कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको विमानबाट आज प्रवर्द्धनात्मक उडान गरिएको छ । पोखराबाट प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, उच्च पदस्थ कर्मचारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित एक सय २६ यात्रु बोकेर ‘एयरबस ३१९’ काठमाडौँ अवतरण गरेको हो । यसअघि बिहान चीनको छेन्दुबाट एक सय २९ यात्रु बोकेर पोखरा अवतरण गरेको सिचुवान एयरलाइन्सले पोखराबाट यात्रु बोकेर काठमाडौँ उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक एयरबस पूर्ण क्षमतामा उडान र अतवरण भएको छ । प्रवद्र्धनात्मक उडानपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट विमानहरुलाई अन्तर्राष्ट्रिय उडान अवतरणमा कुनै समस्या नरहेको बताउनुभयो । विमानस्थलको धावनमार्ग र नजिकको डाँडाका कारणले ठूला आकारका जहाज सञ्चालनमा समस्या हुने दावीलाई प्रवद्र्धनात्मक उडानले गलत सावित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा एयरबस जुनसुकै राम्रोसँग उडान र अतवरण गर्न समस्या छैन भन्ने पुष्टि भएको छ । अब नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारी र निजी क्षेत्रको सामूहिक पहल आवश्यक छ ।” अधिकारीले सरकारले अरबौँ लगानी गरेर पूर्वाधार तयार गरेकाले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले समेत अग्रसरता लिनुपर्ने बताउनुभयो । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस् एशोसिएशन (नाटा) गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र मारमा परेको बताउनुभयो । प्रवद्र्धनात्मक उडानले पोखरामा ठूला आकारका जहाज उडान र अवतरणमा कुनै पनि समस्या नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले छिमेकी देशहरु तथा खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो । पहारीले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सञ्चालन नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायी समस्यामा छौँ । ठूलो धनराशी खर्च गरेर बनाएको विमानस्थल व्यावसायिक सञ्चालन हुनुपर्दछ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु आवश्यक छ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यहाँका पर्यटन व्यवसायी तथा निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सुरु गर्न सरकारसँग निरन्तर माग गरिरहेका छन् । विमानस्थलमा कहिलेकाँही चार्टर उडान भएपनि व्यावसायिक उडान हुन सकेको छैन ।
पोखरा: पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ । वडा अध्यक्ष तोरणबहादुर बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रहेको बताए । ‘खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम हो ।’ वडाध्यक्ष बानियाँले भने– ‘यो महोत्सवले स्थानीय स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न तथा समुदायमा सकारात्मक सोच र अनुशासनको विकास गर्न योगदान पु¥याउने ठानेका छौँ । स्थानीय युवाहरूलाई सकारात्मक क्रियाकलापमा सक्रिय गराउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको बानियाँले बताए । विभिन्न समुदायबीच आपसी सद्भाव, सहयोग र सहिष्णुतालाई प्रवद्र्धन गर्दै समावेशी समाजको निर्माणमा महत्वपूर्ण योगदान दिने लक्ष्य पनि लिइएको छ । खेल संयोजक आशिष भण्डारीले स्थानीय प्रतिभाहरूको पहिचान गरी तिनीहरूको क्षमता विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘अघिल्ला वर्षहरुमा पाएको सफलता र थप अनुभवले यस संस्करणमा खेलकुदको विधा थप्दै पुरस्कार राशीमा पनि वृद्धि गरेका छौँ ।’ उनले भने – ‘करिब दुई हजार खेलाडी विभिन्न खेलमा प्रतिष्पर्धा गर्नेछन् । यो खेलकुदको महोत्सव नै हो ।’ फुटबलतर्फ पुरुष विधामा विजेताले ४० हजार तथा उपविजेताले ३३ हजार ४ सय, विद्यालय स्तरीय छात्र फुटबलतर्फ विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार प्राप्त गर्नेछन् । यस्तै, भलिबल तर्फ पुरुष र महिला दुवैतर्फका विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार, विद्यालयस्तरीय युनी हक्की छात्र छात्रा दुवै तर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले ६ हजार पाउनेछ । विद्यालयस्तरीय छात्र साइक्लिङतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ४ हजार र सान्त्वना हुने २ जनाले २ हजार प्राप्त गर्नेछन् । सडक दौड पुरुष, महिला, छात्र र छात्रा सबै चार वटै विधातर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार र सान्त्वना हुने २ जनाले ५ हजार नगद पुरस्कार पाउनेछन् । ब्याडमिन्ट डबल महिला र पुरुषतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, सिंगलतर्फ महिला र पुरुष दुवै विधामा प्रथम हुनेले ५ हजार र दोस्रो हुनेले ४ हजार पाउनेछ । महिला रस्साकसीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार पाउनेछन् । ह्विलचेयर बास्केटबलमा विजेताले १० हजार र उपविजेताले ८ हजार तथा ह्वीलचेयर दौडमा प्रथम हुनेले ६ हजार ७ सय, दोस्रो हुनेले ५ हजार ५ सय, तेस्रो हुनेले ४ हजार र सान्त्वना २ जनाले २ हजार ७ सय पाउने आयोजकले जनाएको छ । विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने खेल संयोजक भण्डारीले जानकारी दिए । नेपाली यू १९ महिला राष्ट्रिय क्रिकेट टीमकी सदस्य सिद्ध माविमा कक्षा ११ मा अध्ययनरत रचना चौधरीलाई ३४ हजार नगद पुरस्कारसहित सम्मान, खेलाडी प्रोत्साहन अन्तर्गत खेल्छ गण्डकीमा ग्रासरूट टेनिस खेलमा वडाको अमिनतराबाट छनौट भई निरन्तर प्रशिक्षणमा रहेका १० जना खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पौष्टिक सामाग्री वितरण गरिएको छ । हिमालयन लाईफ नेपाल र राइट फर चिल्ड्रेनको थप आर्थिक तथा प्राविधिक सहयोग पनि खेलकुद महोत्सवमा मिलेको वडाले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित आन्नद साईलाई पक्राउ गरेको छ । प्रहरीले साईलाई मंगलबार पोखरा–१ कस्केरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । ‘पोखरा–१ कस्केरी बस्ने साईले लागूऔषधको कारोवार गर्ने गरेको सूचना पाएका थियौं’, सूचना अधिकारी शर्माले भने, ‘मंगलबार जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखाले साईको घरकोठा खानतलासी गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो । उनका अनुसार प्रहरीले साईको कोठाबाट डाईजापाम ४८ एम्पुल, फेनेरागन ४४ एम्पुल, नुर्फिन २० एम्पुल, ब्रुर्फिन नर्फिन २१ एम्पुल गरी १ सय ३३ एम्पुल र ३ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका साईको कोठाबाट प्रहरीले बरामत गरेको लागूऔषध पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले करार र अस्थायी कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउँदैछ । गण्डकी प्रदेश लोक सेवा आयोगको असहमतिबीच प्रदेश निजामती सेवा ऐन २०७९ ले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसैलाई संशोधन गर्न सरकारले अध्यादेशको सहारा लिएको हो । प्रदेश सरकारको मंगलबार बसेको बैठकले अध्यादेशसँगै स्वास्थ्य मन्त्रालयका ३ प्रस्ताव पारित गरेको