चितवन: दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन ।” अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन । जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उहाँले बताउनुभयो । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् । विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उहाँले बताउनुभयो । भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उहाँको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी भुक्तानी पाउन सकेका छैनन् । भदौ देखियता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन । संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उहाँले बताउनुभयो । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरुको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको जनसङ्गठनको केन्द्रीय कमिटी सदस्यको सङ्ख्या घटाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका संशोधन गर्दै ठूला जनसङ्गठनको केन्द्रीय कमिटी १५१ सदस्यीय र साना जनसङ्गठनको केन्द्रीय कमिटी सङ्ख्या ९९ सदस्यीय राख्ने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले जनसङ्गठनलाई व्यवस्थित गर्नका लागि अब हुने महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य सङ्ख्या घटाउने निर्णय गरिएको बताउनुभयो । यसैगरी, बैठकले जनसङ्गठनका पदाधिकारी सङ्ख्या पनि घटाएको छ । यसअघि १७ जना पदाधिकारी रहने व्यवस्था गरिएको थियो । महासचिव पोखरेलका अनुसार जनसङ्गठनका पदाधिकारीलाई नौ राख्ने र त्यसमा अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित दुई, महासचिव एक, उपमहासचिव एक, सचिवहरुमा (प्रचार, विदेश विभाग र सङ्गठन) हेर्ने गरी तीन र कोषाध्यक्ष एकजना राख्ने निर्णय गरेको छ । यसैगरी, बैठकले जनसङ्गठनमा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्र रहने व्यवस्था गरिएको छ । “यसअघि जनसङ्गठनमा केन्दीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्रै रहने गरी निर्णय भएको छ,” महासचिव पोखरेलले भन्नुभयो । बैठकले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे र स्थानीय विकास विभागको सचिवमा नवराज गेलाललाई मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी, पार्टीले प्रदेश तह र स्थानीय तहमा आफ्नो पार्टी विजयी भएका ठाउँमा नीति, कार्यक्रम र बजेटको सम्बन्धमा छलफल भएको छ । यस्तै बैठकले स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो । भेला आगामी चैत महिनामा गर्ने निर्णय भएको छ । प्रदेश तहमा मुख्यमन्त्री, मन्त्री, दलका नेता, प्रमुख सचेतक र प्रदेशका पदाधिकारी र इन्चार्जसहित संयुक्त भेला आयोजना गरेर नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने निर्णय गरेको छ । यस्तै पार्टी सम्बन्ध विभागलाई सरकारको नीति तथा कार्यक्रममा आगामी चैत १५ गतेभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ । पार्टीले विदेश भ्रमणका लागि मापदण्ड बनाएको छ । “विदेश भ्रमण जानपूर्व पार्टीसँग अनुमति लिनुपर्ने र कुन संस्था कुन प्रयोजनका लागि आयोजना गरेको हो । त्यो पर्याप्त जानकारी दिनुपर्ने र विदेश भ्रमण भइसकेपछि पार्टी र मुलुकको प्रतिष्ठा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने र आइसकेपछि आफ्नो भ्रमणका बारेमा प्रतिवेदन पार्टीलाई बुझाउनुपर्ने विषय मापदण्डमा राखिएका छन्,” महासचिव पोखरेलले भन्नुभयो । यस्तै, बैठकले नेपाल कम्युनिष्ट पार्टीको ७६आँै स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रत्येक प्रदेशबाट एक÷एक जनाको दरले कम्युनिष्ट योद्धा सम्मान गर्ने भएको उहाँले जानकारी दिनुभयो । यस्तै, बैठकले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सदस्यमा मनोनयन गरेका जयचन्द्र स्वाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकको नाम अनुमोदन गरेको छ । यस्तै पार्टीले ताप्लेजुङको पाथीभरामा बन्न थालेको केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाउन सम्बन्धितलाई आग्रह गरेको छ । महासचिव पोखरेलले पाथीभरा मन्दिर केबुलकारका सम्बन्धमा भएको विवाद समाधान गर्नका लागि स्थानीय जनप्रतिधि, प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समाधान गर्न आग्रह गर्दै केबुलकार बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षलाई भूमिका खेल्न आग्रह गर्नुभयो । बैठकले पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडालका धर्मपत्नी शान्ति वडालको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
काठमाडौं: आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि ९सिआइटिईएस०अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो । राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ । सिआइटिईएसमा १८३ देश सदस्य छन् । दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि आवश्यक भएको छ ।
