तनहुँ: भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो । नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उहाँले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ । “वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएपछि यस्तो निर्माण गरेको हुँ, नगरवासीलाई सहज यात्रा गर्ने वातावरण बनाउने दायित्व पूरा गरिरहेको छु”, नगर प्रमुख त्रिपाठीले भन्नुभयो । काम छिटो पूरा गर्न ठेकेदारलाई निर्माण सामग्री खरिद गर्नको लागि रकम अभाव नहोस् भनेर नगर प्रमुख त्रिपाठीले रकम भुक्तानी दिएको भानु –१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार नगर प्रमुख त्रिपाठीले निर्माणको लागि आवश्यक इन्धन जमानी बसेर ठेकेदारलाई उपलब्ध गराउनुभएको छ । ठेकेदारलाई काम गर्न सहज होस् भनेर रु १५ लाख बराबरको सिमेन्टको समेत जमानी लिई व्यवसायीसँग निर्माण सामग्री लगेर काम दु्रत गतिमा काम भइरहेको वडाध्यक्ष अधिकारीले बताउनुुभयो । “नगर प्रमुखले ऋण लिएर ठेकेदारले रकम दिएसँगै काम तदारुकताका साथ काम भइरहेको छ”, उहाँले भन्नुभयो । सरकार प्राप्त हुने भुक्तानी आउन समय लाग्ने भएकाले काम प्रभावित नहोस् भनेर भानु –२ स्थित भानु बचत तथा ऋण सहकारीमा खेत धितो राखेर रु १० लाख ऋण लिएर ठेकेदारलाई भुक्तानी दिएको नगर प्रमुख त्रिपाठीले बताउनुभयो । “रकम अभाव भएमा ठेकेदारले समयमा काम पूरा गर्दैन, वर्षा लागेपछि काम गर्दा प्रभावकारी हुँदैन, समयमा नै काम पूरा गर्नकै लागि ऋण लिएर सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो । भानु नगरपालिका–१ सतीघाटस्थित ६ रोपनी खेत धितो राखेर सहकारीबाट रकम दिएको त्रिपाठीले स्वीकार्नुभयो । पेटी ठेकेदारको रुपमा काम गर्दै आउनुभएका राजेन्द्र पराजुलीले नगर प्रमुुखले ऋण निकालेर सहयोग गरेपछि तीव्र रुपमा काम गरी छिटो सम्पन्न मद्दत गर्नुभएको बताउनुभयो । ठेक्का सम्झौता भएको लामो समयसम्म यस मार्गको निर्माण कार्यमा प्रगति हुन नसकेपछि पूर्वाधार विकास कार्यालय तनहुँले काठमाडौँस्थित शङ्करमाली कन्ट्रक्सनसँग तोडिएको ठेक्का पेटी ठेकदारको रुपमा काम गरिरहनुभएका पराजुलीलाई जिम्मा दिइएको हो । पटक–पटक म्याद थप गर्दा समेत सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ । भानु–१३ को चन्द्रावती बजारदेखि पोखरीछाप, ठूल्ढुङ्गासम्म दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । अलपत्र कामलाई तीव्रता दिन पहल ऋण लिएर पूरा गर्न लागिएको हो । उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका कामका लागि विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । बर्सातका समयमा सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले सास्ती खेप्दै आएकाले छिटो सम्पन्न गर्न नयाँ ठेकेदारलाई सहयोग गरिएको उहाँले बताउनुभयो । वडाध्यक्ष अधिकारीका अनुसार नयाँ ठेकेदारले जिम्मा लिएपछि हाल करिब ८० प्रतिशत सडक निर्माणको काम पूरा भएको छ । चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगर प्रमुख र वडाध्यक्षले व्यक्तिगत रुपमा रकम उपलब्ध गराइदिएपछि काम गर्न सजिलो भएको ठेकेदार राजेन्द्र पराजुलीले बताउनुुभयो । शङ्करमालीले काम गरेको रकम भुक्तानी नदिएपछि रकम अभावले काम प्रभावित हुने जानकारी नगरपालिकामा गराएपछि व्यक्तिगत रुपमा रकम दिएर काम गर्न सहज भएको उहाँले बताउनुभयो । मिर्लुङ बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक कुशलचन्द अधिकारीले सडकको दूरावस्ताले दैनिक उपभोग्य सामग्री बजारसम्म पु¥याउन र ल्याउनमै समस्या परिरहेको बेला जनप्रतिनिधिको सहयोगमार्फत सडक निर्माणले गति लिएको बताउनुभयो । उहाँले सडक स्तरोन्नतिको लागि दिनरात खटिएपछि कामले गति लिन थालेको बताउनुभयो । “यस वर्ष पानी पर्दा हिलोमा चिप्लिने र नपर्दा धुलोले हैरान भएको बेला कालोपत्रको कामले गति लिन थालेसँगै स्थानीयवासीमा खुसी छाएको छ”, उहाँले भन्नुभयो । यस वर्ष समयमा नै सडक निर्माण सम्पन्न भएपछि यस भेगका स्थानीयवासी सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि सहज यात्रा गर्ने आशामा रहेका स्थानीयवासी कालोपत्रको कामले तीव्रता पाएपछि हर्षित भएका हुन् ।
