पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।       स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताउनुभयो ।  “स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पनि निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न सक्ने व्यवस्था रहेको छ”, उहाँले भन्नुभयो, “सोहीअनुसार निर्वाचन हुन नसकेका क्याम्पसलाई पनि हामीले निर्वाचन गर्न निर्देशन दिइसकेका छौँ ।”      मङ्गलबार भएको निर्वाचनमा देशभरि ३८ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिमाण आउने क्रम जारी छ । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।       त्रिवि केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल ल क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र कलेज, सरस्वती कलेज, शङ्करदेव क्याम्पस, पब्लिक युथ क्याम्पस धोविचौर र विश्वभाषा क्याम्पस जस्ता उपत्यकाका प्रमुख आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेनन् ।      यस्तै, उपत्यकाबाहिर वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनी पनि निर्वाचन हुन सकेनन् ।

काठमाडौं: राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको एक वर्ष भयो । सङ्घीय संसद्मा यो मेरो पहिलो अनुभव हो । एक वर्षको अवधिमा धेरै समय विधेयक अध्ययनमै बिताएको छु । पुराना ऐन कानुन पनि अध्ययन गरिरहेको छु ।  सोहीअनुसार कानुन निर्माण कार्यमा सक्रिय रहँदै आएको छु । साथसाथै जनताका सवाललाई संसद्को माध्यमबाट सरकारसम्म पु¥याउने काम पनि गर्दै आएको छु ।  सांसद आफैँमा कार्यकारी पद होइन । मन्त्री भनेको कार्यकारी पद हो । सांसदले आफ्नो क्षेत्रलगायत समग्र देशको विकासका लागि सरकारसँग पहल गर्ने हो । तर जनताले सांसद भएपछि आफ्नो ठाउँको विकास भइहाल्छ भन्ने बुझ्नुहुन्छ । यो विषयको अनुभव अहिले गर्दैछु । हामी सांसदको मुख्य काम भनेको कानुन बनाउने हो । यो कुरा जनतालाई बुझाउन जरुरी छ ।  संविधान जारी भएको नौ वर्षलाई हेर्दा हामीले धेरै काम गर्न बाँकी छ । सङ्घीयतालाई बलियो बनाउने सवालमा बन्न पर्ने कानुनहरु बन्न सकेका छैनन् ।  ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’, ‘प्रहरी विधेयक २०८१’  र ‘सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८०’ले पूर्णता पाउन सकेको छैन ।  सङ्घीय व्यवस्थालाई बलियो बनाउन निर्माण गर्नुपर्ने अन्य धेरै नीति निर्माणका काम बाँकी नै छन् । मौलिक हकअन्तर्गतका कानुन बनाउन पनि बाँकी नै छ । संविधानको कार्यान्वयन जुन गतिमा जानुपर्ने थियो, त्यो गतिमा हुन सकेको छैन ।  सामान्यतया संविधान जारी भएको दश वर्षपछि समीक्षा गर्ने मान्यता छ । त्यही सिलसिलामा राजनीतिक वृत्तमा संशोधनको प्रसङ्ग उठिरहेको छ । संशोधन गर्न नहुने भन्ने होइन । कतिपय विषय संशोधन गर्नुपर्ने छन् । कानुन कार्यान्वयनमा देखिएका अप्ठ्याराका आधारमा संशोधन गर्ने हो ।  संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व र निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । यो समावेशी र समानुपातिक व्यवस्थाका कारण सङ्घ वा प्रदेश कतै पनि कुनै पनि दलको एकल बहुमत नआउने देखिन्छ । कुनै पनि पार्टीको बहुमत नहुँदा सरकार अस्थिर बनिरहेको छ । सरकारलाई कसरी स्थिर बनाउन सकिन्छ भन्ने सवालमा समावेशी र समानुपातिक प्रतिनिधित्वमा कमीकमजोरी नहुने गरी संशोधनको विषय छलफलमा आउनुपर्छ ।  लोकतन्त्रमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न पाउँछन् । आफूलाई लागेको विषय बोल्न पाइन्छ । विचार व्यक्त गर्न पाइन्छ । तर, त्यो किसिमको वातावरण हुन नदिन सरकार र दलका नेताहरु सचेत हुनुपर्छ । राज्यको नेतृत्व तहले आफूलाई सुधार गरेर लैजानुपर्छ । नेतृत्व तहले आफूले गरेका सही कामका बारेमा जनतालाई बुझाउन सक्नुपर्छ । दलहरु सुध्रिन जरुरी छ । दलहरु एकजुट नभएका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको हो । दलहरुले आफू ठीक अरु सबै बेठीक भन्ने दम्भ छोड्नुपर्छ । दलहरु नसुध्रिँदा पूर्वराजा र उनका वरिपरिका मान्छे सल्बलाएका हुन् ।  हाम्रो देशका लागि सङ्घीय लोकतान्त्रिक व्यवस्था उत्तम व्यवस्था हो । यही व्यवस्थालाई सुधारेर लैजानुको विकल्प छैन । यही व्यवस्थाबाट देशमा सुशासन कायम गर्न सकिन्छ । जनताको अवस्था परिवर्तन गर्न सकिन्छ । सङ्घीयता सुदृढीकरणका लागि सङ्घीय सरकारले बनाउनुपर्ने सबै कानुन छिटो बनाउनुपर्छ । प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने खाँचो छ । स्थानीय सरकारले पाउनुपर्ने अधिकार केन्द्रमा राखेर हुँदैन । सिंहदरबारको अधिकार अझै गाउँगाउँमा पुग्न सकेको छैन । प्रदेश तहलाई अलि बढी चुस्त र चलायमान बनाउनुपर्छ ।  