काठमाडौं:   आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ ।&nb...

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो ।  प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।  भारतको सुनिल भलिबल क्लब आउन ढिलाई हुँदा ट्राई सिट बनाउन ढिलाई भएको हो । ट्राईसिट आजै सार्वजनिक हुने प्रतियोगिता संयोजक ज्ञवालीले बताए ।  प्रतियोगिताको उद्घाटन खेल भने दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । उद्घाटन खेल महिलातर्फ आयोजक टोलीले खेल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा ल्याइल्याण्डका ३ खेलाडी अनुबन्ध भएका छन् । विपक्षी टोलीको भने टुंगो लागेको छैन । पहिलो दिन ३ खेल हुनेछन् ।  प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन् ।  महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यसपालि आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् । शनिबारबाट सुरु हुने पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ ।   प्रतियोगिताको खेल हेर्नका लागि अनलाइनबाट टिकट काट्न सकिनेछ । इसेवामार्फत अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।   

काठमाडौं:    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढवा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उहाँले सो आग्रह गर्नुभएको हो । नेपालको सङ्घीय सांसदले नेपाल–पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको विषय जानकारी गराउँदै मन्त्री भण्डारीले यस संसदीय आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दुई राष्ट्र बिच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौँ, हामीले यी संयन्त्रमार्फत संवाद र सम्पर्क जारी राख्नु आवश्यक छ, अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोगको सातौँ बैठक र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौँ बैठक नेपालमा आयोजना हुने भएको छ ।” नेपाल र पाकिस्तान निकट छिमेकी भए पनि सोचेजस्तो द्विपक्षीय व्यापार हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यापार र आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल र पाकिस्तानबिचको व्यापार तथा आर्थिक अन्तर निर्भरता बढाउनका लागि दुवै देशको व्यापार सहजीकरण गर्ने र ‘लजिस्टिक’ चुनौतीलाई सम्बोधन गर्नेतर्फ संयुक्त रूपमा थप प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो । “हामीले वर्तमान आर्थिक वास्तविकता प्रतिबिम्बित गर्न र व्यापार सहजीकरण बढाउन नयाँ सम्झौता बनाउने वा यसलाई पुनरावलोकन गर्ने समय आएको छ, दुई देशबिचको विद्यमान व्यापार घाटालाई सम्बोधन गर्न हामी नेपालका विभिन्न क्षेत्रमा पाकिस्तानी लगानीलाई प्रोत्साहित गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “जसमा कपडा र पर्यटन आदि समावेश छन् ।” उहाँले नेपाली वस्तुहरूले पाकिस्तानमा नियामक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै  नेपाली वस्तुहरूलाई पाकिस्तानमा आयात प्रक्रिया सरल बनाउन र प्रमुख नेपाली निर्यातमा भन्सार शुल्क घटाउन विशेष अनुरोध गर्न चाहन्छु ।” लगानी, पर्यटन, संस्कृति र जनता–जनताबिचको सम्बन्धलगायत पारस्परिक लाभका लागि दुवै देशले मिलेर काम गर्न सक्ने धेरै क्षेत्र रहेका उहाँले उल्लेख गर्नुभयो । उहाँले कृषि र पर्यटन सम्बन्धी संयुक्त कार्य समूहहरूको नियमित बैठकहरू आयोजना गर्ने कुरालाई प्राथमिकता दिनु आवश्यक रहेकामा जोड दिनुभयो । साथै मन्त्री भण्डारीले नेपालले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि आदि क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालले पाकिस्तानी पर्यटकहरूका विशेष आकर्षक पर्यटकीय सेवाहरू उपलब्ध गराउँछ, हामीलाई विश्वास छ कि नेपालको प्राकृतिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानका मानिसलाई बढी सङ्ख्यामा नेपाल भ्रमण गर्न आकर्षित