सोलुखुम्बु: सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रदान गर्नुभयो । वडाअध्यक्ष महलसिं राईको सिफारिसमा नागरिकता वितरण गरिएको थियो । जिल्लाका कुनै पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोस भन्ने उद्देश्यअनुरुप राईलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ नागरिकता पाउनबाट बञ्चित हुनुभएको रहेछ, जसले गर्दा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुभएको रहेछ ।” राईका बुवाआमा सानैमा मृत्यु भएका कारण नागरिकता बनाउन नसकेको वडाध्यक्ष महलसिंह राईले बताउनुभयो । अत्यन्त न्यून आयस्तर भएका वृद्धाको घर नभएका कारण कटेरामा बस्दै आउनुभएको छ । “उहाँको आफ्नो भन्ने कोही छैन, घरसमेत नभएका कारण सानो कटेरामा बस्दै आउनुभएको छ, यसभन्दा अघि पनि नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी उल्झनका कारण सम्भव भएको थिएन तर यो पटक सिडिओ साबले सहजीकरण गर्दिनुभयो नागरिकता दिलाउन सम्भव भयो ।” वडाध्यक्ष राईले भन्नुभयो । गोटाल मनिका एक छोरा छन् । बावुको पत्ता नलागेका उक्त छोराको नागरिकता बनाउनसमेत आमाको नागरिकता आवश्यक पर्ने भएकाले वडा कार्यालयको पहलमा नेपाली नागरिकता दिलाइएको स्थानीयले बताए । विसं २०१३ साल असार १७ गते जन्ममिति रहेको राईको आर्थिक अवस्था अत्यन्त कम्जोर छ ।
सिन्धुली: सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर शहरमा भविष्य खोज्न हिँडेका केही युवा हतारोमा छन्, कोही गफमा मस्त । चिया पसलकै एउटा कुनामा भेटिनुभयो पुजन बस्नेत । उहाँ तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुनुहुन्छ । २२ वर्षीय बस्नेतले सूचना तथा प्रविधि (आइटी)मा स्नातक गर्नुभएको छ । उहाँसँग वेबसाइट डिजाइन गर्ने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर सीप अनुसारको काम र कमाइ छैन । बस्नेतले जिल्लामै केही गर्ने सोचले साथीसँग मिलेर व्यवसाय गर्ने प्रयास गर्नुभयो । तर लगानीको अभावले सम्भव भएन । बैङ्कले कर्जा पत्याएन, परिवारको आर्थिक अवस्था कमजोर थियो । उहाँले भन्नुभयो, “लगानी छैन । विना धितो बैङ्कले कर्जा दिँदैन । त्यही भएर अब विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु भन्ने सोचेको छु ।” रोजगारीका लागि विदेशिने निर्णय उहाँको रहर नभएर बाध्यता हो । त्यसो त उहाँले स्थानीय तहमा ‘आइटी अफिसर’का लागि धेरै ठाउँमा आवेदन दिनुभएको थियो । १५ पटक परीक्षा दिनुभयो । लिखितमा नाम निस्कियो, तर मौखिकमा निस्किएन । हुन त पुजनले जिल्लास्थित एक संस्थामा काम गरिरहनु भएको छ । तर श्रमअनुसारको पारिश्रमक नपाउँदा उहाँमा नैराश्यता छाएको छ । विहानदेखि रातीसम्म काम गर्दा पनि रु १० हजार मासिक तलब समयमा नपाउने गरेको उहाँको गुनासो छ । यो केवल बस्नेतको कथा मात्र होइन । उहाँ जस्ता धेरै युवाहरु यही बाध्यताले विदेशिँदा जिल्लाका ग्रामीण क्षेत्रमा पानी भर्ने, खेतबारीमा काम गर्ने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवा देखिन छाडेका छन् । बिबिएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया सविना दनुवार पनि यस्तै दोधारमा हुनुहुन्छ । उहाँ पढाइलाई निरन्तरता दिने वा अधुरै छाड्ने भन्ने अन्योलमा हुनुहुन्छ । “घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले भन्नुभयो । सविनाका साथीमध्ये कोही अस्ट्रेलिया, कोही दुबईमा छन् । उनीहरूसँग कुराकानी हुन्छ । विदेश गएर दुःख गरे यहाँभन्दा कमाई राम्रै छ, भन्ने भनाइले सविनालाई त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ । पुजन र सविना त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित विदेश पठाउने कन्सलटेन्सीमा विद्यार्थीको भीड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट गएको पाँच वर्षमा २८ हजार ६५२ युवाले राहदानी