काठमाडौं:   गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । व...

उदयपुर:     कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ ।  “अहिले पनि केन्द्रमा दुईवटा निलगाई, चार मृगको उपचार गरेर राखिएको छ”, उहाँले भन्नुभयो, “कटारी–१४ बाट ल्याइएको सालक, गाईघाटबाट ल्याएको दुईवटा निलगाईलाई बचाउन सकेनौँ ।” कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो । “घाइते र टुहुरा वन्यजन्तुको उद्धार गरी वनमै छाड्ने वा अन्यत्र राष्ट्रिय निकुञ्जमा पुर्याउने उद्देश्य हो”, अधिकृत साहले यस क्षेत्रका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ आसपासका जिल्लामा केन्द्र नरहेकाले यही केन्द्र प्रयोगमा ल्याइएको बताउनुभयो । यस केन्द्रलाई क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख साहको भनाइ छ । “यसको विकासका लागि एक जनालाई जावलाखेलको चिडियाखानामा तालिम दिएर दक्ष उपचारकर्ता राख्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “अहिले भेटेनरीका डाक्टरबाट उपचार गराउने गरिएको छ, त्यसले मात्रै पनि पशुपक्षी बचाउन सकिएको छैन ।” पर्यटकीय क्षेत्र रहेको सिमसार क्षेत्रमा वन्यजन्तु राखिएकाले यसले पर्यटकलाई समेत आकर्षित गर्ने गरेको वडाध्यक्ष मोहन तामाङले बताउनुभयो ।  वन कार्यालयको सहयोगमा केन्द्र स्थापना गरेपछि यसले पर्यटनको विकासमा पनि साथ पुगेको वडाध्यक्ष तामाङको भनाइ छ । सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा स्थापित सिमसार यस क्षेत्रकै पर्यटकीयस्थल पनि हो ।

काठमाडौं:    नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ ।  क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिनुभयो । चेम्बर एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया,  मलेसिया र पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउने छन् ।  एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री प्रदर्शनमा रहने छन् । स्वदेशी र विदेशी गरी दुई सयभन्दा बढी स्टल एक्स्पोमा राखिने छन् । पाँच दिनसम्म चल्ने एक्स्पोको कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताउनुभयो ।

पोखरा:    लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सव अन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा डायमण्ड माविकी मनिका शाहि प्रथम, रिलायन्स पब्लीक स्कुलकी मनिसा गुरुङ द्धितिय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतिय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भएका छन ।  विजयी प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ ।  पुरस्कार वितरण महोत्सवको मञ्चबाट प्रदान गरिने विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका २७ जना छात्र छात्राहरुको सहभागीता रहेको थियो ।  प्रतियोगिहरुलाई पोखराको कृषि र पर्यटनसँग सम्बन्धीत चित्र कोर्न भनिएको थियो । निर्णायकको भुमिकामा सृजनशिल कलाकार समुहका अध्यक्ष डिबि गुरुङ,मिलन शेरचन र झविन्द्र गुरुङ रहेका थिए ।  ‘‘प्रतियोगितामा विद्यार्थीहरुले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’–संयोजक ढुंगानाले बताए । महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचयपत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पोखरा आँफैमा प्रकृतिको सुन्दर सृजना भएको बताउँदै चित्रकला प्रतियोगिताले विद्यार्थी भाई बहिनीहरुमा पनि सृजनात्मक क्षमताको विकास गराउने वताएका थिए ।  उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराउँदै चित्रकला सँगसँगै महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, नृत्य प्रस्तुतहिरु पनि रहेको बताएका थिए । विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् ।   