गर्नेछन् ।” पाकिस्तानी राजदूत हश्मीले पाकिस्तान सरकारले नेपालमा व्यावसायिक गतिविधि बढाउन चाहेको बताउनुभयो । उहाँले नेपालको चिया तथा कफी पाकिस्तानमा राम्रै परिणाममा निर्यात भइरहेको उल्लेख गर्दै ब्राण्डिङ र गुणस्तर सुधार गरिए निर्यात वृद्धि हुने जानकारी गराउनुभयो । हश्मीले दुई देशबिच व्यापारिक गतिविधि बढाउन दोहोरो करको समस्या रहेकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । यस वर्ष ३२ जना विद्यार्थीले पाकिस्तानमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जानकारी गराउँदै उहाँले छात्रवृत्ति रकम वृद्धि गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।  उहाँले नेपालको सगरमाथा र पाकिस्तानको के टु हिमालसम्म जोड्न पर्यटकीय मार्ग बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले काठमाडौँ–लाहोर नियमित सिधा हवाई उडानका लागि पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौं:     नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ । सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्ने गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी भलिबल संघले ३ विदेशीसहित १२ खेलाडीको घोषणा गरेको हो ।  टोलीमा विदेशी खेलाडीको रुपमा ट्युनिसियाका फाहिम मिलाडी, कंगोका यानिक सेशा र भारतका रोमन कुमार छन् । यसअघि केन्याका निकोशल मातुयी ल्याउने तय भएपनि अन्तिम समयमा उनको ठाउँमा भारतका रोमनलाई ल्याइएको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक टाइगर कपमा सञ्जुविक्रम शाह गण्डकीको टोलीमा फर्किएका छन् । सञ्जुले केही समय गण्डकीको कप्तानी गरेका थिए ।  पछिल्लो समय हेल्प नेपालबाट खेल्दै आएका उनी टाइगर कपमा गण्डकीमा फर्किएका हुन् । सञ्जुसँगै गण्डकीको टोलीमा हरि पाण्डे, विवश आले, सन्तोष विक र इन्द्र विक समावेश छन् । यस्तै नरबहादुर सुनार, हिमाल सुनारी, विश्वास अधिकारी र कुञ्जन शाहीले पनि गण्डकीको टोलीबाट खेल्दैछन् । टोलीको प्रशिक्षक रमेश केसी छन् ।  शनिबारबाट सुरु हुने पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन विदेशी खेलाडी तथा टोली पोखरा आइरहेका छन् ।     

गोरखा:     गोरखामा आगलागीबाट तीन घर जलेर पूर्ण रूपमा क्षति भएको छ ।  चुमनुब्री गाउँपालिका–६, ताजुमा बिहीबार साँझको समयमा स्थानीय कुञ्चन छिरिङको दुई तल्ले कच्ची घरसहित तीन वटा घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो । आगलागीबाट  छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिनुभयो । त्यस्तै एक घरको भुईँ तल्लामा रहेको ८ वटा गाई र ३ वटा गोरु आगलागीमा परेर मरेको उहाँको भनाई छ । सोही ठाउँमा रहेका ५ वटा गाईको भने सकुशल उद्धार गरिएको छ । खाना पकाउने चुल्होमा बलिरहेको आगो घर बाहिर फाल्न प्रयोग भएको फलामको पाइपमा सल्किएर अचानक आगलागी भएको उहाँले बताउनुभयो ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखराः   पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ बिहीबारदेखि सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने,नजिक जानै नपर्ने त्यो अत्याधुनिक बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् । समुद्घाटन मन्तव्य व्यक्त गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए ।  उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए ।  संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो ।  उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए । ‘कति मान्छे आए,कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् । त्यता लाग्ने हैन । कि मनोरञ्जन मेला भन्नुप¥यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ । यहाँ मधेश प्रदेशबाट सांस्कृतिक कार्यक्रम आएको रहेछ । हामीले दुईवटा नाच हे¥यौँ । हाम्रो लागि नयाँ अनुभव भयो । यो हेरेपछि हामीले पनि अन्य प्रदेशमा एउटा स्टल राख्ने, हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने काम गरिनुपर्छ । हामी यसमा सहकार्य गर्न चाहन्छौँ,’उनले भने,‘ हाम्रो परम्परागत शैली के छ भने, राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो । पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’ पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ एवं सिएसआइटी फाउण्डेनससँगको सहकार्यमा पोउवा संघले मेला आयोजना गरेको हो ।  