बलेवा: बागलुङको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बङ्गुर मर्न थालेका छन् । दश दिनको अवधिमा बरेङ–२ हुग्दिशिरको सिग्दी र बरेङ बजार आसपासमा अज्ञात रोगका कारण छ वटा बङ्गुर मरेपछि किसान चिन्तित बनेका हुन् । अज्ञात रोगले अन्दाजी ५० किलोको एक र तीन महिनाको दुई वटा पाठा मरेका सिग्दीकी शिला थापाले बताउनुभयो । भाटी बजारका सविन राम्जालीको झण्डै ५० किलो, सातदोबाटोका मोहन पुनको करिब ४५ किलो र फटिक पुनको बङ्गुर पनि अज्ञात रोगले मरेका छन् । बङ्गुरमा एक्कासी ज्वरो आउने, दानापानी नखाने, बाक्ने, पखाला लाग्नेलगायत लक्षणहरू देखा परेको भाटीबजारका सविन राम्जालीले बताउनुभयो । अज्ञात रोगले बङ्गुर मर्न थालेपछि आफूजस्ता किसान मर्कामा परेका उहाँको भनाइ छ । पालिकाको पशुसेवा शाखा प्रमुख नारायण पौडेलले मरेका सबै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानामा समस्या हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । “महामारीजन्य रोग हो वा होइन पत्ता लगाउन स्वाब सङ्कलन गरेर परीक्षणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाउँदैछौँ”, उहाँले भन्नुभयो । पौडेलका अनुसार अहिले अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण नदेखिएकाले अरु कारणले बङ्गुर मरेका हुन् । “अहिले तीन÷चार दिन भयो त्यस्तो समस्या नदेखिँदा अफ्रिकन स्वाइन फिभर होइन कि भन्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “वास्तविकताका लागि प्रयोगशाला परीक्षणका लागि रगत पठाउने तयारीमा छौँ ।” अफ्रिकन स्वाइन फिभर भएको भए एउटै फार्मको केही मर्ने केही नमर्ने भन्ने नहुने उहाँको भनाइ छ । लक्षणहरू हेर्दा बुटवलबाट ल्याएको दानाका कारण बङ्गुर मरेको हुनसक्ने भन्दै पौडेलले दानाको पनि परीक्षण गरिने उल्लेख गर्नुभयो । प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै किसानका बङ्गुर कसरी मरे भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । “मरेका छवटै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानाकौ कारण हो कि भन्ने अनुमान गरेका छौँ । प्रयोगशालाको रिपोर्ट आएपछि वास्तविकता पत्ता लागी समस्या समाधानतर्फ लाग्नेछौँ”, उहाँले भन्नुभयो । गत वर्षको जेठमा फैलिएको अमेरिकन स्वाइन फिभरबाट बागलुङ नगरपालिका– १, २, ३ र ४ का ५४ किसानले पालेका चार सय बङ्गुर मरेका मर्दा रु दुई करोडभन्दा बढीको क्षति भएको थियो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गर्नुभएको हो । मन्त्री लेखकले केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ, त्यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचचिवको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली पनि गठन गरिएको छ, वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिरहेको छ, पटक–पटक संवाद पनि भइरहेको छ ।” मन्त्री लेखकले पछिल्लो समयमा वार्तामा केही अवरोध आएका कारण वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि यही फागुन १२ गते पुनः आह्वान गरेको जानकारी दिनुभयो । आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । उहाँले शान्तिपूर्ण तवरबाट समस्याको समाधान गर्ने विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको प्रष्ट पार्नुभयो । मन्त्री लेखकले केबलकार निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्न दिने र त्यस क्षेत्रमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी सरकारको मन्त्रिपरिषद्बाट २०७५ साल पुस १६ गते नै निर्णय भएको जानकारी गराउनुभयो । “केबलकार निर्माण गर्ने कार्य पहिलेदेखि नै सुरु भएको थियो, निर्माणाधीन आयोजनाको सुरक्षार्थ तत्कालका लागि बटन स्टेसनमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा व्यवस्था क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउन २०८० साल माघ २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्रीस्तरबाट निर्णय भएको थियो”, उहाँले भन्नुभयो । सोही अनुरुप सुरक्षाको निमित्त सोही ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको उहाँको भनाइ छ ।
महोत्तरी: इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम परम्पराका चाडपर्व हिजरी (उर्दू) सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो । चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान (सार्वजनिक) गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्म गुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यो वर्षको रमजान आजदेखि सुरु हुने बताएका थिए । ‘शावान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा रहेको रामगोपालपुर–२ महनपुरका इस्लाम धर्मका जानकार मोहम्मद कादीर हुसैनले बताउनुभयो । सोहीअनुसार हिजो साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन् । इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ एक महिनासम्म रोजा गर्ने परम्परा छ । भूगोलका विभिन्न खण्डमा ग्रहन क्षेत्रको गतिले समयमा पार्ने फरकफरक प्रभावअनुसार ठाउँअनुसार रमजान अघिपछि पर्ने गरेको हुसैनले बताउनुभयो । नेपाल र भारतको हकमा ‘बुखारे शरिफ’ (भारतको दिल्लीस्थित साँस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न इस्लाम परम्पराको धार्मिक निकाय) को निर्णयअनुसार पर्व निर्णय गरिँदै आइएकाले गएराति चन्द्रमा देखिएपछि आज रोजा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरिफ’ को निर्णयअनुसार