कास्की:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको विमानबाट आज प्रवर्द्धनात्मक उडान गरिएको छ ।       पोखराबाट प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, उच्च पदस्थ कर्मचारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित एक सय २६ यात्रु बोकेर ‘एयरबस ३१९’ काठमाडौँ अवतरण गरेको हो ।       यसअघि बिहान चीनको छेन्दुबाट एक सय २९ यात्रु बोकेर पोखरा अवतरण गरेको सिचुवान एयरलाइन्सले पोखराबाट यात्रु बोकेर काठमाडौँ उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक एयरबस पूर्ण क्षमतामा उडान र अतवरण भएको छ ।       प्रवद्र्धनात्मक उडानपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट विमानहरुलाई अन्तर्राष्ट्रिय उडान अवतरणमा कुनै समस्या नरहेको बताउनुभयो ।       विमानस्थलको धावनमार्ग र नजिकको डाँडाका कारणले ठूला आकारका जहाज सञ्चालनमा समस्या हुने दावीलाई प्रवद्र्धनात्मक उडानले गलत सावित गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “पोखरामा एयरबस जुनसुकै राम्रोसँग उडान र अतवरण गर्न समस्या छैन भन्ने पुष्टि भएको छ । अब नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारी र निजी क्षेत्रको सामूहिक पहल आवश्यक छ ।” अधिकारीले सरकारले अरबौँ लगानी गरेर पूर्वाधार तयार गरेकाले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले समेत अग्रसरता लिनुपर्ने  बताउनुभयो ।       नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस् एशोसिएशन (नाटा) गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र मारमा परेको बताउनुभयो । प्रवद्र्धनात्मक उडानले पोखरामा ठूला आकारका जहाज उडान र अवतरणमा कुनै पनि समस्या नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो ।       पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले छिमेकी देशहरु तथा खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।  पहारीले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सञ्चालन नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायी समस्यामा छौँ । ठूलो धनराशी खर्च गरेर बनाएको विमानस्थल व्यावसायिक सञ्चालन हुनुपर्दछ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु आवश्यक छ ।”      पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।      यहाँका पर्यटन व्यवसायी तथा निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सुरु गर्न सरकारसँग निरन्तर माग गरिरहेका छन् । विमानस्थलमा कहिलेकाँही चार्टर उडान भएपनि व्यावसायिक उडान हुन सकेको छैन ।

पोखरा:    पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ । वडा अध्यक्ष तोरणबहादुर बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रहेको बताए । ‘खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम हो ।’ वडाध्यक्ष बानियाँले भने– ‘यो महोत्सवले स्थानीय स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न तथा समुदायमा सकारात्मक सोच र अनुशासनको विकास गर्न योगदान पु¥याउने ठानेका छौँ । स्थानीय युवाहरूलाई सकारात्मक क्रियाकलापमा सक्रिय गराउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको बानियाँले बताए ।  विभिन्न समुदायबीच आपसी सद्भाव, सहयोग र सहिष्णुतालाई प्रवद्र्धन गर्दै समावेशी समाजको निर्माणमा महत्वपूर्ण योगदान दिने लक्ष्य पनि लिइएको छ । खेल संयोजक आशिष भण्डारीले स्थानीय प्रतिभाहरूको पहिचान गरी तिनीहरूको क्षमता विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘अघिल्ला वर्षहरुमा पाएको सफलता र थप अनुभवले यस संस्करणमा खेलकुदको विधा थप्दै पुरस्कार राशीमा पनि वृद्धि गरेका छौँ ।’ उनले भने – ‘करिब दुई हजार खेलाडी विभिन्न खेलमा प्रतिष्पर्धा गर्नेछन् । यो खेलकुदको महोत्सव नै हो ।’ फुटबलतर्फ पुरुष विधामा विजेताले ४० हजार तथा उपविजेताले ३३ हजार ४ सय, विद्यालय स्तरीय छात्र फुटबलतर्फ विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।  यस्तै, भलिबल तर्फ पुरुष र महिला दुवैतर्फका विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार, विद्यालयस्तरीय युनी हक्की छात्र छात्रा दुवै तर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले ६ हजार पाउनेछ । विद्यालयस्तरीय छात्र साइक्लिङतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ४ हजार र सान्त्वना हुने २ जनाले २ हजार प्राप्त गर्नेछन् । सडक दौड पुरुष, महिला, छात्र र छात्रा सबै चार वटै विधातर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार र सान्त्वना हुने २ जनाले ५ हजार नगद पुरस्कार पाउनेछन् । ब्याडमिन्ट डबल महिला र पुरुषतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, सिंगलतर्फ महिला र पुरुष दुवै विधामा प्रथम हुनेले ५ हजार र दोस्रो हुनेले ४ हजार पाउनेछ । महिला रस्साकसीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार पाउनेछन् ।  ह्विलचेयर बास्केटबलमा विजेताले १० हजार र उपविजेताले ८ हजार तथा ह्वीलचेयर दौडमा प्रथम हुनेले ६ हजार ७ सय, दोस्रो हुनेले ५ हजार ५ सय, तेस्रो हुनेले ४ हजार र सान्त्वना २ जनाले २ हजार ७ सय पाउने आयोजकले जनाएको छ । विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने खेल संयोजक भण्डारीले जानकारी दिए । नेपाली यू १९ महिला राष्ट्रिय क्रिकेट टीमकी सदस्य सिद्ध माविमा कक्षा ११ मा अध्ययनरत रचना चौधरीलाई ३४ हजार नगद पुरस्कारसहित सम्मान, खेलाडी प्रोत्साहन अन्तर्गत खेल्छ गण्डकीमा ग्रासरूट टेनिस खेलमा वडाको अमिनतराबाट छनौट भई निरन्तर प्रशिक्षणमा रहेका १० जना खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पौष्टिक सामाग्री वितरण गरिएको छ । हिमालयन लाईफ नेपाल र राइट फर चिल्ड्रेनको थप आर्थिक तथा प्राविधिक सहयोग पनि खेलकुद महोत्सवमा मिलेको वडाले जनाएको छ । 

