काठमाडौं:   नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।  विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका...

लेखनाथ:  कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुहबीच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।   प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयीक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ ।   कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो ।   घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहकाबीचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ वबहान त्यसको तयारीमासमेत जुट्ने गरेका छन् ।   महिलाहरुलाई गीत संगित र रत्यौलीमा मात्र सिमित नराखी उनीहरुमा रहेको अन्र्तनिहित क्षमताको विकास गराउँदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उदेश्यले पहिलो पटक अन्तर महिला तथा आमा समुहकाबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता व्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले बताइन् ।   लामिछानेले भनिन्–“आयोजित प्रतियोगिताबाट आमा÷महिलाहरुमा पनि समसामयिक विषयको जानकारी हुँदो रहेछ भन्ने देखियो, सवाल जवाफको प्रतियोगितामा महिला मित्रहरुले खुलेर सहभागि जनाउनु भयो यो नै हाम्रो  लागि गर्वको विषय हो ।”   प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समुह मध्येबाट प्रत्येक दिन चार समुहकाबीच प्रतिस्पर्धा गरि आठ समुहलाई सेमि फाईनलमा प्रवेश गराउने गरि प्रतियोगिता संचालन भईरहेको छ ।   सहभागी समुहहरुलाई विषयगत प्रश्न देखि महिलाहरुको दैनिकी दिनचर्याका विषय वस्तु देखी धर्म,संस्कृती, साहित्य, स्थानिय निकाय, स्थानीय सेरोफेरो र लेखनाथ उद्योग बाणिज्य संघ सम्वन्धित प्रश्न तयार गरिएको छ भने, अहिलेसम्म २४ समुहका बिच प्रतिश्पर्धा भईसकेको छ ।   प्रतियोगिताबाट सेमिफाईनलमा प्रवेश गरेका आठ समुहका बिच हुने फाईन चरणको प्रतिश्पर्धा हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २५ हजार, द्धितिय ह्ने समुहले २० हजार, तृतिय हुने समुहले १५ हजार र सान्त्वना हुने समुहले १० हजार र बाँकी चार समुहले पाँच÷पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।   आईतबारसम्म भएको प्रतिष्पर्धामा सरस्वती सामुदायिक महिला समहु पोखरा ३३, समाज सुधार आमा समुह पोखरा २९ र सृजना महिला समुह पोखरा २६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।  

पर्सा:    वीरगञ्ज महानगरपालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ  ।  महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पनि नहटाएपछि  आइतबारदेखि डोजर लगाएरस्थान खाली गराउन थालेको हो । वीरगञ्ज महानगरपालिका, नगर प्रहरी प्रमुख हरि भुसालले दुई पटकसम्म सार्वजनिक सूचना जारी गराउँदा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४०  अस्थायी घरटहरा खाली गराएको जानकारी दिनुभयो ।  ‘‘हामीले आइतबारदेखि अतिक्रमणमा परेको बिपी उद्यान खाली गर्न थालेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म रोकिँदैन ।’’ महानगरका अनुसार बिपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा धेरै अस्थायी रुपमा सञ्चालनमा रहेका छन् । नगर प्रहरी प्रमुख भुसालले महानगरले उपयुक्त विकल्प दिएर बिपी उद्यान खाली गर्न लागेको  जानकारी दिनुभयो । ‘‘यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजार राख्ने व्यवस्था गरेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्ज घर रहेका छन् ।  अन्य केही भने भारतीय नागरिकले सञ्चालन गरेका छन् ।’’ नगरप्रमुख भुसालले अतिक्रमण गरेको ठाउँलाई खाली गरेर आकर्षक खालको पार्क अघि बढाउने बताउनुभयो । बिपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका ओकेबहादुर शाहीले महानगरले आफूहरुलाई हटाएर बिचल्ली बनाएको दाबी गर्नुभयो । ‘‘बिपी उद्यानमा दैनिक पाँच–दश केजी बङ्गुरको मासु बेच्दै आइरहेका थियौँ,’’ उहाँले भन्नुभयो,‘‘यहीबाट परिवारको गर्जो टार्दै आइरहेका थियौँ । आजदेखि त हटाएपछि अब कहाँ के गर्ने भन्ने अन्र्यौल सिर्जना भएको छ ।’’ उहाँले महानगरले आफूलाई मात्रै नभएर अन्यलाई पनि हटाउनुपर्ने बताउनुभयो ।‘‘डोजर लगाएर हामीलाई त हटाएका छन् । अन्य कपडा पसल, तरकारी तथा फलफूल बिक्री वितरण गर्नेलाई नहटाउने हुन कि भन्ने आशङ्का उब्जिएको छ,’’ उहाँले भन्नुभयो ।  महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो ।  सो म्याद पनि यही पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर  सार्वजनिक सूचना जारी गरेको थियो ।  दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि भने आइतबार एक्साभेटर लगाएर खाली गरेको हो । महानगरले यो ठाउँमा बिपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ ।

