काठमाडौं:   गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । व...

चितवन:     तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो । यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ ।    महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ । मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन् ।   उद्योग वाणिज्य सङ्घ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिइएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ, यसको उपभोग बढाउन, व्यवसाय प्रवर्द्धन गर्न तेस्रो खैरहनी महोत्सवमा विशेष प्राथमिकता दिएका छौँ ।”       महोत्सव आयोजक समितिका संयोजकसमेत रहनुभएका खनालले चितवनको खैरहनी, राप्ती र कालिका नगरपालिकामा पर्याप्तमात्रामा मौरीपालन गरिँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार खैरहनीमा मौरी पकेट कार्यक्रम पनि लागू छ ।  यसैबीच खैरहनी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज अस्मिता अधिकारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारले साङ्गितिक प्रस्तुती दिनुहुने मेला सांस्कृतिक समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिनुभयो । पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ ।  

पोखरा:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ ।       अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो ।      चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।       चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।

पोखरा:    रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४/२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिइएको छ । रोटरी डिस्ट्रीकले समेत नेपाल भरिनै भिआइए परिक्षण लाई महत्व दिएर अगाडी बढ्ने योजना गरिरहेको अवस्थामा थप टेवा पुरÞ्याउने योजनाका साथ तयारीमा जुटेको हो । स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दीपेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले २०१० डिसेम्बर २४ का दिन स्थापित रोटरी क्लव अफ पोखरा न्युरोडको आज जन्मोत्सवको अवसरमा हरेक बर्ष सामाजिक कार्य गर्दैै आएको बताउनुहुदै महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहँुच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने बताउनुभयो । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्नु उपयुक्त हुने बताउनुभयो । समुदायमा यस परिक्षणको बारेमा सचेतना फैलाउनका लागि पनि यो अभियान अगाडि बढाएको उहाँको भनाई थियो । उहाँले यस किसिमका कार्यक्रम जनसमुदायमा पुर्याउन रोटरी क्लब एउटा दरिलो माध्यम बन्न सक्ने बताउनुहुदै प्रतिफल पनि सोही अनुसार आउनेमा विश्वस्त रहेको बताउनुभयो । रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमको घोषणा गरिएकोे बताउनुभयो । सो क्लबका पूर्व अध्यक्ष सुवास सिग्देलले गण्डकी मोडकल कलेजबाट सम्बन्धित डाक्टर सहितको प्राविधिक टिमले यस भिआइए परिक्षणमा सहयोग गर्ने बताउनुभयो । यस अभियानमा पोखरा महानगरपालिकाका विभिन्न वडा, पालिका सँगै विभिन्न जिल्ला संग सहकार्य र सहयोगको अपेक्षा गर्दै यो कार्यलाई अगाडी बढाउने र लक्ष्य भन्दा बढी संख्यामा भिआइए परिक्षण गर्ने योजना आयोजकको रहेको छ ।

कैलाली:    जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु २ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।  २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका उहाँले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहनुभएको हो । उहाँले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक रु ४ देखि रु ५ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । रानाले भन्नुभयो, “तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन । सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनु परेको छैन ।  ८ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ ।” उहाँले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताउनुभयो ।रानाका अनुसार बिक्री कम हुँदा दैनिक रु १ हजार ५ सयसम्म र बढीमा रु २ हजारसम्म आम्दानी भइरहेको छ ।  उहाँले भन्नुभयो, “तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ । स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्ये आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मन्यता जग्गा बाँझो राख्नु हुँदैन भन्ने हो ।”  मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उहाँको भनाइ छ ।सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताउनुभयो । ८ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका बन्धुले सबै खर्च कटाएर वार्षिक रु ३ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “तरकारीखेतीबाट घरखर्च राम्रै चलेको छ, दैनिक खर्चका लागि अरुसँग ऋण माग्नु पर्दैन । दश जनाको परिवारको सबै खर्च यसैबाट भइरहेको छ । दैनिक रु १ हजारदेखि रु १ हजार ५ सयसम्म तरकारी बिक्री हुन्छ ।” भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताउनुभयो । “स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नु पर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्”, उहाँले भन्नुभयो ।  समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उहाँको भनाइ छ ।पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ । तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन् ।

