पोखरा: गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । महोत्सवको समापन गर्दै मेयर आचार्यले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहेको आफुले प्रत्यक्ष रुपमा अवलोकन गरिरहेको बताउदै युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा निर्माण गर्न लागेका युनाईटेड छात्राबास निर्माणका लागि पोखरा महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको छात्राबास निर्माणमा महानगरको तर्फबाट हुने आर्थिक र नैतिक सहयोग समेत रहने मेयर आचार्यको भनाइ थियो । त्यसैगरी युनाईटेड क्लब पोखराले स्थापना कालदेखिनै क्यालेण्डरमा समावेश गरी पोखरा महोत्सव सञ्चालन गर्दै आइरहेको र महोत्सव सञ्चालन अवधिको समेत कर तिरेर आफुलाई अब्बल संस्थाको रुपमा उभ्याएको बताउदै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्नुपर्नेमा उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले महोत्सवको मात्र आयोजना नगरी भाषा, कला संस्कृतिको उजागर र जगेर्ना गर्ने काम गरेको बताए । विगतका संस्करणका महोत्सवहरुमा समेत गण्डकी प्रज्ञा प्रतिस्ठानको तर्फबाट साथ र सहयोग प्रदान गरिरहेको बताउदै बिखर्चीले आगामी संस्करणमा समेत सहयोगलाई निरन्तरता दिने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले पोखरा महोत्सव शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे । प्रहरी उपरीक्षक ओलियाले महोत्सव महोत्सव मात्र नभइ महाउत्सव समेत भएकाले आर्थिक क्रियाकलाप चलायमान संगै महोत्सवले मौलिकता र ऐतिहाँसिकतालाई झल्काउने र एक आपसमा सामाजिक सद्भाव समेत कायम गराउने वताउदै युनाईटेड क्लब संग सहकार्य गरेर सामाजिक विकृति र विसंगती विरुद्धको क्रियाकलापमा सहकार्य गरेर अगाडी बढ्ने समेत बताए । युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको कर समेत तिर्दै आइरहेको भएतापनि क्लबलाई दोहोरो तेहेरो करको दायरामा पार्ने गरी दुख दिने काम गरेको बताउदै त्यस तर्फ महानगरका मेयर समक्ष सहजीकरण गरिदिन आग्रह गरे । त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सञ्चालन गरेको सामाजिक कामको प्रशंसा गर्दै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्न सके समाज रुपान्तरणमा सहयोग पुग्ने बताए । त्यस्तै समाजकल्याण परिषदका उपाध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य परमेश्वर कार्कीले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको र आफु जनप्रतिनिधी समेत रहेकाले युनाईटेड क्लबको हरेक क्रियाकलापमा साथ र समर्थन रहने बताए । अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । युनाईटेड क्लबका महासचिव तथा तेह्रो पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । महोत्सवको अन्तिम दिन लोकदोहोरी गायक गायिका चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । पोखरा महोत्सव बिद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधि बेसलाइनलाई पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधि वेसलाइन ईङ्ग्लीस बोर्डिङ स्कुलले हात पारेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा १३ टीमलाई पछाडि पार्दै बेसलाइनको उपाधी संगै नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा सरस्वती आदर्श विद्याआश्रमले दोश्रो स्थान सहित नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा विभूती शिक्षा सदनले तेश्रो स्थान सहित नगद २० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कास्की मोडनाइज्ड र सेन्ट म्यारिज बोर्डिङ स्कुलले शान्तवना स्थान सहित नगद १० हजार, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बिजयीहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मन कुमार गुरुङ, महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सागरलाई खुल्ला बुद्धिचालको उपाधी त्यसैगरी महोत्सवको अवसरमा आयोजित खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी सागर साईले