काठमाडौं:   नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।  विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका...

काठमाडौं:    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताउनुभएको छ ।      आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गर्नुभयो ।  एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गर्नुभयो ।      “हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति–व्यक्ति र घरघरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ ।”      पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुसी मनाउ गर्नेहरु पश्चाताप गरिरहेका टिप्पणी गर्नुभयो ।      बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेट्नुभएको छ ।       नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्यगरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास–निर्माणले गति लिएको मुख्य जानकारी गराउनुभयो ।       बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, गत वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरुबारे जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन र समसामयिक विषयमा महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराउनुभएको थियो ।       बैठकले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ ।

काठमाडौं:   युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले शनिबार जनाएको छ । डोनेट्स्क–गोर्लोभका राजमार्गमा रूसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रूसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको समाचारमा जनाइएको छ । “गोर्लोभकामा भएको गोलाबारीपछिको दृश्याङ्कन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ। राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,” आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भन्नुभयो ।   डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको बताउनुभएको छ । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रूसी पत्रकारमाथि हुने आक्रमणका लागि ‘उचित समयमा प्रतिक्रिया’ दिइने बताउनुभएको छ । 

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।  उनका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।  कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा तोसिमा कार्की, डा अच्युतम लामिछाने र मेघ आले रहेका छन् ।  उक्त  कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।  यसैबीच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक स्वयम्भूस्थित स्टार भेन्यूमा जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताए ।  पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामासमेत छलफल हुने बताइएको छ ।

काठमाडौं:     नेपालमा पुन: १८ महिनापछि मङ्कीपक्स देखापरेको छ । तनहुँ स्थायी घर भई पुस ४ गते काठमाडौँ आएका सउदी अरेबियामा कार्यरत ३६ वर्षीय पुरुषमा पुस ५ गते सङ्क्रमण पुष्टि भएको हो ।   उनको टेकु अस्पतालमा आइसोलेसनमा राखी उपचारपश्चात् डिस्चार्ज भइसकेको छ ।  पहिलो सङ्क्रमित पुस ३ गते विमानस्थलबाट ट्याक्सी चढेर निजी अस्पताल हुँदै सरकारी सरुवा रोग अस्पताल टेकु पुगे भने अर्का ४४ वर्षीय पुरुष पुस १३ गते एक दिन स्वयम्भुमा आफन्तकहाँ बसी आइतबार टेकु अस्पताल पुगे । उनको उपचार भइरहेको छ ।  नेपालमा पहिलोपटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा मङ्कीपक्स देखिएको स्वास्थ्य मन्त्रालयले २०८० असार १ गते पुष्टि गरेको थियो ।       सन् २०२४ सम्मको अफ्रिकाको प्रतिवेदनमा २० देशबाट करिब ६३ हजार बढी नमुनामा १३ हजार ५७९ बढी पुष्टि, मृत्यृ १२ सय बढी छ ।   सङ्क्रमण तीब्ररुपमा फैलिएपछि अफ्रिकी सीडिसीले गत अगष्ट १२ मा जनस्वास्थ्य सङ्कटकाल तथा विश्व स्वास्थ्य सङ्गठनले अगष्ट १४ मा विश्व स्वास्थ्य आपत्काल (पिएचआइसी) घोषणा गरेको थियो । एम–पक्स हाम्रा लागि नयाँ मानिए पनि विश्वमा पहिलेदेखि नै छ ।  