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित आन्नद साईलाई पक्राउ गरेको छ । प्रहरीले साईलाई मंगलबार पोखरा–१ कस्केरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  ‘पोखरा–१ कस्केरी बस्ने साईले लागूऔषधको कारोवार गर्ने गरेको सूचना पाएका थियौं’, सूचना अधिकारी शर्माले भने, ‘मंगलबार जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखाले साईको घरकोठा खानतलासी गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।  उनका अनुसार प्रहरीले साईको कोठाबाट डाईजापाम ४८ एम्पुल, फेनेरागन ४४ एम्पुल, नुर्फिन २० एम्पुल, ब्रुर्फिन नर्फिन २१ एम्पुल गरी १ सय ३३ एम्पुल र ३ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।  पक्राउ परेका साईको कोठाबाट प्रहरीले बरामत गरेको लागूऔषध पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।    

पोखरा:   गण्डकी प्रदेश सरकारले करार र अस्थायी कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउँदैछ ।   गण्डकी प्रदेश लोक सेवा आयोगको असहमतिबीच प्रदेश निजामती सेवा ऐन २०७९ ले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसैलाई संशोधन गर्न सरकारले अध्यादेशको सहारा लिएको हो ।   प्रदेश सरकारको मंगलबार बसेको बैठकले अध्यादेशसँगै स्वास्थ्य मन्त्रालयका ३ प्रस्ताव पारित गरेको छ । यद्यपी अहिले बिहीबार मध्यान्हसम्म अध्यादेश प्रमाणिकरका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष नपुगेको सचिवालयले जनाएको छ ।   बैठक बस्नुअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई निवासमै गरेर भेटेका थिए । कर्मचारीको अभावमा विकासका काम रोकिएको र पुँजीगत खर्च कम भएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।   मंगलबार बिहान साढे १० बजेतिर प्रदेश प्रमुखको निवासमा पुगेका मुख्यमन्त्री पाण्डेले सरकारमा सहभागी दुवै दलको सहमतिमा अध्यादेश ल्याउन लागिएको जानकारी गराएका थिए ।   मंगलबार बेलुकीपख मन्त्रिपरिषद बैठक बस्ने, बुधबार बिदा भएकाले बिहीबार कार्यालय खुल्नेबित्तिकै प्रमाणीकरणका लागि पठाइने जानकारी उनले प्रदेश प्रमुखलाई गराएका थिए ।   अत्यावश्यक कर्मचारी सेवा करार वा कन्टिन्जेन्सीबाट राख्न सकिनेमा ऐन फेर्न अध्यादेश ल्याइएको हो ।   अध्यादेशका बारेमा सरकारले प्रदेश लोकसेवा आयोगसँग राय मागेको थियो । मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले लोक सेवासँग परामर्श माग्ने निर्णय गरी सोही दिन आयोगमा पठाएको थियो ।   मुख्यमन्त्री निकट स्रोतका अनुसार छिटै कर्मचारी राख्नुपर्ने भएकाले बिलम्ब नगरी राय पठाइदिन मुख्यमन्त्रीले प्रदेश लोक सेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाललाई फोनसमेत गरेका थिए ।   लोक सेवाले २८ गते शुक्रबार सरकारलाई रायसहितको जवाफ पठाएको हो ।   जसमा करारका कर्मचारी भर्ती गर्न कानुनी बन्देज रहेको, बढीमा ६ महिनाका लागि अस्थायी कर्मचारी राख्नका लागि रिक्त दरबन्दी संख्या खुलाएर माग पठाउनु पर्ने राय आयोगले दिएको थियो । तर सरकारले भने आयोगको रायसमेत स्वीकार नगरी आफूखुसी अध्यादेश ल्याएको हो ।   अध्यादेश ल्याउने विषयमा मुख्यमन्त्री पाण्डे सत्ता साझेदार दल एमाले संसदीय दलका नेता खगराज अधिकारीबीच छलफल भएपनि सरकारकै मन्त्रीहरुलाई भने बेवास्ता गरिएको छ । 

