पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे । तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताएका हुन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो’ उनले भने –‘ नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।’ तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको दिन मनाइँदै आएको ल्होछार सांस्कृतिक पर्व रहेको र तमु जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व रहेको उनको भनाई छ । ‘तमु जातीले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । नेपालको ग्रामीण पर्यटन प्रवर्द्धन मार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको छ ।’ उनले भने – ‘ग्रामीण घरबास अर्थात् होमस्टे अभियानको मुख्य अगुवा तमुहरु नै हुन् । शहर तथा विदेशमा बसाईंसराईं पछि गाउँमा जति बाँकी छन्, उनीहरूले संस्कृति र परम्परा धान्दै अघि बढिरहेका छन् । शहरी क्षेत्रमा पनि समुदायका अगुवाहरुले आफ्नो रितीथितीलाई बिर्सिएका छैनन् ।’ ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको उनले बताए । ‘यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ । ट्होंटेका ¥यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् ।’ प्रदेश प्रमुख भट्टले भने – ‘अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिन्हारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो ।’
झापा: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताउनुभएको छ । झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउँदै धेरै स्थानमा माओवादी केन्द्रले जितेर जनताको साथ प्राप्त गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । पार्टीमा नवप्रवेशीलाई स्वागत गर्दैै अध्यक्ष दाहालले माओवादी केन्द्रमा काम गर्न आउने नेपाली जनताको उत्साहपूर्ण साथ र सहयोग प्राप्त हुँदै आएको दाबी गर्नुभयो । देशमा प्राप्त भएका राजनीतिकलगायतका सबै उपलब्धि आफ्नो पार्टीकै नेतृत्वदायी भूमिकाबाट सम्भव भएको तथा यसको रक्षा र समृद्धितर्फ लैजान पनि माओवादी केन्द्रले नै फेरि पनि अगुवाइ गर्ने उहाँको भनाइ थियो । नेपालको राजनीतिक इतिहासमा झापाले अगुवाइ गरिआएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशमा विकास र समृद्धि ल्याउन फेरि आन्दोलन गर्नुपर्ने खाँचो देखिँदै गएकाले यसमा नेपाली जनताको साथ र सहयोग प्राप्त हुनेमा विश्वस्त छौँ ।” राजनीतिक परिवर्तनले मात्र देश बलियो नहुने भएकाले अब आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न एकपटक आन्दोलन जरुरी भएको अध्यक्ष दाहालले बताउनुभयो । सो पार्टीका जिल्ला अध्यक्ष राजु आचार्यका अनुसार अध्यक्ष दाहालले निर्माणाधीन कनकाई पुल, कमलको आदिवासी रङ्गशालालगायतको स्थलगत अनुगमन गर्नुहुने कार्यक्रम छ ।
पोखरा: पोखरा महानगरपालिका–२७ डाडाँकोनाक, तालचोकमा पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लेखनाथ उद्योग वाणिज्य संघले आज डाडाँकोनाक, तालचोकमा पत्रकार सम्मेलन गर्दै महोत्सव तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली अधिकारीले २०५९÷६० मा सुन्तला प्रदर्शनी हुँदै २० औं लेखनाथ महोत्सवमा आइपुगेको बताइन् । ‘महोत्सव लेखनाथको संस्कृति,स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नारासहित हामी अहिले २० औं संस्करणको लेखनाथ महोत्सवको अन्तिम तयारी छौं, महासचिव अधिकारीले भनिन्, ‘२०५९÷६० मा सुन्तला प्रदर्शनी, २०६१ सालमा सुपथ मूल्य बजार र लेखनाथ महोत्सवको सफलतासँगै अहिले हामी अनवरत रुपमा महोत्सव सञ्चालन गर्दै आएका छौं ।’ महासचिव अधिकारीले पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरूकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताइन् । करिव २ सातासम्म सञ्चालन हुने महोत्सवमा ३ सय ३६वटा स्टल निर्माण गरिएको महासचिव अधिकारीले बताइन । ‘महोत्सवमा हामीले स्थानीय कृषि, औद्योगिक तथा हस्तकलाका वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि ३ सय ३६वटा स्टल निर्माण गरेका छौं, स्टल बुकिङ भइसकेको छ’, उनले भनिन्, ‘महोत्सवमा व्यापारको प्रवद्र्धनसँगै आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड दिन्छौं ।’ महोत्सवमा करिव ९ करोडको कारोवार हुने अनुमान आयोजकले गरेको छ । महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि प्रदर्शनी, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, महलिाहरुको क्षमता अभिवृद्धिको लागि महिला÷आमा समूहहरुबीच हाजिरी जवाफ प्रतियोगिता, विभिन्न जातजातिहरुको रीतिरिवाज तथा सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी, कन्सर्ट, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसँगै बाल उद्यान, एक्कुरीयम राखेर विभिन्न जातका १सय भन्दा बढी माछाहरुको अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीहरुको लागि ६०, साधारण टिकट १ सय र लाइभ कन्सर्टका लागि ३ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।
झापा: मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाउनुभयो । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उहाँले बताउनुभयो । ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले उक्त प्रमाणपत्र पाउनुभयो । “ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिन”, पाहानले भन्नुभयो, “अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।” नगरपालिकाले शिविरमै उहाँ र उहाँको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको मेचीनगरकी महिला, बालबालिका तथा समाज कल्याण शाखाप्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो । सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई रातो, नीलोलगायत चार प्रकारका परिचयपत्र दिने गरेको छ । रातो र नीलो कार्ड भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्भने चारै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष सुविधा पाउने व्यवस्था रहेको खरेलले बताउनुभयो । स्वास्थ्य शिविर भेटिनुभएका मेचीनगर–१५ का रोहित गुरुङलाई पनि चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेपछि रातो कार्ड दिनुभयो । “ह्विलचेयरमा हिँड्छु, भत्ता पाउने रातो कार्ड पाउँदा खुसी लागेको छ,” उहाँले हर्षित हुँदै भन्नुभयो, “पहिले अर्को कार्ड थियो । अहिले डाक्टरहरूले जाँचेपछि रातो कार्ड दिनुभयो ।” वडाहरूमा सञ्चालित स्वास्थ्य शिविरमै अपाङ्गतासम्बन्धी पहिचान र परिचय पाएर पाहान र गुरुङ जस्तै मेचीनगरका कैयौँ व्यक्ति खुसी हुनुभएको छ । मेचीनगर नगरपालिकाले १५ दिनमा १५ वटै वडामा फरक–फरक स्वास्थ्य शिविर सम्पन्न गरेर दुई हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय सहकार्यबाट मेचीनगरलगायत झापाका १५ वटै पालिकामा हाल अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण शिविर सञ्चालन भइरहेको छ । तीनवटै पक्षको बराबर साझेदारीमा कार्यक्रम आयोजनाका लागि रु एक करोड ४० लाख रकम छुट्याइएको करुणा फाउन्डेसन मेचीनगरका संयोजक पदम बराइलीले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिका लागि मुलुकमै पहिलोपल्ट कोशी प्रदेशका एक सय सातवटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै तीन वर्षमा मेचीनगरमा मात्र रु चार करोड ५० लाख खर्च हुने जानकारी दिनुभयो । शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरीलगायत ६० जनालाई परिचालन गरिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताउनुभयो । “तीन वर्षसम्म त्रिपक्षीय लगानी साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “त्यसपछि यो कार्यक्रम स्थानीय तह र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण हुने सहमति छ । हस्तान्तरण भएपछि नगरपालिकाले आफ्नै लगानीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेछ ।” चिकित्सकसहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचयपत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बिमासमेत गरिदिने यो अभियानलाई सिंहदरबार गाउँमा आएको अर्थमा नगरवासीले बुझिरहेको नगरप्रमुख गोपाल बुढाथोकी बताउनुहन्छ । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्योपचार, हेरचाह र भरणपोषणका लागि परिवारलाई राज्यले सघाउनुपर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको पीडा कि स्वयम् व्यक्तिलाई थाहा हुन्छ, कि परिवारलाई”, अधिकारीले भन्नुभयो, “त्यही भएर पीडामा मल्हमपट्टी लगाउन नगरपालिकाले केही राम्रो सुरुआत गरेको छ ।” मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरूले अपाङ्गता पहिचान गरेको र नगरपालिकाले स्थलगत रूपमा शिविरमै परिचयपत्र वितरण गरेको हुँदा कार्यक्रम प्रभावकारी भएको सामाजिक अभियन्ता देवेन्द्र खरेल बताउनुहुन्छ । उहाँले गाउँहरूमा अपाङ्गताको अवस्था पीडादायी रहेको आफूले शिविर अवलोकनका क्रममा देखेको जनाउँदै अटिजम भएका बालबालिकाको सङ्ख्या बढिरहेको बताउनुभयो । “नगरपालिकाले घरदैलोमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूको खोज गर्नु राम्रो कार्य हो”, उहाँले भन्नुभयो, “अभिभावकहरूलाई गर्भावस्थाको स्वास्थ्य हेरचाहसम्बन्धी उचित चेतना नहुँदा र दुर्घटनाका कारण धेरैजसो व्यक्तिहरू अपाङ्गताको सिकार भइरहेका हुन्छन् । अब नगरपालिकाले रोकथामका निम्ति पनि अभियान चलाउन जरुरी छ ।”
काठमाडौं: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कला, संस्कृति र परम्पराका हिसाबले समृद्ध रहेको तमु ल्होसार संरक्षण गर्न जागरूक हुनुपर्ने बताउनुभएको छ । आज यहाँ टुँडिखेलमा आयोजना गरिएको तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “महोत्सवमा देखिएको सबै वर्गको उपस्थिति र सहभागिता राम्रो पक्ष हो । पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समृद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौँ, त्यसलाई संरक्षण र संवर्द्धन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दै कसैलाई अप्ठ्यारो नहुनेगरी गर्नुपर्छ किनकि आफ्नो भाषा, धर्म, संस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रीतिथिति जोगाउन वर्तमानमा सक्रियता बढाउनु आवश्यक छ ।” महोत्सवमा गुरूङ समुदायको उपस्थिति, कला, संस्कृति, परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरूक देखिएको भन्दै उहाँले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकामा बधाई ज्ञापन गर्दै उपप्रधानमन्त्री सिंहले राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।
धादिङ: नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को ‘टाइटल’ स्याङ्जाका चन्द्र गुरूङले जित्नुभएको छ । देश–विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोलाई पछि पार्दै चन्द्र गुरूङको फोटोले टाइटल जितेको हो । प्रतियोगितामा चितवनकी अङ्किता गुरूङ ‘फस्ट रनरप’, लमजुङका अनिल गुरूङ ‘सेकेन्ड रनअप’ र धादिङकी प्रतिभा गुरूङको फोटोले ‘थर्ड रनरप’को उपाधि पाएको छ । सामाजिक सञ्जाल ‘फेसबुक’मा आएका ‘लाइक’, ‘कमेन्ट’, ‘शेयर’ र बान्की पूरा गरेर गुरूङ पोसाक लगाएका आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमु ‘गुरूङ’ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरूङले जानकारी दिनुभयो । “गुरूङ समुदायको कला, संस्कृति र वेशभूषा संरक्षणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश–विदेशमा गुरूङ वेशभूषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेका छौँ”, संयोजक गुरूङले भन्नुभयो, “यसले बालबालिका र युवालाई आफ्नो वेशभूषा सिक्न प्रेरित गरेको छ ।” ‘डिजिटल प्लेटफर्म’को प्रयोग गरी सामाजिक सञ्जालमार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिसँग भावनात्मक, सांस्कृतिक तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमु ह्यूल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् धादिङका पूर्वअध्यक्ष गोपाल गुरूङले बताउनुभयो । तमु ल्होसारका अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगीताको उत्कृष्ट १० मा परेका फोटोहरूलाई पनि गुरूङ पोसाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा ‘फोटो कन्टेस्ट’ सफल पार्न सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । सीमित स्रोतसाधन प्रयोग गरी गुरूङ पोसाकको संरक्षण संवर्द्धन र प्रवर्द्धनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमु ९गुरूङ० विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरूङले बताउनुभयो । सामाजिक सञ्जालको भड्किलो प्रयोग बढ्दै जाँदा सामाजिक सञ्जालको सही सदुपयोग गरी सकारात्मक सन्देश दिन पनि यस्ता प्रतियोगिताले सहयोग गर्ने कार्यक्रमका अतिथिहरूले बताएका थिए । ‘कला संस्कृति वेशभूषा गुरूङ जातिको पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित तीन महिना फोटो पोस्ट गर्ने समय तोकिएको थियो ।
काठमाडौं: अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो । सबैभन्दा लामो समयसम्म बाँच्नुभएका अमेरिकी राष्ट्रपतिको आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भयो । त्यहाँ उहाँ र उहाँकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । “हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो”, कार्टर सेन्टरले सामाजिक मिडिया प्लेटफर्म एक्समा भन्यो । उहाँको आफ्नो परिवारबीच शान्तिपूर्वक निधन भएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गर्दै विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताउनुभयो । बाइडेनले रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई अरूका लागि उदाहरणका रूपमा कार्टरको कामलाई उद्धृत गर्नुभयो । “यस देशका सबै युवाका लागि उद्देश्य र अर्थको जीवन बिताउनुको अर्थ के हो भनेर खोज्ने जो कोहीले राम्रो जीवन, सिद्धान्त, विश्वास र नम्रताका मानिस जिमी कार्टरलाई अध्ययन गर्नुहोस्”, बाइडेनले विज्ञप्तिमा भन्नुभयो । बाइडेनले आइतबार साँझ कार्टरको बारेमा कुरा गर्दै यसलाई ‘दुःखद दिन’ तर ‘अविश्वसनीय मात्रामा राम्रा सम्झनाहरू फिर्ता ल्याउने’ भन्नुभयो । “म जिमी कार्टरसँग ५० वर्षभन्दा बढी समयदेखि समय बिताउँदै आएको छु”, बाइडेन भन्नुभयो । उहाँले सन् २०१५ मा आफ्नो छोरा ब्युको क्यान्सरबाट निधन हुँदा पूर्वराष्ट्रपतिले आफू र आफ्नी पत्नी जिललाई सान्त्वना दिएको सम्झना गर्नुभयो । कार्टर आफैँलाई पछि क्यान्सर भएको थियो । वासिङ्टनमा कार्टरको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न आदेश दिनुभएका बाइडेनले भन्नुभयो, “जिमीलाई यस रोगको विनाशबारे राम्ररी थाहा थियो ।” व्यापारी, नौसेना अधिकारी, सुसमाचार प्रचारक, राजनीतिज्ञ, वार्ताकार, लेखक, काठकर्मी, विश्वका नागरिक कार्टरले एउटा यस्तो बाटो बनाउनुभयो जसले अझै पनि राजनीतिक धारणाहरूलाई चुनौती दिन्छ र राष्ट्रको सर्वोच्च कार्यालयमा पुग्ने ४५ जना पुरुषमध्ये उहाँ एक हुनुहुन्छ । कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गर्नुभयो । आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गर्नुभयो र ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गर्नुभयो । “मेरो विश्वासले माग गर्दछ– यो वैकल्पिक होइन, मेरो विश्वासले माग गर्दछ कि म जे गर्न सक्छु, म जहाँ छु, जब सक्छु, जबसम्म म गर्न सक्छु, मैले फरक पार्ने प्रयास गर्नुपर्दछ”, कार्टरले कुनै बेला भन्नुभएको थियो ।
दाङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताउनुभएको छ । एमाले दाङको प्रचार तथा प्रकाशन विभागले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूको सम्मानमा आज दाङको घोराहीमा आयोजना गरको कार्यक्रममा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरता, अर्थतन्त्र सुधार र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गर्नुभयो । देशमा अराजकता र बेथिति चाहनेहरूबाट सरकारको भविष्यका बारेमा अनावश्यक टीकाटिप्पणी हुनुलाई बेमौसमी बाजाको सङ्ज्ञा दिँदै उहाँले सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गरी देश र जनताको पक्षमा उभिन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरताका कारण मुलुकको विकास निर्माण तथा आर्थिक पक्ष प्रभावित भएको छ, यस अवस्थामा अपेक्षा गरिएअनुसारको परिणाम आउन केही समय लाग्छ, यो सरकार बनेपछि अहिले विकास निर्माणले लय लिन थालेको छ, धैर्य गरौँ, अर्थतन्त्रमा सुधार सहित विकास–निर्माणले गति लिनेछ ।” बैङ्कको ब्याजदर घटे पनि आर्थिक तरलता बढेको तथा लगानी गर्न व्यावसायी उत्साहित नभएको प्रसङ्ग उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “ढुक्कसँग लगानी गर्नुहोस्, व्यवसायी तथा उद्यमीको पक्षमा सहयोग गर्न एमाले र कांग्रेस मिलेर बनेको यो सरकार तयार छ ।” उहाँले भन्नुभयो, “देश विकास र सुशासनका लागि अब कुन–कुन विषयमा कानुन बनाउनुपर्ने हो त्यसको पहिचान गरी प्राथमिकताका साथ कानुन बनाइने छ । शासकीय सुधारका पक्षमा छ सदस्यीय कमिटीले काम गरिरहेको छ । आवश्यक संयन्त्रको व्यवस्थासहित ऐन, कानुन निर्माण गरी आर्थिक अपचलन तथा भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई सहयोग गर्ने दायित्व हामी सबैको हो ।” फरक प्रसङ्गमा पत्रकार महासङ्घको नयाँ नेतृत्वलाई शुभकामना दिँदै महासचिव पोखरेलले वर्तमान सरकारको भावना र ‘स्प्रिट’ लाई बुझेर सहयोग र सहकार्य गर्न पत्रकारजगत्को ध्यानाकर्षण गर्नुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रकाशन विभाग प्रमुख सङ्गीता बस्याल, प्रेस चौतारी दाङका अध्यक्ष प्रमेबहादुर राम्जालगायत वक्ताले मुलुकको समसामयिक राजनीतिक गतिविधि र पत्रकार हकहितका विषयमा चर्चा गर्नुभयो ।
सोलुखुम्बु: यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न यो प्रयास गरिएको हो । उहाँले भन्नुभयो,“यो समयमा चिसो बढ्दो छ, चिसोका कारण यहाँका नागरिकलाई धेरै गाह्रो भइरहेको छ, त्यसैले चिसोबाट जोगिन साङ्केतिक रुपमा भए पनि हामीले यो कार्यको थालनी गरेका हौँ, चिसोका कारण जिल्लावासीको दैनिकी नै निकै कष्टकर हुँदै गएको महसुस गरेर आगो ताप्ने व्यवस्था मिलाएका हौँ ।” डिभिजन वन कार्यालयसँगको समन्वयमा सल्लेरी, फाप्लु, आडाँडा, नयाँ बजारलगायतका प्रमुख क्षेत्रमा दाउरासहित व्यवस्थित रूपमा आगो ताप्ने स्थान निर्माण गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई वन कार्यालयले दाउराको व्यवस्था मिलाइदिएको छ, त्यसैले यो कार्य निरन्तर जारी रहन्छ र स्थानहरुमा पनि प्रहरीले आगो ताप्ने व्यवस्था मिलाउने काम गर्छ ।” आगो ताप्ने स्थान सुरक्षित र सहज हुने गरी व्यवस्थापन गरिएकाले चिसोबाट प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा मिल्ने जनाइएको छ ।