अफ्रिकी महादेशमा दशकौं अगाडिदेखि नै देखिरहेको छ । तथापि विशेष चर्चा सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो । सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले विश्वभर ७५ देशमा १६ हजारजनामा भाइरस पुष्टि भएपछि मंकी–पक्सलाई विश्वब्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो । हाल मंकी–पक्सलाई एम–पक्सको नामले सम्बोधन गरिन्छ ।      सन् १९५८ मा पहिलोपटक पश्चिम अफ्रिकाको डेनमार्कमा एक दुर्गम भेगमा एक बन्दी बाँदरमा फेला परेको थियो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो ।  मानिसमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कङ्गोमा नौ महिने बालकमा पुष्टि भएको थियो । त्यतिबेला यो रोग १० अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा आयातित कुकुर हुँदै अमेरिकामा फैलिएको थियो ।  एसियामा सर्वप्रथम सन् २०१९ मा  सिंगापुरमा नाइजेरियाबाट आएका ब्यक्तिलाई मंकी–पक्स देखिएको थियो । बादरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा सर्न थालेको, धेरैलाई निदान गर्न कठिन भएको, खोप नभएको, सङ्क्रमण तीव्र फैलिँदै गएको तथा अहिलेसम्म सङ्क्रमण नदेखिएका देशमा समेत २१ दिनभित्र देखिनसक्ने भएकाले स्वास्थ्य आपत्काल घोषणा गरिएको सङ्गठनले बताएको छ ।  सन् २०२२ जुलाईमा युरोप, अमेरिकालगायत देशमा तीव्र रुपमा फैलिई ११० देशमा ८७ हजार बढी सङ्क्रमित र १४० जनाको ज्यान गएको थियो । हालसम्म भारत, नेपाललगायत ११६ देशमा यो रोग देखा परिसकेको छ ।    के कारणले हुन्छ ?      मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रुपमा घोषणा गरेको थियो ।  अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरुमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनले एउटा बिरामीलाई समेत गम्भीर मानेको छ । मध्य एवं पश्चिमी अफ्रिकी देशको जङ्गली स्थानमा पाइने बाँदरबाट मानिसमा सरेकाले मङ्कीपक्स नामकरण गरिएको हो । लक्षण कस्तो हुन्छ ?      सामान्यतः सङ्क्रमण भएको २१ दिनपछि ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांशपेसी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्छन् ।  सङ्क्रमणबाट भएको घाउ १४ देखि २१ दिनसम्म रहने र त्यसपछि सामान्यतः आफैँ हराउँछ । बिबिराको प्रकृति चिकनपक्स अर्थात् ठेउला र भिरगीसँग मिल्दोजुल्दो छ ।      सङ्क्रमण भएको एकदेखि २१ दिनसम्ममा एम–पक्सको लक्षणहरु देखिने गर्छ र दुईदेखि चार हप्तासम्ममा अधिकांश सङ्क्रमितले स्वास्थ्य लाभ गरिसक्छन् । ‘न्यु इङ्लैण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अनुसन्धानमा सङ्क्रमितहरुमध्ये सबैभन्दा बढीमा शरिरको बिशेषत गुप्ताङ, मलद्वारमा घाउ, पानीका फोकाहरु देखिएको छ । लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र पछि सामान्यतः आफैँ हराउँछ ।  एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिने अवधि दुईदेखि तीन सातासम्म रहन्छ । सङ्क्रमितमध्ये १० प्रतिशतमा स्वास्थ्य जटिलता भएर मृत्यृ हुनसक्छ । गर्भवती, बालवालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा जटिलता हुनसक्छ । सम्भावित जटिलताहरुमा आखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यृ पर्दछन् ।      सङ्क्रमण घातक देखिने वर्गमा बच्चा, दीर्घकालिन रोगी, शरिर कमजोर भएका व्यक्ति पर्दछन् । पछिल्लो समय शारिरीक क्रियाकलापमा लागेका मानिसमा रोग देखिने गरेको छ र यौनरोगसँग सम्बन्धित भनेर पनि लिन सकिन्छ ।  पछिल्लो समयमा पुरुष समलिङ्गंी समूहमा एउटा मात्रै घाउ दिसा गर्ने भागमा वा लिङ्गमा बिबिरा वा पानीको फोकाजस्तो बिबिरा गुप्ताङ्मा देखिएको छ । यसले सङ्क्रमण भएको स्थानबाट आएको व्यक्तिसँग सम्पर्कमा आउँदा वा नजिकको सम्बन्ध बनाएकोमा एउटा मात्र घाउ, बिबिरा आउँदा पनि एम–पक्स हुनसक्छ ।     