पर्वत: पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् । नगरपालिकाले समयमा औषधि खरिद गर्न नसक्दा सर्वसाधारण सरकारले वितरण गर्ने ९८ किसिमका औषधि पाउनबाट वञ्चित बनेका हुन् । चालु आर्थिक वर्षका लागि औषधि खरिद गर्न नगरसभाबाट बजेट पारित भए पनि जनप्रतिनिधि र स्वास्थ्य सेवाका कर्मचारीको लापरबाहीका कारण आठ महिनासम्म औषधि खरिद हुन सकेको छैन । सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने औषधिको अभाव भएको चार महिना बितिसक्दा पनि खरिद गर्ने तयारी गरिएको छैन । औषधि खरिदका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त सशर्त रकम रु १६ लाख र नगरपालिकाको निशर्त रु आठ लाख गरी रु २४ लाख बजेट छ । बजेट अभावले नभर्ई खरिद प्रक्रिया ढिलो भएकाले औषधि अभाव भएको नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी दुर्गा सापकोटाले बताउनुभयो । विगतका वर्षहरूमा पनि औषधि अभाव र म्याद नाघेका औषधि भेटिने गरेको थियो । कुश्मा नगरपालिकाभित्रका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिकले रित्तो हात फर्किनु परेको बताउँछन् । सामान्य रोगदेखि जटिल र दीर्घरोगी समेत निःशुल्क औषधि पाइने आशमा स्वास्थ्य संस्थामा आउने गरेकामा सेवाग्रही रित्तो हात फर्काउनुपरेको कुश्मा–१२ ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण सुवेदीले जानकारी दिनुभयो । वडा नं १४ मा रहेको आर्थर डाडाँखर्क स्वास्थ्यचौकीका प्रमुख चन्द्रकान्त गौतमले निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि नहुँदा सर्वसाधारण बिरामीलाई रित्तो हात फर्काउनुपर्ने अवस्था आएको बताउनुभयो । निःशुल्क दिनुपर्ने औषधि नहुँदा समस्या भइरहेको गुनासो गर्दै उहाँले भन्नुभयो, “चार महिनासम्म पनि खरिद गरेर पठाउन नसक्नु नगरपालिकाको कमजोरी हो ।” नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले औषधि खरिदमा ढिलाइ भएकाले समयमा स्वास्थ्य संस्थामा पठाउन नसकिएको बताउनुभयो । उहाँले नगरसभा हुन ढिला भएकाले खरिद प्रक्रिया समेत लम्बिएको उल्लेख गर्नुभयो । “गत असार १० गते सम्पन्न हुनुपर्ने नगरसभा असोजको १० गते भयो, नगरसभा तीन महिनाले ढिलाइ हुँदा औषधि खरिद गर्न पनि ढिलाइ भएको हो”, शर्माले भन्नुभयो । अब एक महिनाभित्रमा सबै स्वास्थ्य संस्थामा औषधि पुर्याइने उहाँले जानकारी दिनुभयो । कुश्मा नगरपालिकामा नौ स्वास्थ्यचौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र चार सहरी स्वास्थ्य केन्द्र गरी १७ वटा स्वास्थ्य संस्था सञ्चालित छन् । यी स्वास्थ्य संस्थाबाट बर्सेनि खोप सेवा, गर्भवती परीक्षण, परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत सेवा सञ्चालन हुँदै आएका छन् । यतिबेला मौसमी रुघाखोकी भाइरल ज्वरोको सङ्क्रमणका कारण बजार तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको घुइँचो बढे पनि औषधिको अभावले प्रभावकारी सेवा दिन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन् । सामान्य औषधि खरिदका लागि सर्वसाधारणलाई सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ ।
म्याग्दी: चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र भएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर दूरीमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरेको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । सडक कालोपत्र गर्न २०८१ भदौ १४ गते बेनीको सक्षम ब्रर्दश प्रालिले रु ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो । माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागू हुने गरी कूल रकमको दैनिक ०।०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले बताउनुभयो । जनप्रतिनिधि र स्थानीयवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिना १३ दिनपछि फागुन १३ गतेदेखि कालोपत्र गर्न सुरु गरेका थिए । यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो । कालोपत्र भएपछि चिल्लो बनेको कालीपुलको सडक आकर्षक देखिएको, धुलो र हिलोको समस्या हटेर सरसफाइमा सहयोग पुगेको छ । कम्तीमा ११ मिटर चौडाइका दरले कालोपत्र गर्ने क्रममा छुटेको ठाउँमा पनि कालोपत्र गराउन पहल गरिएको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो ।
पर्वत: जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा लगिएको छभने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुलिनसकेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो । मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
बाजुरा: गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ । आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उहाँका आफन्त दीपेन्द्र रोकायाले राससलाई बताउनुभयो । उहाँ एक सय मिटर तल खोचको खस्नुभएको हो । उहाँका एक हुनुहुन्छ ।
काठमाडौं: थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो ।
बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा आजदेखि सेमिफाइनलमा खेल हुदैंछ । मंगलबार सम्पन्न ४ खेलबाट जित हाँसिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाईनलमा प्रवेश गरेको हो । आज (बुधबार) हुने सेमिफाईनल अन्र्तगत पहिलो खेलमा विनोद मेमोरियल र मत्स्य व्यवसायी एवं दोश्रो खेलमा एन के क्लब र मत्स्य व्यवसायी समितिबीच प्रतिष्पर्धा हुनेछ ।
म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् । गाउँनजिक रहेको, रिजर्भ ट्याङ्कीदेखि करिब पाँच सय मिटर दुरीको पाइपलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारले जानकारी दिए। उनका अनुसार, ३५ घरधुरीबाट एक/एक जनाले श्रमदान गरेका थिए । यसअघि दुई इञ्चको पाइप राखिएकोमा समस्या भएपछि पाइपलाइनको नयाँ मार्ग बनाएर रिजर्भ ट्याङ्कीको आउटलेटबाट डेढ इञ्चको पाइप थपगरिएको समितिले जनाएको छ । श्रमदानबाट पाइपलाइन मर्मत गरेपछि ३५ घरधुरीको १९० रोपनी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको समितिका सचिब सुनारले जानकारी दिए ।
धार्चे गाउँपालिका–२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् । शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय ५६ जनाले युएसजी र ७२ जनाले इसिजी सेवा लिएका थिए । काठमाडौँस्थित ग्रीन सिटी हस्पिटलको प्राविधिक सहयोगमा मुटु फाउन्डेसनले आयोजना गरेको शिविरमा एक सय १७ जनाको पाठेघरको मुखको क्यान्सरको ‘भिआइए’ जाँच गरिएको फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । शिविरमा पाठेघर खस्ने समस्या भएका १० जनामा ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको थियो ।