हेटौँडा:   यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।      अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिनुभयो ।       त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उहाँले बताउनुभयो । क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो ।       उहाँका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताउनुभयो ।      गत आइतबार नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गर्नुभएको थियो । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गर्नुभएको थियो ।        क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उहाँले बताउनुभयो ।

काठमाडौं:   नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान  ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  “हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ,” उहाँले भन्नुभयो, “त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ  ।” आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो ।  प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

काठमाडौं:    ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ ।      शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ ।       नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।       गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाउनुभयो । उहाँका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।      ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो ।       कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भन्नुभयो, “विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।”       कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुनुहुन्छ ।      कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ ।      यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ ।      नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो । 

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताउनुभएको छ ।       पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा उहाँले जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताउँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।”       आगामी माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने तथा पार्टीका सङ्घ र प्रदेश सांसदको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।  अध्यक्ष दाहालले पार्टीका मधेससँग सम्बन्धित समस्या हल गर्दै ‘मिसन २०८४ अभियान’ कार्यान्वयनमा जोड दिनुभयो ।        आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पनि गर्नुभएको छ । माओवादी केन्द्रमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताउनुभएको छ ।       एमाले केन्द्रीय कमिटीको आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा उहाँले देशको अर्थतन्त्रमा सुधारमा सकारात्मक सङ्केत देखिए पनि त्यसले अपेक्षित गति लिन नसकेको उल्लेख गर्नुभएको छ ।  राजनीतिक स्थायित्व र सबल सरकार गठनसँगै निजी क्षेत्रको विश्वास बढेको, राजस्व, निर्यात, र पुँजीगत खर्चमा वृद्धि भएको तथा पुँजी बजारमा सुधार आएको प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।  पहिलोपटक देशको सार्वभौम ‘क्रेडिट रेटिङ’बाट हाम्रो राष्ट्र दक्षिण एसियामा भारतपछिको दोस्रो लगानीयोग्य मुलुकका रुपमा परिचित भएको उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।      सहकारीका बेथितिलाई सम्बोधन गर्न तथा अनियमिततामा संलग्नलाई कारबाही गर्ने, बचतकर्ताको रकम फिर्ता गर्ने, प्रभावकारी नियमनका लागि प्राधिकरण गठन एवं कानुनी संरचना निर्माणमा आवश्यक प्रयत्न भएको एमाले अध्यक्ष ओलीले बताउनुभएको छ ।  ऊर्जा, व्यापार र पूर्वाधारमा सुधारका प्रयास भएका, किसानका समस्या समाधान, सरकारी सेवा प्रवाहमा क्रमिक सुधार आए पनि ती क्षेत्रमा चुनौती रहेका प्रधानमन्त्रीले औँल्याउनुभएको छ । प्रतिवेदनमा सरकारका प्रयास सकारात्मक भए पनि अपेक्षित विकास र जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्नेमा जोड दिइएको छ ।      “मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ । वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ । पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ । गत वर्षको यसै अवधिको तुलनामा राजस्वमा वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ । पुँजीगत खर्च पनि वृद्धि भएको छ”, प्रतिवेदनमा भनिएको छ, “मुलुकको अर्थतन्त्रमा सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको छ । गत वर्षदेखि सिर्जित भुक्तानी दायित्व लगभग पूरा गरिएको छ । करिब एक दर्जन, नियमावली, कार्यविधि, निर्देशिकालगायत ऐनकानुन पारित भई कार्यान्वयनमा आएका छन् ।”      बिनाअध्ययन साना आयोजनामा छरिएको बजेटलाई राष्ट्रिय गौरवका रणनीतिक आयोजनामा केन्द्रित गर्न र अनुशासित कार्यप्रणाली कार्यान्वयन गर्न मितव्ययितामा जोड दिइएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।  सरकारले गरेका विभिन्न प्रयासका कारण अर्थतन्त्र गतिशील हुने आधार तयार भएको प्रतिवेदनमा उल्लेख छ । “अर्थतन्त्रको बाह्य अवस्थामा तुलनात्मक रुपमा अनुकूल अवस्था छ । बैङ्कमा लगानीयोग्य पुँजीको दायरा र विप्रेषण आप्रवाह विस्तार भएको छ । ब्याजदर एकल विन्दुमा झरेको छ । मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रणको सीमामा छ”, पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भन्नुभयो ।      सहकारीका बेथिति अन्त्यका लागि मुख्य चारवटा कार्य तत्काल गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभएको छ । “अनियमिततामा संलग्नहरूलाई बिनामोलाहिजा कारबाही गर्ने, बचतकर्ताहरूको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधिकरण गठन गर्ने र भविष्यमा बचतकर्ताहरूको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ”, ओलीले भन्नुभयो ।      नागरिकहरूको बचत रकम हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन र दोषीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा वर्तमान सरकार स्पष्ट रहेको पनि उहाँले बताउनुभयो ।  “कतिपय पार्टी या व्यक्तिहरूले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवं आफूहरूप्रतिको पूर्वाग्रह या प्रतिशोध करार गर्ने प्रयत्न गरिहेका छन् । तर यस प्रक्रियामा सत्तारूढ पार्टीहरू सम्बद्ध कतिपय व्यक्तिहरू समेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ”, उहाँले भन्नुभयो, “आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन । गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ ।”      हालसम्म सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीका ६९ हजार बचतकर्ता मध्येबाट तीनवटा सहकारीका छ हजार बचतकर्ताहरूको करिब रु एक अर्ब ५५ करोड रकम फिर्ता भइसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले अन्य सहकारीका करिब आठ हजार बचतकर्ताको ७० प्रतिशत र दुई हजार बचतकर्ताको ५० प्रतिशत बचत फिर्ता भइसकेको जानकारी दिनुभयो ।       अधिक तरल, अस्थिर र अनिश्चयपूर्ण राजनीतिक अवस्थाले मुलुकको विकास निर्माणको काममा गम्भीर व्यवधान पुगेको प्रधानमन्त्रीले प्रतिवेदनमा स्वीकार्नु भएको छ ।  पूर्ववर्ती सरकारको पालामा तस्करी, भ्रष्टाचार र सरकारी रकम अपचलनलाई संरक्षण दिँदा मुलुकमा एक किसिमको समानान्तर अर्थतन्त्र चलायमान भएको, अपेक्षित राजस्व नउठेको, विदेशी अनुदान, सहायता र लगानी अपेक्षा गरिएअनुरुप नभित्रिने स्थिति सिर्जना भएको आरोप पनि प्रतिवेदनमा लगाइएको छ ।      “निर्माणाधीन परियोजना समयमा सम्पन्न नहुने र निर्माण सम्पन्न भएका आयोजनामा निर्माण व्यवसायीहरूले भुक्तानी नपाउने जस्ता बेथिति देखा परे । निश्चित राजनीतिक स्वार्थका लागि जथाभावी योजना थप्दै जाँदा मन्त्रालयहरू त्यस्ता टुक्रे योजनाहरूको बोझ र स्रोत सुनिश्चितताका नाममा प्रतिबद्धता गरिएका दायित्वले थिचिएको अवस्था छ । यस्तो बेथितिलाई अन्त्य गर्दै हाम्रो विकास निर्माणको समग्र ‘इकोसिस्टम’ मै ठूलो रुपान्तरण आवश्यक भएको छ”, प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।      अर्थतन्त्र सुधारका लागि वर्तमान सरकारका काम सकारात्मक भए पनि ती पर्याप्त नभएका उहाँले बताउनुभयो ।  “दुई मुख्य दलको साझेदारी र अन्य दलहरू समेतको सहभागितामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र ‘डेलिभरी’को अपेक्षा गरिरहेका छन् । एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुम पुनर्निर्माणको काम थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुनःस्थापनामा ढिलाइ हुनु सोचनीय विषय हो”, अध्यक्ष ओलीले प्रतिवेदनमा भन्नुभएको छ, “आफूले उत्पादन गरेका वस्तुहरूको उचित बजार र मूल्य नपाउने किसानहरूको समस्या समाधान हुन नसक्नु, विकास –निर्माणमा अपेक्षित गति नआउनु र सरकारी सेवा प्रवाह, लगानी र व्यावसायिक वातावरणमा अपेक्षित सुधार नआउनु सरकारका सामु तेर्सिएका मुख्य चुनौती हुन् ।”