सर्ने माध्यम के के हुनसक्छ ?      सम्पर्कमा आएका ५० जनामध्ये एक जनामा सर्ने यो रोग अन्य सङ्क्रामक रोग तथा बिबिरा ठेउला र भिरिङ्गीको बिबिरासँग मिल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मी झुक्किने सम्भावना बढी छ ।  रोग सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, ¥याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांशपेसीबाट सर्ने गर्दछ ।  भाइरस स्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत पनि सर्नसक्छ । यस्तै बाँदर,मुसा लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न र फैलिन सक्छ ।  सङ्क्रमितसँगको यौन सम्पर्कबाट पनि सर्नसक्छ । तथापि बिर्यबाट सर्ने प्रमाणित भईसकेको छैन । गर्भवतीमा गर्भबाट बच्चामा सर्नसक्छ । फोका, लुगाफाटोलगायतमा सङ्क्रमणहुँदा सर्ने जोखिम बढी रहन्छ ।  बिफरकै समूहमा पर्ने मंकीपक्स सङ्क्रमित व्यक्तिको घाउ, हाच्छिउँका छिटा र थुक पनि सार्ने माध्यम भएकाले सजिलै एकबाट अर्कोमा सर्नसक्छ । तरल पदार्थ स्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्छ । पानीका फोका देखिएर अस्पताल पुग्ने चलन नभएकाले सर्ने माध्यमका बारेमा जानकारी दिई फैलन नदिने नै राम्रो हो । कोभिडजस्तो छिटै सर्ने र घातक नभएकाले आत्तिहाल्नु पर्देन ।      धेरैजसो लक्षणबाट त्यो बाहेक छालाको जाँच र फोकाको पीसीआरबाट पत्ता लगाइन्छ । फोकाबाट लिइएको नमुनाको मन्किपक्स भाइरल पोलिमरेज चेन रिएक्सन—पीसीआरबाट रोगको निदान गरिन्छ ।  नमुना छाला, तरल पदार्थ क्रस्ट वा बायोप्सीबाट निकालिन्छ । एन्टिजेन र एन्टिबडी परीक्षणले अर्थोपक्स भाइरसबीचको फरक पत्ता लगाउन नसक्ने भएकाले उपयोगी हुँदैन । उपचार तथा रोकथाम के हो त ?      धेरैजसो मानिसमा यस्ले कुनै जटिलता नल्याउने र दुईदेखि चार हप्तामा आफैँ निको हुन्छ । तथापि, बच्चा, बृद्धबृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आँखा तथा अङ्गको सङ्क्रमण, निमोनिया, इन्सेफलाइटिस जस्ता जटिलता ल्याउने गर्छ । रोगको मृत्यृदर शून्यदेखि ११ प्रतिशत छ । सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधि टेकोभिरिम्याट पनि उपलब्ध छ ।      कोरोना सङ्क्रमणमा अपनाइएका मास्कको प्रयोग, हावा ओहरदोहर गर्ने स्थान, साबुनपानीले हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनपर्छ । सङ्क्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निसङ्क्रमित गरेर मात्र अन्यले प्रयोग गर्नपर्छ ।  सन् १९८० मा उन्मुलन भएको बिफरका लागि प्रयोग हुने खोप मंकीपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्क्रमण भएको चार दिनभित्र खोप लिन सकिन्छ र चारदेखि १४ दिनभित्रमा खोप दिनसके सङ्क्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ । बिफरको एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ ।      बिफर उन्मुलन भइसकेकाले त्यसको खोप बिश्वमा पाउन गाहे छ । बजारमा पर्याप्त मात्रामा नभए पनि अन्कारा नामक खोपको दुई मात्रा लगाउन सकिन्छ । यो खोप सन् २०१९ देखि अमेरिका, क्यानाडा युरोपमा मान्यता प्राप्त छ । उच्च जोखिममा भएका स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेले खोप लगाउँदा हुन्छ । बिगतदेखि नै समलिङ्गी बढी सङ्क्रमित छन् ।  बिफरको खोपले मुटुको मांशपेसी सुजन, रोग प्रतिरोधात्मक क्षिमता दबाउने, एचआइभीजस्ता रोग लागेकालाई पनि जोखिम छ भने एक्जेमाका बिरामीलाई प्राणघातक छ ।  नयाँ पुस्ताका खोप जिन्नेइओसजस्ता खोप ठूला समूहलाई दिन सुरक्षित छन । तथापि, अहिलेका लागि सङ्क्रमण रोक्न रिङ्ग भ्याक्सिनेसन नै पर्याप्त छ । हाल प्रयोगमा आइरहेको एम पक्स भाइरसको सक्रिय भाइरस प्रयोग भएकाले एसिएएम २००० नामक खोपले इम्युनोकम्प्रोमाइज्ड ब्यक्तिमा प्रयोगमा नल्याउन सिडिसीले अनुरोध गरेको थियो । निस्क्रिय भाइरस प्रयोग गरिएको कम असर हुने जेन्नोइज नामक खोप पनि उपलब्ध छ ।      