पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

तेह्रथुम:     गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर । रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरु । बाहाँ, सिकुवा, आँगन । बिना कङ्क्रिड ढुङ्गैढुङ्गा जोडेर बनाइएका फलैंचा र सिँढीमार्ग । मुन्धुममा वर्णन गरिए झै उभ्याइएका अग्लाअग्ला ढुङ्गाका स्तम्भ ।  सिङ्जाङ्गो (धसिङ्गरे), फुन्जिङ्बा (पैंयू), तेरलासे (केरा) लिरुसिङ् फा (मलिबाँस) जस्ता हुर्किरहेका मुन्धुममा वर्णित वनस्पतीहरुले तेह्रथुमको पर्यटकीय बजार वसन्तपुर छेउको चोत्लुङ पार्क पुग्ने जो कोहीलाई पनि लोभ्याउँछ ।  यहाँको सुन्दरतामा हरेक दिन पर्यटकहरु रमाइरहेका भेटिन्छन् । चोत्लुङ पार्कमा भेटिएका सुनसरी धरानका रनबहादुर सुब्बाले झण्डै तीन दशक अघिको याक्थुङ (लिम्बू) गाउँ पुगेको अनुभूति भएको सुनाउनुभयो । ‘अहिले त गाउँघरले पूरै रुप फेरिसक्यो’’ उहाँले भन्नुभयो ‘‘यहाँ बनाइएका घर र अन्य संरचनाहरुले उहिलेको गाउँघरको याद दिलायो ।’’चोत्लुङ पार्कमै भेटिएका इलामका चञ्चल लिम्बूले पनि यहाँ पुग्दा आफूले फरकपनको महसुस गरेको सुनाउनुभयो ।  अन्य ठाउँहरुमा घुम्दा आधुनिकताको सिको गर्दै बनाइएका संरचनाहरु देखिन्थे । तर चोत्लुङ पार्क पुग्दा भने मौलिक तरिकाबाट पनि पर्यटकीय पूर्वाधारहरु बनाउन सकिने रहेछ भन्ने लागेको उहाँले बताउनुभयो ।           लालिगुराँस नगरपालिका–३ मा रहेको यो ठाउँ २०७४ साल अघिसम्म यस्तो थिएन । वन क्षेत्रभित्रको एकान्तमा पर्ने यहाँ हमेसा मानिस नै पुग्दैनथे । पर्यटक आउने त कुरै भएन । यहीँ ठाउँमा चोत्लुङ पार्क निर्माण गरिएपछि अहिले हरेक दिन सयौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।         चोत्लुङ पार्कमा रहेका प्रकृतिमैत्री, कलात्मक र रैथाने शैलीका पर्यटकीय पूर्वाधारहरुको अवलोकन गरेर यहाँ पुग्ने पर्यटक आनन्दित हुन्छन् । छोरीको नामको पूजा गर्न पहिलोपल्ट चोत्लुङ पार्क पुगेकी धरानकी चन्द्रा लिम्बूले उहिलेको पहाडी गाउँले जनजीवन र जीवनशैलीको याद आएको बताउनुभयो ।  ‘‘यी घर, सिकुवा, आँगन, फुलबारी, गोरेटा, फलैंचा र कुवाले मलाई पुराना दिनहरुको सम्झना दिलायो’’ उहाँले भन्नुभयो । मौलिकताको संरक्षण गर्दै पर्यटन विकास गर्ने शैली उहाँलाई निकै मन परेको छ ।         मुन्धुमविद् एवं याक्थुङ (लिम्बू) इतिहासका अध्येतासमेत रहनुभएका लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङकै परिकल्पनामा चोत्लुङ पार्क निर्माण गरिएको हो ।विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएपछि उहाँले पार्कको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बनाएर निर्माणको काम अघि बढाउनुभएको थियो ।         विसं २०७९ मा भएको दोस्रो स्थानीय तह निर्वाचनबाट पनि उहाँ नै नगर प्रमुख निर्वाचित भएपछि चोत्लुङ पार्कले करीब करिब पूर्णता पाएको छ । नगर प्रमुख माबुहाङले त्यतिबेला आफ्नो योजना सुनाउदा इन्जिनियरले खरले छाउने घरको नक्सा बनाउन मानेका थिएनन् ।  ‘‘जबरजस्ती नक्सा बनाउन लगाइयो’’ उहाँले भन्नुभयो, ‘‘अहिले यहीँ हेर्न मान्छे आएको देख्दा र धेरैले यहीँ कामको प्रशंसा गरेको सुन्दा खुसी लाग्छ ।’’चोत्लुङ पार्कमा युमा सङ्ग्रहालय छ ।सङ्ग्रहालयमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्काजस्ता ऐतिहासिक र दुर्लभ कागजात सुरक्षित गरेर राखिएका छन् ।  याक्थुङ (लिम्बू) जातिसँग सम्बन्धित पुराना भेषभूषा, गरगहना, हातहतियार र विभिन्न उपकरण सङ्ग्रहालयमा सुरक्षित गरिएको छ । २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सङ्ग्रहालयको उद्घाटन गर्नुभएपछि सर्वसाधारणका लागि अवलोकन गर्न खुल्ला गरिएको हो ।           