पोखरा:  पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिता सुरु भएको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा आजबाट प्रतियोगिता सुरु भएको हो ।  युगपुरुष विपि कोइरालाको ४३ औं स्मृति दि...

विराटनगर:    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताउनुभएको छ ।  कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’ को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पार्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्त्वपूर्ण उलब्धि हासिल भएको चर्चा गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिनुभयो ।  नेपालले ऋणको भार बढ्न नदिन विआरआई सम्झौताबाट विभिन्न परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एमाले र कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ, कांग्रेसले कुनै पनि अपठ्यारो हुने काम गर्ने छैन ।” ग्रामीण क्षेत्रमा पार्टीलाई बलियो बनाएमा मात्र कांग्रेस बलियो हुने बताउँदै सभापति देउवाले ग्रामीण क्षेत्र तथा स्थानीय तह बलियो भएमा मात्र कांग्रेसले विजय प्राप्त गर्न सक्छ भन्नुभयो । उहाँले सम्मेलनबाट पार्टीले महत्त्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।  पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै यसका लागि स्थानीय तहसम्म व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।  उहाँले भर्खरै सम्पत्र भएको उपनिर्वाचनको परिणाम पार्टीका निम्ति सकारात्मक एवं उत्साह जनक भएको उल्लेख गर्दै संविधान संशोधनको अगुवाई पनि कांग्रेसले नै लिने बताउनुभयो । पार्टीका महामन्त्री गगनकुमार थापाले विधिको शासन स्थापना गर्न एमाले र कांग्रेसबीच समीकरण भएको बताउँदै संविधान संशोधनको लागि समीकरणमा रहेका दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो । कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने धारणा राख्दै पार्टीमा एकता हुनु आवश्यक छ भत्रुभयो ।  उहाँले पार्टीलाई सुसङ्गठित एवं प्रभावकारी बनाउन नेतादेखि कार्यकर्तासम्म एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै संविधान र व्यवस्थालाई रक्षा गर्न यो राजनीतिक समीकरण भएको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषयमा व्यापक छलफल हुनुपर्ने जिकिर गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्गठन सुदृढीकरणका लागि सम्मेलन फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाको सभापतित्वमा भएको सम्मेलनमा कांग्रेसका नेताहरू विजयकुमार गच्छदार, डा शशांक कोइराला, डा प्रकाशशरण महत, राजीव कोइराला, अमृत अर्याल, सरिता प्रसाईं, डिला सङ्ग्रौला, गोमा भट्टराईलगायत नेताहरूले सम्मेलन सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।

सुनसरी:    सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित टिप्पर गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नंको टिप्परले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयोे ।       टिप्परको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै ३ः३० बजे मृत्यु भएको उपरीक्षक तिमल्सिनाले बताउनुभयो । उक्त घटनापछि स्थानीयले टिप्पर आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उहाँले बताउनुभयो ।       ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका–१६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सरीलाई इलाका प्रहरी कार्यलय देवानगञ्ज सुनसरीले नियन्त्रणमा लिएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ ।  माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आज यहाँ दोस्रो अधिवेशनको उद्घाटन गर्दै यहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राख्नुभयो ।        अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताउनुभयो ।  विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गर्नुभयो । अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । यसैगरी उहाँले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।  अध्यक्ष दाहालले देशभर निराशा छाएको बेला विसं २०७९ मा नौवटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताउनुभयो ।  

काठमाडौं:    स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ ।  नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उहाँलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको जानकारी दिनुभयो ।  श्वास फेर्न समस्या भएपछि गएराति नै उहाँलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।  विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो  ।

