मनाङ: मनाङको माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् । हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताउनुभयो । “हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ”, उहाँले भन्नुभयो, “पानीको काम नै हिउँले गर्छ ।” हिउँ नपरेको बेलामा समेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको उहाँले बताउनुभयो । यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् । किसान सेराप विष्टले मुहानमै पानी जम्ने हुँदा वैकल्पिक तरिकाबाट सिँचाइ गर्न नसकिने बताउनुभयो । “पानीको मुहान लामो दूरीमा हुन्छ, सीमित आयोजनाले पूरा गर्न सक्दैन, धेरै समस्या रहेको छ”, उहाँले भन्नुभयो । ढिला गरी परेको हिउँले स्याउखेती, तरकारी तथा खाद्यान्न उत्पादनमा सहयोग गर्ने उहाँले बताउनुभयो । हिमालमा हिउँ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । पहिले कालापत्थर देखिने हिमालमा हिउँ देखेपछि लोभिन थालेका पर्यटक बताउँछन् । यतिबेलाको समयमा पर्यटक आउनुपर्ने उनीहरू बताउँछन् । समयमा हिमपात भइरहेको अवस्थामा सेताम्मे देखिने हिमालले अझ पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् । जिल्लामा पर्यटक आगमनको याम सुरु भएको छ । दुई याम गरी मनाङमा पर्यटक घुम्न आउने गर्छन् । दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा निस्कन्छन् । लामो दूरीको पदयात्रामा अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्छन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।
म्याग्दी: धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो । धवलागिरि –३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ । छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दायाँबायाँ मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रविधिको पुल निर्माण गरिएको हो । पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लँदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ । यसैगरी बाङखोलाको बाढीले बगाएको मुनाको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पुनर्निर्माण गरिएको छ । गाउँपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट बाङखोला माथि फलामको पुल बनाएर पोलिथिन पाइप राखेर पानी तार्ने व्यवस्था मिलाएको वडाध्यक्ष रोकाले बताउनुभयो । पचास किलोवाट क्षमताको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाबाट पाँच सय ८० घरपरिवार लाभान्वित भएका छन् । दरगाउँ सडक सञ्जालमा जोडियो यसैगरी धवलागिरि गाउँपालिका–३ को दरगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिकाको सहयोगमा दरका बासिन्दाले उपभोक्ता समितिमार्फत गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । गाउँपालिकाको रु २७ लाख अनुदानमा मुुना–मुदी सडकदेखि दर जोड्ने एक किलोमिटर पाँच सय मिटर सडक निर्माण भएको धवलागिरि गाउँपालिका–३ का प्राविधिक दीपेन्द्र थापाले बताउनुभयो । सडक निर्माण भएपछि दरगाउँका एक सय घरपरिवार लाभान्वित भएका छन् । आवतजावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुुजन्य वस्तु निकासीमा सहज भएको छ । दर जोड्ने सडक निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु पाँच लाख, २०८०÷८१ मा रु १३ लाख र चालु आव २०८१÷८२ मा रु १० लाख विनियोजन गरेको थियो ।
पोखरा: गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए । यस्तै गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए । नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसीबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोमा पाण्डेले सडक दुर्घटना न्यूनिकरण गर्नु सबैको दायीत्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कानूनर व्यवहारीक पक्षलाई हेरेर काम गरिरहेको पाण्डेले बताइन् । गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सडकमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए । व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षित गराउन समितिले काम गरिरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले जितेको छ । मनोहर युवा क्लबको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो । जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडानम्बर १९ ले ५५ हजार १४ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सान्त्वना भएको वडा नम्बर २१ र २३ ले २०/२० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विधागत तर्फ वडानम्बर १६ का विजय परियार सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले नगद ७ हजार १४, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ट स्पाइकर नरबहादुर सुनार(जिवन) वडानम्बर १९, उत्कृष्ट लिफ्टर सौरभ गुरुङ वडानम्बर १६, उत्कृष्ट डिफेन्डर बविल गुरुङ वडानम्बर १६ र अनुशासित खेलाडी भुपेन गुरुङ वडानम्बर १९ धोषित भए । उनीहरुले जनही नगद ५ हजार,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको थियो । पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