बनाएको देखिन्छ । आर्थिक वर्ष ०७७ देखि ०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालकाअनुसार गएको दुई वर्षमा वर्षेनी १० हजार युवा जिल्लाबाट विदेशिएका छन् । वैदेशिक रोजगार र पढाइको सिलसिलामा विदेशिएका ती युवाको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भएपनि फर्किएकाको तथ्याङ्क सम्बन्धित निकायसँग छैन । सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीकाअनुसार १६ वर्ष यता रोजगारीका लागि विदेश गएकामध्य १५१ जनाको विभिन्न कारणले उतैै मृत्यु भएको छ । ११ वर्ष यता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भइ फर्किएका छन् । यसरी फर्किनेमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेका रहेको पाइएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेकाअनुसार, सरकारले सीप भएकासमेतलाई उचित अवसर प्रदान गर्न सकेको छैन । स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन ।
काठमाडौं: हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
काठमाडौं: काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन् । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०÷३५ की महिला यही फागुन २४ गते बिहान ११।५० बजे मृत फेला परेकी थिइन् । प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गएको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिको सङ्लग्नता खुल्न आएकोले उपत्यका स्थित विभिन्न स्थानबाट निजलाई जिल्ला प्रहरी परिसर काठमाडौँसमेतको प्रहरी टोलीले पक्राउ गरेको थियो । आरोपीलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
गण्डकी: पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सुधार र सेवा विस्तारसँगै पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ । पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा दिइएको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो । दैनिक सरदर तीन सय बिरामी आउने उक्त केन्द्रमा जनशक्ति र उपकरण पनि थप गरी सेवालाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा जनशक्ति र उपकरणको अभाव रहँदै आएको थियो । यसअघि प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन हुँदै आएकामा अहिले त्यसलाई छुट्टाछुट्टै कोठाबाट सञ्चालन गरिएको उहाँले बताउनुभयो । महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधासम्पन्न बनाउन पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो । “प्रयोगशाला सेवा अनलाइन प्रणालीबाट सञ्चालनमा आइसकेको छ, भिडियो एक्सरेका लागि उपकरण ल्याउने प्रक्रिया अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई पोखरा महानगरपालिकाकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन सकिन्छ ।” केन्द्रले प्रयोगशाला परीक्षणको ‘रिपार्ट’ अनलाइन प्रणालीबाट घरमै हेर्न सकिने सुविधा दिएको छ । “क्यूआरबाट प्रयोगशालाको रिपोर्ट मोबाइलमै हेर्न सकिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “अहिले इसिजी जाँच सेवा पनि थप गरिएको छ, थाइराइडका जाँचका लागि उपकरणको खाँचो छ ।” बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवालाई थप व्यवस्थित बनाउन लागिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालित छ । केही समय अघिसम्म अस्तव्यस्त देखिने उक्त केन्द्रमा गत मङ्सिरदेखि पूर्वाधार व्यवस्थापन र सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको हो । घेराबार नहुँदा केन्द्रको भवन परिसर सवारीसाधन पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने स्थलका रुपमा प्रयोग हुँदै आएकामा अहिले पर्खाल र प्रवेशद्वारा निर्माण गरिएको छ । स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो । बिरामीको चापअनुसार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको संख्या अपुग रहेको छ । १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन नसकेको प्रमुख सुवेदीले