पोखरा:    पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । उनले पोखरामा चरक अस्पतालले गुणस्तरीय सेवा दिइरहेको बताउँदै अझ प्रगति र स्तरीय सेवा दिन सकोस् भन्ने वार्षिकोत्सवमा शुभकामना व्यक्त गरे । मुटु जाँच शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर काठमाडौंका मुटुरोग विशेषज्ञद्वय डाक्टर अनील भट्टराई, डाक्टर सूर्य देवकोटा र डाक्टर साहेवकुमार जैसवाल, डाक्टर अभिनव प्रधानले निःशुल्क रुपमा मुटु सम्बन्धी परामर्श दिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए । उनका अनुसार ‘म जाँच्छु मेरो मुटु’ भन्ने नाराका साथ आयोजित शिविरमा ओपिडी र इसिजी सेवा निशुल्क थियो भने ल्याब जाँचमा ३० प्रतिशत र मुटुको भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पोखरेलले बताए । चरक मेमोरियल हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष इन्जिनियर बुद्धिराज अधिकारी, डाक्टर अनिल भट्टराई र डाक्टर सूर्य देवकोटा, अस्पतालका प्रमुख कार्यकारी अधिकृत कमलराज ढकाल लगायतले चरक हस्पिटल र पोखराको स्वास्थ्य क्षेत्रको बारेमा बोलेका थिए ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन ।  शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्यटन सँग जोडेदै समग्र प्रदेशको विकास गरिने बताएका हुन । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कर्भड हल र रंगशालाको स्तरोन्नतीको लागी प्रदेश सरकारले केही न केही सहयोग गर्ने बताएका थिए । उनले पोखरालाई पर्यटकिय राजधानी घोषणा गरिएको अवस्थामा अन्य क्षेत्रको साथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा चिनाउन चाहेको बताउँदै प्रदेशभित्रका खेलकुद एवं पर्यटकिय पुर्वाधारहरु निर्माणमा प्रदेश सरकार लागिरहेको बताए । प्रदेश सरकारले मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदान निर्माण गरि संसारभरका खेलाडीहरुलाई ल्याएर खेलाउने योजना समेत सुनाए ।   ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिएका थिए । उत्त अवसरमा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पुर्णता नपाएको बताउँदै यसमा प्रदेश सरकारको ध्यानार्कषण गराएका थिए । यसैविच शनिवार  भएको उद्घाटन खेलमा आयोजक आर्दश क्लबले विजयी शुरुवात गरेको छ । आदर्श युवा क्लव र एन्फा तनहुँका विचमा भएको खेलको पहिलो हाफको ४१औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले  डि एरियाबाट गरेको पहिलो गोल नै निर्णायक बनेको हो । खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै अग्रता लिएको आदर्श युवा क्लबले खेलको दोस्रो हाफमा पनि रक्षात्मक रुपमा खेलेको थियो भने खेल जित्ने दवावमा रहेको एन्फा तनहुँले निर्धारीत समयमा गोल फर्काउन नसकेपछि आयोजक नै विजयी भएको हो । शनिवार भएको खेलको म्यान अफ दी म्याच आदर्शका सजिन मगर घोषित भएका छन् । उनलाई वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले नगद पाँच हजार पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत आईतबार नेपाल आर्मी सिद्धिदल गण र शसस्त्र प्रहरी बल गण्डकी मुख्यालय विच प्रतिष्पर्धा हुनेछ । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड,मेड र प्रमाण पत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाईएको छ ।

​​​​​​​​पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु केवल परम्परागत धर्मग्रन्थ मात्र नभएर नेपाली समाजका सांस्कृतिक धरोहर रहेको बताउनुभएको छ ।   मुक्त फाउण्डेशन पोखरा र गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिवसीय ऋग्वेद र हिमालयः दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै प्रमुख अतिथि भट्टले ऋग्वेद एवं अन्य पूर्वीय वाङ्मयका सम्बन्धमा वस्तुगत अध्ययनको नयाँ परम्परा स्थापित गर्न यस्ता सम्मेलनले सघाउ पुग्ने बताए ।   संस्कृति र पर्यटन मूल मन्त्रका साथ ऋग्वेदीय परम्परा र हिमालय क्षेत्रका विविध संस्कृतिहरुसँगको यसको सम्बन्धको गहिरो अन्वेषण गर्ने लक्ष्यका साथ दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गरिएको आयोजकले जनाएको छ ।   देश विदेशका स्कलर्स, रिसर्चर सहभागी सम्मेलनमा ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयाम, हिमालय संस्कृति र पर्यटनका बारेमा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गरिने र विद्वत छलफल गरिने कार्यक्रम छ ।   प्र​देश प्रमुख भट्टले नेपाल लगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे गरिने विचार मन्थन फलदायी हुने विश्वास लिँदै सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै धर्म, संस्कृति तथा पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुनेमा आशावादी रहेको बताउनुभयो ।     वैदिक ज्ञान एवं आधुनिक समाज विज्ञानका ज्ञाताहरुका बीचमा वस्तुगत अध्ययनका लागि सहकार्यको नयाँ सम्भावना खुलेको बताउँदै प्रदेश प्रमुख भट्टले यस्ता सम्मेलनले हिमाली समाज र संस्कृतिका मूल्य र मान्यताको जागरणको ढोका खुल्ने उल्लेख गर्नुभयो ।     ‘हिमालय क्षेत्रको सांस्कृतिक तथा धार्मिक परिदृश्यलाई गहिरो रुपमा प्रभाव पारेको ऋग्वेद, मानव जातिको सबैभन्दा पूरानो र र प्रभावशाली ग्रन्थहरुमध्ये एक हो । मानवताको संरक्षण र पृथ्वीको संरक्षण जस्ता सार्वभौम सिद्धान्तमा आधारित यस ग्रन्थ २१ औं शताव्दीमा मानवमूल्यहरूको संकट सामनाका लागि सहयोगसिद्ध हुने ठानी आयोजकले सान्दर्भिक र समयसापेक्ष विषयमा आयोजना गरेको यो सम्मेलन महत्वपूर्ण छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।   ऋग्वेदीय सिद्धान्तहरूको पुनरावलोकन र पुनर्जीवन प्रदान गर्ने उद्देश्यका साथै हिमालय संस्कृतिमा परेको प्रभाव र आधुनिक चुनौतीहरुको समाधानको लागि सम्भाव्य अन्वेषण गर्ने प्रयासले मूर्त रुप लिन सकोस् भनी उहाँले शुभेच्छा प्रकट गर्नुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची पनि बोल्नुभएको थियो ।   सम्मेलनका विशेष वक्ताहरुमा प्राडा विणा पौडेल, छक्क बहादुर लामा, प्राडा कृष्णचन्द्र शर्मा, प्राडा विनोद पोखरेल, प्राडा ऋषिराम रेग्मी रहनुभएको छ ।     माया तिम्सिना, डा. महाश्रम शर्मा, सचिव कुलमान सिंह गुरुङ्ग, डा. रिपु कुँवर, समाजशास्त्री विष्णु बसेललगायतले पनि आफ्ना धारणा राख्नुहुनेछ ।   आयोजक मुक्त फाउण्डेशनका दामोदर त्रिपाठीका अनुसारकार्यक्रममा २८ वटा कार्यपत्र प्रस्तुत गरनेछ ।   वैदिक ज्ञानको पवित्रीकरण र हिमालय क्षेत्रमा साँस्कृतिक/सम्पदा अन्तराष्ट्रिय पर्यटनको सम्भावना दुई विषयमा प्यानल छलफल हुनेछन् । सम्मेलनको अन्तमा कार्यक्रमको उपलब्धिसहित भावी रणनीतिका सम्बन्धमा पोखरा महानगरका मेयर र विज्ञहरुका बीचमा विशेष छलफल हुने कार्यक्रम रहेको उनले जनाए ।   