मेलामा सातवटै प्रदेशका उत्पादनहरुको प्रदर्शनीका अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । सूचना प्रविधिबारेको जानकारी पस्कनु मेलाको मुख्य उद्देश्य रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको भनाइ छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकार क्रियाशिल रहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए । गण्डकी सरकार उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत् हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको पनि सुनाए । पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवद्र्धन गरोस् तथा नयाँ सूचना पस्कने ठाउँ बनोस् भन्ने आफ्नो चाहना रहेको सुनाए । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले नै मेला आयोजना गरेको बताए । उनले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत् ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’को लक्ष्य पं्राप्तिमा समर्पित रहेको पनि प्रष्ट पारे । अध्यक्ष कार्कीले सरकारले हालैमात्र अध्यादेशमार्फत् निजी क्षेत्रले उठाउँदै आएका केही मागहरु संवोधन गरेको सरकारले नागरिकहरुले अपेक्षा गरेजस्तै  आर्थिक समृद्धि,समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको लागि काम गरोस् भन्ने नै हाम्रो चाहना रहेको सुनाए । ‘पछिल्लो समय देखिएको युवा पलायन र निराशालाई बेलैमा संवोधन होस् भन्ने आम नागरिकको चाहना पनि संवोधन गर्नैपर्ने देखिएको छ । राजधानी कस्तो छ भन्ने कुराले त्यो देश वा प्रदेशको अवस्था झल्काउँछ । अन्तर्राष्ट्रिय पर्यटकीय सहरको रुपमा दर्ज भएको पोखरालाई समुन्नत, सुसम्भय र भोतिक रुपले अझ राम्रो बनाउनेतर्फ काम होस् भन्ने पनि हामीले चाहेका छौँ,’उनले थपे ।   नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृतकुमार भट्टचनले देशमा ठूला परिवर्तन भए पनि आर्थिक क्रान्ति हुन नसकेको बताए । ‘हामी स्थिर सरकार चाहन्छौँ। । नेपालको कुल ग्राहस्थ उत्पादनमा ८० प्रतिशतको योगदान गर्ने निजी क्षेत्र प्रताडित भइरहेको छ, अहिले बजार सुस्ताएको छ,’उनले भने,‘ नेपाल र गण्डकी प्रदेश सरकारले अर्थतन्त्र उकास्नेतर्फ ध्यान दिनुपर्छ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्नु तथा गण्डकीको कान्छो जिल्ला नवलपुरसम्म पुग्ने सडक नबन्नु दुखदायी भएको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमरेश वैदारले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने निजी क्षेत्रको आवाजलाई राज्यले सुन्नुपर्ने बताए । उनले मेला र महोत्सवको नाममा बढेको विकृति अन्त्य हुनुपर्नेमा पनि जोड दिए । उत्पादन र उद्योगसँग जोडिएका मेलाहरु उद्योग वाणिज्य संघले नै आयोजना गरिनुपर्ने पनि उनको भनाइ थियो । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा  महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार शर्माले गण्डकी प्रदेशका उद्योग÷व्यापार र पर्यटनलाई मधेश प्रदेशसँग जोड्न चाहेको बताए ।  उनले हवाइ मार्गबाट पनि पोखरालाई जोड्न चाहेको बताए । मधेश प्रदेशका मुख्यमन्त्री स्वयं गढीमाइ मेलाको चर्चा गर्दै भारतबाट आउने पर्यटकलाई पोखरासँग जोड्न लालायित भएको बताए । उनले पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा मुख्यमन्त्री स्वयं आउन चाहेको पनि बताए ।  उद्घाटन सत्रमा मधेश प्रदेशको तर्फबाट त्यहाँको सांस्कृतिक टोलीले मिथिला र थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।  