काठमाडौं: नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो । आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा.शैल रूपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिनुभएको हो । उक्त अवसरमा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
पोखरा महानगरपालिका वडा नं. १२ कार्यालयले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ । वडाले स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको एशियाकै ठूलो मानिएको शालिग्राम शिला सेतीवेणीमा वडाका ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको हो । विशेषगरी वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकोले पनि विशेष दिन पारेर निःशुल्क रुपमा वडाले सेतीवेणी लैजाने व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । सेतीवेणीको शालिग्राम शिलालाई विष्णु भगवानको अवतारका रुपमा लिने गरेको पाइन्छ । शालिग्राम शिलामा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्यस कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, बालाचतुर्दशी, नववर्ष, ठूला एकादशीमा भक्तजनहरुको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् । यसअघि वडाले लमजुङ जिल्लाको करापुटारमा रहेको प्रसिद्द धार्मिक स्थल इशानेस्वर मन्दिरमा ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको थियो । त्यसैगरी, ज्येष्ठ नागरिकको घरघरमा पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण गर्दै आएको थियो । त्यतिमात्र नभै वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने गरेको वडाध्यक्ष बास्तोलाले बताए । वडाले बालबालिकादेखि ज्येष्ठ नागरिक सम्म विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडाले बजेट नै छुट्याएर कार्ययोजना बनाइ वडा सचिव शारदा सापकोटाको नेतृत्वमा सेतीवेणी पठाएको हो । पछिल्लो समय पोखरा १२ ले अन्य वडाको तुलनामा विभिन्न राम्रा कामहरू गर्दै आइरहेको छ ।
काठमाडौं: आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर । लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो । सङ्क्रमण पुष्टि भएको पाँच वर्षसम्म पनि उहाँ लागुऔषधबाट मुक्त हुन सक्नुभएन । २०६३ सालमा एक पुनःस्थापना केन्द्रको सहयोगमा उहाँ दुव्र्यसनीबाट मुक्त हुनुभयो । त्यसयता खड्का विभिन्न सामाजिक संस्थामा आबद्ध भइ सङ्क्रमितका हितमा वकालत तथा परामर्श दिँदै आउनुभएको छ । एचआइभी सङ्क्रमण भएकै कारण विभेद र लाञ्छना भोग्नुपरेको सङ्क्रमित सँग धेरै अनुभव छन् । २३ वर्ष अघि खड्काको एक दुर्घटनामा हात भाँचिएको थियो । उहाँ उपचारका लागि अस्पताल पुग्दा रिपार्टमा सङ्क्रमित भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले ‘प्लाष्टर’ गर्नुपर्नेमा ‘ब्यान्डेज’ मात्र गरेर पठाइदिएका थिए । जसले गर्दा उहाँको एउटा हात अझै राम्रो अवस्थामा छैन । खड्का एचआइभी सङ्क्रमितप्रतिको दृष्टिकोण पहिले र अहिलेमा आकाश जमिनको फरक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मलाई सङ्क्रमण पुष्टि भएको त्यो समय र अहिले फरक छ । समाजमा लाञ्छना भोगिरहेका होलान् तर पहिले भन्दा निकै कम छ ।” उहाँकाअनुसार नियमित औषधि सेवन, स्वस्थ्य जीवनयापन तथा पौष्टिक आहारले एचआइभी सङ्क्रमित सक्रिय जीवन बाँच्न सक्छन् । उहाँ भन्नुहुन्छ, “एड्सबाट सुरक्षित रहन परिवार तथा समाजलाई सजग गराएको छु । सबैले सुरक्षित व्यवहार गर्नुपर्छ । मेरी श्रीमती र दुई जना बच्चा छन् । उनीहरु कसैमा पनि सङ्क्रमण छैन ।” राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताउनुभयो । सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ । २६ वर्षीया यशोदा तिमिल्सिना एचआइभी सङ्क्रमण पुष्टि भएपछि आफू जस्तै थुप्रै सङ्क्रमितलाई यसबारे पैरवी र परामर्श दिँदै आउनुभएको छ । उहाँको सुझाव छ,“पहिले यो रोगलाई प्राणघातकको रुपमा लिइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । सङ्क्रमण हुने वित्तिकै डराउनु र आत्तिनु पर्दैन किनकी लामो जीवनयापन गर्न औषधि उपलब्ध छन् । ” राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । सन् २०२३ मा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ मा मात्रै दुई सय २१ व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा सूईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरु छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूह भन्दा उच्च छ । नेपालमा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थावारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । यो वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ ३७औँ एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
मकवानपुर: स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उहाँ सहभागी हुनुभएको हो । उहाँले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले २ वटा मतदानस्थलको व्यवस्था गरेको छ । कूल ८ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा ४ हजार २ सय २३ मतदाताले मतदान गरेका छन् । मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् । विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा १ हजार ८ सय ४३ मत खसेको छभने वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार तीन सय ८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिनुभयो ।
दाङ: रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ । निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो । पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर: बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताउनुभयो । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ । काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । “स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भन्नुभयो, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पु¥याएर बिक्री गरिँदै आएको छ ।” अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो । गत वर्ष उहाँले दुई रु लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गर्नुभएको थियो । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहनुभएको छ । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउनुहुन्छ । भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताउनुभयो । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्नुहुन्छ । काँक्राखेतीबाट रु तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उहाँले रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आउनुभएको छ । उहाँले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आउनुभएको छ । “तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भन्नुभयो, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आउनुभएको छ । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गर्नुभयो ।
सिरहा: सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते हुनुभएको थियो । घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत हुनुहुन्थ्यो । जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाउनुभयो । उहाँले अहिलेसम्म स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाउनुभयो ।
नयाँ दिल्ली: भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । फेङ्गल नाम दिइएको चक्रवात शनिबार अबेर राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा) को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो । तमिलनाडुराज्यका विपद् व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीन जनाको मृत्यु भएको र उनीहरूको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । तर आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उहाँले बताउनुभयो । ‘द टाइम्स अफ इन्डिया’ले मृतकको सङ्ख्या चार रहेको उल्लेख गर्दै आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको तर अनुमान गरिएभन्दा कम क्षति भएको उल्लेख गरेको छ । उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपत यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो । यो आँधी आइतबारपछि बिस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ भने भारतको मौसम विज्ञान विभागले भारतको दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ । विभागले आँधीको जोखिम रहँदासम्म समूद्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ भने केही क्षेत्रमा “मध्यमदेखि उच्च बाढीको जोखिमको’ रहेको बताएको छ। फेङ्गलले यसै साताको सुरुमा श्रीलङ्काको समुद्री तटमा अवतरण हुँदा छ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । जीवाश्म ईन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरीजन्य विपत् अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ । राम्रो पूर्वानुमान र प्रभावकारी उद्धार योजनाले आँधीका कारण नाटकीय रूपमा हुने मृत्युको सङ्ख्यामा कमी ल्याएको छ । RSS