सुशासनका निम्ति हामीले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने खाँचो छ । सबै दलका नेताले जनतालाई हिजो भ्रष्टाचार अन्त्य गर्छौं भनेका थिए । तर अहिले पनि भ्रष्टाचार उस्तै छ । सुशासन कायम गर्ने प्रतिबद्धता पनि पूरा गर्न सकेका छैनौँ । जनताको अवस्था पनि परिवर्तन गर्न सकेका छैनौँ । त्यसैले सुशासनको निम्ति सरकार जनताप्रति उत्तरदायी हुनुको विकल्प छैन । राजनीतिक दलका नेता जनताप्रति इमान्दार हुनुपर्छ । भ्रष्टाचारमा सङ्लग्न भएका सबैलाई कानुनबमोजिम कारबाही हुनुप¥यो । कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन ।   जनताको अवस्था सुधार गर्न उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्छ । उनीहरुलाई रोजगारीको व्यवस्था गरिदिनुपर्छ । सरकार उत्पादनमा केन्द्रित हुनुपर्छ । हामीले रोजगारी सिर्जना गर्ने गरी उत्पादन गर्न सकेका छैनौँ । देशमा उद्योग कलकारखाना सञ्चालन गर्न सकेका छैनौँ । अब सरकार र सबै राजनीतिक दलका नेता जनताको अवस्था  सुधार  गर्नेतर्फ केन्द्रित हुने बेला आएको छ ।  जनताको अवस्था सुधार गर्न प्रदेश सरकार, स्थानीय सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ । स्थानीय सरकारले आफैँले आम्दानीको स्रोत बढाउनुपर्ने हुन्छ । मेरो अबको भूमिका बन्न बाँकी कानुन निर्माणमा केन्द्रित हुन्छ । कानुन निर्माणका लागि सरकारसँग पहल गर्न मेरो भूमिका हुन्छ । अब जनजीविकाका विषयलाई संसद्मा राख्ने मात्रै होइन कि कार्यान्वयन गर्न सरकारलाई सचेत गराउने काम पनि हुन्छ । विकास निर्माण र रोजगारी सिर्जनाका निम्ति पहल गर्ने मेरो भूमिका रहन्छ ।  राष्ट्रियसभा सदस्य किरण बाबु श्रेष्ठको परिचय  नेपाली कांग्रेस, गण्डकी प्रदेशका महामन्त्री किरण बाबु श्रेष्ठ एक वर्षदेखि राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । विसं २०२८ देखि विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गर्नुभएका उहाँ २०३४ सालमा नेपाली कांग्रेस गोरखाको जिल्ला कार्य समिति सदस्य हुनुभयो । श्रेष्ठसँग त्यसयता नेपाली कांग्रेस गोरखा कार्यसमितिमा रही विभिन्न पदमा काम गरेको अनुभव छ ।    

बाजुरा:   जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।   प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।   उहाँका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ ।   जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ¬्क अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उहाँले बताउनुभयो ।   उहाँले त्रिवेणी नगरपालिकामा रु २८ लाख २५ हजार, बूढीगङ्गा गाउँपालिकालाई रु ८६ लाख र बूढीनन्दा नगरपालिकालाई रु १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो ।   साथै गौमूल गाउँपालिकामा रु १३ लाख ७५ हजार, खप्तड छेडेदहमा रु दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई रु दुई लाख २५ हजार गरी कूल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ ।   मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उहाँले बताउनुभयो ।   मनसुनजन्य विपद्बाट बूढीगङ्गा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

दमौली:   पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर ।   ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ ।   गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन् । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय नमूना गाउँ घोषणा गरेपछि स्थानीयवासी यस ठाउँमा पर्यटक भित्र्याउन लागिपरेका हुन् ।   गाउँपालिकाको सहयोग र प्रेरणाले आफूहरु यस ठाउँमा घरबास सञ्चालन गर्ने प्रयासमा जुटेको स्थानीय ओममाया गुरुङले बताए । उनले भने, “गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हामीलाई यस ठाउँमा होमस्टे सञ्चालनका लागि उत्प्रेरित गर्नुभयो । हामी स्थानीय अहिले यसमा लागेका छौँ ।”   उनका अनुसार हाल यस ठाउँमा २० घरमा होमस्टे सञ्चालन गरिएको छ भने यसलाई विस्तार गर्ने लक्ष्य राखिएको छ ।   होमस्टे सञ्चालनका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र गाउँपालिकाले नै सिकाएपछि अहिले यसतर्फ अगाडि बढेको उनको भनाइ छ । उनले भने, “गाउँपालिकाका अध्यक्षले सधैँ हामीलाई पैसा कमाउनुप¥यो भन्नुहुन्थ्यो, हामीले कसरी चलाउने, हामीलाई त आउँदैन भन्यौँ । उहाँहरुले सिकाउनुभयो, पाहुना पनि पठाउन थाल्नुभयो ।”   