काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई रू ६६ अर्ब २९ करोड सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ । हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८३ प्रतिशत अर्थात् रु १३ खर्ब ६० अर्ब ४६ करोड र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १६ प्रतिशत अर्थात् रु १३ खर्ब १५ अर्ब ५७ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३ दशमलव ०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ दशमलव ८५ प्रतिशत हुन आउँछ । सरकारले चालु आर्थिक वर्षका लागि कुल रु पाँच खर्ब ४७ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा रु तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव १७ प्रतिशत बराबर हो । यस वर्ष रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१ दशमलव ५६ प्रतिशत अर्थात् रु दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३० दशमलव १७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल रु दुई खर्ब १७ अर्ब बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म रू ६५ अर्ब ४७ करोड बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले रु चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ५० दशमलव ०८ प्रतिशत अर्थात् रु दुई खर्ब एक अर्ब ७२ करोड बराबर ऋण भुक्तानी भइसकेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ५४ प्रतिशत बराबर हो ।
गण्डकी: पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो । पोखरा पर्यटन परिषद् र छन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा जोड दिँदै पर्यटकीय साझेदारीका लागि तयार भएको बताए । छन्दुका पर्यटन व्यवसायीले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा व्यक्त गर्दै चिनियाँ पर्यटक लक्षित पूर्वाधार आदिमा जोड दिन आग्रह गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको पर्यटन राजधानी पोखराबाट मित्रराष्ट्र चीनको छन्दुुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान सुरु भएकोमा आफूहरू उत्साहित बनेको बताउनुभयो । नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध हिमाल जत्तिकै उच्च, सागर जत्तिकै गहिरो र आकाश जत्तिकै फराकिलो रहेको बताउँदै उहाँले यो सम्बन्ध भृकुटी र स्रङचङ्ग गम्पो र अरनिकोजस्ता ऐतिहासिक व्यक्तित्वहरूको समयदेखि नै विस्तार भएको बताउनुभयो । नेपाल र चीनबीचको मैत्री सम्बन्ध कायम भएको ७० औँ वर्षगाँठ मनाइरहँदा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरप्रमुख आचार्यले पोखरा महानगरपालिकाले यस वर्षलाई पोखरा भ्रमण वर्ष मनाइरहँदा अझ धेरै विशेष बन्न पुगेको बताउनुभयो । सिचुवान प्रदेश विश्वप्रसिद्ध चिया, जाइन्ट पाण्डा र बुद्धको ऐतिहासिक धरोहरहरूले विश्वभरका पर्यटकमाझ आकर्षणको केन्द्र बनेको बताउँदै उहाँले नेपाली पर्यटक पनि यहाँको समद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न लालयित भएको बताउनुभयो । उक्त चार्टर्ड उडानले नेपाली पर्यटक सिचुवान आउन र त्यहाँका आकर्षणहरू अनुभव गर्न सहज र सजिलो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसबाट छन्दुका पर्यटकहरू सोझै पोखरा जाने र नेपालका पर्यटक पनि छन्दुको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुुभव गर्न आउने उहाँको भनाइ छ । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरामा पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको उहाँले बताउनुभयो । सिचुवान प्रान्तका परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चार्टर्ड उडान नियमित हुनेमा विश्वास व्यक्त गर्नुभयो । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबीचको साझेदारी महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा छन्दु उडानले दुवै देशबीचको पर्यटकीय साझोदारीलाई बढाउने बताउनुभयो । यो उडानलाई नियमित गराउने कुरामा आफूहरू निरन्तर लाग्ने बताउँदै यसमा छन्दुका पर्यटन व्यवसायीको पनि सकारात्मक साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुुभयो । छन्दुुमा गरिएको बिटुबी एवं सेल्स मिसनबाट दुुवै देशका पर्यटन व्यवसायीबीच आपसी मित्रतालाई अझै मजबुत बनाउने विश्वास दिइएको उहाँको भनाइ छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरा चिनियाँ पर्यटकले पनि रुचाइएको गन्तव्य भएको बताउनुुभयो । पोखरामा धेरै चिनियाँ पर्यटक भित्र्याउनका लागि पोखरा–छन्दु उडानको निरन्तरता आवश्यक भएको उहाँको भनाइ छ । प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा पाइने उहाँले बताउनुुभयो । छन्दुुस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूूत सुरेश राउतले पोखरा काठमाडौँपछिको दोस्रो ठूलो सहर भएको बताउँदै यो नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुभयो । पोखरा–छन्दु उडानलाई नियमित बनाउनका लागि महावाणिज्यदूतावासका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरू तयार रहेको उहाँको भनाइ छ । पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू विस्तार हुने क्रम पनि बढिरहेको बताउँदै आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ
पोखरा: पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘अटो शो’ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले पहिलोपटक पोखरामा उक्त अटो प्रदर्शनी आयोजना गर्न लागेको हो । पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह खेलकुद मैदानमा हुने प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङग्रे, छ वटा ब्राण्डका लाइट कमर्सियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, पाटपूर्जा आदिका २० वटा व्यावसायिक स्टल रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । वाडाका उपाध्यक्ष एवं अटो शोका संयोजक निरन केसीले उक्त शो आयोजनाका लागि करिब रु ६० लाख खर्च हुने बताउनुभयो । सवारीसाधनको खरिदबिक्री सँगै यस क्षेत्रमा भइरहेको प्रविधिको विकासबारे सवारीधनी, ग्राहक एवं सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ छ । “अर्थतन्त्र शिथिल भएको अहिलेको अवस्थामा केही मात्रामा भएपनि आर्थिक गतिविधि चलायमान बनाउन यो प्रदर्शनीले मद्दत पुग्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “नाडाको अटो शो पहिलोपटक काठमाडौँ बाहिर हुन लागिरहेको छ ।” गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रदर्शनीको प्रवर्द्धकका रुपमा रहेको छ । चार दिनको सो प्रदर्शनी करिब ३५ हजार आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको वाडाले जनाएको छ ।
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि नयाँ मिति तोकिएको छ। निर्वाचन अधिकृत प्राध्यापक डा. रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरी चैत १० गते निर्वाचन मिति तय भएको जानकारी दिएका हुन् । नयाँ निर्वाचन तालिकाअनुसार चैत १० गते आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चुनाव हुनेछ। निर्वाचनको मौन अवधि चैत ७ गते राति १२ बजेदेखि लागू हुने बताइएको छ । त्यस्तै यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन रोकिए पनि त्यसदिन निर्वाचन गराउन खटिएका प्राध्यापक र कर्मचारीहरू यथास्थानकै जिम्मेवारीमा रहने पनि निर्वाचन अधिकृत पोखरेलले जारी सूचनामा भनिएको छ।
