काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकले पार्टीका विचार र प्रस्तावलाई स्पष्ट गर्न देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको महासचिव नेत्रविक्रम चन्दले जानकारी दिनुभयो । सो पार्टीले २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषतासहितको समाजवादको पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइने उहाँले जानकारी दिनुभयो । उक्त पार्टीले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याजलगायत समस्या समाधानमा सरकारलाई जवाफदेही बनाउन आगामी फागुन २१ गतेदेखि झापा–कञ्चनपुर जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले सिङ्गो मुलुकलाई आत्मनिर्भरतासहित समृद्धितर्फ अघि बढ्न नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अघि बढाउने, उत्पादन वृद्धि गरी काठमाडौँ उपत्यकामा ‘सी व्यापार केन्द्र’ सञ्चालन गर्ने निर्णय गरेको महासचिव चन्दले जानकारी दिनुभयो ।
बाँके: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मङ्गलवार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताउनुभयो । महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिनुभयो । मिसन ८४ मा केन्द्रित भएर काम गर्न उहाँले निर्देशन पनि दिनुभयो । महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा हाम्रो देशमा पनि सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु शान्ति ढकाल, माहम्मदहारुन हलवाई, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङलगायत वक्ताले पार्टी सुदृढीकरणमा जोड दिनुभएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजना गरेको पार्टीको सयदिने अभियानको समापन गर्दै उहाँले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्रनिर्माणका काममा अघि बढिरहेका भन्दै यो एकता सधैँ अक्षुण्ण रहनुपर्छ भन्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्रलाई सफल पार्न यसविरुद्धका गतिविधि निस्तेज पार्नुपर्ने बताउनुभयो । उहाँले हिमाल, तराई, पहाड जुनसुकै स्थानका नेपालीबीच एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले देशको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, “आर्थिक रुपमा पछाडि परेका जनतालाई विकास मूल प्रवाहमा समाहित गर्नुपर्छ, दलित, महिलाका समस्या समाधान गरेर उनीहरुलाई पनि आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु नेपाली कांग्रेसको दायित्व हो ।” नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिअनुरुप सबै राजनीतिक दललाई एकाकार गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टीलाई गुट–उपगुटबाट मुक्त गर्नुपर्छ भन्नुभयो । पार्टीले काठमाडौँका एक सय ३८ वटै वडा, ११ वटै स्थानीय तह र १० वटै निर्वाचन क्षेत्रमा सयदिने अभियान सञ्चालन गरेको जानकारी उहाँले दिनुभयो ।
चितवन: नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।” निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोइराला परिवार एक होइन विचार एक हुनु प¥यो । विचार एक भए हुन्छ ।” महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उहाँले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ ९क०’ को बिक्री निकै न्यून देखिएको छ । गत मङ्सिर १२ गते जारी भएको रू ५० करोड बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो । यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र रू पाँच करोड ४२ लाख बराबरको बिक्री भएको छ । कार्यालयले जारी गरेको रू दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ । नागरिक बचतपत्रमा साँढे सात र वैदेशिक रोजगार बचतपत्रमा साँढे आठ प्रतिशत ब्याज तोकिएको छ । बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ । यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार, र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । जबकी लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा न्यून हुने गरेको छ । बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । तर, यसको प्रचार–प्रसारको अभाव, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन ।
सोलुखुम्बु: सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म रु १६ करोडको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ । थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत रु १० करोड ५२ लाखमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छभने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने रु छ करोड १४ लाख लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो । दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताउनुभयो । यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ । स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् । सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताउनुभयो । यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ । पर्यटनमा सम्भावना र आर्थिक प्रभाव सडक विस्तारसँगै खुम्बु क्षेत्रमा पर्यटन व्यवसायमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । यसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड र पोर्टरको रोजगारीमा पाि सकारात्मक प्रभाव पार्नेछ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ । यस क्षेत्रका आलु, गहुँ, जौँजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने छन् । साथै निर्माण सामग्री र खाद्यान्न आपूर्तिमा पनि सुधार आउनेछ । सडक निर्माणको यो महत्त्वपूर्ण परियोजना यही पुस २० उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसले खुम्बु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप प्रचार गर्ने विश्वास गरिएको छ ।
नुवाकोट: पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिनुभयो । उहाँको अनुसार धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावती (उत्तरगया)मा दिवङ्गत पितृको चीरशान्तिको कामनासहित जौँको पिण्ड बनाई तर्पण, सिदादान र पिण्डदान गर्न हिन्दू र बौद्ध धर्मावलम्बीहरू सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो । “सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट बगेको जलबाट निर्मित बेत्रगङ्गा र रुद्रगङ्गा तथा त्यसभन्दा दूरमा रहेको नीलाद्री पर्वतमा त्रिशूल खोप्दा निस्किएको जल बगेको त्रिशूली नदीको भेट भएको त्रिवेणीधाम उत्तगरगया पवित्र तीर्थस्थल हो”, अध्यक्ष ड¬ङ्गोलले भन्नुभयो, “वेत्रावती उत्तरगयाधाम हिन्दू धर्मावलम्वीको प्रमुख चारधाममध्येको मुख्य र नेपालमा रहेको एकमात्र धामका रूपमा पुज्ने गरिन्छ ।” दक्षिणायनको अन्तिम औँसीका रूपमा रहेको पौष कृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवङ्गत व्यक्तिको बैकुण्ठमा बास हुने, जीवनमा जानअन्जानमा भएका गल्ती क्षमा हुने र मृत्युपरान्त मोक्ष पाउने धार्मिक विश्वास छ । धर्मशास्त्र अनुसार चार गयामध्ये तीनगया भारतमा पर्छ भने नेपालमा पर्ने उत्तरगयाधाम वेत्रावती हिन्दू र बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिन्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुअघि उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू र बौद्धमार्गी अनुयायीको आस्था जोडिएको छ । सोही तथ्य हिमवत् खण्डमा समेत उल्लेख रहेको ओखलढुङ्गाबाट श्राद्ध गर्न वेत्रावती आउनुभएका पण्डित लोकाथ उपाध्यायले बताउनुभयो । उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष र अन्यथा जीवनमा एकपटक भए पनि पिण्ड तर्पण गर्नुपर्छ भन्ने विश्वासमा ङो (श्राद्ध) गर्न आएको धुनिबेँसी नगरपालिका–१ धादिङका ज्ञानबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार तामाङ साुमदायमा दिवगङ्त व्यक्तिको पुण्य, आत्मको चीरशान्ति तथा केही बाधा अड्चन भएमा तथा स्वर्गलोक पुग्न बाँकी भएमा त्यसको क्षमाका लागि बौद्धमार्गीहरूले ङो गर्ने गरिएको छ । पवित्र नदी त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ ।
चितवन: पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ । आज प्रतितोला चाँदी रू एक हजार सात सय ६५ मा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।