागी भइरहेको भुजेलले जानकारी दिए । उनका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ । २०७७ साल मङ्सिर २ मा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो ।
बागलुङ: बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गरेका छन् । बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको छ । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गा फिर्ता गर्ने सर्तमा मिलापत्र गरे लगत्तै बचत रकम फिर्ता गर्न थालिएको सङ्घर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताए । रु एक लाख सम्मका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको र आइतबार नै ढोरपाटन क्षेत्रमा रु ३७ लाखको चेक ९२ बचतकर्तालाई फिर्ता गरिएको सङ्घर्ष समितिका पश्चिम संयोजक शर्माले जानकारी दिए । गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये रु एक लाखसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने छन् । इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाखसम्म बचत गरेका गलकोट र ढोरपाटनका बचतकर्ताले बचत रकम पाउन थालेपछि उनीहरुमा उत्साह छाएको छ । बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्र थालिएको र हालसम्म पाँच सय ४७ पीडित र सहकारीका अध्यक्ष नेपालीबीच मिलापत्र भइसकेको अन्य एक हजार पीडितसँग मिलापत्र थालिएको इमेज बचत पीडित स¬ङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिनुभयो । रु एक लाखसम्म बचत गर्ने चार सय ८८ बचतकर्ता छन् । रु एकलाख माथिका बचतकर्तालाई जग्गा दिने तयारी छ । बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको सहकारीका पाँच सय ४७ जनाको रु २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार बढी बचतकर्ताको रु एक अर्ब १५ करोड बचत रकमको मिलापत्र गरिने संयोजक कार्कीले बताए । सहकारीको करिब रु दुई अर्ब रकम हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो । बागलुङको सहकारीबाट एक अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । सहकारीको रकम अपचलन गरेको दाबीसहित देवकुमारसहित ११ जना विरूद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । एक हजार पाँच सय ४३ जनाको उजुरीका आधारमा अध्यक्ष नेपाली कारागारमा छन् ।
काठमाडौं: आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी०खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।” स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराउनुभयो । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् । ‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’ चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० को सङ्क्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले बताउनुभयो । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । उहाँले भन्नुभयो, “एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ ।” नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधी व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।” खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर ९साइडइफेक्ट० हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताउनुभयो । “केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिएरनदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।” राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३/७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०÷८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ । सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ ।
पोखरा: सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् । तनहुँको पुर्कोटका सनिश विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक जना राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान यो पुरस्कारबाट सम्मानित भइसकेका छन् । प्रतियोगिता उद्घाटन अवसरमै मंगलवार सनिशलाई उत्कृष्ट सम्मान गरिनेछ ।
पोखरा: विश्व सिमसार दिवस २०२५ को अवसरमा पोखराको फेवाताल किनारमा सिमसार संरक्षणमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्यका साथ फोटो प्रदर्शनी गरिएको छ । पत्रकार कृष्णमणि बरालद्धारा खिचिएका सिमसारका विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी भएको हो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा भएको सिमसार संरक्षण फोटो प्रदर्शनीमा विगत २० वर्ष यता विभिन्न समयमा खिचिएका फेवाताल सहित पोखराका ९ तालका विभिन्न अवस्था झल्कने ३५ वटा तस्बिर प्रदर्शनमा राखिएको पत्रकार कृष्णमणि बरालले जानकारी दिए । २० वर्षकै अन्तरालमा फेवाताल कसरी साँगुरिएको छ र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने तुलनात्मक तस्बिर प्रदर्शनीमा राखिएको थियो । सिमसार, सिमरामा पाइने जीव, सबै प्राणीकालागि नभैनहुने पनीका स्रोत संरक्षणकालागि जनचेतना जगाउने उद्देश्यका साथ संरक्षण फोटो प्रदर्शन ीगरिएको पत्रकार बरालले बताए । फोटो प्रदर्शनीको समुहिक रुपमा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुुबहादुर भट्टराई, हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानबहादुर जलहारी र वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्र.ना.उ.सन्तोष निरौलाले उद्घाटन गरेका थिए । सिमसार क्षेत्रको संरक्षणका साथै पर्यावरणीय संरक्षणमा यो प्रदर्शनीले जनचेतता अभिबृद्धि गर्ने वडा अध्यक्ष भट्टराईले विश्वास गरे । २० वर्षकै अवधीमा ताल धेरै साँगुरिदै जानुको साथै प्रदूष(ाको चपेटमा परेकोले पुर्खौदेखि माछा मारेर जिवीका चलाउँदै आएका जलारी समूदायको पेशा नै संकटमा पर्दै गएको हर्पन फेवा मत्यस सहकारीका अध्यक्ष ज्ञानबहादुर जालरीले बताए । देख्दा देख्दै ५० प्रतिशत भन्दा बढी ताल पुरिएकोमा पनि उनले चिन्ता व्यक्त गरे । वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्राकृतिक स्रोतको संरक्षण्मा सबै हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । आयोजक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले संकटमा पर्दै गएका पोखराका सिमसार संरक्षणकालागि सबैलाई ध्यान आकर्षण गर्न फोटो प्रदर्शनीका आयोजना गरिएको बताए । सिमसार लगायत सबै प्राकृतिक स्रोत संरक्षणकालागि आगामी दिनमा पनि निरन्ता दिने पनि उनले बताए । सिमसार संरक्षण फोटो प्रदर्शनीको विभिन्न विद्यालयका विद्याथी, आमा समूह, पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक लगायतले अवलोकन गरेका थिए ।
पोखरा: ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा बगर भाइखलकद्वारा आयोजित १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तिन वटा उमेर समूहमा (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) भएको प्रतियोगिताको ४० वर्षतर्फ ब्रदरहुड काठमाडौं च्याम्पियन बनेको छ । फाइनल खेलमा गार्डेन एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो । उपाधि जितेको ब्रदरहुडले नगद रु २ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गार्डेनले नगद रु १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । उक्त विधामा ब्रदरहुड भेट्रान्सका बुद्धराज लिम्बु सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । यस्तै सोही टिमकै गोलरक्षक मिन बहादुर बस्नेत, सोही टिमकै अंगुर कुमार खड्की उत्कृष्ट स्ट्राइकर, गार्डेनका विनोद गुरुङ उत्कृष्ट मिडफिल्डर, सोही टिमकै किरण गुरुङ उत्कृष्ट डिफेण्डर र ब्रदुहुडका कोमल खवास उत्कृष्ट प्रशिक्षकबाट पुरस्कृत भए । यस्तै ५० वर्ष उमेरसमूहतर्फ बानेश्वर भेट्रान्सले हेटौडा भेट्रान्सलाई ५–० गोल अन्तरले पराजित गर्दै बोनेश्वरले उपाधि जित्यो । उपाधि जितेको बानेश्वरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उक्त विधाबाट बानेश्वरका हरिहर थापा सर्वाेत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भए । ६० वर्षतर्फ युके मास्टर्स देहरादुनले सिडिएफए चितवन भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै च्याम्पियन बन्यो । युके मास्टर्सले उपाधिसँगै नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने, उपविजेता चितवन भेट्रान्सलाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार उक्त विधामा देहरादुनका भरत घोसाई सर्वाेत्कृष्ट खेलाडी बने । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, चिरायु नेशनल अस्पतालका प्रतिनिधि, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना पोखरा १ का वडाध्यक्ष साहरा प्रधान, तमु धि युकेका प्रतिनिधि, बगर भाइखलक युकेका प्रतिनिधि, भाइखलकका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए । गत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखरा लगातयका ३९ टिमको सहभागिता रहेको थियो ।