काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्...

मोरङ:    जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ ।        लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिनुभयो ।  वनमा दाउरा काट्न जानुभएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उहाँले बताउनुभयो ।       नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताउनुभयो । उहाँले हात्तीको त्रासका कारण यहाँका स्थानीय रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गर्नुभयो ।      दुई साताअघि सुन्दरहरैँचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएको बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ ।      कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । उहाँले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका उल्लेख गर्नुभयो ।      जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीय बताउँछन् ।      हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पु¥याउने गरिरहेको छ । हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढेको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले उल्लेख गर्नुभयो ।

पोखरा:    सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनुभएको छ ।      सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताउनुभयो ।      “हिउँदको मौसममा वन क्षेत्र सुक्खा हुने र पात पतिङ्गरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो”, उहाँले भन्नुभयो, “वन समूहका उपभोक्तामा सोत्तरलाई सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादन गर्न उद्योग ऐनले सामुदायिक वन उद्यम दर्ता रोकेको छ ।”      उपभोक्ताले वनको संरक्षण सम्वर्द्धन र विकासमा योगदान गर्दै आएको बताउँदै उपयोगमा कतिपय कानुनी अड्चनले गर्दा उपयोगको पाटो कमजोर बन्दै गएकाले संरक्षणमा समेत जटिलता उत्पन्न भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।      “मानव वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा सुरक्षाको कारण स्थानीय बासिन्दा सहर केन्द्रित हुन बाध्य छन् । ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझिएको छ । तीनै तहका सरकारले वनको संरक्षणकर्ता उपभोक्तालाई सहयोग र सहकार्य गर्नु आवश्यक छ”, अध्यक्ष भण्डारीले भन्नुभयो ।  उहाँले वन कार्यायोजना विधानको परिधिभित्र रहेर कार्य सम्पादन गर्न उपभोक्ता समूहलाई आग्रह गर्नुभयो । वन क्षेत्रमा निर्माण गरिने प्रत्येक संरचनामा फलाम नभई काठ प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।       महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमाल, केन्द्रीय सदस्य हरि बास्तोला, दोवबहादुर कार्की, खुमप्रसाद सुवेदी, पशुपति ठकुरी, सीता गुरुङ, सीता खड्का, रत्ना घिमिरे डोलकुमारी सापकोटा, प्रदेश महासचिव आसु विक, सचिव केशवचन्द्र न्यौपानेलगायत वक्ताले वन क्षेत्रको महत्व र उपयोगका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महासङ्घ प्रदेश कमिटीलगायत जिल्ला अध्यक्षहरूको सहभागिता थियो ।

काठमाडौं:   सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।       संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद, संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।      सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको थियो ।  नवनियुक्त सचिव राई लामो समय शिक्षक पेसामा आबद्ध रहनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रशिक्षकका रूपमा काम गर्दै आउनुभएको थियो ।

गण्डकी:    पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् ।  ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।  सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।  गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताउनुभयो । “अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन् ।”  अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।  चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।  अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

स्याङ्जा:     यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।  उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएको उहाँले बताउनुभयो । उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ   चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो ।  गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो ।  स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उहाँले बताउनुभयो । विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५÷७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो ।  सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताउनुभयो । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र रु पाँच करोडका सुन्तलाको कारोबार गरेको छ । फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक सङ्घसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ ।  फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम रु २५ देखि अधिकतम रु ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी रु २५ देखि अधिकतम रु ८५ सम्म कायम भएको छ ।  तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उहाँले बताउनुभयो । उहाँ जिल्लाकै अगुवा सुन्तला किसान हुनुहुन्छ । उहाँ एक्लैले सुन्तला बेचेर गरेर वार्षिक रु ६० देखि ७० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको छ ।  पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन् । 

काठमाडौं:    आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।      अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो ।  मङ्गलबार प्रतितोला रु एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला रु एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला रु एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।

भक्तपुर:   विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य  नभएको बताउनुभएको छ ।  आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र ख्वपः अस्पतालको निरीक्षणपछि नगरपालिकाले आयोजित अन्तरक्रियामा उहाँले विश्वविद्यालयमा उक्त कुरा बताउनुभएको हो ।        भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै उहाँले ख्वपः विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको बताउनुभयो ।  मन्त्री भट्टराईले ख्वपः विश्वविद्यालयको विधेयक पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको भन्दै ख्वपः विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताउनुभयो ।      कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने बताउँदै ख्वपः विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा स्थापना गरी देशभरिका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।           भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वपः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न सल्लाघारीस्थित एक सय आठ रोपनी जग्गा प्राप्तिका लागि नेपाल ट्रष्ट समक्ष पटक–पटक पत्राचार गरिसकेको बताउँदै ख्वपः विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।           मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालय, ख्वपः कलेज, शारदा क्याम्पस मावि, ख्वपः कलेज अफ ल, ख्वपः अस्पताल, ख्वपः बहुप्राविधिक अध्ययन संस्थान, ख्वपः इञ्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इञ्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरुबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी सङ्ख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभएको थियो ।       मन्त्री भट्टराईलाई सचिव सुवालले पार्टीका प्रकाशनहरु, नगरप्रमुख प्रजापतिले नपाका प्रकाशन र कलेजका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो ।  

म्याग्दी:    मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।  कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो ।  तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग  सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताउनुभयो । विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार,  ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ ।  यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ ।  दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो ।  आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ  धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो । 

काठमाडौं:     जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।       ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।      दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ ।  बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।      नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् ।  यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनुहुने जनाइएको छ ।