बैतडी: मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पातालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक एक सय ५० जनाभन्दा बढी बिरामी आउने गरेकामा ५०–८० जनासम्म भाइरल ज्वरोका रहेका छन् । सूचना अधिकारी पन्तले भन्नुभयो, “अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको छ । मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेका हुनसक्छ । यो मौसममा हावाहुरी, धुलोधुवाले गर्दा पनि सङ्क्रमण बढ्छ ।” उहाँका अनुसार जिल्लाको तल्लोसोराड क्षेत्रस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको बताउँदै श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल सङ्क्रमणका बिरामी बढेका उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य बेलाको तुलनामा आजभोलि भाइरल ज्वरोका बिरामी बढेका छन् । स्वास्थ्यचौकीमा दैनिक २० जनाभन्दा बढी बिरामी ज्वरोका हुने गर्दछन् ।” मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खान र प्रदूषित पानीले भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले बताउनुभयो । ज्वरो आएमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो । ज्वरो आएमा आफूखुसी मेडिकलबाट औषधि किनेर नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । ज्वरो आउने वित्तिकै मेडिकलबाट औषधि किनेर खाने प्रवृति रहेकाले त्यसो नगरी स्थ्यकर्मीसँग जाँच गराएर मात्रै औषधि प्रयोग गर्न डा विकले आग्रह गर्नुभयो । जथाभावी औषधिको प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्या पनि निम्तिन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै सेवन गर्नुपर्ने, भाइरल ज्वरोसहित रुघा, खोकीलगायत सङ्क्रमणबाट बच्न शुद्धीकरण गरिएको पानी प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताउनुभएको छ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु विज्ञान, प्रविधि र नवप्रवर्र्तनमा हालका प्रवृत्तिहरू सम्बन्धी सम्मेलन (आरटीएसटीआई २०२५) मा प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश र नेपालभर विज्ञान र नवप्रवर्तनको प्रगतिका लागि यस्ता सम्मेलन उपयोगी रहेको बताउनुभयो । गण्डकी प्रदेशले दीगो, ज्ञानमूलक अर्थतन्त्रको परिकल्पना गरेकोमा यस्ता संस्थाहरूले अनुसन्धान, शिक्षा र नीति सिफारिसहरूमा अग्रणी भूमिका खेल्दछन् । पोखरा विश्वविद्यालयले उच्च शिक्षा र वैज्ञानिक उत्कृष्टताको केन्द्रको रूपमा आफ्नो पहिचान बनाएको पाएको छु। जसले कुशल अनुसन्धानकर्ता र प्राविधिकहरू तयार पार्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको पनि छ । ‘सन् २०२२ मा सुरु भएदेखि नै आरटीएसटीआईले वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक, नीति निर्माता र उद्यमीहरूलाई एकठाउँ गरी नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको भविष्य आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘सम्मेलनका पूर्व संस्करणहरूको प्रभावकारिताले यसको बढ्दो महत्वलाई देखाउँछ। यस वर्ष पोखरा विश्वविद्यालयको नेतृत्वमा विकास र अनुसन्धान उत्कृष्टता प्रवद्र्धन गर्न चालिएको यो कदम पनि लाभदायक हुने विश्वास व्यक्त गर्दछु ।’ गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीले सन् २०२० मा स्थापना भएदेखि नै वैज्ञानिक अनुसन्धान, प्रविधिगत प्रगति र नवप्रवर्तनलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ । ‘हामी प्रविधिगत परिवर्तन र विश्वव्यापी चुनौतीहरूको माझमा उभिएका छौं । यस चुनौतीको सामना गर्दै अघि बढ्न समयानुकूल अनुसन्धान, नवप्रवर्तन र नीतिगत हस्तक्षेपहरू साथैसाथै अगाडि लैजानुपर्ने हुन्छ ।’