काठमाडौं:  नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...

पोखरा:   कास्कीको मादी गाउँपालिका ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पुरा भएको छ ।   माघ ४ देखि  ६ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयुत्त मुल आयोजक समितिको संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए ।   ‘महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्णले आ–आफ्नो जिम्माको काम पुरा गरिसक्नुभएको छ’ संयोजक गुरुङले भने, ‘महोत्सव अवलोकन गर्न आउने अतिथि पाहुनाहरुलाई हामी स्वागत गर्न आतुर छौ ।’   महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गर्ने संयुक्त मुल आयोजक समितिका सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए ।   सो अवसरमा थुम्सीकोट देखि गहते मिजुरे पाखुरीकोट नाघीधार पोसी सम्मको सडक स्तरोन्नतीका लागि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङलाई माग पत्र पेश गर्ने कार्यक्रम समेत रहेको संयोजक तथा स्थानिय जनप्रतिनिधि समेत रहेका ओमप्रकाश गुरुङले जानकारी दिए ।   नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।   महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिक झाकि सहितको ¥याली निकालिने छ । ३ दिनसम्म चल्ने उक्त महोत्सवमा ५ हजार  दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।   नागीधार गाउँको विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव हुन लागेको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।   महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय उद्घाटन, समाजसेवी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौतारा उद्घाटन गरिने कार्यक्रमसमेत तय गरिएको छ ।   महोत्सवमा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटर नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने आर्थिक उपसमिति संयोजक प्रकाश गुरुङले जानकारी दिए ।   त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा खुल्ला वक्तित्वकला प्रतियोगिता राखिएको सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होम बहादुर गुरुङले जानकारी दिए ।   भद्रकाली काँहुखोला बाट भैसे, भगवतीटार, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमिको दुरीमा नागीधार गाउँ सवारीसाधन बाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङले जानकारी दिए । त्यस्तै पोखरा–२६ बिजयपुर बाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ भने पोखरा–३१ बेगनास बाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ ।     पोखराबाट थुम्सीकोट सम्म २० किमि सडक पिच रहेका छन् भने बाँकी १५ किमि कच्ची रहेका छन् । हाल नागीधार र पाखुरीकोट गाउँमा केहि होम स्टेहरु र स्थानीय होटेलहरु समेत सञ्चालनमा रहेका छन् ।

पोखरा:  माघ दोस्रो सातादेखि शुरु हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।   फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो ।   गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।   अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक भने, गण्डकीले महिला टोलीलाई सहभागी बनाएको छैन।   पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ६-६ टोलीले सहभागिता जनाउँदै छन् ।   माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने चल्ने प्रतियोगिताको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।   टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा हुन लागेको प्रतियोगिताको उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनःनिर्माण भइसकेको छ भने दुई संरचना पुन: निर्माण हुन बाँकी छ ।   उक्त सम्पदा पुन:निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । राणकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुन:निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “भारत सरकारको सहयोगमा पुन:निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।   ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुन:निर्माण अघि बढेको छ ।” करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो ।   उहाँका अनुसार उक्त मन्दिरको पुन:निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।   भूकम्पले क्षति पु-याएका केही संरचना पुन:निर्माण भइ उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरुको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो ।   उहाँका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रुपमा चिनिने देगुतलेजु मन्दिर पुन:निर्माण सम्पन्न भएको छ ।   विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुन: निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरुको सहयोगबाट पुन:निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ । 

पोखरा:    कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे सक्रान्ती मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् ।    यो उपाधिसँगै उनी २०६५ सालयता ८ पटक विजयी बनिसकेका छन् । बुधबार सम्पन्न प्रतियोगितामा स्याङ्जा टकसारका निरजले विजेता बन्दै नगद ४५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै बागलुुङ निसिखोलाका बालकुमार विरही दोस्रो भए । उनले ४० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता दुवैलाई सम्मान गर्दै गाउँ परिक्रमा गराइएको थियो ।  सिक्लेस युवा क्लबले आफ्नो ३० औं वार्षिकोत्सव तथा सिक्लेस माघे सक्रान्ति मेला २०८१ को आयोजना समेत गरेको छ ।     यस्तै मेलाको मुख्य आकर्षकको रुपमा खुल्ला पुरुष भलिबल र खुल्ला पुरुष बास्केटबल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ ।  उक्त प्रतियोगिताको  विजेताले समान एक–एक लाख रुपैयाँ पाउनेछन् । उपविजेता हुने टिमले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।   खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने गुरुङ भाषा नृत्य प्रतियोगिताको विजेतालाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ ।   दोस्रो हुनेलाई ४५, तेस्रोलाई ३० हजार रुपैयाँ र उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य निर्देशकलाई समान पाँच–पाँच हजार रुपैयाँसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  सिक्लेस पोखरादेखि ४० किलोमिटरको दुरीमा रहेको छ ।   २०५२ सालमा स्थापित क्लबले निरन्तर रुपमा सञ्चालन गर्दै आएको मेला माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।   प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।   साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो ।   चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।