पोखरा:    नेपाल मगर संघ गण्डकी प्रदेश समितिको आयोजनामा यही पुस १९ गते पोखरामा गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुने भएको छ ।  नेपाल मगर संघ गण्डकी प्रदेश समितिले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मगर संघ कास्कीको समन्वयमा गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुन लागेको जानकारी दिएको हो ।   नेपाल मगर संघ गण्डकीकी अध्यक्ष तारामाया थापामगरले संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणको लागि महोत्सव आयोजना गरिएको बताइन् ।    ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको छ, नेपालको कुल जनसंख्यामा मगर समुदाय तेस्रो स्थानमा रहेको छ’, अध्यक्ष थापामगरले भनिन्, ‘मगर समुदायको संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरण लागि हामीले पुस १९ गते मगर सांस्कृतिक महोत्सव आयोजना गरेका हौं ।’   पुस १९ गते पोखरा सभागृह हलमा हुने गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशको १० जिल्लामा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने अध्यक्ष थापामगरले बताइन् ।    ‘हामीले पोखरामा आयोजना गर्न लागेको प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशको १० जिल्लामा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै छौं, उनले भनिन्, ‘हामीले पहिलो पटक आयोजना गरेको मगर सांस्कृतिक नृत्यले संस्कार संस्कृति पुस्ता हस्तान्तरण र खोज अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’ उनका अनुसार महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगर समुदायका प्रचलित कौराहा÷कानराहा, झ्याउने÷झाबुरा, कृष्णचरित्र, यानीमाया, पुख्यौली सोरठी, सालैजो, थाली नाच, ज्यू मामै, मारुनी, भुम्या लगायतका सांस्कृतक लोकनृत्यहरु प्रस्तुत हुनेछन् ।    महोत्सवमा गण्डकी प्रदेशका १० जिल्लाका ३ सय ६५ बढी कलाकार र १० हजार बढी दर्शकको उपस्थिति रहने नेपाल मगर संघ गण्डकीले जनाएको छ ।    

पोखरा:     गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  विहिबार मन्त्रालय मातहतको ११ वटै जिल्लाको सामाजिक विकास कार्यालयहरुको कार्यगत प्रगतिको विषयमा जुम मार्फत बुझ्दै मन्त्री थापाले कार्यालयका प्रमुुख सँगै मन्त्रालयका कर्मचारीलाई रिजल्ट आउने गरि काम गर्न निर्देशन दिएका हुन् । “मन्त्रालय मातहतका सबै निकायले गरेका कामहरुको फेहरिस्त चाहियो । प्रदेश सरकारको कामलाई जनताले अपनत्व गर्ने गरि काम गर्नुस् । वित्तिय र भौतिक प्रगतिले नागरिकलाई लाभ मिल्नुपर्यो ।”, उनले भने । मन्त्री थापाले स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेशसँग जति अधिकार छ त्यति नै प्रयोग गरि जनताका आकांक्षा पुरा गर्न कर्मचारीलाई उनले भनेका छन् ।  “समस्या अवश्य छन् तर त्यसको समाधानको बाटो पनि छ । जति अधिकार छ त्यति नै प्रयोग गरि काम गर्नुुस् । जनतालाई सहज हुने बाटोमा आएका समस्यालाई चिर्न म तपाईहरुको साथमा छु ।”, उनले भने । मन्त्री थापाले बेरुजु नआउने गरि काम गर्ने कुरामा जोड दिएका छन् । उनले प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका गतिविधिहरुको प्रचारप्रसारमा समेत ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।  “काम गरेर मात्रै पनि हुँदैन । भएका भौतिक तथा वित्तिय प्रगतिका बारेमा नागरिकलाई जानकारी हुन पर्यो । प्रचारप्रसारमा समेत ख्याल गरौं ।”, उनले भने । उनले पुरानो धारबाट भन्दा पनि नयाँ शैली अप्नाएर काम गर्न कर्मचारीलाई भनेका छन् । मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले प्रदेशको महत्वपूर्ण मन्त्रालय सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालय भएको र सन्तोषजनक काम हुने गरि अगाडि बढ्न ११ जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।  आर्थिक वर्षको ६ महिना मात्रै बाँकी भएकाले काम गुर्नपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सामाजिक विकास कार्यालयमा देखिएको कर्मचारी अभावको विषयमा छलफल भइरहेको र त्यसको पूर्ति हुने गरि मन्त्रालय अगाडि बढेको उनले बताए ।  उपसचिव तोयानाथ लम्सालले विगत भन्दा वर्तमान अवस्थामा मन्त्रालयको काम अगाडि बढेको उल्लेख गरे । स्थानीय तहसँग साझेदारी मोडलमा काम गर्दै अगाडि बढ्न सामाजिक विकास कार्यालयहरुलाई उनले आग्रह गरेका छन् । प्रदेशको ११ वटै जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुले भएको कामको वित्तिय एवम् भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए । साथै उनीहरुले काम गर्दै जाँदा देखिएका समस्या खुलाएका थिए ।