केही समय अगाडि मात्रै विद्यालयका एक सय जना शिक्षकहरु यहाँ बास बसेर गएको उनले जानकारी दिए ।   त्यस्तै कलाकार भटभटे माइला, बल्छी धु्रवेलगायत नामले परिचित कलाकारहरु समेत यहाँ आइसकेको उहाँको भनाइ छ ।   यहाँ आउने पाहुनालाई लोकल कुखुरा, गाउँमै उत्पादित आलुको परिकार, गुन्द्रुक, भट्ट, कोदोको रोटी खुवाउने गरिएको छ । त्यस्तै रातिको समयमा चुड्का नाच प्रस्तुत गर्ने गरिएको उनले जानकारी दिए।   पारिवारिक वातावरणको प्रत्याभूति दिने गरी पाहुनाको स्वागत गर्ने गरेको स्थानीय नरेश गुरुङले जानकारी दिए ।   आफू डकर्मीको काममा समेत संलग्न रहेको बताउँदै उनले होमस्टे सञ्चालनका लागि आमा र श्रीमतीले सघाइरहेको उल्लेख गरे ।   हालसम्म यस ठाउँमा तीन सयभन्दा बढीले रात बिताइसकेका छन् ।   आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्न खोजेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए। गुरुङ बस्ती गिरानचौरमा ६० घरधुरी रहेकामा सबै घरमा होमस्टे सञ्चालनको लक्ष्य छ ।   उनका अनुसार यस ठाउँलाई पर्यटकीय गाउँ बनाउन रु ४० लाख बजेट विनियोजन गरिएको छ ।   उनले भने, “स्थानीयलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य हो ।”   कूल छ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा एउटा पर्यटकीय गाउँ बनाउने लक्ष्य राखिएको चुमानको भनाइ छ । उनले भने, “गिरानचौरका घरमा एकैखालको रङ र यहाँ फूलले आकर्षण बढाउने योजना पनि छ । यसका लागि स्थानीयवासीसँग साझेदारी गर्छौं ।”   पृथ्वीराजमार्गको बरादीदेखि समस्तीपुरसम्म पक्की र त्यहाँबाट कच्ची बाटो रहेकाले बाटो स्तरोन्नतिको प्रक्रिया थालिएको चुमानले बताए।

पोखरा:   नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ ।   आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको बृहत भेला आयोजना गरिएको हो ।   पोखरा रंगशाला स्थित जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै ब्राण्डको रुपमा स्थापित गराउँनुपर्नेमा सहभागिहरुले जोड दिए ।   सोही भेलाले मञ्चका अध्यक्ष मान बहादुर घर्ती (एमबी आस्था) संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजकसमेत चयन गरेको छ ।   जसमा आर्थिक संकलन उपसमिति संयोजकमा बिमल तिवारी, प्रचार–प्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, संघसंस्था समन्वय उपसमिति संयोजक कृष्ण दवाडी, स्वयंसेवक परिचालन उपसमिति संयोजक प्रविन मगर, साँस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेल, स्वागत सत्कार उपसमिति संयोजक एकराज गिरी, फोटो तथा भिडियोग्राफी उपसमिति बसन्त सेर्पा, क्विक रेस्पोन्स उपसमिति संयोजकमा शशीकुमार पौडेल, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, चिठीपत्र तथा निमन्त्रणा उपसमिति संयोजकमा कविता घर्ती मगर, मुल्यांकन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञावाली रहेका छन् ।   उपसमितिमा आवश्यकताको आधारमा सदस्य थप गर्ने अधिकार संयोजकलाई दिइएको मञ्चका अध्यक्ष मानबहादुर घर्ती एमबी आस्थाले जानकारी दिए ।   यसरी थप गरिएको सदस्यको बारेमा उपसमिति संयोजकले मुल आयोजक समितिको संयोजक अथवा मञ्चको कार्यसमितिलाई जानकारी गराउनुपर्नेछ ।   प्रतिभा छनोट समिति र उत्कृष्ट खेल पत्रकार छनोट समिति पछि चयन गर्ने मञ्चले जनाएको छ ।   अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

भक्तपुर:  माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।       परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भन्नुभयो, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।”      यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।       नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुद बनाएको उल्लेख गर्नुभयो । परीक्षाका लागि प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन ।          एसइईअन्तर्गत जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी छन् । जापानमा परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइएको उहाँले जानकारी दिनुभयो । काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिएका छन् ।       यसवर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् । यसवर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिँदैछन् ।       परीक्षा यही चैत १९ गते सञ्चालन हुनेछ । तालिकानुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।       चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । चैत १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।       बोर्डले यसवर्ष आगामी असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ । साथै न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुतीर्ण हुने समेत बोर्डको भनाइ छ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पु¥याउने लक्ष्य छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । 