बताउनुभयो । उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् । बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको छ । केन्द्रमा स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतन आदि सेवा उपलब्ध छन् । प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । केन्द्रले बहिरङ्ग सेवा, खोप तथा पोषण सेवा, एकीकृत बालरोग व्यवस्थापन, परिवार नियोजन सेवा, सुरक्षित मातृत्वलगायतका सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्किनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उहाँलाई स्वागत गरेका थिए । पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस किसिमको कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो । पोखरा केन्द्रित भई आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौँ आउनुभएको हो ।
पोखरा: आगामी चैत्र १ गतेदेखि ५ गतेसम्म पोखरा महानगरपालिका ४ चिप्लेढुंगास्थित आरके बिल्डिङमा सञ्चालित ए वान गाउँशहर दोहोरी साँझ एण्ड रेष्टुरेन्ट प्रालिले पाँचौ वार्षिकोत्सवको आयोजना गर्ने भएको छ । लोक संस्कृतिको उजागर गर्ने उद्देश्यसहित सञ्चालित दोहोरी साँझले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव आयोजना गर्न लागिएको सञ्चालक शिव गुरुङले जानकारी दिए । उनका अनुसार ५ दिन सञ्चालन हुने उक्त कार्यक्रम साँझ ७ बजेदेखि बिहान २ बजेसम्म सञ्चालन हुनेछ । विविध सांस्कृतिक कार्यक्रममा गायक कृष्ण सुवेदी, कृष्ण गुरुङ, ज्योती लोहनी, सरुन गुरुङ, रमा राना, शोभा परियार, केश बहादुर गुरुङ, निता गुरुङ, ममता गुरुङ, भानु पौडेल, उमेश अधिकारी, सिम्रन, रश्मी सुनार, आँचल थापा, मनिष गायक र ममता सुनारको बेजोड प्रस्तुती रहने गाँशहर दोहोरी साँझले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले ११५ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा टपरी गाँस्ने र धूपबत्ती बाट्ने प्रतियोगिता सम्पन्न गरेको छ । ‘सबै महिला तथा बालिकाहरुका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित वडा भित्रका महिला समूहहरुबीच प्रतियोेगिता आयोजना गरिएको वडाध्यक्ष राधिका कुमारी शाहीले जानकारी दिइन् । उनका अनुसार टपरी गाँस्ने प्रतियोगितामा छिमेकी आमा समूह विजयी बन्यो । यस्तै जनजागरण आमा समूह द्वित्तिय, लगनशिल आमा समूह तृतीय र संकल्प आमा समूहले सान्त्वना स्थान गर्याे । ति समूहले क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । टपरी गाँस्ने प्रतियोगितामा कुल २१ आमा समूहको सहभागिता रहेको थियो । यस्तै धूपबत्ती बाटनेतर्फ शितलपथ महिला समूह प्रथम बन्यो । ड्यामसाइड टोल विकास आमा समूह द्वित्तिय, छिमेकी आमा समूह तृतीय र श्रीराम जानकी शान्तिपथ आमा समूहले सान्त्वना स्थान हाँसिल गर्याे । उनीहरुलेपनि क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । धूपबत्ती बाटने प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गरेका थिए । विजयी तथा उपविजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथीसमेत रहेकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ वडाका जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा बोल्दै पोखरा महानगरकी उपप्रमुख गुरुङले उक्त कार्यक्रमले महिला सशक्तिकरणको पक्षमा सघाउ पुर्याउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा पनि वडाबासीलाई सशक्तिकरण बनाउने खालका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेकी थिइन् । कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, वडासदस्य विक्रम गुरुङ, पोखरा-१७ का वडासचिव सुरेन्द्र शर्माका साथै सहभागीका तर्फबाट शितलपथ आमा समूहका अध्यक्ष सुमित्रा लम्साल र छिमेकी आमा समूहका अनिता पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं वडासदस्य विष्णुकुमारी थापा भुजेलले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन वडाका कर्मचारी तिर्सना बरालले गरेकी थिइन् ।