रोकथामका लागि स्मलपक्स सङ्क्रमणविरुद्ध प्रयोगमा ल्याइएको एसिएम २०० र जेनिओज नामक खोप हाल प्रयोगमा ल्याइएको छ । सामान्यतया बिफर उन्मलन भइसकेपछि उपचारका लागि तयार पारिएका खोप र औषधिलाई जैविक हतियारको रुपमा प्रयोग गर्न सरक्षित राखिएको थियो ।  सिडिसीले बिफरको उपचारमा प्रयोग गरिने दुई एन्टिभाइरल औषधि टिपीओएक्स र सिडोफोभिर मंकीपक्सविरुद्ध प्रयोग गर्न अनुमति समेत दिएको छ । कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।      असुरक्षित यौन सम्पर्कबाट पनि सरेकाले कण्डम प्रयोग गर्न र यौन साथीहरु परिवर्तन गरेकामा लक्षणहरुमा ध्यान दिनपर्छ । भाइरस बोक्नसक्ने जनावरहरु, बिरामी वा मरेका जनावर, बादर, मुसाजस्ता सङ्क्रमणको इतिहास भएकाहरुको सम्पर्कमा आउनु हुँदैन ।  संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि स्यानिटाइजर वा साबुनपानीले हात धुने गर्नपर्छ । सङ्क्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खाने र मङ्कीपक्स सतह र सामग्रीमार्फत पनि सर्नसक्ने भएकाले बिरामी ब्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरु छुनु हुँदैन ।       विश्वभर मानव आवतजावत कायम रहेकाले रोकथाम सजिलै होला जस्तो पनि देखिदैन । त्यसैमा नेपाल ट्रान्जिट प्वाइन्ट र आवतजावतले निरन्तरता पाइरहेकाले उच्च जोखिममा रहेको हो । सङ्क्रमणङफैलिएका देशबाट आउने तथा पर्यटकको आगमनमा पनि बढोत्तरी नै छ ।  विदेशबाट आएकालाई कम्तिमा दुईदेखि तीन  हप्ता क्वारेन्टाइनमा बस्ने भने पनि कार्यान्वयनमा छैन । सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नपर्छ । सङ्क्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नपर्छ ।  संक्रमितलाई २१ दिन आइसोलेसनमा राख्नुपर्छ । मंकीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएकाले परीक्षण गर्ने, सम्पर्कमा आएको सतह, स्थान वा कोठा निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने तथा फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्नपर्छ ।      अन्तमा, सरकारले निगरानी, फोकल अस्पताल र व्यक्ति, परीक्षण, परामर्श र उपचारको व्यवस्था गरेको छ । तथापि, आम नागरिक जिम्मेवार नहुँदा सरकारको तयारी मात्र पर्याप्त हुँदैन ।  तसर्थ, ज्वरो आएको तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनपर्छ ।  एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिममा पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमितका लुगा, तौलिया, ओछयान, भाडाहरु तातोपानी, साबुन, डिटरजेन्टले धुने गर्नपर्छ ।  (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ)

पर्वत:     पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।       पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा जानुभएको थियो ।       घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।       आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।  आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ । 

काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।       नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् ।       गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन् ।       नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते  स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

पोखरा:    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् ।   मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए ।   उनले डा. सन्दुक रुइतजस्तो विश्वप्रसिद्ध व्यक्तित्वसँगको संवादले सबैलाई प्रेरित बनाएको र प्रदेशको विकासका लागि ठोस योजनाहरू निर्माण गर्न थप उत्प्रेरणा मिलेको उल्लेख गरे । सम्मेलनमा प्राज्ञिक, अनुसन्धानकर्ता र सामाजिक अगुवाहरूले आफ्ना विचार प्रस्तुत गरे । गण्डकी प्रदेशलाई एक शिक्षामा आधारित, नवीन र समृद्ध प्रदेश बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले यस्ता सम्मेलनहरूले प्रदेशलाई थप ऊर्जा दिने बताए । कार्यक्रममा डा. सन्दुक रुइतले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै नेटवर्किङ, सहयोग र समर्पणले कसरी उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्नेबारे विचार व्यक्त गरे । सम्मेलनमा विभिन्न सत्रहरू सञ्चालन गरिनुका साथै प्रदेशको युवा, खेलकुद र सामाजिक विकासका लागि सम्भावनाका क्षेत्रहरूबारे छलफल समेत गरिएको थियो ।

