पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा युवाहरु झुमेका हुन । रचनाले उनको प्रीति, फोटो फिरिममा, मिनरल वाटर, चाहान्छु, तिमि त पोखरेली, ढुंगेधारा लगायत एक दर्जन बढी गीत प्रस्तुती मार्फत दर्शकहरुलाई नचाएका थिए । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ पूर्ण राई एण्ड दाजुभाईको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सव समापनको संघारमा आइपुग्दा महोत्सवमा दर्शकको चाप वढ्दै गएको छ । महोत्सवमा दर्शकको चाप संगै महोत्सवमा राखिएको स्टलमा समेत ब्यापार वढ्दो मात्रामा रहेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवको अन्तिम दिन लोकदोहोरी तर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुती रहने छ । महोत्सवमा आयोजित विद्यालय स्तरिय प्रतियोगिताको समेत सोमबार फाइनल प्रतिस्पर्धा हुने छ । फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभुती र सरस्वती विद्या सदन लामाचौर बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा अपराह्न्न ३ बजे विशेष समारोहका बीच समापन गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे । पुरूष फुटबलतर्फ नयाँ गाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ । बन विज्ञान क्याम्पसको खेल मैदानमा वडाबासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँ गाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो । पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्थाले चन्द्र सूर्य क्लबलाई हराएको हो । यस्तै महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्दै उपाधि जितेको छ । विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो । युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कूलले जित्यो । छात्रतर्फ सेन्ट फ्रान्सिसले शुत्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातफर्प ज्ञानकुञ्ज एकेडेमी तृतीय भए । महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृतिकी गंगा नापित दोस्रो भईने भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए । महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए । मितेरी आमा समूहका चन्द«ा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशिला पुर्जा र लालीकुमारी खान तेस्रो बने । पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँ गाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो र कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए । पुरूष ब्याडमिन्टन डबलतर्फ तल्लो सिमलबोट टोल किावस संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनी प्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्ण ब. गुरुङ र पूर्ण बहादुर जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए । महिला रस्साकस्सीमा जनजागृति आमा समूह प्रथम, संगमटोल आमा समूह दोस्रो बने । महिला सडक दौड ३ किमिमा ४८ जना सहभागी भएकोमा जनजागृतिकी पोम कुमारी बुढा प्रथम, संगमकी रुपा बरुलाल दोस्रो र एकताकी मोहनमाया राना तेस्रो बनिन् । पुरुष सडक दौड ५ किमितर्फ नयाँ गाउँका ठाकुर बहादुर थापा प्रथम, कोलपाटनका ओमबहादृुर फोरजना दोस्रो र तल्लो नयाँ गाउँका कुल बहादुर गुरुङ तेस्रो भए । छात्रा सडकदौड ३ किमिमा भ्यूप्वाइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशा कुँवर दोस्रो, सिद्ध माविकी श्रेया मगर तेस्रो बनिन् । छात्र ५ किमि दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हावर्ड एकेडेमीका मनिष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए । ह्विलचेयर दौडमा घना घर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए । ह्वीलचेयर बास्केटबलमा टीम ए रातो प्रथम र टीम बी निलो दोस्रो भए । छात्र साइक्लिङ १० किमितर्फ रत्नज्योति माविका मन्दिप केसी प्रथम, रत्न ज्योतिकै सरोज सारु मगर दोस्रो र सिद्ध माविका मनोजि बिक तेस्रो भए । विजेता, उपविजेता र तेस्रो हुनेहरुले नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । समापनका अवसरमा खेल्छ गण्डकीमा आबद्ध वडा स्थित बालबालिकाहरुलाई पोषणतत्वका लागि विभिन्न थरीका खाद्यान्न प्रदान गरिएको थियो । उक्त अवसरमा सहयोगीहरुलाई मायाको चिनो र प्रशंसापत्र पनि प्रदान गरिएको थियो । समापन कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जुदेवी गुरुङले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिन सक्ने बताइन्। वडा अध्यक्ष तोरण बानियाँले वडा नं. १५ ठूलो क्षेत्रफलमा फैलिएको र यस खेलकुद महोत्सवले वडावासीहरूबीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए। महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले वडा स्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधि जित्दै वडाको गौरव बढाएको र यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । वडा अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताउनुभएको छ । अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताउनुभयो । “हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उहाँले भन्नुभयो । वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताउनुभयो । “आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिसामा डो¥याएका छौँ”, उहाँले भन्नुभयो । सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उहाँको भनाइ थियो । “पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उहाँले उल्लेख गर्नुभयो । “कुनै निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ”, उहाँले भन्नुभयो । सम्पत्ति शुद्धिकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । “सम्पत्ति शुद्धिकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।
काठमाडौं: प्यालेष्टिनी इस्लामी समूह (हमास)को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११ः१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ । “सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,” बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ। यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीवरूप कारबाही जारी गरेको थियो । यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्। उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका छन् । यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो। प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिनुभएको थियो ।