आज रोजा सुरु भएको जिल्लाको जलेश्वरस्थित दारुल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ । रमजान महिना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । मजान महिनामा पवित्र धर्मग्रन्थ ‘कुरान’ पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यस महिनामा गरिने व्रत, उपवास (रोजा) अत्यन्त पूण्यदायक हुने इस्लाम मान्यता छ । बाल, वृद्ध, अशक्त बिरामीबाहेक सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एकघडी अगाडिदेखि सूर्यास्तको एक घडीपछिसम्म अन्न, पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ । एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी सम्वत्को ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन ईद–उल–फित्र पर्व मनाउने इस्लाम परम्परा छ । यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ ।
काठमाडौं: भारतीय उद्धारकर्ताहरू आइतबार शून्यभन्दा तल तापक्रममा हिमपहिरोद्वारा पुरिएका मानिएका चार हराइरहेका कामदारलाई खन्न हतारिएका छन् । त्यहाँ हिमपातले अझै बढी हिउँ खस्ने जोखिम बढाइरहेको छ । अधिकारीहरूका अनुसार शुक्रबार उत्तराखण्ड राज्यको तिब्बतसँगको सीमा नजिकै एक निर्माण शिविरमा हिमपहिरो गएपछि ५० भन्दा बढी कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए । राहत टोली ५० कामदारलाई उद्धार गर्न सफल भएको छ तर तिनीहरू मध्ये चार जनाको पछि चोटका कारण मृत्यु भएको छ । राज्य अधिकारीहरूले शनिबार रातिदेखि हिमपहिरोपछि हराइरहेका मानिसहरूको सङ्ख्या पाँचबाट घटाएर चार गरेका छन् । पहिले पुरिएको विश्वास गरिएका एक कामदार सुरक्षित रूपमा घर फर्किएको पाइएको छ । उक्त व्यक्ति शुक्रबारको हिमपहिरोमा पुरिएका थिए कि थिएनन् भनेर अधिकारीहरूले विवरण प्रदान गरेनन् वा भनेनन् । राज्य प्रकोप राहत टोलीले हिमपहिरोको समयमा कामदारहरू बसिरहेका सबै स्टिल कन्टेनरहरू फेला परेको तर त्यहाँभित्र कोही पनि नभएको बताएको छ । उद्धारकर्ताहरूले आफ्नो प्रयासमा सैनिक हेलिकप्टर, ड्रोन र खोज कुकुरहरू प्रयोग गरेका छन् र सैनिकहरूले हराइरहेका मानिएका चार कामदार पत्ता लगाउन भूमि प्रवेश गर्ने राडार प्रयोग गर्ने तयारी गरिरहेका छन् । राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले निरन्तर हिमपातका कारण उच्च जोखिम क्षेत्रहरूबाट अन्य कामदारलाई सुरक्षित स्थानमा सार्न अधिकारीहरूलाई निर्देशन दिनुभएको टाइम्स अफ इन्डिया अखबारले आइतबार बताएको छ । हिमपहिरो गएको क्षेत्रमा तीन हजार दुई सय मिटरभन्दा बढी उचाइमा न्यूनतम तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म पुगेको थियो । हिमालयको माथिल्लो भागमा विशेष गरी हिउँदको मौसममा हिमपहिरो र पहिरो सामान्य हुन् । वैज्ञानिकहरूले जलवायु परिवर्तनले मौसमका घटनाहरूलाई अझ गम्भीर बनाइरहेको बताएका छन् भने नाजुक हिमाली क्षेत्रहरूमा विकासको बढ्दो गतिले पनि वनविनाश र निर्माणको परिणामको बारेमा चिन्ताहरू बढाएको छ । सन् २०२१ मा उत्तराखण्डमा एउटा ठूलो हिमनदीको भाग नदीमा खसेपछि आएको बाढीका कारण लगभग एक सय जनाको मृत्यु भएको थियो । साथै सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोमा छ हजार मानिसको मृत्यु भएको थियो र यसले राज्यमा विकास परियोजनाहरूको समीक्षा गर्न आह्वान गराएको थियो ।
पोखरा: कास्की मादी गाउँपालिकाले पालिका स्थापना दिवसको अवसरमा फागुन २७ देखि २९ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । मादी गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पालिका स्थापना दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको हो । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले कार्यपालिकाको निर्णय अनुसार पालिका स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन लागेको बताए । ‘पालिकाको पर्यटकीय र धार्मिक क्षेत्रहरुको प्रचारप्रसार साथै संस्कृति आदानप्रदान गर्ने हेतुले माघ १५ गते बसेको बैठकले पालिका स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता फागुन २७ देखि २९ गतेसम्म मादी गाउँपालिका–३ याङ्जाकोटमा सञ्चालन गर्दै छौं ।’ अध्यक्ष गुरुङले पहिलो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता पालिकास्तरीय भएपनि दोस्रो संस्करणमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले २ लाख,उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार रहेको पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पालिका स्थापना दिवसको अवसरमा पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अवधिभर होमस्टेमा १ हजार रुपैयाँको प्याकेज रहेको पालिकाले जनाएको छ ।
मुगु: बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ । बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताउनुभयो । कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गर्नुभएका कार्की जानकारी दिनुभयो । सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ । आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो । जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु शिवचन्द्र कार्कीले टेलिफोनमार्फत जानकारी गराउनुभयो ।