काठमाडौं:   आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ ।&nb...

पर्वत:    गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।  नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महोत्सव गर्न थालिएको हो ।  सडक स्तरोन्नतीमा रचनात्मक दबाब सिर्जना गर्नका लागि महोत्सवको आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताउउनुभयो ।  उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि मन्त्री, सांसद तथा राजनीतिक दलका नेतालाई सहभागी गराएर सडकको दुरावस्था देखाउने मुख्य उद्देश्य रहेको छ ।       वर्षेनी झण्डै रु १५ करोडसम्मका सुन्तला उत्पादन हुने भए पनि बजारमा ढुवानी गर्न समस्या भएपछि गाउँलेले यस्तो जुक्ति निकालेका हुन् । बाँसखर्क जोड्ने वारीवेनी–बगरफाँट–बाँसखर्क सडक स्तरोन्नती हुन नसक्दा गाउँसम्म सवारी साधन पुग्न समस्या भएको छ ।  ठुला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको अगुवा कृषक  जगतबहादुर खत्रीले जानकारी दिनुभयो । सुन्तला बिक्रीबाट उहाँले यस वर्ष मात्रै रु ४० लाख आम्दानी हुने अपेक्षा गर्नुभएको छ । सडक सास्तीका कारण ढुवानीमा समस्या रहेको उहाँको गुनासो छ ।  उहाँले भन्नुभयोे, “साना खालका बोलेरो जीपमा थोरै थोरैै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठुलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता रहेको छ, यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।” सडकका कारण गन्९तब्यमा पु¥याउँदा सुन्तला थिचिने मिचिने र कुहिने समस्या रहन्छ ।       ढिलोगरी तयार हुने यहाँका सुन्तला माघ दोस्रो सातापछि मात्र बजार पठाउने गरिएको छ । गत वर्ष ढुवानी गर्ने समयमा गाउँपालिकाले सामान्य सडक मर्मत गरेको भए पनि वर्षायामको बाढी पहिरोले सडकमा सवारी साधन चलाउनै नसक्ने अवस्था रहेको अर्का कृषक मेखबहादुर खत्रीले बताउनुभयो । यहाँको सडक मर्मतमा कुनै निकायले चासो नदिँदा समस्या भएको छ ।       प्रदेश सरकारदेखि यस क्षेत्रको राजनीतिक नेतृत्वलाई नै गाउँमा उतारेर सडकको दुरावस्थाका बारेमा जानकारी गराइ सडक स्तरोन्नती र कालोपत्र गर्नका लागि बगानमै महोत्सव गरिने भएको छ । महोत्सवमा सुन्तलाखेती प्रदर्शन, सुन्तलाका विभिन्न परिकार तथा स्वाद आगन्तुकलाई पस्किने आयोजकको तयारी छ ।  अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको खुलेको भए पनि घण्टौँ लगाएर साना सवारी साधनमा पुग्नुपर्ने बाध्यता छ । जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म जान सक्दैनन् । सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको कृषक खत्रीले गुनासो गर्नुभयो ।       ठूला ट्रक तथा कन्टेनरबाट एकै पटक ढुवानी गर्न पाएमा आफूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका काठमाडौँको कालीमाटीका व्यवसायी रमेश ढुङ्गेलले बताउनुभयो ।  “यति ठूलो सुन्तला बगानको सहजताका लागि राज्यसमेतले पूर्वाधार निर्माण गरिदिनुपर्दछ”, उहाँले भन्नुभयो । करिब १० किलोमिटरको दुरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको व्यवसायीको गुनासो छ ।  गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डीङ गरेर बाहिर निर्यात गर्नुका साथै बगैँचासम्म जाने सडक सुधारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । यहाँका कृषकले गत वर्ष रु ११ करोड भित्र्याएका थिए भने अहिले क्षेत्रफल र उत्पादन दुवै बढेकाले रु १५ करोडसम्म आम्दानी हुने आकलन गरिएको उहाँले बत९ाउनुभयो ।  बाँसखर्कको अधिकांश सुन्तला काठमाडौँ पुग्ने गर्दछ भने केही मात्रामा पोखरा, नारायणगढ र बुटबलमा बिक्री हुने गरेको कृषकले बताएका छन् । व्यवसायिले यहाँका सुन्तला बुकिङ्ग गरिसकेका छन् । अन्यत्र याम सकिएपछि मात्र यहाँ सुन्तला टिप्न आउने कृषक सोमबहादुर तिलिजाले बताउनुभयो ।  यहाँका २५० घरधुरी अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक परिवारले न्यूनतम रु पाँच लाखदेखि रु ४० लाखसम्म आम्दानी गर्दै आएका छन् । 

