पोखरा: पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ । ‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाका रूपमा जस्तै सीमित भयो, उहाँले भन्नुभयो, अव यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा विकास गर्नु पर्दछ ।, ताकी विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस् ।’ यसो गर्दा कक्षा ८ का विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति पनि हुने र, यो एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताउनुभयो । यसले अन्तर विद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्ययता, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाले विद्यार्थीहरूको सिकाइ प्रवर्द्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आइरहेको । सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधार सहित यसलाई समयानुकूल बनाउन लागिएको उहाँले बताउनुभयो । शिक्षा समितिको बैठकले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्रहरू उपयुक्त हुने प्रस्ताव समेत गरेको छ । तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याव्सन, एन प्याव्सन, युनिप्स र पेसागत संघसंगठन) हरूसँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुङ्ग्याइने छ । परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा सञ्चालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीहरूलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ । यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन् । जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका रहेका छन् भने, ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । महानगरपालिकामा ८ हजार बढी विद्यार्थीहरू सामुदायिक विद्यालयहरूमा थपिएका छन् भने, यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयहरूमा बाल विकासका कक्षाहरू अनिवार्य गरिएको छ । यसले महानगरपालिका भित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताउनुभएको छ । लालुपाते हाइड्रोपावरद्वारा मनाङको नासोङ गाउँपालिका–२ मा निर्माण हुन लागेको ४९.९५ मेगावाटको दानाखोला हाइड्रोपावरको वित्तिय व्यवस्थापन हस्ताक्षर समारोहमा शुक्रबार साँझ आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रलाई साथमा लिएर सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पुरा गरिने बताउनुभएको हो । “सरकारले आम्दानीको मुख्य स्रोतका रुपमा जलविद्युत् क्षेत्रलाई लिएको छ, स्रोतलाई अधिकतम प्रयोग गरेर नीजि क्षेत्रलाई साथमा लिएर यस क्षेत्रको विकास गछौँ, देशभित्रका लगानीकर्तालाई उत्साहित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उहाँले भन्नुभयो । आयोजना ओगटेर बस्न नहुने उहाँको भनाइ थियो । ऊर्जामन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैका लागि हुने भन्दै गरिब र विपन्न जनताको लागि सरकारले न्यूनतम व्याजदरमा शेयर खरीद गर्ने व्यवस्था मिलाउन लागेको उल्लेख गर्नुभयो । उहाँले देशका अधिकाशं स्थानमा मोटरबाटो पुगेकाले आयोजना निर्माणका लागि अब धेरै समय नलाग्ने बताउनुभयो । उहाँले छिमेकी मुलुक भारतसहित अन्य मुलुकसमेतले नेपालबाट विद्युत् आयत शुरु गरेकाले बजार सुनिश्चित भएको भन्दै आयोजना निर्माणमा लाग्न लगानीकर्तालाई आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको उहाँको भनाइ थियो । सांसद टेकबहादुर गुरुङले समयमा आयोजना पुरा हुनेगरी काम गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले कृषि, पर्यटन र जलस्रोतको धनी मनाङमा मोटरबाटोको पहुँच सबै स्थानमा पु¥याउन सके समृद्ध जिल्ला बन्ने दावी गर्नुभयो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा विद्येयकलाई परिमार्जन गरेर अगाडि बढेमात्र सरकारले १० वर्षमा २८ हजार पाँच सय विद्युत् उत्पादन गर्न राखेको लक्ष्य पुरा हुने बताउनुभयो । मनाङको नासोङ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले आयोजना प्रभावित बासिन्दालाई आयोजनाले रोजगारी र शेयरको शुनिश्चितता गर्नुपर्ने बताउनुभयो । विस २०८४ कात्तिक २ गतेसम्म सक्ने लक्ष्यका साथ निर्माण हुन लागेको दानाखोला हाईड्रोपावरमा मुख्य लगानी सानिमा बैँकको रहेको छ । उक्त जलविद्युत् गृहमा वित्तिय व्यवस्थापनका लागि सानिमा बैँकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र लालुपाते हाईड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गर्नुभएको छ । लालुपाते हाईड्रोपावरका अध्यक्ष डाँगीले नौ अर्ब ९६ करोडको लगानीमा दानाखोला जलविद्युत् केन्द्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
काठमाडौं: गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं: गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको रु एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ बराबर भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दावी परेको छ । रु नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ । यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दावी परेको छ । त्यसमा रु दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा रु ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ । मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा रु २८ करोड ९९ लाख १६ हजार बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा रु चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ । पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा रु तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा रु एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा रु ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दावी भएको छ । प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दावी रहेकामा एक हजार पाँच सय ८५ वटाको बभुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बनेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्यो । यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ । यस्तै पुरुष भलिबलतर्फ आज भएको खेलमा हर्ष राइडर छोम्रोङलाई कालीमाटीले २-१ को सेटमा पराजित गर्यो । अर्को खेलमा टुसे निलोले खादरजुङलाई २-१ को सेटमा हरायो । तेस्रो खेलमा किम्चेले ल्वाङलाई २-१ को सेटमा हराउँदै अघिल्लो चरणमा किम्चे प्रवेश गर्यो । चैथों खेलमा विन्ध्यश्वरी ठाँटीलाई नयाँपुल साँखुले २-१ को सोझो सेटमा हरायो । अर्को खेलमा लान्द्रुकले टुसे रातोलाई २-१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । यसैगरी आज भएको अन्तिम खेलमा लुम्रेले भदौरेलाई २-१ को सेटमा हरायो । शनिबार पनि पुरुषतर्फको खेल नै संचालन हुने आयोजकले जनाएको छ ।
तनहुँ: यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय संकलन गरेको हो । कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी रु एक करोड ४९ लाख एक हजार सात सय ५०, सवारीसाधन कर रु पाँच करोड ७० लाख ५५ हजार एक सय ६० र सवारी आयकर रु २७ लाख ७२ हजार तीन सय ७५ संकलन भएको हो । यहाँ स्थापित यातायात व्यवस्था कार्यालयको कार्यक्षेत्र तनहुँ, गोरखा, लमजुङ र मनाङ भए पनि चितवन र धादिङका बासिन्दासमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेका कार्यालय प्रमुख गोपाल ओलीले जानकारी दिए । उनका अनुसार ‘बिलबुक’ नवीकरणमा दुई सय, लाइसेन्स र ‘बायोमेट्रिक’मा दैनिक दुई सय ५० भन्दा बढीले सेवा लिने गरेका छन् । थोरै जनशक्तिका कारण सेवा प्रवाहमा भने समस्या रहेको कार्यालय प्रमुख ओलीले बताए । ‘सत्र जना कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा ११ जना कर्मचारी मात्रै सेवामा छौँ । सेवाग्राहीको चाप बढ्दै गइरहेको छ । त्यसैले थोरै जनशक्तिमा काम गर्नु पर्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ,’ उनले भने । बायोमेट्रिकका लागि आइतबार, सोमबार, मंगलबार र बुधबार गरी हप्तामा चार दिन काम गर्ने व्यवस्था मिलाइएको छ । जनशक्ति र भौतिक संरचनाको अभावमा सवारी जाँच र प्रदूषण जाँच गर्न नसकिएको कार्यालय प्रमुख ओलीले जानकारी दिए । वैदेशिक रोजगारी र विदेशमा पढ्न जाने विद्यार्थीलाई आकस्मिक लाइसेन्स आवश्यक परेमा सवारी ‘ट्रायल पास’ गरेपछि राजस्व लिएर एक हप्तामा अनुमतिपत्र नम्बर दिने गरिएको छ । सन् २०२३ को डिसेम्बरसम्म छापिएर आएका नौ हजार छ सय ४५ जनालाई लाइसेन्स वितरण गरिसकिएको छ । त्यसपछिका भने छपाई प्रक्रियामै रहेका सो कार्यालयले जनाएको छ ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् । मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उनले बताए । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ । उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने । निजीमा नपाइने भन्ने हुँदैन । शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो । निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ । सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ । शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ? बीमा बोर्डले सरकारी र निजी अस्पतालहरूमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ती अस्पतालहरूमा स्वास्थ्य सेवा किनेको हो ।’ मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरूप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए । मन्त्री पौडेलले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । उनले बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरी व्यवस्थापन गर्नुपर्ने बताए ।
पोखरा: कास्की प्रहरीले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १ विन्ध्यवासिनी बस्ने ३७ वर्षीय निशाद श्रेष्ठ र पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने पर्वत कुश्मा नगरपालिका–४ घर भएका ३२ वर्षीय दिपक विक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो (बिहीबार) साँझ लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम र डाइजेपाम ३ एम्पुल, नुर्फिन २ एम्पुल बरामद गरेको छ । उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
एजेन्सी: इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर आक्रमण गरेको छ । बिहीबार भएको आक्रमणमा प्यालेस्टिनी इस्लामिक समूह हमासको नेतृत्वमा रहेको गाजा क्षेत्रको खान युनिसका प्रहरी बलका प्रमुख, उनका सहायक र अन्य नौ जनाको मृत्यु भएको बताइएको छ । गाजाको नागरिक सुरक्षा निकायले बिहीबार इजरायलले गरेको अन्य दुई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको खान युनिस क्षेत्रमा रातभर आक्रमण गरेको पुष्टि गरेको छ र आक्रमणमा इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएका प्रहरी उपप्रमुख हुसाम शाहवानलाई लक्षित गरिएको थियो । नागरिक सुरक्षा निकाय (प्रहरी) का अनुसार आक्रमणमा शाहवानसहित ११ जनाको मृत्यु भएको थियो । गाजाका उद्धारकर्ता र अधिकारीहरूका अनुसार प्रहरी बलका कमान्डर महमुद सलाहको पनि मृत्यु भएको थियो । 'दक्षिणी गाजा क्षेत्रको खान युनिस शहरको पश्चिममा रहेको अल–मावासी क्षेत्रमा विस्थापितहरूको बासस्थान रहेको टेन्टमा इजरायली बम बारी गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्,' प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।