काठमाडौं: आशिका तामाङ पक्राउ परेकी छन्।   प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हाे ।   पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई स्वयम्भू क्षेत्रबाट बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।   कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो।   अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो।   हाल उनलाई प्रहरी वृत्त गौशाला ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोखरा:  विगत ४७ वर्षदेखि छोरेपाटन माविले सञ्चालन गर्दै आएको छोरेपाटनस्थित पातले छाँगोको प्रवेशद्वारमा महानगरपालिकाले तालाबन्दी गरेको छ ।    पोखरा महानगरले माघ १ गतेदेखि पातले छाँगोको सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिने भन्दै तालाबन्दी गरेको हो ।   यद्यपी स्थानीयले भने विरोध गरेका छन् ।   विरोधकै क्रममा उनीहरुले मेयर धनराज आचार्य, प्रवक्ता मोति तिमिल्सिना, पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगी विरुद्ध नाराबाजी पनि गरे ।   महालेखापरीक्षकको कार्यालयले राजस्व संकलन सम्बन्धि सम्पूर्ण काम महानगरपालिकाले नै गर्नुपर्ने आदेश दिएपछि छाँगो महानगर आफैले सञ्चालन गर्न लागेको बताइएको छ ।   महानगरपालिकाले विभिन्न संरचना निर्माणसमेत गर्ने गरी निजी कम्पनीलाई भाडामा दिने सम्झौता गरेको हुँदा विद्यालय सञ्चालनको आम्दानी टुट्ने भन्दै स्थानीयले विरोध गरेका थिए ।   गतवर्षमात्र उक्त छाँगोबाट करिब ४ करोड ४५ लाख ३४ हजार आम्दानी भएको बताइएको छ ।  

खोटाङ:   नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।   शाखाको जिल्ला कार्यसमितिको मङ्गलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो ।   जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकारिता पेशामा टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए ।   पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासङ्घ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिने निर्णय भएको उनले जानकारी दिए । रासस

तनहुँ:   व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् ।   आफूहरूले उत्पादन गरेको गाईभैँसीको दूध ढुवानी गर्न मासिक रु ५५ हजारभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक नै किनेको स्थानीय अगुवा किसान तथा दुम्सी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताए ।   मझौला ट्रक खरिद गर्दा रु २३ लाख ४० हजार र ट्रकको छत बनाउन रु एक लाख ५० थप खर्च भएको उनको भनाइ छ ।   'अनुदानमा ट्रक चाहियो भन्ने कुरा पनि भएन । दूध ढुवानी गर्न मासिक भाडा खर्च धेरै जाने भएपछि ट्रक नै किन्ने निधो गर्यौँ’, उनले भने, ‘अब ट्रक नै किनेपछि दूधमात्र नभई कृषि उपजसमेत बढाई नजिकै रहेको दमौली बजारमा बिक्री गर्ने योजना बनाएका छौँ।’   ट्रक किनेपछि आफूहरूले सात किलोमिटर दूरीमा रहेको व्यास–९ गजौडमा दुग्ध उत्पादनका लागि उपशाखा सञ्चालन र व्यास नगरपालिका–१० मा सुपथ मूल्य पसल सञ्चालन गरिएको अर्का किसान डिल्लीराम शर्माले बताए । आफूहरूले पनि कृषिबाली बढाउन विभिन्न कार्यक्रम गर्ने योजना बनाएको उनको भनाइ छ ।   ‘अब दूधमात्र नभई कृषिबाली उत्पादनमा पनि हात हाल्ने निधो गरेका छौँ’, उनले भने, ‘अब किसानकै ट्रक भएपछि हामीलाई ढुवानीमा समस्या हुने कुरा भएन।’ किसानले किनेको ट्रक यही माघ १ गतेदेखि चलाउने जिम्मेवारी आफूलाई प्राप्त भएको स्थानीय चालक बुद्धिमान दरैले बताए ।   ट्रक सञ्चालन गर्ने योजना बनाएपछि तत्काललाई विदेश जाने योजना पनि त्यागेको चालक उनको भनाइ छ ।   ‘घरमै परिवारसँग बसेर ट्रक चलाउन पाएकामा खुसी छु’, कृषक समूहमा आबद्ध रहेका चालक दरैले भने, ‘अब गाउँमै कृषि क्रान्ति होलाजस्तो छ त्यसैले विदेश जाने योजना तत्काललाई त्यागेको छु।’ किसानले किनेको ट्रकको व्यवस्थापन भने दुम्सी दुग्ध उत्पादक सहकारीमार्फत गरिने स्थानीय किसान तथा उक्त सहकारी संस्थाका सहायक व्यवस्थापक कृष्ण रिजालले जानकारी दिए ।   ‘सहकारीमार्फत नै ट्रक सञ्चालन गर्ने किसानको छलफलले टुङ्गो लगाएको छ’, उनले भने, ‘निश्चित मापदण्ड बनाएर ट्रक सञ्चालन गरिने तयारीमा छौँ।’ स्थानीय गाईभैँसीपालक पाँच सय ८४ किसानबाट दैनिक उत्पादित तीन हजार लिटर दूध दमौलीस्थित जिल्ला दुग्ध उत्पादक सहकारी संस्थामा बिक्री हुँदै आएको छ।   ट्रक खरिद गरेपछि तरकारी बालीसमेत प्रवर्द्धन गरी किसानलाई राहत प्रदान गर्ने योजना बनाइएको रिजालको भनाइ छ । दमौली पुग्न चार किलोमिटरको दूरी तय गर्नुपर्छ ।   किसानले ट्रक खरिद गरेको जानकारी पाएपछि मङ्गलबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दुम्सीमै पुगेर किसानका कामको प्रशंसा गरे । उनले दुम्सीका किसानको मेहेनतबाट अन्य किसानले पनि प्रेरणा लिनुपर्ने बताए ।