– प्रदेश प्रमुख भट्टले भन्नुभयो । यस्ता सम्मेलन वैज्ञानिक प्रगतिहरू छलफल गर्ने मञ्च मात्र होइन, बरु एसटीआई अनुकूल शासन, उद्योग सहकार्य र उद्यमशीलतालाई समर्थन गर्ने नीतिहरूलाई आकार दिने अवसर पनि रहेको भट्टले बताए । सबै मिलेर अनुसन्धानलाई वास्तविक जीवनमा प्रभाव पार्ने, नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने र गण्डकी प्रदेशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नेतृत्व गर्ने केन्द्र बनाउने प्रयासमा हातेमालो गर्दै अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो । तीन दिने सम्मेलनमा नेपाल र अन्य देशहरूबाट २ सय भन्दा बढी अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
काठमाडौं: अन्तरिक्षमा नौ महिनाको अनपेक्षित बसाइपछि नासाका एक जोडी अन्तरिक्ष यात्री अमरिकी समय अनुसार मङ्गलबार साँझ पृथ्वीमा फर्किएका हुन् । अन्तरिक्षको आठ महिनाको बसाईपछि विल्मोर र सुनी विलियम्स पृथ्वीमा फर्किएका हन्। विल्मोर र विलियम्सलाई लिएर अमेरिकी अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ स्पेसएक्स अन्तरिक्षयानमा अमेरिकाको फ्लोरिडा तटमा मङ्गलबार साँझ ५ः५७ बजे अवतरण गरेका हुन् । चालक दलका बाँकी सदस्यसँग अन्तिम बिदाइ र आलिङ्गनपछि अन्तरिक्षबाट बिदा भएका उनीहरू करिब १७ घण्टापछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट छुटेका थिए । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट १० यात्रीसहित आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको थियो भने उक्त समूहमा गएका आठ अन्तरिक्ष यात्री नासाको विशेष मिसनका लागि अन्तरिक्षमा नै रही अनुसन्धान जारी राख्नेछन् । यो लगभग छ महिनाको अन्तरिक्ष यात्रीहरूको लागि मानक आईएसएस रोटेशन भन्दा धेरै लामो भएको छ तर यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेशनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो । नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनी र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए । उहाँले नासाका अन्तरिक्ष यात्रीहरूको प्रयोगलाई ‘राष्ट्रका लागि फाइदाजनक’ भन्दै यस दशकको अन्त्यसम्ममा मङ्गल ग्रहमा मानव अवतरण गर्ने नासाको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम: कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो । खेतमा फष्टाएको गहुँ बाली देखेर कैलारी गाउँपालिका–५ का किसान दीपक चौधरी खुशी हुनुहुन्छ । दीपकसहित यहाँका किसानले ‘सुपर जोन’ कार्यक्रममार्फत गहुँखेती गरिरहेका छन् । “सुपर जोन कार्यक्रममा समेटिएपछि पहिलेभन्दा गहुँको उत्पादकत्व वृद्धि भएको छ । करिब १५ बिघा जग्गा भाडामा लिएर गहुँखेती गरिरहेको छु”, चौधरीले भन्नुभयो, “पहिले प्रतिबिघा १२–१३ क्विन्टल गहुँ फल्नेमा सुपर जोन कार्यक्रममा समेटिएपछि २० क्विन्टलसम्म फल्न थालेको छ ।” भजनी नगरपालिका–३ ढुसी गाउँका सीताराम चौधरी धानबालीमा सञ्चालित जोन कार्यक्रममार्फत चैते धानखेती गरिरहनु भएको छ । यहाँका किसानले करिब पाँच सय बिघामा यो धान रोप्ने तयारी गरिरहेका छन् । “सुरुका वर्षमा आफूले बीउ ल्याएर चैते धान रोप्दा गाउँलेले आफूलाई चैतमा पनि धान रोपेको भन्दै बौलाएको भन्थे । अहिले यहाँका अधिकांश किसानले यसको खेती गर्न थालेका छन्”, सीतारामले भन्नुभयो, “वैशाख र जेठमा चैते धानलाई मौसम अनुकूल हुने भएकाले वर्षे धानको तुलनामा उत्पादन बढी हुने गरेको छ ।” प्रतिबिघामा ४५ क्विन्टलसम्म चैते धान फल्ने अनुभव सुनाउँदै उहाँले गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन वृद्धि भएको बताउनुभयो । भजनी क्षेत्रमा काँडा, पथरैया र कान्द्रा नदीले वर्षायाममा निम्त्याउने डुबानका कारण वर्षे धानबाली नष्ट हुने गरेको किसान बताउँछन् । डुबानको समस्या बढ्दै जान थालेपछि यहाँका किसानले विकल्पका रूपमा चैते धानखेती