तनहुँ: सूर्य नेपाल प्रालिले यहाँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो । दुई पालिकालाई रु २६ लाख मूल्यका एक–एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले आफूहरुको सहयोगपश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले अब गाउँगाउँमा बारअनुसार तालिका बनाएर कृषि उपज सङ्कलन गरी बेलचौतारामा निर्माण गरिएको कृषि सङ्कलन केन्द्र सञ्चालनमा ल्याइने बताउनुभयो । किसानले न्यूनतम मूल्यमा कृषि एम्बुलेन्स प्रयोग गर्न पाउने भएकाले व्यावसायिक कृषि उत्पादनमा जोड दिन उहाँले आग्रह गर्नुभएको छ । नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालका लागि महत्त्वपूर्ण सहयोग प्राप्त भएको जानकारी दिँदै केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताउनुभयो । उहाँले गाउँगाउँमा रहेको सामुदायिक भवनलाई कृषि सङ्कलन केन्द्रका रूपमा विकास गरी कृषि उपज बजार ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने बताउनुभयो ।
काठमाडौं: शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहनुभएका निर्देशक कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने बताउनुभयो । “दर्शकको प्रतिक्रिया निकै राम्रो छ, उहाँहरूले अन्य साथीभाइ, घरपरिवारलाई चलचित्र हेर्न सिफारिस गर्छु भन्नुभएको छ । यसले आइतबारदेखि चलचित्रको व्यापार राम्रो हुने देखिन्छ । मेरा लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो”, निर्देशक कँडेलले भन्नुभयो । निर्देशक कँडेलसँगै दर्शक भेट्न पारसबम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुलीलगायत कलाकार चलचित्र भवन पुग्नुभएको थियो । युवाको होस्टेल जीवनमात्र नभई ‘टिनएज’मा आउने उतारचढाव, तन्नेरी पुस्ताको कथा र व्यथा ‘होस्टेल ३’ मा देख्न पाइने ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रूपमा परिचय बनाउनुभएका अभिनेता ठकुरीले बताउनुभयो । “यो चलचित्रमा प्रस्तुत गरिएको विषय र त्यसलाई निर्वाह गर्ने हामी कलाकार उस्तै उमेर समूहका छौँ । यसकारण पनि यो सबै युवाले महसुस गर्न सक्ने चलचित्र बनेको छ भन्नेमा विश्वस्त छौँ । टिकटकरका रूपमा चिनिएर अहिले चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित छु । मैले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गरेको छु”, अभिनेता ठकुरीले भन्नुभयो । विशेषतः यसलाई ‘नयाँ पुस्ता’को चलचित्र भन्न सकिन्छ । नेपाली चलचित्रमा देखिएको नयाँ पुस्ताको कमीलाई ‘होस्टेल ३’ पूरा गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक कँडेलले बताउनुभयो । “म आफैँ निर्देशकका रूपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहेनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा अभिनयका लागि मौका दिएको छु”, उहाँले भन्नुभयो । यस अगाडिका ‘होस्टेल’का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो ।
काठमाडौं: हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ ।
चितवन: पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो । जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
काठमाडौं: युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग छ विकेटले पराजित भएकोे छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नामिबियाले नेपाललाई छ विकेट हराएको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियोे । खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो । नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो । नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् । उनले ३५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाएकी हुन् । यस्तै, जुरिएन डियर्गाड्र्टले ‘नकआउट’ १३ रन बनाइन् । उनले सात बलमा एक चौकासमेत प्रहार गरिन् । नामिबियाका लागि एडेल भान जिलले आठ, सुन विटम्यानले सात, यास्मिन खानले छ र विल्का म्वाटिलेले नकआउट पाँच रनको योगदान दिइन् । नामिबियाले अतिरिक्त छ रन प्राप्त गर्यो । नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान एक÷एक विकेट हात पारे । त्यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो । नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारेका थिए । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार युगान्डासँग खेल्नेछ । त्यस्तै, फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।