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताएका छन् ।   शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल भएको उल्लेख गरे ।   मन्त्री थापाले गण्डकी प्रदेशमा पनि सीमान्तकृत समुदाय, महिला र युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उल्लेखिय काम भएको बताए ।   “गण्डकी प्रदेशमा हामीले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न प्रयासहरू गरिरहेका छौं”, उनले भने, “हामीले रोजगारका अवसरहरू सिर्जना गर्न मात्र होइन स्थानीय स्तरमा सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र खेलकुद गतिविधिहरू मार्फत युवालाई सशक्त बनाउन पनि काम गरिरहेका छौं।”   मन्त्री थापाले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनमा बजेट अभाव र संरचनागत समस्या भएकाले चुनौति थपिएको बताए ।   ग्रामीण क्षेत्रका जनतालाई रोजगारीका अवसर उपलब्ध गराउन समन्वयको खाँचो भएको भनाई उनको छ ।   स्थानीय, प्रदेश र संघ सरकारले समन्वयात्मक तवरले उक्त कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।   “संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच अझ राम्रो समन्वय आवश्यक छ । साथै निजी क्षेत्र र अन्य साझेदारहरूको सहभागिताले उक्त कार्यक्रमलाई अझ सुदृढ बनाउन सकिन्छ ।”, उनले भने ।   गण्डकी प्रदेश सरकार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक सुरक्षाको प्रत्याभूति दिन, आर्थिक अवसरहरू सिर्जना गर्न र दीर्घकालीन विकासका आधारहरू तयार गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका प्रमुख सचिव रघुराम विष्टले नेपालको संविधानले नै रोजगारी हकको ग्यारेण्टी गरेकाले यसको आवश्यकता र औचित्यलाई मध्यनजर गर्दै अगाडि बढनुपर्ने बताए ।   जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्न सके मात्र सफलता मिल्ने बताए ।   वैदेशिक रोजगारीका क्रममा देखिएका ठगीका विषयलाई व्यवस्थापन गर्न कार्यगत एकताको खाँचो रहेको भनाई उनको छ ।   पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले रोजगारसँग जोडिएको विषयमा सरकार संवेदनशील हुन आवश्यक रहेको र महानगर समेत त्यसै अनुरुप लागिरहेको बताए ।   बरेङ गाउँपालिकाका रोजगार संयोजक केशव राज क्षेत्रीले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो र विपन्न सँग जोड्ने कार्यक्रम भएको अनुभव सुनाए ।   कार्यक्रम निर्देशक प्रदीप कुमार कोइरालाले गण्डकीमा हुने दुई दिने समीक्षा कार्यक्रममा गण्डकीका ११ जिल्लाका ८५ वटै पालिकाका रोजगार संयोजकहरुको उपस्थिति रहेको जानकारी गराए ।   उक्त कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताका विषयमा गहन छलफल हुने भनाई उनको छ । 