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।  विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।      मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ ।       गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।       लुम्बिनी प्रदेशका    हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।       सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

काठमाडौं: सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् ।  पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ ।       सङ्घले यसको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सोही कम्पनीमार्फत सगरमाथामा बाटो खोल्ने कार्यमा अशोक लामाको नेतृत्वमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा सहभागी हुनुहुन्छ ।      सङ्घले सो टोलीलाई सगरमाथाको बाटो निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । सङ्घका महासचिव ऋषिराम भण्डारीले वसन्त ऋतुको सगरमाथा हिमाल आरोहणका लागि बाटो बनाउन दक्ष आरोही त्यसतर्फ गएको बताउनुभयो ।  “सगरमाथा र ल्होत्से हिमालमा बाटो बनाउन तथा डोरी टाँग्न दक्ष शेर्पा आरोही सामग्रीसहित सगरमाथा प्रस्थान गरेका छन्”, उहाँले भन्नुभयो, “योसँगै सगरमाथा आरोहणको चहलपहल बढेको छ । अधिकांश ठूला आरोहण व्यवस्थापन गर्ने कम्पनीका कर्मचारी आधार शिविरमा व्यवस्थापनको काममा खटिएका छन् ।”      एट्के कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले सगरमाथाको चुचुरोसम्म टाँग्ने डोरी, ‘क्लाइम्बिङ इक्युमेन्ट’, ‘टेक्निकल डिभाइस’ बाटो बनाउने टोलीलाई हस्तान्तर गरिएको जानकारी दिनुभयो । उहाँले सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन कम्पनीले सम्पूर्ण क्षमताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।      “दक्ष व्यावसायिक आरोहीको टोली सगरमाथालगायत हिमालको बाटो बनाउने कार्यमा खटिएको छ”, उहाँले भन्नुभयो, “पूरै टिमको नेतृत्व मैले गर्दैछु  । आरोहण योजना, मौसमको सूचनालगायत व्यवस्थापकीय कामको प्रबन्धसहित पूरै टिमको नेतृत्व मैले गर्नेछु । मौसमको अनुकूलता हेरी समयमै डोरी टाँगिनेछ ।” यो पटक मौसमले साथ दिने अनुमान गरिएकाले ६०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाने अपेक्षा गरिएको प्रबन्ध निर्देशक शेर्पाले बताउनुभयो ।      पर्यटन विभागसँगको सम्झौताअनुरुप पर्वतारोहण सञ्चालक सङ्घले हरेक वर्ष ‘रोप फिक्सिङ’को काम ‘टेन्डर’मार्फत कम्पनी छटौन गरेर दक्ष शेर्पालालाई सगरमाथाको बाटो खुलाउन खटाउने गरेको छ । यस्तो टोलीले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने तथा डोरी टाँग्नेछ । सन् २०२५ का लागि एट्के एक्सिपिडिसन कम्पनीले जिम्मेवारी पाएको छ ।       सन् २०२४ मा सेभेन समिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने जिम्मा पाएको थियो । सन् २०२३ मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले सगरमाथामा रोप फिक्सिङ गरेको थियो ।  सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाउने गरेको छ । यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने दक्ष आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।      वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको हो । एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।  उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरमाथि बाटो बनाउने कार्यमा खटिएका छन् ।  टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ । टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा हुनुहुन्छ ।      खुम्बु आइसफल क्षेत्र सबैभन्दा जोखिमयुक्त क्षेत्र हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्छन् ।      दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए । यो वर्ष पनि आरोहणका लागि उपयुक्त मौसम हुने र उल्लेख्य सङ्ख्यामा आरोही आउने पर्यटन व्यवसायीको अनुमान छ ।      