छ । यद्यपी अहिले बिहीबार मध्यान्हसम्म अध्यादेश प्रमाणिकरका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष नपुगेको सचिवालयले जनाएको छ । बैठक बस्नुअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई निवासमै गरेर भेटेका थिए । कर्मचारीको अभावमा विकासका काम रोकिएको र पुँजीगत खर्च कम भएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । मंगलबार बिहान साढे १० बजेतिर प्रदेश प्रमुखको निवासमा पुगेका मुख्यमन्त्री पाण्डेले सरकारमा सहभागी दुवै दलको सहमतिमा अध्यादेश ल्याउन लागिएको जानकारी गराएका थिए । मंगलबार बेलुकीपख मन्त्रिपरिषद बैठक बस्ने, बुधबार बिदा भएकाले बिहीबार कार्यालय खुल्नेबित्तिकै प्रमाणीकरणका लागि पठाइने जानकारी उनले प्रदेश प्रमुखलाई गराएका थिए । अत्यावश्यक कर्मचारी सेवा करार वा कन्टिन्जेन्सीबाट राख्न सकिनेमा ऐन फेर्न अध्यादेश ल्याइएको हो । अध्यादेशका बारेमा सरकारले प्रदेश लोकसेवा आयोगसँग राय मागेको थियो । मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले लोक सेवासँग परामर्श माग्ने निर्णय गरी सोही दिन आयोगमा पठाएको थियो । मुख्यमन्त्री निकट स्रोतका अनुसार छिटै कर्मचारी राख्नुपर्ने भएकाले बिलम्ब नगरी राय पठाइदिन मुख्यमन्त्रीले प्रदेश लोक सेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाललाई फोनसमेत गरेका थिए । लोक सेवाले २८ गते शुक्रबार सरकारलाई रायसहितको जवाफ पठाएको हो । जसमा करारका कर्मचारी भर्ती गर्न कानुनी बन्देज रहेको, बढीमा ६ महिनाका लागि अस्थायी कर्मचारी राख्नका लागि रिक्त दरबन्दी संख्या खुलाएर माग पठाउनु पर्ने राय आयोगले दिएको थियो । तर सरकारले भने आयोगको रायसमेत स्वीकार नगरी आफूखुसी अध्यादेश ल्याएको हो । अध्यादेश ल्याउने विषयमा मुख्यमन्त्री पाण्डे सत्ता साझेदार दल एमाले संसदीय दलका नेता खगराज अधिकारीबीच छलफल भएपनि सरकारकै मन्त्रीहरुलाई भने बेवास्ता गरिएको छ ।
पोखरा: नेपाल मगर संघ गण्डकी प्रदेश समितिको आयोजनामा यही पुस १९ गते पोखरामा गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल मगर संघ गण्डकी प्रदेश समितिले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मगर संघ कास्कीको समन्वयमा गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुन लागेको जानकारी दिएको हो । नेपाल मगर संघ गण्डकीकी अध्यक्ष तारामाया थापामगरले संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणको लागि महोत्सव आयोजना गरिएको बताइन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको छ, नेपालको कुल जनसंख्यामा मगर समुदाय तेस्रो स्थानमा रहेको छ’, अध्यक्ष थापामगरले भनिन्, ‘मगर समुदायको संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरण लागि हामीले पुस १९ गते मगर सांस्कृतिक महोत्सव आयोजना गरेका हौं ।’ पुस १९ गते पोखरा सभागृह हलमा हुने गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशको १० जिल्लामा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने अध्यक्ष थापामगरले बताइन् । ‘हामीले पोखरामा आयोजना गर्न लागेको प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशको १० जिल्लामा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै छौं, उनले भनिन्, ‘हामीले पहिलो पटक आयोजना गरेको मगर सांस्कृतिक नृत्यले संस्कार संस्कृति पुस्ता हस्तान्तरण र खोज अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’ उनका अनुसार महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगर समुदायका प्रचलित कौराहा÷कानराहा, झ्याउने÷झाबुरा, कृष्णचरित्र, यानीमाया, पुख्यौली सोरठी, सालैजो, थाली नाच, ज्यू मामै, मारुनी, भुम्या लगायतका सांस्कृतक लोकनृत्यहरु प्रस्तुत हुनेछन् । महोत्सवमा गण्डकी प्रदेशका १० जिल्लाका ३ सय ६५ बढी कलाकार र १० हजार बढी दर्शकको उपस्थिति रहने नेपाल मगर संघ गण्डकीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । विहिबार मन्त्रालय मातहतको ११ वटै जिल्लाको सामाजिक विकास कार्यालयहरुको कार्यगत प्रगतिको विषयमा जुम मार्फत बुझ्दै मन्त्री थापाले कार्यालयका प्रमुुख सँगै मन्त्रालयका कर्मचारीलाई रिजल्ट आउने गरि काम गर्न निर्देशन दिएका हुन् । “मन्त्रालय मातहतका सबै निकायले गरेका कामहरुको फेहरिस्त चाहियो । प्रदेश सरकारको कामलाई जनताले अपनत्व गर्ने गरि काम गर्नुस् । वित्तिय र भौतिक प्रगतिले नागरिकलाई लाभ मिल्नुपर्यो ।”, उनले भने । मन्त्री थापाले स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेशसँग जति अधिकार छ त्यति नै प्रयोग गरि जनताका आकांक्षा पुरा गर्न कर्मचारीलाई उनले भनेका छन् । “समस्या अवश्य छन् तर त्यसको समाधानको बाटो पनि छ । जति अधिकार छ त्यति नै प्रयोग गरि काम गर्नुुस् । जनतालाई सहज हुने बाटोमा आएका समस्यालाई चिर्न म तपाईहरुको साथमा छु ।”, उनले भने । मन्त्री थापाले बेरुजु नआउने गरि काम गर्ने कुरामा जोड दिएका छन् । उनले प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका गतिविधिहरुको प्रचारप्रसारमा समेत ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् । “काम गरेर मात्रै पनि हुँदैन । भएका भौतिक तथा वित्तिय प्रगतिका बारेमा नागरिकलाई जानकारी हुन पर्यो । प्रचारप्रसारमा समेत ख्याल गरौं ।”, उनले भने । उनले पुरानो धारबाट भन्दा पनि नयाँ शैली अप्नाएर काम गर्न कर्मचारीलाई भनेका छन् । मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले प्रदेशको महत्वपूर्ण मन्त्रालय सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालय भएको र सन्तोषजनक काम हुने गरि अगाडि बढ्न ११ जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्षको ६ महिना मात्रै बाँकी भएकाले काम गुर्नपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सामाजिक विकास कार्यालयमा देखिएको कर्मचारी अभावको विषयमा छलफल भइरहेको र त्यसको पूर्ति हुने गरि मन्त्रालय अगाडि बढेको उनले बताए । उपसचिव तोयानाथ लम्सालले विगत भन्दा वर्तमान अवस्थामा मन्त्रालयको काम अगाडि बढेको उल्लेख गरे । स्थानीय तहसँग साझेदारी मोडलमा काम गर्दै अगाडि बढ्न सामाजिक विकास कार्यालयहरुलाई उनले आग्रह गरेका छन् । प्रदेशको ११ वटै जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुले भएको कामको वित्तिय एवम् भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए । साथै उनीहरुले काम गर्दै जाँदा देखिएका समस्या खुलाएका थिए ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी समाज निर्माणले राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गोरखापत्र संस्थानले सुरु गरेको वाम्बुले राई भाषाको उद्घाटन गर्दै मन्त्री गुरुङले समावेशी सिद्धान्तलाई राजनीतिमा मात्रै नभइ समाजका हरेक क्षेत्रमा लागू गर्नुपर्ने बताउनुभयो । हाम्रो संविधानले मुलुकका सबै क्षेत्रको प्रतिनिधित्व रहने इन्द्रेणीको जस्तै रङ्गीन एवं सहभागितामूलक समाजको परिकल्पना गरेकाले सोहीअनुसारको सङ्घीय शासन प्रणालीका पक्षमा समग्र राज्य एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “यो मुलुक सबैको साझा हो, समावेशीले हरेक समुदायमा अपनत्व महशुस गराउछ”, उहाँले भन्नुभयो, “राष्ट्रिय एकताका लागि पनि देशमा समावेशी शासन व्यवस्था हुन जरुरी छ ।” गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सबै पक्षको अपनत्व महशुस होस् भन्ने उद्देश्यका साथ २०६४ सालदेखि सुरु भएको नयाँ नेपाल शीर्षकको बहुभाषी प्रकाशनअन्तर्गत अहिलेसम्म ४५ वटा भाषाका समाचार सामग्री गोरखापत्रमा आउने गरेको जानकारी दिनुभयो। यसैगरी महाप्रवन्धक लालबहादुर ऐरीले गोरखापत्र राष्ट्रिय दैनिकमा भाषाभाषीको सङ्ख्या थप हुँदै गएको सन्दर्भमा अब गुणस्तरतर्फ ध्यान दिनुपर्ने समय आएकाले त्यसका लागि आर्थिक सहयोग वृद्धि गरिदिन मन्त्रालयसँग अनुरोध गर्नुभयो । वाम्बुले भाषा समाजका अध्यक्ष गजुरधन राईले मुलुकका सबै भाषाभाषीको संरक्षण एवं सम्बद्र्धन गर्ने दायित्व राज्यको रहेको उल्लेख गर्दे लोपोन्मुख अवस्थामा रहेको वाम्बुले भाषा बचाउने अभियानमा समाज सक्रिय रहेको बताउनुभयो । कबि एवं गीतकार व्याकुल माइलाले पछिल्लो समय राज्यले विभिन्न भाषाभाषी एवं जातजातिको मागलाई संवोधन गर्नेगरी आवश्यक नीति तथा कार्यक्रम ल्याएकामा खुसी व्यक्त गर्दै यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तन र वातावरणीय संरचनाका कारण नेपाल प्राकृतिक एवं मानव सिर्जित विपद्को उच्च जोखिममा रहेकाले यसबाट बच्न सामूहिक प्रयासको खाँचो रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रकोप पूर्वतयारी सञ्जाल, नेपाल ९डिपिनेट० द्वारा आज यहाँ आयोजित तेस्रो विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन गर्दै मन्त्री लेखकले जलवायु परिवर्तनले निम्ताउने प्राकृतिक समस्याहरूको जोखिम थप बढाउँदै लगेकाले विपद् जोखिम न्यूनीकरण हाम्रो विकल्प नभई आवश्यकता हो भन्नुभयो । मन्त्री लेखकले अनुसन्धान, नवीनता र प्रविधिको प्रयोग गरी विपद् व्यवपस्थापनका प्रयासहरूलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै पूर्वसूचना प्रणाली, भूगर्भीय विश्लेषण, कृतिम बौद्धिकताको प्रयोग र डिजिटल नक्साङ्कनले जोखिमको सही आँकलन गरी सर्तकताका उपायहरू अपनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले तीनै तहका सरकारमा रहेका संरचनाहरूलाई सबल बनाउँदै विशेषगरी स्थानीय समुदायको क्षमता विकास गर्न सकिएमा मात्रै विपद् जोखिम न्यूनीकरणका प्रयास सार्थक हुने भन्दै सोहीअनुसार नीति, योजनाहरू परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनसँग सम्बन्धित विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नसके जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्दै मन्त्री लेखकले जोखिमका क्षेत्रहरू पहिचान तथा निगरानी, विपद्सम्बन्धी जनचेतना अभिवृद्धि, नागरिकलाई विपद् प्रतिरोधी जीवनशैलीमा सुधार गर्न सूचना प्रवाहमा जोड दिनुपर्ने दिनुभयो । गृहमन्त्री लेखकले विपद् जोखिमका क्षेत्रसँग सम्बन्धित क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूसँग बसेर यस क्षेत्रमा भएका प्रयासहरूको समीक्षा र आगामी दिनमा गर्नुपर्ने पहलहरूका बारेमा अन्तरक्रिया गर्न आफूले प्रत्येक महिना ‘गृहमन्त्रीसँग विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रममा गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव डा भीष्मप्रसाद भुसालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता र कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने विभिन्न उपायहरूका बारेमा प्रकाश पार्नुभएको थियो । डिपिनेट नेपालका अध्यक्ष डा राजु थापाले विपद् व्यवस्थापनमा नेपालले हासिल गरेका अनुभव, सिकाइहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा राख्न सरोकार भएका निकायबीच छलफल गरी साझा धारणा तयार गर्ने उद्देश्यले हरेक वर्ष यस किसिमका सम्मेलनको आयोजना गरिँदै आइएको बताउनुभयो । डिपिनेट नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर थापाले विपद् जोखिम न्यूनीकरणसम्बन्धी संविधान, नीति, कानुनहरूमा विभिन्न व्यवस्था गरिए पनि तिनको कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको उल्लेख गर्नुभयो ।डिपिनेट नेपालका महासचिव सुरज गौतमले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको औचित्य र अपेक्षाका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको प्राविधिक सत्रमा वरिष्ठ भूगर्भविद् प्रा विद्यानाथ उप्रेतीले भौगोलिक हिसाबले मात्र नभई विकास निर्माणका नाममा जथाभावी ढङ्गबाट गरिएका कार्यले पनि विपद्का घटनालाई बढाएको बताउँदै यस क्षेत्रमा भएका असल अभ्यासहरूलाई अनुशरण गर्दै आगामी दिनमा विपद्जन्य घटना न्यूनीकरण गर्न सामूहिक पहल हुनुपर्नेमा जोड दिनुभयो । जल तथा मौसम वित्रान विभागका वरिष्ठ मौसमविद् शान्ति कडेलले सन् १९८० पछि यस वर्ष देशमा भारी वर्षा भएको र त्यसबाट ठूलो जनधनको क्षति भएको विवरण प्रस्तुत गर्नुभयो । खानी तथा भूगर्भ विभागका शिव बाँस्कोटाले प्राकृतिक र मानव सिर्जित कारण विपद्बाट वर्सेनि जनधनको क्षति हुने क्रम बढ्दै गएकाले यसतर्फ सामूहिक पहलको आवश्यकता औँल्याउनुभयो । चट्याङ विज्ञ डा श्रीराम शर्माले सन् २०२० सम्म चट्याङ प्रमुख प्राकृति विपद्को रूपमा रहेको उल्लेख गर्दै यसमा पूर्वसूचना प्रणालीको अभ्यास सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रकृतिलाई स्वच्छ राख्न र दिगो संरक्षणका लागि एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उल्लेख गर्दै उहाँले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालयसँगै अरु निकायले पनि जागरण फैलाउनुपर्ने बताउनुभयो ।मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्ने उहाँको भनाइ थियो । “हामीले विश्व तापमान वृद्धिका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ, तर त्यसको मार खेप्न बाध्य भएका छौँ । नबिराएको काममा सजाय भोग्नुपरेको छ । नेपाल प्रभावित हुनु हाम्रो मात्रै होइन, यो विश्वव्यापी मुद्दा हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिमालय जलवायुको मुद्दा हिमालको मात्रै होइन, हिमालसँग विश्वको तापमान प्रणाली जोडिएको छ । हावालाई चिसो पार्ने क्षमता हिमालसँग छ । यस क्षमताको हस हुनु जलवायु चुनौती हो । त्यसकारण हामीले हिमालदेखि समुद्रसम्म रक्षाको अवधारणामा जानुपर्छ ।” नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा पनि सशक्तरुपमा राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले २४ प्रतिशत भू–भाग संरक्षित गरेको उल्लेख गर्नुभयो । कोप–२९ को समिक्षासहित अहिलेदेखि नै कोप–३० को तयारी थाल्न उहाँले आग्रह गर्नुभयो । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो । सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको हो । उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सङ्घीय सांसद, संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि, नीति निर्माता, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