लेखनाथ:    पोखरा–१८ खपांैदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्नुहुन्छ । जाल थापेर निस्केका माछा बिक्री गर्न उहाँ पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ ।    उहाँले भन्नुभयो, “तेह्र वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छदै बित्नुभयो, दुई छोरा छन्, उनीहरु पनि भिन्दै बस्छन्, छोराहरुले जाल थापेर मारेका माछा बिक्रीकोर जान्छु । पछिल्ला वर्ष जालमा माछा पर्न पनि कम भइसकेको छ, दशौँ वर्ष भयो स्थानीय जातमा शहर, असला र नैनी माछा देख्न पाइएको छैन, फेवातालमा माछा घट्दा हाम्रापेसा सङ्कटमा परेको छ ।”   पोखराको फेवाताल किनार खपौंदी, वैदाम, गाईघाट जलारी समुदायको एक सय परिवार रहेको मध्य एक दुई परिवार ति मध्य एक दुई परिवारबाहेर अन्य सबै यही पेसामा आबद्ध छन् ।  हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले फिरन्त जीवन स्थापित त भयो तर यो समुदायमा गरिवी भने हट्न नसकेको जनाउँदै पछिल्ला वर्ष फेवाताल वरपरका खेतमा विषदीको प्रयोग हुँदा माछा लोप भएका कारण जलारीका पेसा थप सङ्कटमा परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।   आयातित माछाकै कारण रैथाने माछा सङ्कटमा पारेको र पछिल्ला वर्ष जालमा माछा पर्न कम भएपछि जलारीका पेसालाई बचाउन स्थानीय सरकारले फेवातालका माछा संरक्षणमा जोड दिन आवश्यक भएको उहाँले बताउनुभयो ।  फेवाताल संरक्षण गर्दे परम्परागत रुपमा माछा मार्ने पेसामा सम्लग्न जलारी समुदायको जीविको पार्जनका लागि पनि तालमा बढीभन्दा बढी माछाका भुरा छाडेर सहयोग गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।  पछिल्ला वर्षमा स्वास्थ्य प्रति मानिसहरु सचेत हुँदा स्थानीय जातको माछा प्रयोगमा आकर्षण बढेकाले सरकारले पनि यस्ता माछाको सङ्ख्या वृद्धि र संरक्षणमा जुट्नुपर्ने भनाइ उहाँको छ ।  फेवाताल किनारमा बसोबास गर्ने जलारी समुदायका आधिकांश युवा माछा मार्ने व्यवसायमा छन् भने केही रोजगारीका लागि खाडीमुलुकमा भएका छन् भने पुरानो पुस्ता भने यही पेसामा छ । फेवातालबाहेक बेगनास तालमा पनि केही मात्रमा जलारी समुदाय माछा मार्ने व्यवसायमा नै लागेका छन् ।  जलारी दिदीबहिनी समूहकी अध्यक्ष मीना जलारीले जालमा परेका माछाले जीविको धान्न कठिन हुन थालेको जनाउँदै अहिले एक परिवारको भागमा दैनिक दुई केजी माछा पनि मुस्किलले पर्ने गरेको बताउनुभयो ।  माछाको मूल्य जातअनुसार प्रतिकेजी चार सयदेखि एक हजार पाँच सय रुपैयाँ सम्मका छन् तर अधिकांश माछा तिलिपिया भएकाले मूल्य निकै कम हुने बताउनुभयो ।  जलारी समुदायका महिलाको जीवनस्तर सुधार गर्न राज्यले अन्य बाटाहरु खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  फेवातालमा जलारी समुदायबाहेक अन्य व्यक्तिले लुकिछिपी बल्छी थापेर माछा मार्ने गर्दै आएकाले त्यस्तो कार्यलाई रोक्न समेत उहाँले आग्रह गर्नुभयो ।  मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मोहमत इक्वाल हुसेनले पोखराको फेवातालमा २४ प्रजातिका माछा रहेको जानकारी दिँदै फवातार वरपरको खेतबारीमा प्रयोग भएको विषादीका कारण माछाहरु मात्र सङ्कटमा परेका छैनन् त्यसवाट आश्रित जलारी समुदायका पेसा समेत सङ्कटमा पर्दै गएको भनाइ उहँको छ ।  पोखराको फेवातालमा मत्स्य अनुसन्धान केन्द्र तथा विभिन्न सङ्घ संस्थाले वार्षिक १० देखि १२ हजारको सङ्ख्यामा विभिन्न जातका माछा छाड्ने गरेको बताउनुभयो ।