क्यान नेपालका अध्यक्ष सुनयना पाण्डेले नेपाल सरकारले हालै अध्यादेशमार्फत् सूचना प्रविधि क्षेत्रको लागि सहजीकरण गर्ने अध्यादेश आउनु स्वागतयोग्य भएको बताइन् ।  ‘अध्यादेशले नेपालमै स्थापित कम्पनीलाई पनि विश्वस्तरको बनाउने बाटो खुलेको छ । पहिले विदेशबाट विज्ञहरु ल्याएर काम गराउन गाह्रो थियो, स्वेट इक्विटी शेयरको पनि बाटो खुलेको छ,’अध्यक्ष पाण्डेले भनिन्,‘नेपालले एआइ भनौँ वा आइओटी (इन्टरनेट फर थिङ्स) भनौँ, त्यसबारे सिक्न बाँकी छ । अध्यादेशले नलेज र कल्चर एक्सचेञ्जको लागि बाटो खुलाएको छ,हामीले काम गर्नुपर्छ ।’ मेलाको समापन समारोहपछि सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएका थिए । सो उपक्रममा रोल्पा–पोखरा सम्पर्क समाजले आफ्नो परम्परागत भूमेनाच प्रस्तुत ग¥यो । विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिले पनि माहौल ततायो ।  समुद्घाटनअघि विभिन्न आमा समूह, विद्यार्थीहरु,सांस्कृतिक समूह एवं टोल विकास संस्थाहरुले ¥याली र झाँकी पनि प्रस्तुत गरेका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए । उनका अनुसार शुक्रबार पुरुषोत्तम न्यौपाने,मञ्जु पौडेल,घनश्याम रिजाल,कमला गैरे,सविना गुरुङ सांगीतिक प्रस्तुति रहने उनले बताए ।   

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् ।  थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजकबाट टोलीबाट टाइगर कप खेल्न बिहीबार साँझ पोखरा आइपुगेका हुन् ।  उनीहरुलाई स्वागत गर्न कप्तान अरुणा शाही, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसीसहितका टोली पोखरा विमानस्थल पुगेका थिए ।   आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोली सहभागी बनाउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् । टोलीमा तीन विदेशीसहित राष्ट्रिय यु–२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यू–२० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।  माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित एक विदेशी गरी ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोली पनि विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । पुरुषतर्फ पनि एक विदेशीसहित ६ टोली सहभागी भएका छन् । 

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर निर्वाचित भएका छन् ।   मञ्चको आज बिहीबार भएको तेस्रो अधिवेशनले एमबीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।   प्रतिस्पर्धी सुरज श्रेष्ठलाई पराजित गर्दै एमबी अध्यक्ष निर्वाचित भएका हुन् । निवर्तमान सदस्य एमबीले ३६ मत पाउँदा निवर्तमान उपाध्यक्ष सुरजले २७ मत आएको थियो ।   उमा आलेमगर उपाध्यक्ष (समावेशी) निर्वाचित भइन् । उमाले ३६ मत पाउँदा उनकी प्रतिस्पर्धी राधिका कँडेलले २७ मत ल्याइन् ।   पर्शुराम शर्मा महासचिव निर्वाचित भएका छन् । उनले ३८ मत ल्याउँदा प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले २५ मत पाइन् ।   सचिवमा राजु गिरी ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाइन् ।   उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा भने विमल तिवारी निर्विरोध भएका थिए ।     मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको हो ।   सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पाैडेल चुनिएका छन् ।  

स्याङ्जा:    स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो। खेतमा जेसिबी लगाउने क्रममा बुधबार सवा १० बजे बम फेला परेको थियो। श्री सिंह सारदुल गुल्मा आँधी खोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बम डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए। उक्त बम टुइच मोटरमा लाग्ने एचई बम रहेको प्रहरीले जनाएको छ। फलामको बोतलजस्तो खिने उक्त बम खेतमा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।