काठमाडौं:  नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...

काठमाडौं:    वायुसेवा सञ्चालक सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउनसक्ने जनाएको छ ।       सङ्घका अध्यक्ष मनोज कार्कीले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमाथिको प्रतिबन्ध कायमै रहेको भन्दै यही माघ ९ गतेसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु जिल्लाभित्र सम्पूर्ण हवाई सेवाहरु पूर्ण रुपमा स्थगन गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।      खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न सङ्घ प्रतिबद्ध रहेको सङ्घले जनाएको छ ।  हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धले वायुसेवा सञ्चालन कम्पनीहरुलाई ठूलो आर्थिक नोक्सानी हुने भन्दै सङ्घले यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।      हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउनेलगायतका पर्यटकहरुले आफ्नो गन्तव्य परिवर्तन गरी अन्य मुलुकतर्फ जाने भएकाले सङ्घले निर्वाद उडान सञ्चालनको माग गरेको छ । त्यसो नभए कोभिड महामारीपछि विस्तारै लयमा फर्किएको पर्यटन व्यवसाय नै धाराशायी हुनुका साथै विदेशी मुद्रा आर्जन तथा राजस्वमा असर पर्ने सङ्घको भनाइ छ ।       राष्ट्रिय निकुञ्ज, नेपाल नागरिक उड्डयन प्राधिकरण र यस सङ्घको अनुरोध समेतलाई हवाई सेवा सञ्चालनका सम्बन्धमा कानुनले प्रत्यायोजन नगरेको अवस्थामा गाउँपालिकाले प्रचलित कानुनको उल्लङ्घन गरी हेलिकप्टर सेवा सञ्चालन माथि गत पुस २५ गते जारी गरेको विज्ञप्तिप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।      सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा सङ्घसंस्थाहरुले निकुञ्जको बफर जोनमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भनेपछि सङ्घले गत पुस १७ गतेदेखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने घोषण गरेको थियो ।      नेपालमा हवाई सेवा नियमन गर्ने निकायले हवाई सेवा रोक्न नपर्ने लिखित निर्देशन दिँदा सो सम्बन्धमा उक्त निकायसँग सङ्घका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि कुनै निक्र्यौलमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा अवरोध सृजना गरिएको सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । 

नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।   गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।   नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्य र नेपाली सेना विरदल गण गौरको संयोजनमा आँखाको परीक्षण तथा शल्यक्रिया गरिएको विरदल गणका प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिए ।   शिविरमा तीन हजार पाँच सय १० को आँखा परीक्षण, सहुलियतमा चस्मा प्रदानलगायत सेवा उपलब्ध गराइएको उनले बताए । अधिकारीले शिविरमा चन्द्रपुर, गुजार, राजपुर, गरुडा र गढीमाइ नगरपालिकाका स्थानीयले सेवा लिएका उल्लेख गरे ।   यसैबीच नेपाली सेनाले चन्द्रपुर–७ मा रहेको जनता आधारभुत विद्यालयमा निमार्ण गरिएको शौचालय विद्यालयलाई हस्तान्तरण गरेको छ ।   नयाँबस्तीमा रहेको उक्त विद्यालयमा नेपाली सेनाको सहयोगमा निमार्ण भएको चार कोठे शौचालय हस्तान्तरण गरिएको प्रमुख सेनानी अधिकारीले जानकारी दिए । 

बेनी नगरपालिका– १ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।   अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्राह्मणलगायत जातजातिको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् ।   पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् ।   स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत दुई सयदेखि ३५० सम्म लिने गरेको बताए ।   ‘मसँग १५ जोर मगर ड्रेस छन्,’ उनले भने, ‘दिनमा १० देखि १५ जनाले भाडामा लैजानुहुन्छ ।’ रेस्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिर पनि खिचिदिने गरेका छन् । एउटा तस्बिर खिचेबापत रु. २० लिने गरेको थापाले बताए ।   रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन् ।   केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।   कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।   कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको यहाँ भिड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।   यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताए । उत्तरतिर सेता हिमशृंखला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् ।   रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३८८ मिटर लामो झोलुङे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो । 

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका छन् ।   प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।   प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन् ।   प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन् ।

बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहर बजार झर्नेको सङ्ख्या ठूलो छ ।   सेवा सुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । बनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूख बिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।   दशक अगाडिसम्म रमाइला गाउँ बस्ती अचेल रित्तिएर उराठ लाग्दा छन् ।   झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ ।   घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठे खोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ ।   बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका-५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतंक भने बढ्दै गएको उनको भनाइ छ ।   पहिले जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे । “गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्य बाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,” उनले भने, “कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुपर्‍यो ।”   काठे खोला गाउँपालिका-५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गरे ।   हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ ।   गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए । उनले भने, “हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुपर्‍यो, गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ ।”