आरोहणको चहलपहल बढ्यो      पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम विभागको सम्पर्कमा आइरहेका छन् । सम्पर्क अधिकृत खटाउने, सगरमाथा आधार शिविरमा सम्पर्क कार्यालय व्यवस्थापन आदि विषयमा विभाग लागिपरेको छ ।  सगरमाथा आरोहणको सिजन सुरु हुनैलाग्दा व्यवसायी निकै उत्साहित देखिएका छन् । सगरमाथा आरोहणमा सर्वाधिक आरोही पठाउने एक्सपिडिसन कम्पनीहरू यो सिजनमा आरोही बढ्ने अनुमानका साथ आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन तयारीमा जुटेका विभागले जनाएको छ ।       सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले सगरमाथालगायत हिमाल आरोहणका लागि धमाधम आरोही आइरहेको बताउनुभयो । उहाँले यो सिजनमा सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै आरोही आउने अनुमान गरिएको उल्लेख गर्नुभयो ।  “हामी पर्वतारोही व्यवसायी निकै उत्साहित छौँ किनकि यो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोही आउने सङ्केत देखिएको छ । त्यहीअनुरुप बुकिङ भएको छ”, उहाँले भन्नुभयो ।      सेभेन समिट कम्पनीमार्फत यो पटक १०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाँदैछन् । अघिल्लो वर्ष उक्त कम्पनीमार्फत ७० हाराहारी आरोही सगरमाथा आरोहणमा गएका थिए । सेभेन समिट सगरमाथामा धेरै आरोही पठाउने कम्पनी हो । सतोरी, एट्स के एक्सपिडिसन प्रालि, पायोनियर एडभेन्चर्स, हिमालयन गाइड ट्रेक्स, इमाजिन नेपाल ट्रेक एन्ड, ट्याग नेपाल आदि कम्पनी सगरमाथामा धेरै सङ्ख्यामा आरोही पठाउने कम्पनीमा पर्छन् ।        सतोरी एडभेन्चर्स प्रालिका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले सगरमाथा आरोहणका लागि चहलपहल सुरु भइसकेको बताउनुभयो । “सगरमाथाको चुचुरोसम्म बाटो बनाउने कार्य दक्ष शेर्पा आरोही र आइसफल डाक्टर खटिएसँगै आरोहणको चहलपहल सुरु भएको छ”, उहाँले भन्नुभयो, “अब धमाधम आरोही आरोहण अनुमतिलगायत प्रक्रिया पूरा गरेर गन्तव्यतिर निस्कन्छन् । एक्सपिडिसन कम्पनीहरूले आरोहण व्यवस्थापनको तयारीलाई तीब्रता दिएका छन् ।”  भण्डारीले यसपटक समग्रमा वसन्त ऋतुको आरोहण उत्साहवर्द्धक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सगरमाथा आरोहणका लागि उपयुक्त मौसम ‘वेष्ट समिट विन्डो’का लागि सामान्यतया चार वटा विन्डो हुन्छ । त्यो मे महिनामा पर्छ । (हावाको गति कम र हिउँपर्ने कम अवस्था)लाई विन्डो भनिन्छ । 

काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।       बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ ।       क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । जसका लागि रु ७२ करोडमा ठेक्का आह्वान गरिएको हो ।  यसमा सहभागी हुने कम्पनीले रु एक करोड ८२ लाख ५० हजार सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।       काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको आठ किमी सडक (डालाबेंसीदेखि–चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि रु दुई अर्ब ५० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले रु ६ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ ।      गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ ।       सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार दुई वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ । ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि  करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ ।  पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले यागेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो ।       उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ ।  तीन साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ । डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ ।       बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पु¥याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ ।  सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो ।       क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहि¥याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो ।       राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।  बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो । हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।