सुनसरी:     उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि सरकारको स्थायित्वका लागि सत्ता सहकार्य गरिएको बताउनुभएको छ ।   कांग्रेस धरान उपमहानगर कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सहमतिअनुसार दुवै पार्टीले इमान्दार भएर काम गरिरहेको बताउनुभयो ।  “विगतमा र आगामी निर्वाचनमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई राम्ररी थाहा छ । अहिलेको परिस्थिति र आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो । त्यसैले परिणाम दिनेगरी सरकारले काम गरिरहेको छ । यसअघि पूरा हुननसकेका योजना सम्पन्न गर्ने, आर्थिक र विकास निर्माणका काममा गतिदिने गरी सरकार अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।   कांग्रेस नेता सिंहले देश विकास र जनसेवालाई केन्द्रमा राखेर पार्टी नेता तथा कार्यकर्तालाई क्रियाशील हुन आग्रह गर्नुभयो ।  कार्यक्रममा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा, पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी सभापति श्याम पोख्रेल,  क्षेत्रीय सभापति सुजेन्द्र तामाङलगायतको सहभागिता रहेको थियो ।

काठमाडौं:    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष  नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति, २०८१ ले आफ्नो  प्रतिवेदन पेश गरेको छ ।      उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा  शिक्षा  मन्त्रालयमा मन्त्री भट्टराईसमक्ष सो  प्रतिवेदन हस्तान्तरण गरिएको हो ।  सो अवसरमा मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयनका लागि  स्थानीय सरोकारवाला, राजनीतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्दै प्रतिवेदन तयार गर्ने कार्यमा  संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।  उक्त प्रतिवेदन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई हस्तान्तरण गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।        प्रतिवेदन मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकको निर्णयानुसार गठित सो समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ जिल्लाका विभिन्न स्थानमा अवस्थित जग्गा तथा भौतिक पूर्वाधारको स्थलगत अवलोकन, विश्वविद्यालय पदाधिकारी तथा कर्मचारीसँगको छलफल तथा अन्तरक्रिया एवं विभिन्न निकायसँगको समन्वयका आधारमा आवश्यक सूचना सङ्कलन गरी तयार पारिएको हो ।