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ ।   बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरूलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दूरीको र्‍याफ्टिङ सञ्चालन गरिएको हो ।   नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताए ।   पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन गर्दै आएका छन् । 'महोत्सवमा आउने दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको छ, छोटो दूरीमा न्यूनतम शुल्क लिएर र्‍याफ्टिङ सेवा प्रवाह गरेका छौँ', उनले भने ।   बेनीस्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति आठ सय र बगरफाँटबाट दोभानसम्म छ सय शुल्कमा र्‍याफ्टिङ गर्न सकिने जनाइएको छ ।   नदीको आसपासका पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीले कालीगण्डकी नदीमा र्‍याफ्टिङका लागि उत्तम मानिने गाइड सन्तोष गिरीले बताए ।   उनले जलयात्रामा रमाउन चाहनेहरूको समूह बनेमा लामो दूरीमा समेत र्‍याफ्टिङ सञ्चालन गर्न सकिने जानकारी दिए ।   तत्कालका लागि दुईवटा आठ–आठजना यात्रु क्षमताका बोट सञ्चालन गरिएका छन् । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम बेनी हुँदै मालढुङ्गाबाट नयाँपुल भएर मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ ।   म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बेनी आसपासको क्षेत्रमा जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।   बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँपुल भएर मिर्मी पुग्न सकिनेगरी र्‍याफ्टिङ सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए 

रामपुर:   पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ ।   लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षांैदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ ।   जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले यहाँ बनेको पुलले विशेष गरी निस्दी ४ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको बताए ।   उनका अनुसार पूर्वपश्चिम राजमार्गमा करिव आधा घण्टाको दूरीमा पुग्न सकिने हुँदा व्यापारिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण मेरुदण्डका रुपमा पुल रहेको छ ।   पुल सेक्टर पोखराका आयोजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीले दुई स्पान रहेको पुल मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु १६ करोड ४९ लाख ५७ हजार चार सयको लागतमा निर्माण गरिएको बताए ।   गण्डकी प्रदेश तनहुँको भिमाददेखि लुम्बिनी प्रदेश पाल्पाको रामपुर–मित्याल हुँदै अरुणखोला सडकअन्तर्गत पुनः गण्डकी प्रदेशकै नवलपुर क्षेत्र जोड्ने सडक योजना छ । सो योजनाअन्तर्गत नवलपुर खण्डमा भने सडक स्तरोन्नतिको काम भएको छ भने पाल्पा खण्डमा बाँकी छ ।   भिमाद रामपुर मित्याल अरुणखोला जोड्ने गरी २०७६ सालमा ट्रयाक खुलेको हो । यस सडक स्तरोन्नतिको काम सम्पन्न भई चालु भएपछि भने छोटो यात्रा तथा गाउँ र सहर जोडिने हुँदा यसलाई महत्वपूर्ण सडकमार्गको रुपमा हेरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् ।   जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएक हुन् ।   हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए ।   उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।   तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्केका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए । 

पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता शुरु भएको छ ।    प्रतियोगिताको पहिलो दिन बुधबार सेन्ट मेरिज स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ । बुधवार सेन्ट मेरिजले बालकन्याण, कालिका मावि र अमरसिंह मावि (बि )लाई पछाडि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।   १४ टिमको सहभागीता रहेको विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार  कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ४ गते शुक्रबार बेसलाइन ई. बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा रहने छ ।   माघ ५ गते सरस्वती ई. बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई. बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक  स्कुलबीच प्रीतस्पर्धा रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   प्रचार प्रसार संयोजक दिनेश सुनारका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   सातौं दिन सम्म आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवमा दर्शकको आगमन संगै महोत्सवमा राखिएका स्टलहरुमा समेत ब्यापार बढेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।   महोत्सवमा बुधवार लोक तथा दोहोरी गायिका अस्मिता अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्न लिएका थिए । अधिकारी संगै चोलेन्द्र पौडेल, तारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारीको दोहोरी प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने  राजेन्द्र गिरी ९गुन्दु्रके०को हाँस्यब्यङ्ग्य प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए । साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।   महोत्सवको आठौं दिन लोक दोहोरी तर्फ लोक तथा दोहोरी गायक बद्री पंगेनी, चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा ९ म्याकुरी० को प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   महोत्सवमा युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि स्व. राम बहादुर थापाको स्मृतीमा जेष्ठ नागरिक समाज नेपाल कास्कीको अक्षयकोषको ब्याजबाट नगद पाँच हजार १ सय संस्थाका सचिव ईच्छा बहादुर वाग्लेसहित छोराहरु शान्त बहादुर थापा, सुनिल बहादुर थापा र शुशिल बहादुर थापाको उपस्थितीमा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई प्रदान गरिएको थियो ।