म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो । “दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उहाँले भन्नुभयो, “ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।” हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।
सोलुखुम्बु: भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक÷एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं: चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १ सय ३० जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।
काठमाडौं: चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिनुभयो । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उहाँले भन्नुभयो । यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताउनुभयो । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उहाँले भन्नुभयो, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।” नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिनुभयो । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कैलाली: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभएको छ । आज यहाँको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उहाँले भन्नुभयो, “विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ ।” उहाँले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रकृया रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय बन्न सक्दा राम्रो हुन्छ । लागत बढी छ । राज्यले त्यो लागत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।” उहाँले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताउनुभयो । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उहाँले जानकारी दिनुभयो । “यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्,” उहाँले भन्नुभयो । मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । गेटामा करिब सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।
सोलुखुम्बु: आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।
काठमाडौं: चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् । चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पको केन्द्र २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री ई देशान्तरमा रहेको बताएको छ । हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ । यसैबीच, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले मङ्गलबार तिब्बत स्वायत्त क्षेत्रको सिजाङमा भूकम्पको धक्का महसुस गरेको जनाएको छ ।
नवलपुर: यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझँै चराको प्रजाति र सङ्ख्या नभेटिएको बताउनुभयो । “अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए”, उहाँले भन्नुभयो, “यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए ।” साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उहाँको भनाइ छ । विगतमा गणना गरिएको जुरे हुटिट््याउँ, चित्र दङ्गालगायत जलपन्छी यसपटक नभेटिएको उहाँले जानकारी दिनुभयो । “चखेवा र खोया हाँसको सङ्ख्या भने विगतमाझैँ भेटिएको छ”, उहाँले भन्नुभयो । नदीमा बढेको प्रदूषणका कारण यस क्षेत्रमा जलपन्छी न्यून आएको हुनसक्ने उहाँले बताउनुभयो । गणनाको केही दिन अगाडि निकुञ्ज क्षेत्रमा पहिलोपटक ‘कालो टाउके लेक चरी’ भेटिएको थियो । “यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौँ”, लिम्बूले भन्नुभयो, “दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो ।” हाल उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न र खानेकुराको खोजीमा विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चरा आउने उहाँले बताउनुभयो । निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालतलैयामा भने पुस २७ गतेमात्र जलपन्छी गणना गर्ने तयारी गरिएको संयोजक डिबी चौधरीले बताउनुभयो । विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसारमा पाइने जलपन्छीको सङ्ख्या, प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी लिन यस वर्षको गणना यही पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताउनुभयो । “चरा गणना स्वयंसेवी रूपमा गरिने भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “जलपन्छी गणनामा सहभागी हुने गणक होटल व्यवसायी, नेचरगाइड हुने भएकाले अन्य ठाउँमा भन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो ।” यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गर्ने योजना बनाइएको छ । जलपन्छी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपर बस्ने परम्परागत र बसाइँसराइ गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ । चराको प्रारम्भिक तथ्याङ्क गणना सकिएलगत्तै गरिने भए प्नि विस्तृत प्रतिवेदन आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने संयोजक चौधरीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उहाँहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ । गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान तथा चीनको हाइजाओमा गत असोज १देखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याम्यियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई प्रधानमन्त्रीेले पुरस्कार प्रदान गर्नुभयो । यसैगरी उहाँले गत साउन १७ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबलका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार प्रदान गर्नुभयो । खेलका माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगत्मा वृद्धि गरेकामा खेलाडीहरूको सराहना गर्दै प्रधानमन्त्री ओलीले खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल र अठोटका साथ प्रतिस्पर्धा गर्न सुझाव दिनुभयो । सामूहिक भावनालाई आत्मसात् गर्दै मैदानमा उत्रनुपर्नेमा उहाँले जोड दिनुभयो ।