काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति हुनुभएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ । सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।
मुस्ताङ: उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु भएको उहाँले उल्लेख गर्नुभयो । आयोजनाअन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ सानाठूला गरी सात र सडक ग्राभेलतर्फ छ वटा सडक निर्माण सम्पन्न भएको आयोजनाका सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सडक कालोपत्रतर्फ म्याग्दीको बेनी कालीपुल, बेनी गलेश्वर, तातोपानीबाट कैकु, कैकुबाट कोवाङ, जोमसोम कागबेनी खण्ड गरी सात चरणमा सडक कालोपत्र तथा स्तरोन्नति सम्पन्न भइसकेको छ । ग्राभेलतर्फ जोमसोम–कोरलासम्म छ चरणमा काम सम्पन्न भएको बताउँदै चराङ–छोसेर २५ किलोमिटर ग्राभेलको काम अन्तिम चरणमा पुगेको सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार कोरला राजमार्गतर्फ एक सय पाँच किमी सडकको ठेक्का सम्झौता भएकामा ७५ किमी कालोपत्र सम्पन्न भएको छ । यसैगरी जोमसोम–कोरला एक सय १० किमीमध्ये ९० किमीमा सडकमा ग्राभेल सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा १९ पुलपुलेसामध्ये १४ वटा सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका आयोजना कार्यालयका सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएका १४ पुलमध्ये नौ मुस्ताङ खण्डमा र पाँच वटा म्याग्दी खण्डमा बनेका आयोजना कार्यालयले जनाएको छ । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेको सेतु खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको बताउँदै उहाँले हालसम्म ८० प्रतिशत भौतिक प्रगति भइसकेको उल्लेख गर्नुभयो । उत्तर–दक्षिण जोड्ने कोरला सडक आयोजनाका लागि चालु आवमा थप नौ वटा आयोजन थपिएका आयोजनाका सूचना अधिकारी चापागार्इंले बताउनुभयो । उहाँका अनुसार चालु आवमा थप भएका नयाँ आयोजनामध्ये चार वटा पुलपुलेसासम्बन्धी ठेक्का सम्झौता भई निर्माण अघि बढेको छ । यसअघि मुस्ताङको कैकु खोला पुल र लार्जुङ खोलामा पुल निर्माणको ठेक्का सम्झौता रद्द गरिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाले ठेक्का सहमति रद्द गरेको जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गर्नुभएको हो । उक्त दिन प्रमुख सचेतक घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उक्त अभिव्यक्ति आफूले प्रतिनिधत्व गरेको नेपाली कांग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट गर्नुभयो । मेरा विचारले “सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरुको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु”, सांसद घिमिरेले भन्नुभयो ।
पर्वत: मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ । चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन् । जसमध्ये ४९ उद्योग र ५० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । खारेज हुनेमा ६४ उद्योग र ६९ वाणिज्य फर्म छन् । दैनिकजसो उद्योग दर्ता गर्नेभन्दा बन्द गर्न आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । त्यसैगरी, आव २०८०/८१ को अन्त्यमा तीन हजार चार सय १३ उद्योग रहेकामा अहिले घटेर तीन हजार तीन सय ९० पुगेका छन् भने तीन हजार दुई सय ४७ वाणिज्य फर्म कायम रहेकामा अहिले तीन हजार एक सय ३५ उद्योग रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । छ महिनामा एक सय ३५ वटा उद्योग व्यवसायको सङ्ख्या कम भएको हो । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरबी पौडेलले बताउनुभयो । व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उहाँको भनाइ छ । लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनुपरेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा छन् । सरकारबाट बेरोजगारी समस्यालाई समधानका लागि उद्योग व्यवसायीलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया बढ्दै गएको भए पनि सोही अनुपातमा बन्द गर्ने क्रम पनि नरोकिएको अध्यक्ष पौडेलले बताउनुभयो । कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, होमस्टे, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमा नै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको हुनसक्ने बताइएको छ । वाणिज्य फर्मतर्फ भने दर्ताको सङ्ख्यासँगै फर्म बन्दको सङ्ख्य पनि उच्च छ । कतिपय देशमा बैंक मौज्दात ग्यारेण्टी देखाउनुपर्ने र उक्त मौज्दात देखाउँदा फर्म वा कम्पनीको नाममा देखाउनुपर्दछ । यसका लागि पर्यटन तथा उद्योग कार्यालय वा स्थानीय तहमा फर्म वा उद्योग दर्ता भएको प्रमाणपत्र आवश्यक पर्नेहरूले दर्ता गरे पनि व्यावसायिक दृष्टिकोणले गर्नेहरू न्यून रहेको देखिएको छ । पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालयसँगै स्थानीय तहबाट पनि हुन थालेको छ । दुवै निकायबाट उद्योग दर्ता हुने गरेपछि व्यवसायीहरू कहाँबाट दर्ता गर्ने भन्ने विषयमा अलमल पर्न थालेका छन् । पर्यटन तथा उद्योग कार्यालयले चालु आवमा रु २८ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयमार्फत यस वर्ष ४२ पर्यटन पूर्वाधारका योजना निर्माण भइरहेका छन् । अहिलेसम्म ३६ वटा योजना सम्झौता भइसकेको र छवटा सम्झौता हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