जितेका छन । उपाधी सहित साइले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महेश्वर अधिकारी प्रतियोगिताको उपबिजेता सहित नगद ७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै बुद्धिराज शर्माले तृतिय स्थान सहित नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा निशान पौडेलले शान्तवना स्थान सहित नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा दशौं स्थान भित्र पर्न सफल भीम प्रसाद भट्टराई, हुमराज गुरुङ, सुजन रानाभाट, रन्जन कुँबर, गोविन्द बराल, र एन्जल शाही ठकुरीले जनही नगद २ हजार र मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारी, कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिनोद नाल्मी, पोखरा महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्र गुरुङ, चिफ आर्बेटर श्याम शुन्दर ताम्राकार, नरेन्द्र रानाभाट, राम बहादुर क्षेत्री, क्लबका पूर्व अध्यक्ष एवं खेलकुद समिति संयोजक सुक बहादुर गुरुङ, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी महोत्सवमा आयोजिक टिकटक प्रतियोगिताको उपाधी गोले लामाले जितेका छन । आशीष इन्स्टीच्युटले प्रायोजन गरेको उक्त प्रतियोगिताका बिजेता गोले लामाले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महोत्सवको मुख्य प्रायोजक बेटरको स्टलबाट सामाग्री खरिद गरेका मध्ये लक्की ड्रको माध्यामबाट पोखरा ९ का गणेश रानाले १।५ टनको बेटर एसी प्राप्त गर्न सफल भएका छन । रानाले बेटरको स्टलबाट बटरफ्लाई मिक्स्चर खरिद गरेका थिए । त्यस्तै पोखरा १४ का साहारा लामिछानेले किंग राइकुकर खरिद गरि प्राप्त गरेको कुपनबाट बेटरको २५ लिटरको इलेक्ट्रिक गिजर बेटर मोनाको प्रो २५ र बेटरको ९० सेन्टिमिटरको तीनवटा बाफेल फिल्टर र मोसन सेन्सर भएको चिम्नि बेटर ब्रेथ प्रो ९० ग्लासहुड चिम्नी प्राप्त गरेका छन । तेश्रो बिजेता पोखरा १४ का तनिश तामाङले प्रेसर कुकर खरिद गर्दा बेटरको तीन बर्नर भएको बिल्ड इन हब चुलो बेटर युरोपा टफटेन थ्री प्राप्त गरेका छन । उक्त बिजेताहरुले बेटरको नयाँबजारमा रहेको शोरुमबाट उपहार प्राप्त गर्ने सक्ने बेटरका चिफ अप्रेसन अफिसर सर्वज्ञ अधिकारीले बताए । महोत्सव स्थलमा राखिएको भिजनलिंक एजुकेशन कन्सल्टेन्सीको स्टल मार्फत पोखरा भद्रकालीका प्रस्ताव ढकाल, मियापाटनकी सुनिता गौतम, रानीपौवाका अरमन अली, पोखरा ७ की गरिमा शर्मा, हस्पिटलचोकका राजेश तिवारी, अमरसिंहकी अन्जिला खत्री, पोखराका शिवजी प्रसाद गुप्ता, भेडिफर्मका सइरास गुरुङ, पोखराका प्रतिमा परियार र अमरसिंहका हरिकृष्ण खरेलले कन्सल्टेन्सीबाट सञ्चालित कुनैपनि कक्षामा निशुल्क सेवा प्राप्त गर्नेछन ।
पोखरा: ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराले आफ्नो २६औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज सहित साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो । संस्थाले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा संस्थाको सफलताको कामना गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका क्षेत्रमा प्रयोग हुने समाग्रीहरूको विक्री वितरण गरी पर्यटन क्षेत्रमा टेसाले महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा संस्थाले गरेको योगदान प्रशंसनीय भएको उहाँको भनाइ छ । टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीले संस्थाले पोखराको पर्यटन प्रवद्र्धनका हरेक कार्यक्रममा सकृयताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । व्यवसायिक एकतासँगै एकआपसमा आपसी सद्भाव अभिबृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । टेसा पोखराका पूर्व अध्यक्ष नारायणप्रसाद सुवेदीले टेसामा आवद्ध व्यवसायीहरू संस्थागत रुपमा एकतावद्ध हुँदै पर्यटन प्रवद्र्धन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा कृयाशिल बन्दै अघि बढेको धारणा राख्नुभयो । टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्रबहादुर जिसीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टीकाबहादुर लम्सालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू रामु गौतम, नारायण सापाकोटा, नवराज अधिकारी, चन्द्र पौडेल, राम गिरी लगायत पोखरामा कृयाशिल पर्यटनसम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो । उक्त अवसरमा कार्यक्रमका सहभागीले पोखरा–३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालयन फरेष्ट रिसोर्टको स्थलगत अवलोकनसँगै त्यहाँबाट प्रवाह भैरहेका सेवा सुविधाबारे जानकारी लिएका थिए । करिब १२ करोड रुपैयाँ लागतमा निर्मित उक्त रिसोर्टबाट लेखनाथका बेगनास ताल, रुपाताल, माछापुच्छ«े सहितको हिमाली दृश्य एक साथ अवलोकन गर्न सकिन्छ । पर्यटकस्तरीय सुविधासम्पन्न २२ वटा कोठाका साथै सभाहल समेत रहेको रिसोर्टबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलका साथै पोखराको रमणीय दृश्य पनि अवलोकन गर्न सकिन्छ ।
काठमाडौं: चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न प्रहरीलाई प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले भरतपुर महानगरपालिका–११ बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र संलग्नलाई आवश्यक कारबाहीका लागि निर्देशन भइसकेको जानकारी दिनुभयो । आजै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरी घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ । अस्थायी प्रहरी विट गणेशधामका प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेल उक्त घटनामा संलग्न देखिएकाले उनलाई निलम्बन गरी कारबाही थालिएको जिल्ला प्रहरी चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।
पोखरा: एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित ६–६ टोलीले भाग लिनेछन् । यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र भलिबल टिम सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागिता जनाएका छन् । महिलातर्फ सहभागी हुने टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यसपाली आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको फम्र्याटसमेत नयाँ रोमाञ्चक खालको बनाउन लागिएको संयोजक ज्ञवालीले बताए । पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए । प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितालाई अन्र्तराष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको भनाइ छ । प्रतियोगिताका खेलहरु एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ । प्रतियोगिता पाचौं संस्करणसम्म आईपुग्दा विदेशी टिमहरुले भाग लिनु नेपाली भलिबल प्रेमीका लागि सुखद भएको अध्यक्ष शर्माले बताए । प्रतियोगिताबाट बचत भएको रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको अध्यक्ष शर्माले बताए । २ हजार सिट क्षमताको प्यारापिट हुने पाँचौँ टाइगर कप भलिबलमा दर्शक क्षमता बढाएर २ हजार पु¥याएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिताको संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । अघिल्ला संरकणमा दर्शकको चापलाई मध्यनजर गर्दै दर्शक क्षमता बढाइएको उनको भनाइ छ । यस संस्करणमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरिएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ । ‘यसपाली अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । यदि काटेर पनि सिट नहुने स्थिति नबनोस् भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने । प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: सरकारले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिनुभयो । यसैबीच, बैठकले शिक्षकको निवृत्तिभरणसम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ती हुने शिक्षकको हकमा मात्र लागू हुने तथा यसअघिको प्रावधान कुनै प्रभावित नहुने शिक्षा मन्त्री विद्या भट्टराईले बताउनुभयो ।