गर्न थालेका हुन् । “वर्षामा खेतमा डुङ्गा चलाउन मिल्ने गरी हुने डुबानको समस्याले वर्षे धान बाली नष्ट हुने गरेको छ”, सीतारामले भन्नुभयो, “वर्षामा हुने धानखेतीको विकल्पमा अधिकांश किसानले चैते धान लगाउन थालेका छन् ।” किसानले डुबान नहुने समयमा चैते धानखेती गर्न थालेका बताउँदै उहाँले जोन कार्यक्रम सञ्चालन भएपछि किसान थप उत्साहित भएका उहाँको भनाइ छ । आर्थिक वर्ष २०७८/७९ देखि जिल्लामा चैते धानको जोन कार्यक्रम सुरु भएको थियो । भजनी नगरपालिकाभित्र सुरुमा पाँच सय हेक्टरमा खेती गरिएकामा हाल यसको क्षेत्रफल विस्तार गरी एक हजार हेक्टर पुर्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ । परियोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख गोविन्दराज जोशीले भजनी नगर क्षेत्र, जोशीपुर र जानकीनगर गाउँपालिकामा चैते धानअन्तर्गत ‘जोन कार्यक्रम’ कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गौरीगङ्गा, भजनी र घोडाघोडी नगरपालिका, बर्दगोरिया, जोशीपुर र जानकीनगर गाउँपालिकामा गहुँ बालीको ‘सुपर जोन कार्यक्रम’ सञ्चालन भइरहेको छ । गहुँ बालीको कार्यक्रमअन्तर्गत सुरुका वर्षमा एक हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकामा हाल क्षेत्रफल विस्तार गरी तीन हजार हेक्टर पुर्याइएको जनाउँदै जोशीले जिल्लाको घोडाघोडी, भजनी नगरपालिका र बर्दगोरिया, जानकीनगर गाउँपालिकामा तेलहन जातको खेती भइरहेको उल्लेख गर्नुभयो । चालु आवदेखि धनगढी उपमहानगर क्षेत्रका साथै घोडाघोडी, भजनी र कैलारी गाउँपालिका क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम कार्यान्वयन गरिएको इकाई प्रमुख जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रमअन्तर्गत माछापालनमा सहभागी किसानलाई प्राकृतिक तालतलैयाको सुधार, आधुनिक यन्त्र तथा उपकरणको सुविधा, नयाँ पोखरी निर्माण, प्रविधिको व्यवस्थालगायत सहयोग उपलब्ध गराउँदै आइएको छ । कृषक समूह, सहकारी संस्था र कृषि उद्यमीमार्फत् सञ्चालन भइरहेको सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनका लागि परियोजना कार्यालयले उन्नत जातका बीउ, मलखाद, सिँचाइ, कृषियन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र स्थापना तथा सञ्चालनलगायत सहयोग गरिरहेको प्रमुख जोशीले बताउनुभयो । “सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनसँगै पहिलेको भन्दा बालीको उत्पादकत्व पनि वृद्धि भएकोे छ”, उहाँले भन्नुभयो “बालीका लागि उर्बर मानिने जग्गामा ती कार्यक्रम सञ्चालनका लागि छनोट गरी खेती गर्न किसानलाई उन्नत जातका बीउ, सिँचाइ, यन्त्रलगायत प्रविधिमा सहयोग उपलब्ध गराइरहेका छौँ ।” कृषि प्रविधिको सुनिश्चिता, बजारीकरणको व्यवस्थाका साथै सहुलियत ऋण, कृषि बिमाको व्यवस्था हुनसके कार्यक्रम थप प्रभावकारी हुने इकाई प्रमुख जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “कृषिमा अनुदान दिने गरेका छौँ, तर अनुदान नपाउने कृषकमा असन्तुष्टि देखिने गरेको छ । यसले कृषि प्रणालीमा प्रतिकूल असर पुगिरहेकाले सबैलाई अनुदान दिने व्यवस्था गर्नुपर्छ । यसमा सरोकार भएका निकायले आवश्यक समन्वय गर्नु जरुरी छ ।” नेपालमा परम्परागत रूपमा निर्वाहमुखी खेती गरिँदै आएकामा कृषिको उत्पादन वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको बजारीकरण, बाली उत्पादनमा यन्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्थासहित आधुनिकीकरण, व्यावसायीकरण गरी कृषि उपजको आयात घटाउँदै जाने उद्देश्यले सरकारले आव २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको हो । यो परियोजनाअन्तर्गत मुलुकका विभिन्न जिल्लामा विभिन्न बालीमा सुपर जोन र जोन कार्यक्रम सञ्चालन भइरहेका छन् ।