यहाँ रहेका ऐतिहासिक कागजात, दस्तावेज र अन्य वस्तुहरुले लिम्बुवानको इतिहास र सभ्यतालाई जीवन्त राख्ने नगर प्रमुख माबुहाङले बताउनुभयो । उहाँका अनुसार तत्कालीन लिम्बुवान क्षेत्रका विभिन्न ठाउँहरुबाट धेरै दुःख गरेर यी ऐतिहासिक कागजात र सामग्री सङ्कलन गरिएका हुन् ।  समयक्रमसँगै हराएर जाने वा नष्ट भएर जाने खतरा बढेकाले यी वस्तुहरुलाई सुरक्षित र व्यवस्थित गरिएको छ । सङ्ग्रहालयले संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई ठूलो सहयोग पु¥याउने म्याङलुङ बहुमुखी क्याम्पस तेह्रथुमका उप प्राध्यापक दिपक कट्टेलले बताउनुभयो ।  यसबाट भावी सन्ततिले आफ्नो इतिहास, संस्कृति, समाज र समाज विकासका चरणबारे जानकारी प्राप्त गर्ने उहाँको भनाइ छ । यस किसिमका अन्य विभिन्न जातजातिका धर्म, संस्कृति रीतिरिवाज झल्काउने सङ्ग्रहालयहरु समेत निर्माण गरिए संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई अझ ठूलो सहयोग पु¥याउने उपप्राध्यापक कट्टेलको भनाइ छ ।        सङ्ग्रहालय, मौलिक संस्कृति र सभ्यता झल्काउने प्रकृतिमैत्री पूर्वाधार, स्वच्छ परिवेश र सुन्दर प्रकृति चोत्लुङ पार्कको मुख्य आकर्षण हुन् । किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले चोत्लुङ पार्क गुराँसे पाखामा फुलेको रैथाने फूल भएको टिप्पणी गर्नुभयो ।  चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजार छेउमा रहेको चोत्लुङ पार्क सवारी साधनबाटै सहजै पुग्न सकिन्छ ।  लालिगुराँसको राजधानी घोषणा गरिएको तिनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्र प्रवेशद्वारको रुपमा रहेको वसन्तपुरमै रहेको छ, चोत्लुङ पार्क । त्यसैले पनि चोत्लुङ पार्कमा पर्यटकीय चहलपहल भइरहन्छ ।  गुराँस फुल्ने समयमा त चोत्लुङ पार्कमा पर्यटहरुको ठूलो घुइँचो लाग्ने गर्छ । तिनजुरे–मिल्के–जलजले जाने पर्यटक जाँदा वा फर्किदा चोत्लुङ पार्क पुगेर मात्र फर्किन्छन् । यस क्षेत्रमा ३२ प्रजातिकामध्ये २८ प्रजातिका गुराँस पाइन्छ ।  फुल्ने यामबाहेक अन्य समयमा पनि चोत्लुङ पार्कमा दैनिक दर्जनौं पर्यटक आउँछन् । पूर्वी नेपालका सबैजसो जिल्ला तथा भारतको सिक्किम, दार्जलिङ र कहिलेकाहीँ अन्य विदेशी पर्यटक पनि चोत्लुङ पार्क पुग्ने गरेका पार्कका साम्बा ९पुजारी० रुद्रबहादुर तिलिङ लिम्बूले बताउनुभयो ।   ‘चोत्लुङ’ याक्थुङ (लिम्बू) भाषाको अर्थ ‘सिद्धि’ अर्थात ‘पूर्णता’ हुन्छ । त्यसैले सिद्धीस्थलको रुपमा चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङ बताउनुहुन्छ । पार्क निर्माणका लागि हालसम्ममा लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वशन्तपुर तेह्रथमु र अन्य निकाय अनि मनकारी सहयोगीहरुको गरी दुई करोड बढी रकम खर्च भएको नगर प्रमुख माबुहाङले बताउनुभयो ।  पार्क सञ्चालनका लागि नगरपालिकाले रु।५० रुपैंयाँ प्रवेश शुल्क तोकेको छ । सङ्ग्रहालय समेत अवलोकन गर्न चाहनेहरुले भने रु १ सय तिर्नुपर्छ । पार्क र सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटकबाट वार्षिक रु १३ लाख राजश्व संकलन हुने गरेको नगरपालिकाले जनाएको छ ।  गाउँ बनाउने अवधारणाअन्तर्गत चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङले बताउनुभयो । ‘‘अहिले सबै शहर बनाउनेतिर लागेका छन्, गाउँ बनाउने एजेण्डा कसैसँग छैन’’ उहाँले भन्नुभय।े  ‘‘त्यसैले गाउँको सम्भावनाहरुलाई मर्न नदिन र उपेक्षामा परेको गाउँप्रति मानिसहरुलाई आकर्षित गर्न यो काम गरिएको हो ।’’  चोत्लुङ पार्कले पछिल्लो समय पर्यटकहरुलाई पूर्वी पहाड उकाल्ने काम त गरेको छ नै, स्थानीय सरकारले पहलकदमी लिन सके केही गर्न सकिन्छ भन्ने उदाहरण पनि पेश गरेको छ ।   