गुल्मी:    जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।  ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।  “पालिकाभित्र रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धनमार्फत आम्दानी गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो, “रोजगारी सिर्जनाका लागि जिपलाइन निर्माण गरेका हौँ ।” अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलो पटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । छत्रकोटले निर्माण गरेको जिपलाइन सबै मिलेर सञ्चालन गर्नुपर्ने भन्दै उहाँले र अन्य पालिकाले पर्यटन पर्वद्धनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  “यहाँ निर्मित जिपलाइनमार्फत पर्यटकलाई थप आकर्षित गर्न अन्य स्थानीय तहले पर्यटकीय पूर्वाधार निर्माण गरेमा जिल्लामा नै पर्यटक भित्राउन सकिन्छ”, अध्यक्ष पाण्डेले भन्नुभयो । उहाँका अनुसार निर्मित जिपलाइनमा दुई टावरबीचको दूरी नौ सय ६० मिटर रहेको छ भने कूल लम्बाइ एक हजार ८० मिटर र उचाइ ६७ मिटर छ । जिपलाइनमा प्रतिसेकेण्ड १५ देखि २० मिटर दूरी पार गर्न सक्नेछ । सुरु स्टेशनबाट ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताउनुभयो । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय भने फरक पर्नेछ । प्रमुख प्रशासकीय अधिकृत पुरीले रु ८६ लाख ७३ हजार १ सय ४४ मा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले जिपलाइन निर्माण सम्पन्न गरेको हो ।  यसबाट यात्रा गर्न पालिकाबासीलाई रु ४ सय, विद्यार्थीका रु ३ सय, छत्रकोटभन्दा बाहिरका नागरिकलाई रु ५ सय र विदेशी नागरिकका रु १ हजार ५ सय शुल्क तोकिएको पालिका कार्यालयले जनाएको छ । जिपलाइनमा चढ्ने प्रत्येक पर्यटकका लागि रु १० लाखको बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो । हाल पालिकाले सञ्चालन गर्ने जिपलाइनको दिगो सञ्चालनका लागि पालिकाले निजी क्षेत्रलाई दिनेगरी तयारी भइरहेको भन्दै केहीदिनमा बोलपत्र आह्वानको तयारी गरिएको उहाँले बताउनुभयो । जिपलाइन निर्माण भएसँगै पर्यटन प्रर्वद्धन हुने र रोजगारीका अवसर प्राप्त हुने भन्दै स्थानीय खुसी भएका छन् । स्थानीय उत्पादनको बजारीकरण, पर्यटक प्रवर्द्धनका साथै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा स्थानीयले गरेका छन् । “जिपलाइनले यस क्षेत्रमा थुप्रै मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौँ”, स्थानीय भुवन भुसालले भन्नुभयो ।  जिपलाइनको नजिकै रिडी–तम्घास सडक पर्दछ । यहाँ वनभोजका लागि थुप्रै आन्तरिक पर्यटक आउने सम्भावना रहेको भन्दै भुसालले धार्मिक आस्थाका हिसाबले चोयघा मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन पनि बढ्ने उहाँले बताउनुभयो ।  