काठमाडौं: विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी समूहले सोमबार अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट गरेको छ । विश्व आर्थिक मञ्चको बैठक सुरु हुने अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ । एक वर्षअघि समूहले त्यो समयमा एक मात्र खर्बपति देखापर्ने पूर्वानुमान गरेको थियो । अक्सफामको अनुसन्धानले निवर्तमान राष्ट्रपति जो बाइडेनले गत हप्ता दिनभएको ‘थोरै अति–धनी व्यक्तिहरूको हातमा शक्तिको खतरनाक केन्द्रीकरण’ को चेतावनीलाई थप बल दिएको छ । समूहको ‘टेकर्स नट मेकर्स’ शीर्षकको तीखो रिपोर्टले पनि सन् १९९० देखि गरिबीमा परेका मानिसहरूको सङ्ख्यामा मुस्किलले परिवर्तन भएको बताएको छ । विश्व आर्थिक मञ्चले डाभोसको अल्पाइन गाउँमा हुने वार्षिक बैठकमा व्यापारिक अधिकारी, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समूहका नेताहरूसहित करिब तीन हजार सहभागी हुने अपेक्षा गरेको छ । – चिन्ताको विषय के हो ? .... ‘नयाँ कुलीनतन्त्र’ आफ्नो पहिलो कार्यकालमा दुई पटक डाभोसको भ्रमण गर्नुभएका र सोमबार पदको शपथ लिने तयारी गर्नुभएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भिडियोमार्फत मञ्चको कार्यक्रममा भाग लिनुहुने अपेक्षा गरिएको छ । उहाँले आफ्नोसहित लामो समयदेखि सम्पत्ति सञ्चयको वकालत गर्दै आउनुभएको छ र अर्बपति एलन मस्कलाई प्रमुख सल्लाहकारको रूपमा गणना गर्नुभएको छ । “तपाईँले अहिले के देख्नुभएको छ भने आज एक अर्बपति राष्ट्रपतिले सबैभन्दा धनी व्यक्तिको समर्थनमा शपथ लिइरहेका छन् । त्यसैले यो विश्वव्यापी कुलीन वर्गको मुकुटको गहना हो”, अक्सफाम इन्टरनेसनलका कार्यकारी निर्देशक अमिताभ बेहरले ट्रम्प र मस्कलाई उल्लेख गर्दै एक अन्तर्वार्तामा भन्नुभयो, “यो एक विशेष व्यक्तिको बारेमा होइन । यो हामीले सिर्जना गरेको आर्थिक प्रणाली हो जहाँ अर्बपतिहरू अहिले आर्थिक नीतिहरू, सामाजिक नीतिहरूलाई आकार दिन सक्षम छन्, जसले अन्ततः उनीहरूलाई बढीभन्दा बढी नाफा दिन्छ ।” बाइडेनको अमेरिकी कर संहितामार्फत अर्बपतिहरूलाई ‘उनीहरूको उचित हिस्सा तिर्न सुरु गर्न’ को आह्वान जस्तै वैश्विक वकालत समूह अक्सफामले असमानता र अत्यधिक सम्पत्ति घटाउन सबैभन्दा धनीमाथि कर लगाउन र ‘नयाँ कुलीनतन्त्र विघटन गर्न’ सरकारहरूलाई आह्वान गरेको छ । समूहले एकाधिकार तोड्ने, सिइओको तलब सीमित गर्ने र कर्पोरेशनहरूलाई कामदारहरूलाई ‘जीवनयापन ज्याला’ तिर्न सुनिश्चित गर्न नियमन गर्ने जस्ता कदमहरूको आह्वान गरेको छ । – सबैभन्दा गरिबहरूको अवस्था कस्तो छ ? शीर्ष टेक कम्पनीहरू र एस एन्ड पी ५०० जस्ता स्टक–मार्केट सूचकाङ्कहरूका साथै सुनको मूल्य र बिटक्वाइन जस्ता क्रिप्टोकरन्सीहरूको लागि बलियो प्रदर्शनका कारण धेरै लगानीकर्ताहरूले २०२४ मा बलियो लाभ उठाए । गत वर्ष अर्बपतिको सम्पत्ति दुई खर्ब डलरले बढेको अक्सफामले जनाएको छ । यो सन् २०२३ को तुलनामा तीन गुणा बढी हो र दैनिक पाँच अर्ब ७० करोड डलर हो । अर्बपतिहरूको सङ्ख्या २०४ ले बढेर दुई हजार ७६९ पुगेको छ र १० धनी व्यक्तिहरूको सम्पत्ति औसतमा एक दिनमा लगभग १० करोड डलर बढेको छ । विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै उक्त समूहले सन् १९९० देखि दैनिक छ दशमलव ८५ डलरभन्दा कम आयमा जीवनयापन गर्ने मानिसहरूको सङ्ख्यामा ‘मुस्किलले परिवर्तन’ भएको भन्दै लामो समयसम्म चलेको गरिबीलाई औँल्याएको छ । अक्सफामले अति–धनीहरूको तथ्याङ्कका लागि नोभेम्बरको अन्त्यसम्मको फोर्ब्सको ‘रियल–टाइम बिलियनेयर लिस्ट’ प्रयोग गरेको छ । यसको विपरीत सन् २०२४ मा प्रत्येक हप्ता कम्तीमा चार नयाँ अर्बपति ‘टकमरी ९अत्यन्त धनी०’ भएका थिए र अर्बपति सम्पत्तिको तीन–पाँचौँ भाग उत्तराधिकार, एकाधिकार शक्ति वा ‘क्रोनी कनेक्सन’ बाट आउँछ । औसतमा अक्सफामले कम र मध्यम आय भएका देशहरूले आफ्नो राष्ट्रिय बजेटको लगभग आधा ऋण भुक्तानीमा खर्च गरिरहेको बताएको छ । साथै समूहले युरोपमा ७९ वर्ष भन्दा बढीको तुलनामा अफ्रिकामा आयु ६४ वर्ष भन्दा कम रहेको बताएको छ । – के यो वर्ष डाभोसमा फेरि