पोखरा:  पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ ।  बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फा...

ताप्लेजुङ:     पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले पराजित ग¥यो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आइतबार पुनः गराइएको थियो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डका खेलाडी समावेश गरिएको छ ।  प्रतियोगितामा अब पुरुषतर्फका खेल सुरु हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच खेल जारी छ ।  दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।      कार्यक्रमको एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।      विद्यालयका आवश्यक भौतिक पूर्वाधारका लागि वडाका तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले सबैको साथ र सहयोगमा यस क्षेत्रको समग्र विकास गर्न सकिने बताउनुभयो ।      भरतपोखरी आँफैंमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउँदै उहाँले यहाँ हुने हरेका विकास निर्माण योजनालाई सफल बनाउनका लागि सबैले आ आफ्ना तर्फबाट सहयोग गर्नुपर्ने धारणा राख्नुुभयो ।      विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले धेरै आरोह अवरोह पार गर्दै विद्यालयले यस क्षेत्रको शैक्षिक जागरणमा विशिष्ट भूमिका खेलेको बताउनुभयो ।      शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउने गरी विद्यालय परिवार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।      शिक्षासेवी एवम् अक्षयकोषदाता पिताम्बर पौडेलले स्थापनाकालदेखि बर्तमानसम्म यहाँका स्थानीय समाजसेवी, बुद्धिजीविको अथक प्रयासकै कारण विद्यालय यस अवस्थासम्म आइपुुगेको बताउनुुभयो ।      विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले विद्यालयको समग्र आर्थिक, शैक्षिक एवम् भौतिक प्रगति र भावी योजनाबारे जानकारी गराउनुुभयो ।      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर क्षेत्रीले सबैको साथ र सहयोगमा विद्यालयको सर्वाङ्गिण विकास गर्न सकिने बताउँदै सबैको सहयोगको अपेक्षा गर्नुुभयो ।      अध्यक्ष क्षेत्रीको सभापतित्व एवम् शिक्षकद्वय कमलप्रसाद पौडेल र सन्तोष लामिछानेले सञ्चालन गर्नुुभएको कार्यक्रममा पूर्व शिक्षिका सरस्वती खत्री, अक्षयकोष दाताहरूको सम्मान सँगै कक्षागत रुपमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।      कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार चेतबहादुर महत, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कमलप्रसाद पौडेल, नेकपा एमाले पोखरा महानगपालिका वडा नं ३३ का अध्यक्ष टुकराज भण्डारी, विद्यालयकी छात्रा लक्ष्मी केसी,  लगायतले बोल्नुुभएको थियो । उक्त अवसरमा अभिभावक खेलसँगै विद्यार्थीहरूले भजन, गीत, नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए ।   

पोखरा:   पोखरामा पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा भोलि ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा दोस्रो दिन महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेछन् ।  महिलातर्फ आयोजक र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल हुनेछ । शनिबार भएको खेल खराब प्रकाशका कारण स्थगित भएपछि उक्त खेल आइतबार हुन लागेको हो । उक्त खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।  त्यसपछि पुरुषतर्फका खेलहरु हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।    दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । यी खेलपछि लिग हुनेछ । जित्ने टोली र हार्ने टोलीको छुट्टाछुट्टै लिग सञ्चालन हुनेछ । जित्ने टोलीको समूहबाट शीर्ष दुई टोली पहिलो क्वालिफायर खेल्नेछ । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । हार्ने टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिने छन् । एलिमिनेटरको विजेताले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । खेल हेर्न चाहने दर्शकले इसेवामार्फत पनि अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ । 

काठमाडौं:    साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वाास व्यक्त गर्नुभयो । नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरु र युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र छ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

विराटनगर:   उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।  उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो(२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको उल्लेख गर्नुभयो । मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा सरकार गठन भएको र यो सरकार सबै समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ थियो । उपप्रधान पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिएको समेत उल्लेख गर्नुभयो । हाल बैंकमा तरलता पर्याप्त रहेको र ब्याजदर पनि एकल अङ्कमा आएको उल्लेख गर्दै यसबाट उद्योगीहरुले लाभ लिइरहेको बताउनुभयो ।  “मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्रमा देखिएका समस्यमा समाधानमा सहज हुन्छ”, उहाँले भन्नुभयो, “अहिलेको सरकारका लागि सहज अवस्था छैन, नागरिकका निराशालाई आशामा बदल्ने गरी सरकारले द्रुत गतिमा काम गरिरहेको छ ।” उहाँले ‘निराशा चिर्ने र आशा सञ्चार गर्ने’ दायित्व सरकारकै भएकाले अध्यादेशमार्फत विभिन्न कानुन संशोधनपछि निजी क्षेत्रपनि उत्साहित भएको बताउनुभयो । त्यस अवसरमा उहाँले सरकार प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि काम गरिरहेको समेत जानकारी दिनुभयो ।  “विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, औद्योगिक ग्राम तथा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने र किमाथाङ्का बाटोको विषयमा सरकारले आवश्यक सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक विकासका निम्ति विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले निजी क्षेत्रले इमान्दारीपूर्वक राज्यको काममा सहयोग गरिरहेको उल्लेख गर्दै एक्स्पोले निजी क्षेत्रलाई फाइदा पुग्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पो सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । एक्स्पो यही माघ २० गतेसम्म सञ्चालन हुने छ ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ ।  पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।  पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल ग¥यो ।  त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे । खराब प्रकाशका लागि खेल स्थगित गरिएको हो ।  अब उक्त देल आइतबार गर्ने रेफ्रि थापाले बताए । ‘पर्सिदेखि लिग सुरु हुन्छ । भ्याएसम्म भोलि नै गर्ने हो । सुरुमा गर्ने कि कतिबेला गर्ने छलफल भइराखेको छ,’ उनले भने ।  यसअघि भएको खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो । यस्तै आजै भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।  

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो ।  पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो । इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपिएफले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले १५–७ को जित निकाल्यो ।   अब हुने दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलपछि प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ गर्नेछन् । उद्घाटन खेल आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।  आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।

पोखरा:   पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै  पोखराको टुडिखेल फुटबल मैदानमा  हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।   बगर भाइखलकका महासचिव मनकाजी गुरुङले अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको बताए ।  ूस्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयामू भन्ने नारालाई आत्साथ गर्दै २०६८ सालदेखि भेट्रान्स फुटबल आयोजना गर्दै आएका छौं, महासचिव गुरुङले भने, ‘१४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स माघ १५ देखि २१ गतेसम्म सञ्चालन हुन्छ जसमा विदेशी टिमसहित ३९ टिमको प्रतिस्पर्धा हुन्छ ।’ महासचिव गुरुङले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका पाका खेलाडीहरुको खेलबाट नयाँ पुस्तालाई खेलकुद प्रति अभिरुची जगाई  भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यसमेत राखेको बताए ।  तीन विधामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूहबीच प्रतिस्पर्धा हुने महासचिव गुरुङले बताए ।  उनका अनुसार ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५र५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको तीनवटै विधाको हरेक खेलमा म्यान अफ डी म्याच घोषित खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । १३ औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।  प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।  बगर भाइखलकले फुटबल खेल विकासमा विशेष योगदान दिने खेलाडीहरुलाई सम्मान गर्दै आएको बताउँदै यस वष पूर्व खेलाडी रमेश भट्टचनलाई सम्मान गर्ने जनाएको छ ।  प्रतियोगिताको मुख्य प्रायोजकमा चिरायु नेशनल अस्पताल र सहप्रायोजकमा बगर भाइ खलक युके रहेको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।