काठमाडौं: उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौँमा आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकाले उच्च प्राथमिकता दिँदै आएको धारणा राख्नुभएको हो । “नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध छ । हाम्रो सम्बन्धको जरा गहिरो र बहुआयामिक छ”, उहाँले भन्नुभयो, “हामी दुई देशबीचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौँ र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौँ ।” उपसभामुख रानाले नेपाल सधैँ एक चीन नीतिको बलियो समर्थक रहँदै आएको पनि दोहो¥याउनुभयो । “नेपाल सधैँ एक चीन नीतिको बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ”, उहाँले भन्नुभयो, “नेपाली भूमिप्रयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ ।” उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधैँ कदर गर्ने बताउनुभयो । दुई देशले उच्चस्तरीय भ्रमण र कार्यक्रमको नियमित आदानप्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको चर्चा गर्दै उपसभामुख रानाले औपचारिक भ्रमणका क्रममा भएका महत्वपूर्ण निर्णय र सहमतिहरूले द्विपक्षीय सम्बन्ध र सहयोगमा नयाँ गतिशीलता ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो । उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरूबीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राख्नुभयो । चीनका राजदूत छन सोङले चीन–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्व रहेको बताउँदै यसले दुई देशबीचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा चीन र नेपालका विविध संस्कृति झल्कने प्रस्तुति पनि देखाइएको थियो ।
हुम्ला: हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते घएका छन् । चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । चौध क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी घाइते हुनेमा चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहरा रहेका बताउँदै उहाँको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो । सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा घाइते भएका छन् । धनाको टाउको र चरीको शरीरका विभिन्न भागमा चोट लागे पनि उहाँहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए । चालक बडुवाल दुर्घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर चालिस मिटर तल खसेको थियो । मिमी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा खटिएको छ जना प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएको हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताउनुुभयो । उहाँले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरु डा भगवान् कोइराला, डा रघुुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गर्नुभएको थियो । हाल यस कार्यक्रमअन्तर्गत करिब रु ११ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यक्रममा कूल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ । कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।
काठमाडौं: प्यालेष्टिनी इस्लामी समूह (हमास)ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ । समूहका एक अधिकारीले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने बन्धकको सूची तयार भइरहेको र यसलाई ‘कुनै पनि क्षण’ हस्तान्तरण गरिने बताउनुभयो । उहाँले गाजामा देखिएको जटिलता र इजरायली बमबारीका कारण सूची निर्धारण कार्यमा ढिलाइ भइरहेको बताउनुभयो । युद्धविराम वार्तामा सहभागी एक अधिकारीले भन्नुभयो, “कुनै पनि बेला पहिलो तीन कैदीको नाम हस्तान्तरण गरिनेछ, तर फिल्ड स्थितिको जटिलता र निरन्तर बमबारीले यसलाई ढिलो बनाएको छ ।” यसअघि, इजरायलले हमासले सूची हस्तान्तरण गर्न नसकेका कारण युद्धविराममा ढिलाइ भएको बताएको थियो ।
पर्वत: जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो । नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती सुरु गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताउनुभयो । उक्त कार्यक्रमलाई उत्पादनसँग जोड्न यहाँको बाँझो जग्गालाई छनोट गरिएको भन्दै यो क्षेत्र विगतमा कोदोखेतीमा प्रख्यात रहनुका साथै उत्पादनयोग्य जमिन भएकाले पनि प्रशस्त उत्पादन हुने उहाँले उल्लेख गर्नुभयो । बसाइँसराइ, वैदेशिक रोजगारी र शिक्षाका लागि सहर केन्द्रित हुनु, सुविधाको पहुँच विस्तारले यस क्षेत्रको जमिन बाँझो बनेको र अन्य कारणले बाँझो बनेको सुवेदीले बताउनुभयो । बाँझो जग्गालाई सदुपयोग गरी करिब दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको जनाउँदै उहाँले पहिलो चरणमा गरिएको खेतीबाट १६ मुरी कोदो उत्पादन भएको उल्लेख गर्नुभयो । उत्पादित कोदोलाई पुरानो वडा कार्यालयमा भण्डारण गरी राखिएको छ । जसको मूल्य प्रतिपाथीको रु दुई सय ५० निर्धारण गरिएको छ । कोदोको नल करिब ४० भारी रहेको र त्यसको मूल्य प्रतिभारी रु चार सय कायम गरिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो । यो मूल्यअनुसार कोदोको कूल रु ८० हजार र नलको रु १६ हजार गरी नगरपालिकाले रु ९६ हजार आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका सूचीकृत युवालाई यो कार्यक्रममा समावेश गरिएको थियो । युवालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै बाँझो जमिनमा अन्नपात उब्जनी हुने भएकाले यो कार्यक्रम प्रभावकारी देखिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो । स्थानीय हुमनाथ पौडेलले बनमारा र खरले भरिएको बारी सरसफाइ गरी थालिएको खेतीबाट यति धेरै कोदो फल्नुले जग्गा बाँझो छाड्न नहुने सन्देश दिएको बताउनुभयो । यो कार्यक्रमबाट गाउँका करिब २५ महिला र २० जना युवाले काम गर्ने अवसर पाएका उहाँले जानकारी दिनुभयो । राज्यले प्रदान गरेको शःसर्त अनुदानलाई स्थानीय तहले उद्देश्य अनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्वर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादित कृषि उपजको बिक्री गरी पालिकाको आन्तरिक आय वृद्धिका लागि यो अवधारणा तर्जुमा गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । पालिकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको उल्लेख गर्दै उहाँले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेका अवस्थामा यो कार्यक्रमले बाँझो जमिन सदुपयोग हुन थालेको उल्लेख गर्नुभयो । कुश्मा नगरपालिकाले ‘नगरप्रमुखसँग रोजगार कार्यक्रम’ सञ्चालन गरेको छ । नगरका बेरोजगार जनशक्तिलाई विकास निर्माणमा परिचालन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो । सबै बेरोजगार युवालाई आफ्नो सीप र योग्यताअनुसारको कार्यक्रममा आवेदन दिन नगर कार्यालयले आग्रह गरेको छ ।