सामान्य जस्तै व्यापार हुनेछ ? केही पश्चिमी देशहरूमा बलियो नेताहरूको उदय भइरहेको र व्यवसाय जगत्मा विविधता र जलवायु परिवर्तन जस्ता प्रगतिशील मुद्दाहरू कमजोर हुँदै गएको अवस्थामा अति धनी र गरिबबीचको बढ्दो खाडलका बावजुद मङ्गलबारदेखि औपचारिक रूपमा सुरु हुने वार्षिक डाभोस सम्मेलनले यस वर्ष पनि पैसा कमाउने र सम्झौता गर्नेमा ध्यान केन्द्रित गर्ने सम्भावना छ । धेरै क्षेत्रमा एआईले धेरै सेतो–कलर रोजगारहरू बढाउन सक्छ र उद्योगहरूको शृङ्खलामा कामदारहरूलाई विस्थापित गर्न सक्छ भन्ने चिन्ताका बाबजुद अधिक दक्षता प्राप्त गर्न व्यवसायका लागि उपकरणका रूपमा कृत्रिम बुद्धिमत्ताको निरन्तर वृद्धि पनि डाभोसमा फेरि एउटा केन्द्रीय विषय हुनेछ । दोस्रो कार्यकालका लागि ट्रम्पको पुनरागमन सम्भवतः डाभोसमा धेरै मुखहरूमा हुनेछ । साथै युक्रेन र सुडानमा युद्ध लगायत जारी द्वन्द्वहरू र गाजामा उनीहरूको विनाशकारी १५ महिने युद्धलाई रोक्दै आइतबार हमास र इजरायलबीच सुरु भएको युद्धविरामको निरन्तरताको आशाहरू पनि चर्चामा हुनेछन् । मञ्चका आयोजकहरूले गत हप्ता नौ सय विशेषज्ञबीच गरिएको ‘ग्लोबल रिस्क्स रिपोर्ट’ को सर्वेक्षण जारी गरेका थिए । रिपोर्टमा देशहरूबीचको द्वन्द्व सबैभन्दा ठूलो चिन्ताको विषय रहेको, त्यसपछि चरम मौसम, आर्थिक टकराव, गलत सूचना र दुष्प्रचार र ‘सामाजिक ध्रुवीकरण’ – धनी र गरिबबीचको खाडलको सङ्केत – रहेको पाइएको थियो । विगतका वर्षहरूमा जस्तै बढी आर्थिक समानता, धनीहरूमाथि कर र अन्य मागहरूका लागि आह्वान गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिए । केहीले डाभोसको सडकहरू अवरुद्ध गरे, केही ठाउँमा ट्राफिक अवरोध गरे र शुक्रबारसम्म चल्ने कार्यक्रममा केही सहभागीहरूको यात्रामा ढिलाइ गराए ।
काठमाडौं: वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनी यही माघ २ गते काठमाडौँ जिल्ला अदालतको दक्षिण गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीले सोही घटनामा संलग्न अन्य दुई जनालाई यसअघि पक्राउ गरिसकेको छ । यो पनि पढ्नुहोस वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने केसी पक्राउ
काठमाडौं: मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा ग¥यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन । त्यसैगरी, सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई÷दुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।
गोरखा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । गोरखा नगरपालिका–८ आहालेस्थित श्री सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको आज उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले शिक्षा क्षेत्रको विकास देशको प्राथामिकतामा हुनुपर्नेमा जोड दिनुभयो । “शिक्षा नै त्यस्तो आधार हो, जहाँबाट मुलुकको विकास र समृद्धि सम्भव छ, यसले अनुशासन र स्थिरताको आधार तयार गर्नसक्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसका लागि शैक्षिक क्षेत्रको सुधार गर्न वर्षौंदेखि अगाडि बढ्न नसकेको शिक्षा विधेयकलाई मेरै नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले पारित गरेर सदनमा छलफलका लागि पु¥याएको छ ।” शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरेर मात्र शैक्षिक क्षेत्रको सुधार सम्भव रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले शिक्षा क्षेत्रलाई अगाडि बढाउनका लागि राज्यले लिने प्रतिबद्धताको स्तरले देशकै सभ्यता, विकास र सुशासनको स्तर मापन हुने बताउनुभयो । “हामी कहाँ अझै पनि शिक्षालाई व्यापारको आधार बनाउने काम रोकिएको छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा व्याख्या त गरियो तर संविधान बनेको लामो समय बितिसक्दा पनि शिक्षा ऐन नबन्दा समस्या भइरहेको छ ।” संविधानमा शिक्षालाई जनताको मौलिक अधिकारका रुपमा उल्लेख गरेको भए पनि आवश्यक ऐन निर्माण नगर्दा र बजेट विनियोजन नहुँदा समस्या भएको उहाँको भनाइ छ ।