गण्डकी:    कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।   पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हँुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।  यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताउनुभयो ।     सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूर्योदय र सूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उहाँको भनाइ छ । कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ । प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो ।  हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउने क्रम निकै बढिरहेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो ।  “कोरी हिमाललाई जरोदेखि टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने गन्तव्य हो”, उहाँले भन्नुभयो, “पदयात्राका क्रममा ठाडो उकालोका कारण थकित बनेका पदयात्रीलाई यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्साउने गरेको छ ।”  सिक्लेसबाट तसा हुँदै कोरी पुगेका पर्यटक पुरानै बाटो, नौटा हुगु– कपुचे–हुगु– सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठुलोलेक–क्होलासोथार–करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ ।   कपुचे हिमतालसँगै कोरी, क्होलासोँथर र करापुडाँडालाई समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’का रूपमा समेत लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । कोरीको पदयात्रामा जाने पर्यटक पोखराबाट ४१ किलोमिटर दूरीमा रहेको पर्यटकीय गाउँ सिक्लेसबाट त्यसतर्फको यात्रा सुरु गर्दछन् ।  सिक्लेसमा आएका पर्यटकले यहाँस्थित गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी आदिको अवलोकन गर्न पाउने मादी –१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो ।  कोरीको पर्यटकीय सम्भावनालाई उजागर गर्न मादी गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको पुरुयुमबाट कोरीसम्म केबुलकार सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययनसँगै सार्वजनिक सुनुवाइसमेत भइसकेको छ । सिक्लेसबाट अन्नपूर्ण हिमालको काँखमा समुद्री सतहबाट दुई हजार चार सय २१ मिटर उचाइमा रहेको कपुचे ताल अवलोकन गर्दै कपुचेमा नै बस्ने वा हुगुमा आएर बस्ने विकल्प छ ।  त्यहाँबाट पर्यटक कोरीतर्फको यात्रा तय गर्ने उहाँले जानकारी दिनुभयो । कोरीबाट छ हजार नौ सय ८८ मिटर उचाइको लमजुङ हिमाल, सात हजार नौ सय ३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, छ हजार नौ सय ९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र आठ हजार एक सय ५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ । कोरी पदयात्रासँगै हिमाल अवलोकनको उपयुक्त गन्तव्य रहेको बताउनुहुने पर्यटक पथप्रदर्शक गङ्गा घले आफूले यस पदमार्गमा धेरै पर्यटकको समूहलाई लिएर आइसकेको बताउनुभयो ।  “यहाँ आइसकेपछि जोकोही पर्यटक हिमालसहितको मनोरम दृश्य देखेर रमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “जरैदेखि टुप्पोसम्म एकसाथ हिमाललाई नियाल्न पाउनु नै यहाँको प्रमुख विशेषता हो ।” करिब १० वर्ष अघिसम्म सेताम्य हुने हिमाल अहिले भने खुइलिएको देख्दा आफूलाई धेरै चिन्तित बनाएको बताउँदै उहाँले पहिला सेताम्य हिमाल देखेर गएका विदेशी पर्यटक दोहोर्याएर आउने क्रममा हिमाल खुइलिएको देख्दा चिन्ताले रुने गरेको अनुभव सुनाउनुभयो ।  “पहिले यहाँबाट देखिने सेताम्य हिमालमा अहिले हिउँ नै छैन”, उहाँले भन्नुभयो, “पछिल्लो १० वर्षयता हिमाली क्षेत्रमा तापमान वृद्धिको धेरै असर परिसकेको छ ।” हिमाललाई बचाउने नसके हाम्रो पर्यटनमा पनि गम्भीर असर पर्ने बताउँदै उहाँले जथाभावी प्लाष्टिकजन्य वस्तु नजलाउन र वातारण प्रदूषण हुने कुनै किसिमका गतिवधि नगर्न सुझाउनुभयो । कोरीडाँडासहित यस क्षेत्रको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रूपमा यहाँको प्रवर्द्धन र विकासलाई जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो ।  सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहयोगमा पुसको दोस्रो साता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्मको पदयात्रा सम्पन्न गरिएको कार्यक्रम संयोजकसमेत रहनुभएका उहाँले बताउनुभयो । प्रवर्द्धनात्मक कार्यक्रममा अवसरमा कोरी र त्यहाँको पर्यटकीय सम्भावना, आवश्यकता आदिबारे स्थलगत पहिचान गरिएको बताउँदै उहाँले त्यहाँ विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने देखिएको बताउनुभयो । “कोरीमा पर्यटकीय आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो, “राज्यले उक्त स्थानमा तत्काल बिजुली, खानेपानीका साथै सञ्चार सुविधा पुग्नेगरी व्यवस्था गरिनु अपरिहार्य देखिएको छ ।”

काठमाडौं:    नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ । उक्त गीतमा शब्द र सङ्गीत करुण थापाले दिनुभएको छभने गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ ।       सङ्गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व सङ्गीतमा फर्किनुभएको हो ।  सन् २००४ मा ‘बादल वर्षा बिजुली’ बोलको गीतपछि चलचित्रका लागि पहिलोपटक गीतसङ्गीत तयार गरेको उहाँले बताउनुभयो ।  “मैले चलचित्रको गीत लेखन र सङ्गीतको काम छाड्नुको कारण उक्त समयमा गीतसङ्गीतलाई हल्का रूपमा प्रयोग गर्ने प्रचलन मुख्य थियो, त्यसैले मैले व्यर्थका गीतहरू लेख्न र सिर्जना गर्न सकिन”, उहाँले भन्नुभयो ।       उहाँलाई ‘बादल वर्षा बिजुली’ झैँ गीत तयार गर्न धेरै चलचित्रकर्मीले आग्रह गर्नुभएको रहेछ तर सङ्गीतकार थापा तयार हुनुभएन । त्यसपछि गीतिसङ्ग्रहमा मात्र काम गर्नुभएका सङ्गीतकार थापा पुनः चलचित्रमा काम गर्न तयार हुनुको कारण भने निर्देशक दीपेन्द्र गौचन रहेको बताउनुुहुन्छ ।      चलचित्रको विषयवस्तु बुझेपछि र गीतको प्रसङ्ग थाहा पाएपछि सङ्गीतकार थापाले शब्द र सङ्गीत सिर्जना गर्नुभयो । त्यसपछि उहाँले चलचित्रको विषयअनुसार पुरुष गायनमा परियार र महिला गायनमा जोशीलाई छनोट गर्नुभएको जनाइएको छ ।  “म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो”, सङ्गीतकार थापाले भन्नुभयो ।       यसरी गीतमा तीन पुस्ताको सहकार्य सम्भव भएको उहाँले बताउनुभयो । गायिका जोशीले यो सहकार्यमार्फत आफूले सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई आफूभन्दा अग्रज र आफैँ निर्णायक रहेको प्रतियोगितामार्फत उदाएका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ । चलचित्रको विषयअनुसार नै सहरिया युवतीका लागि मैले स्वर दिएकी हुँ ।”       गायक परियारले आफ्नो पाश्र्व गायनमा उदाउने सपना पूरा भएको बताउनुभयो । “म चलचित्रका गीतमा स्वर दिन चाहन्थे, यो सपना पूरा भएको छ । मैले न्याय गर्न सकेको छु भन्ने लागेको छ । आफ्नै गुरु गायिका जोशी र अग्रज सङ्गीतकार थापासँग काम गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थियो । मैले सङ्गीतमा देखेको एउटा सपना पूरा भएकामा खुसी छु”, उहाँले भन्नुभयो ।       चलचित्रका निर्देशन गौचनले विषयवस्तुअनुसार गीतको अडियो र श्रव्यदृश्य तयार गरिएको बताउनुभयो ।       वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि पहिलोपटक चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको हो ।  उहाँले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो । यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।