पोखरा:  संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विशन क्षेत्री निर्वाचित भएका छन् । पोखरामा आज भएको मञ्चको छैटौँ साधारण सभा तथा चौँथो अधिवेशनबाट विशन अध्यक्ष निर्वाचित भएका हुन् । उनले २० मत प्राप्त गरे । ...

काठमाडौं:    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले देशव्यापीरूपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुविकृत हुन आह्वान गरेका छन् । अध्यक्ष प्रचण्डले आज बिहान आफ्नो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए । विचार मिल्ने विभिन्न धारसँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिँदै प्रचण्डले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब पुग्ने बताए । पार्टी प्रवेश गर्नेहरुमा आम जनता पार्टी (आजपा)का  केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक, स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, ब्यापार महासंघका पूर्व केन्द्रीय सदस्य वीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघ्न गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजीव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरू सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतो छन् ।

पोखरा:    गण्डकी प्रदेशसभाको हिउँदै अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्दैछ । गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आजका लागि बैठक आह्वान गरेका हुन् । यसअघि हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

नवलपरासी:   राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए ।  उनले यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको बताए । उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ । पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए । दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उहाँको भनाइ छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताए । ‘यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो’ उनले भने, ‘दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।’ दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ । इञ्जिनियर खनालले सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले धमाधम काम गरिरहेको बताए ।  हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव ३ प्रतिशत रहेको भन्दै उनले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताए । उनले भने, ‘गैँडाकोटको नारायणीको पुल नजिकै, डण्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रको लागि धमाधम काम भइरहेको छ ।’ दुम्कीबासको जङ्गल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इञ्जिनीयर खनालले बताए । यस खण्ड निर्माणको लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो । विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । एक सय १४ किमी सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किमी) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो । निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।  निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीन पटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ । म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ राखिनेछ । तीन मिटरकोबीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाई ७÷७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६÷६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७।६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२।७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किमी सडक तीन लेनको हुने जनाइएको छ । 

तनहुँ:    तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको    छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नंको कारलाई समेत ठक्कर दिएको छ । 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गर्नुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ । नवीनकार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ । आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशःन्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौं:    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७स्५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७स्५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उहाँले बताउनुभयो । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ । देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

पोखरा:     ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको फाइनल सोमबार सोमबार हुने भएको छ ।   त्यसका लागि तिन वटै उमेर समूहतर्फको (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) उपाधिका दाबेदार टिमको टुंगो लागेको क्लबका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।   उनका अनुसार ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी पोखरा र ब्र्रदरहुड कामाण्डौंं उपाधिका लागि भिड्नेछन् ।    यस्तै ५० वर्ष उमेरतर्फ हेटौडा भेट्रान्स र फ्रेण्डसिप काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । भने, ६० वर्षतर्फ सिडिएफए चितवन र मास्टर्स देह्रादुन भारतबीच प्रस्पिर्धा हुनेछ ।   ६० वर्षतर्फको फाइनल खेल बिहान १० बजे, ५० वर्षतर्फको फाइनल ११ बजे र ४० वर्षतर्फको फाइनल खेल दिउँसो ३ बजे सञ्चालन हुने भाइखलकका महासचिव मनकाजी गुुरुङले बताए ।    उनका अनुसार सो प्रतियोगिताको समापन गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गर्नेछन् ।   प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।    

पोखरा:    लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी (सेतो)ले जितेको छ ।  आइतबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको फाइनल खेलमा लिभिक एफसी (बी)लाई ट्राइवेकरमा २–३ को गोल अन्तरले हराउँदै रामघाटले उपाधि हात पारेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसक्दा उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो । गोलकिपर प्रविन गुरुङले लिभिकका खेलाडीको प्रहार रोक्न सफल हुदाँ रामघाटले उपाधि जित्न सफल भयो ।   जीतसँगै रामघाटले १ लाख ४० हजार सहित प्रतियोगिताको ट्रफि हात पारेको छ, भने उपबिजेता लिभिकले ८५ हजार नगद र ट्रफिमा चित्त बुझाएको छ । फाइनल खेलमा सुरुदेखी नै लिभिकलाई दवाबमा राखेको रामघाटका खेलाडीहरुको धेरै प्रहार बिफल भएको थियो । टाईब्रेकरमा रामघाटका गोलकिपर प्रविन गुरुङ चम्किएपछि लिभिक स्तब्ध भयो । खेलमा सर्वोत्कृष्ट खेलाडी रामघाटका सुशन गुरुङ घोषित भए । यस्तै रामघाटकै विशान गुरुङ सर्वोत्कृष्ट मिडफिल्ड र प्रविन गुरुङ सर्वाधिक गोलकर्ता भए ।  लिभिकका संगम ठकुरीले सर्वोत्कृष्ट डिफेन्डर घोषित भए भने माछापुच्छ«े त्रिशक्तीका मनिस ठकुरी सर्वोत्कृष्ट गोलकर्ता घोषित भए । यस्तै अनुशासित टिम घोषणा भएको माछापुच्छ«े त्रिशक्तीले ट्रफी प्राप्त गर्यो । विधागत तर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैया र ट्रफी प्राप्त गरे । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा यही माघ १३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका वडानम्बर १३ का अध्यक्ष किरण बराल, वडानम्बर २६ का अध्यक्ष नरेन्द्र थापा, समितिका अध्यक्ष अब्वास अलिमियाँ लगायतले मेडल, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

पोखरा:    कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले माघ १४ गतेसम्म कास्की प्रहरी मातहत प्रहरी इकाईहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सयुक्त टोलीले स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।  स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको कास्की प्रहरीले जनाएको छ ।  कास्की प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्कीको १०० र जिल्ला ट्राफिक कार्यालय कास्कीको १०३ मा टेलिफोन गरी सूचना दिन अनुरोध समेत गरेको छ ।