काठमाडौं: सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पोखरा: मार्फा थकाली समाज सेवा सदन पोखराको ५३औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन देव कुमारी हिराचनलाई अध्यक्षमा चयन गरेको छ । समाजको ५३ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन गरि इतिहास रच्न सफल समेत भएको छ । महाधिवेशनमार्फत देव कुमारी हिराचन अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा पूर्ण मान लालचन, महासचिवमा मखन लाल हिराचन, सचिवमा राजु लालचन, कोषाध्यक्षमा ई। पूर्ण बहादुर ज्वारचन चयन भएका छन्। त्यसैगरी, प्रदिप हिराचन, निरण ज्वारचन, पूर्ण ज्वारचन, वसन्त हिराचन, सञ्जु लालचन, बुद्धी कुमारी लालचन, प्रिमो लालचन तथा सुन कुमारी हिराचन समाजका सदस्य पदमा चयन भएका छन्। यसै अवसरमा मार्फा थकाली महिला समिति को पनि नयाँ कार्यसमिति चयन भएको छ। महिला समितिको अध्यक्षमा विष्णु ज्वारचन माईली, उपाध्यक्षमा आइत कुमारी लालचन, सचिवमा पुनम हिराचन, कोषाध्यक्षमा राम कुमारी ज्वारचन चयन भएका छन्। सदस्य पदमा सीता लालचन, सत कुमारी पन्नाचन, विष्णु ज्वारचन, विनु लालचन, रचना लालचन, सविता पन्नाचन तथा विष्णु हिराचन मनोनीत भएका छन्।
गोरखा: गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ । चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उहाँले बताउनुभयो । बेनीघाट, आरुघाट, लार्के सडकको एक सय ५४ किलोमिटरमध्ये हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो । ठूला पहरा र कडा चट्टान भएकाले विस्फोटनको काम गर्न सडक विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो । चीनको सीमा लार्के भन्ज्याङसम्मको एक सय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ । सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा ९७ किमी खण्डमा सवारीसाधन चल्न थालेका छन् । बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलीब्रिज निर्माण गरेको सेनानी ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट रु सात करोड विनियोजन भएको छ । विनियोजित बजेटअन्तर्गत गर्नुपर्ने काम लगभग सकिएको उहाँले बताउनुभयो । “दुई किलोमिटर ट्रयाक खन्ने काम अन्तिम चरणमा छ, यही चैतभित्र सकिन्छ”, सेनानी ढकालले भन्नुभयो, “यो वर्ष ट्रयाक खन्न रु सात करोड आएको थियो । त्यो बजेटले गर्नुपर्ने काम लगभग गरिसक्यौँ ।” यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिर गरी चार खण्डमा ब्लाष्टिङ गरी ट्रयाक खोल्ने काम गरेको उहाँले बताउनुभयो । बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो । आर्थिक वर्ष २०६३÷६४ मा बेनीघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामकरण गरिएको थियो । आव २०६६÷६७ मा मात्र उक्त सडक निर्माण सुरु भएको थियो । तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर रहेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन । कठिन मानिएको ९२ किमी खण्डको काम गर्न सडक विभागले २०७४वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको हो । विसं २०७३ मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि नेपाली सेनाले २०७४ वैशाखदेखि काम सुरु गरेको थियो । उक्त सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हुँदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ । उक्त सडकलाई उत्तरी गोरखाको लाइफ लाइनका रूपमा हेरिएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ । सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि सुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो । अभियान यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म जारी रहने छ । काठमाडौँ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । केन्द्रीय मोर्चा सङ्गठनको बैठक यही चैत ७ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा ३ः०० बजे बस्ने बैठकले यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने विरोध प्रदर्शन तथा आमसभाको तयारी, व्यवस्थापन तथा अधिकतम जनसहभागिता गराउने विषयमा छलफल गर्ने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । बैठकमा मातहत कमिटीलाई सङ्गठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ । राजनीतिक अभियान अनुमोदन भएपछि वडा, गाउँ, प्रदेश र केन्द्रमा कार्यक्रमका रूपमा लैजाने तयारी छ । पार्टी काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठक यही चैत ८ गते आह्वान गरिएको छभने पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक चैत ९ गते बोलाइएको छ ।