पोखरा:    लेखनाथ पत्रकार मञ्चले पत्रकारिताबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका पत्रकारमध्ये प्रत्येक वर्ष १ जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएकोमा यसपालि ऋषिकान्त पौडललाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ । पुरस्कार छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालिन  अध्यक्ष भीमपाणि बराल रहेका थिए । दुई दशक अघि गोल्डेन आइ टेलिभिजनबाट पत्रकारिता सुरु गरेका पौडेल हाल रेडियो नेपालमा आबद्ध छन् । पौडेलले कान्तिपुर टेलिभिजन, एभि न्यूज टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक,पोखरा टेलिभिजन लगायत संचार संस्थामा आवद्ध भई समाचार संकलन तथा सम्पादनको माध्यमबाट लेखनाथ क्षेत्रको उनन्यनका लागि कार्यगरिसकेका उनी लेखनाथ पत्रकार मञ्चका संस्थापक सदस्य तथा सल्लाहकार समेत भइसकेका छन् । उनले पोखराका पहिलो पत्रकार स्व. जगन्नाथ सिग्देलको स्मृतिमा सन्चालित हिमदुत पत्रकारीता पुरस्कार, यातायात व्यवसायिक पत्रकारिता पुरस्कारका साथै विभिन्न सामाजिक संघ संस्थावाट पुरस्कार समेत पाइसकेका छन् पौडेल नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत हुन् । उनी पोखरा महानगरपालिका वडा नंं. ३१, पचभैयाका स्थायी वासिन्दा हुन् । यसअघि सो पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल,  सरिता तिमिल्सेना र दीपक परियार सम्मानित भइसकेका छन् । पुरस्कार १५ पुसमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गरिनेछ ।

सर्लाही:     सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।  क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।  बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ ।  उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । 

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ । भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु हो । ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उक्त मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएका उल्लेख गर्नुभएको छ ।  साथै उहाँले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

इलाम:    जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् ।  पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला, संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । याक्थुङ युवा मञ्चले १ सय जना लिम्बू युवालाई आफ्नो समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ) सिकाइरहेको छ ।  लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाममा १५ दिने च्याब्रुङ नाच प्रशिक्षण पनि सञ्चालन गरेको छ ।  लिम्बू समुदायको कला, संस्कृति र परम्परा लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि युवा पुस्तालाई जागरुक गराउन च्याब्रुङ नाच प्रशिक्षण आयोजना गरिएको याक्थुङ युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताउनुभयो ।  “आफ्नो संस्कृतिका बारेमा युवा पुस्तालाई सचेत गराएर मात्र संस्कृति जोगाउन सकिन्छ”, अध्यक्ष योङहाङले रासससँग भन्नुभयो, “हामी त्यही अभियानमा छौँ ।”  याक्थुङ युवा मञ्चका सहसचिव एवं प्रशिक्षण संयोजक उमेश सेलिङ लिम्बूले इलाममा लिम्बू समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।  “जिल्लामा हुने विभिन्न सभा–सम्मेलनमा च्याब्रुङ नृत्यका लागि अनुरोध हुन थालेको छ”, उहाँले भन्नुभयो, “कला र संस्कृतिको संरक्षण र विकासमा लाग्दा आम्दानी पनि हुने भएकाले त्यसतर्फ युवा पुस्ता आकर्षित भएका छन् ।”  च्याब्रुङ सिक्न माङसेबुङ गाउँपालिका–२ बाट इलाम आउनुभएकी सावित्रा लिम्बूले “हाम्रा अग्रजले बचाएको मौलिक कला र संस्कृति हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “यो पहिचानलाई बचाउन हाम्रो पुस्ता लाग्नुपर्छ ।” पाँचथरको फिदिम नगरपालिबाट च्याब्रुङ सिक्न आउनुभएका अर्का प्रशिक्षार्थी नोगेन लिम्बूले मौलिक संस्कृति र परम्पराप्रति युवा पुस्ताको चासो कम हुँदै गएकाले त्यसप्रति उनीहरुलाई आकर्षित गर्न प्रशिक्षणमा सहभागी भएको बताउनुभयो ।  च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रमले आदिवासी लिम्बू समुदायको कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नयाँ पुस्तामा पुस्तान्तरणमा सहयोग पुग्ने किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष पदम ताम्लिङले बताउनुभयो ।