काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उहाँले बताउनुभयो । अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उहाँले बताउनुभयो ।
वालिङ: पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो । बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताउनुभयो । “बजारमा प्लास्टिकका गुन्द्री र म्याट पाइन्छ, तिनकै प्रयोग गर्न थालियो”, उहाँले भन्नुभयो, “गुन्द्री बुन्न अब हामीले सकिँदैन नयाँ पुस्ताले गुन्द्री बुन्न दुःख मान्छन् ।” अझ पछिल्लो समय खेती गर्नै छाडेकाले परालको अभाव हुने र खेती गरिहालेमा पनि हाइब्रिड जातको खेती गर्दा पराल छोटो हुने गरेको उहाँले बताउनुभयो । सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोग बढ्दै गएकाले गुन्द्री बुन्न छाडिएको उहाँले बताउनुभयो । ग्रामीण भेगमा अझै पनि छिटपुट रूपमा गुन्द्री बुन्ने गरे पनि विस्तारै बजारको प्रभाव ग्रामीण क्षेत्रमा पर्दै गएकाले गुन्द्री बुन्ने पराम्परा हराउँदै गएको वालिङ–८ की रन्नता बगालेले बताउनुभयो । बुन्न झन्झटिलो भएकाले पनि नयाँ पुस्ता आकर्षित नभएको हुनसक्ने उहाँ बताउनुहुन्छ । नयाँ पुस्ताको आकर्षण नहुनु एकातिर छभने अर्कातिर पुरानो पुस्ताले जानेको सीप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा गुन्द्री बुन्ने संस्कृति लोप भएर जानसक्छ । परालको लम्बाइअनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी गुन्द्री बुन्ने गरिन्छ । छोटो परालबाट थर्कटी तथा चकटी बुन्न सकिन्छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ । विशेषगरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ । हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ ।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताउनुभएको छ । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उहाँले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भन्नुभयो । “नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका निर्माणका लागि पहल गर्छु”, उहाँले भन्नुभयो । टुरिष्ट बस एशोसिएसन अफ नेपालले काठमाडौँको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर अगाडि बढ्ने मन्त्री पाण्डेको भनाइ थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको आवश्यक रहेको बताउनुभएको थियो । उहाँले पर्यटक बसपार्क निर्माणका लागि बोर्डले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले टिवान र नाट्टाले पशुपति क्षेत्र विकास कोषसँग बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको भन्दै उक्त कार्यमा सहयोग गर्न मन्त्रीलाई आग्रह गर्नुभएको थियो । टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय राजधानी पोखरा र चितवनको सौराहमा पर्यटकका लागि छुट्टै बसपार्क भए पनि सङ्घीय राजधानी काठमाडौँबाट भने सडकबाट पर्यटक बस गुडाउनुपर्ने बाध्यता रहेको भन्दै यसलाई अन्त्य गर्न पहल गरिदिन सरकारको ध्यानाकर्षण गर्नुभएको थियो । टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्य, सल्लाहकार केदार शर्मा, मदन आचार्यलगायतले मुुलुकको राजधानीमा काठमाडौँबाट बसपार्कको अभावका कारण बिहान ७ बजे चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रमा पर्यटक बस गुडाउनुपर्ने अवस्था आएको भन्दै बसपार्क निर्माण भए जुनसुकै समयमा पर्यटक बस सञ्चालन गर्न सकिने बताउनुभएको थियो । हाल मुलुकको राजधानी काठमाडौँबाट पोखरा र चितवनको सौराह, लुम्बिनी, जनकपुरका लागि मात्रै दैनिक झण्डै एक सयवटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन्भने दैनिक तीन हजारदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस ‘पार्किङ’ गरेर यात्रु बोक्दै आएका छन्भने रातको समयमा विभिन्न ‘ग्यारेज’मा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् ।
पोखरा: बोधि श्रवण धर्म संघ –नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि ‘विश्व शान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/धर्म आध्यात्मिक पूजापाठ प्रार्थना' कार्यक्रमको आयोजना गर्दैछ । आगामी २६ गतेसम्म उक्त पूजापाठ चल्ने छ । उक्त कार्यक्रमपूर्व निकालिएको र्यालीमा बच्चादेखि वृद्धासम्म उनका अनुयायीहरु देखिएका छन् । खाली खुट्टामा सहभागि साे र्यालीमा केही चिनियाँ नागरिकपनि देखिएका छन् । तस्बिरहरु:
काठमाडौं : चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ। भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
मोरङ: जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ । सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । विराट एक्स्पोमा नौ वटा पेभिलियन (व्यापारी कक्ष) अन्तर्गत दुई सय ६८ स्टल रहने एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका स्टार्टअप भिजन, कोशी ह्याकाथुन, रोजगार, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्सका, औद्योगिक कर्पोरेट, कृषि, पर्यटन, खाद्यका स्टल रहने उल्लेख गर्नुभयो । । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र उपाध्यक्ष विपिन काबराले एक्स्पो आयोजनाले यस क्षेत्रमा आर्थिक कारोबारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । विराट एक्स्पो–२०२५ को सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको र स्टलका लागि मैदान निर्माण सुरु भएको संयोजक दुलालले जानकारी दिनुभयो ।
काठमाडौं: काठमाडौँ उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ । आज विहान करिव छ वजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो । प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।
काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू–भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ । यही जनवरी ५ (पुस २१ गते) अबुधाबीबाट करिब तीन सय किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनःश्रम स्वीकृतिसम्बन्धी व्यवस्था, वित्तीय साक्षरतालगायत विविध विषयमा जानकारी दिएको हो । उक्त घुम्ती शिविरमा तीन सय ३५ जना नेपालीको राहदानी नवीकरण गर्नुका साथै त्यहाँ उपस्थित पाँच सय ५० नेपाली श्रमिकलाई नेपाल र युएईका विद्यमान श्रम कानुनका विषयमा जानकारी प्रदान गरिएको थियो । राहदानीको म्याद समाप्त भइसकेका, प्रवेशाज्ञाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिको राजदूतावासले प्राथमिकताका साथ नवीकरण गर्ने गरिएको नेपाली राजदूतावास अबुधाबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शिविरबाट नेपाली श्रमिकले विद्यामान कानुनी प्रक्रियाकाबारे जानकारीसहित राहदानी नवीकरणको सुविधा पाएका छन् ।