नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
तनहुँ | चैत १७, २०८१

तनहुँ: तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पनि अधुरै रहेको बताउनुभयो ।
पशुपन्छीको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भएको थियो ।
निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिएपछि केही निर्माणका कार्य भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हालको ठेकेदारले काम नगरे ठेक्का तोडेर भए पनि अस्पताल भवनको भौतिक संरचना निर्माण गर्ने लक्ष्य लिएका थियौँ, ढलानको काम भएको छ, अब अन्य संरचनाको काम बाँकी छ ।”
गण्डकी प्रदेश सरकारको मूल्य रु चार करोड ९० लाख ८३ हजारको लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ । साढे दुई तलाको उक्त भवनको ढलानको काम सकिएको केन्द्रका लेखा अधिकृत पार्वती पौडेलले जानकारी दिनुभयो ।
अस्पताल भवनको ढलान कार्य सकिएको र अन्य काम बाँकी रहेको निर्माण कम्पनीका साइट इञ्चार्ज विमल खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्तसम्ममा भवन निर्माणको काम सक्नुपर्ने सम्झौता छ । उहाँले भन्नुभयो, “बजेट अभावले नै काम अगाडि बढाउन नसकिएको हो, अस्पतालमा आवश्यक संरचना निर्माण हुन बाँकी छ ।”
करिब साढे एक रोपनीमा निर्माणाधीन उक्त अस्पताल भवनको सेवा प्रवाहमा आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ । एकैसाथ निर्माण थालनी गरिएको कास्कीको पोखरामा भने नमूना अस्पतालबाट सेवा प्रवाह भइसकेको छ ।
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...