पोखरा:    पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला ३ बुँदे सहमतिपछि खुलेको छ। पोखराका मेयर धनराज आचार्यले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग सहमति गरेपछि ताला खुलेको हो। उनीहरूसँग तीनबुँदे सहमति गरिएको छ ।  नेकपा (एमाले)का जनप्रतिनिधिले बहिष्कार गरेपछि मेयर आचार्यले नगर सभाको स्थगन गरेका थिए। त्यसपछि कांग्रेसका जनप्रतिनिधिले सोमबार मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए। बुधबार ताला खुलेपछि मेयर आचार्यले सबै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्। तीनबुँदे सहमतिमा गत मंसीर २३ मा बसेको विशेष नगर सभाले गरेका निर्णय कार्यान्वयन गर्ने उल्लेख छ। त्यस्तै, नगर सभा माघ ११ गते बोलाउने र योजनाको रकम रकमान्तर र शीर्षकान्तर गर्ने व्यवस्था मिलाउने सहमति भएको छ। वडा कार्यालय, महाशाखा र शाखामा विनियोजित बजेट शीर्षकान्तर र रकमान्तर नहुँदा कार्यान्वयन गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो थियो। कांग्रेसका तर्फबाट पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा तालाबन्दी गरिएको थियो।  

ताप्लेजुङ:    ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ ।      पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् ।  समितिले चालु आर्थिक वर्षको छ महिनाको भेटीघाटी तथा दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरेको छ । पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले हरेक वर्ष लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।        भेटी र दानबाट सङ्कलित रकम पाथीभराको संरक्षण, सम्वर्द्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।      पाथीभरा धाम नेपालका प्रमुख शक्तिपीठमध्ये पूर्वकै एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरामा  विशेषगरी बडा दसैँ, तिहार, चैते दसैँ र अन्य चाडपर्वका बेला भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्छ । पाथीभरा देवीको दर्शनले मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास छ ।        दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थित गर्न समितिले नयाँ संरचना र सेवा सुधारका योजना क्रमशः सञ्चालन गरिरहेको छ ।  पाथीभरा क्षेत्रमा खानेपानी, पदमार्गमा शौचालय व्यवस्थापन, विभिन्न गाउँबाट पाथीभरा जाने पदमार्ग निर्माण, पूजास्थलका साथै मन्दिर परिसर व्यवस्थापन, मन्दिर परिसरमा वृक्षरोपण, पर्यटक प्रहरी पोष्टको स्थापना, पार्किङस्थलको निर्माणलगायतका कार्य गर्दै आएको समितिले जनाएको छ ।

काठमाडौं:    आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।       मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।       अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ ।        नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पनि पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।       नेपालको प्लेइङ–११ मा कप्तान पूजा महतोसँगै साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, तृषना विक, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत छन् ।  

चितवन:     गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।  आक्रमणबाट घाइते  निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।  निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो । 

काठमाडौं:     सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।     सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र सङ्घर्ष, पृथकतावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षालगायत जिम्मेवारी दिएको छ ।      मुलुकका सबै जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी ‘डेडिकेटेड’ सीमा सुरक्षा बलका  रुपमा आफूलाई स्थापित गर्ने प्रयासमा छ ।  भारत र चीनतर्फ सीमा जोडिएका क्षेत्रमा दुई सय ५४ वटा ‘बोर्डर आउट पोष्ट’मार्फत आफ्नो कर्तव्य निर्वाहमा जुटेको छ ।         देशको दक्षिणी सीमातर्फ दुई सय एक, पूर्वमा २२, पश्चिममा २१ र उत्तरमा १० वटा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।  सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले भारत र चीनका सीमा सुरक्षा संयन्त्रसँगको सहकार्यमा सीमा सुरक्षा तथा विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आवमा रु एक अर्ब ६४ करोड छ लाख सात हजार बराबरको चोरीनिकासी नियन्त्रण गरेकामा  चालु आवको छ महिनामा रु एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व सङ्कलनमा योगदान गरेको सहप्रवक्ता थापाले बताउनुभयो ।  विसं २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधानकार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा स्थापना दिवस समारोह हुँदैछ । 

सोलुखुम्बु:    थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।   थुलुङ दुधकोशी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।  आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको जानकारी आफूलाई भर्खरै प्राप्त भएको उहाँले बताउनुभयो । 

काठमाडौं:   सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ ।      मङ्गलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।      त्यस्तै चाँदीको मूल्य प्रतितोला रु २० बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।