काठमाडौं:    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसंग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ ।   मंगलबार भएको सो भेटवार्तामा उहाँहरु बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए ÷गरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराउनुभएको थियो ।  उहाँले नगरपालिकाबाट भैराखेको फोहरमैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराउनुभएको थियो ।         सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिनुभयो ।  उहाँले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिनुभयो । सोही अवसरमा  कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।  सो अवसरमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी,  वडाध्यक्षहरु नरेन्द्र श्रेष्ठ, घनश्याम लुइँटेल, प्रल्हाद रिजाल ,श्रीकृष्ण खत्री एवं शिक्षा शाखा प्रमुख सुजन खनाल ,प्रशासन प्रमुख दामोदर रिजाल लगायतको सहभागिता रहेको थियो ।  नगरपालिकाद्वारा प्रवर्धन गरिएका स्थानीय उत्पादन प्रदर्शनीमा हस्तकला, काष्ठकला,खानाका परिकार लगायत राखिएका थिए ।  

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ ।   इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।     ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’ – शुभकामना सन्देशमा उल्लेख छ ।   इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी एकता, विश्वास र प्रेमको भावनालाई थप गाढा बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।

सुनसरी:     जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आउनुभएको छ ।  रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उहाँले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिनुभएको हो । मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गर्नुभयो ।  उहाँले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आउनुभएको हो । यादवले अहिले सबै खर्च कटाएर मासिक रु ९० हजारसम्म आम्दनी भइरहेको जानकारी दिनुभयो । हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट २ सय लिटर दूध सङ्कलन हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।  दैनिक रूपमा ५ सय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मासिक रूपमा रु १ लाख २० हजार आम्दनी हुनेमा सबै खर्च कटाउँदा रु ९० हजार बचत भइरहेको छ ।  “साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, यादवले भन्नुभयो, “मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च रु ३० हजार हुँदै आएको छ ।”  रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । युुवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

काठमाडौं:    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा पार्टी सङ्गठन विस्तार र समसायिक राजनीतिक विषयमा विचारविमर्श हुने जानकारी उहाँले दिनुभयो ।   

तेह्रथुम:    लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ ९लिम्बू० संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ । गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा , सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ । पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताउनुभयो । युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर घुम्न आएको उहाँले सुनाउनुभयो । त्यसैगरी धरानबाट आफ्नो छोरीका लागि पूजा गर्न चोत्लुङ पार्क आएको चन्द्रा लिम्बूले बताउनुभयो । चोत्लुङजस्तो पवित्र स्थानमा पूजा गर्दा बिरामी छोरीले स्वस्थ्यलाभ गर्ने विश्वासमा पूजा गर्न आएको उहाँले बताउनुभयो ।  चोत्लुङ पार्कमा लालीगुराँस नगरपालिकाले एक पुजारी राखेको छ ।चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्तावेज सङ्ग्रहित छन् ।  लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि  सङ्ग्रहालयमा सुरक्षित छन् । सङ्ग्रहित वस्तु लिम्बूको इतिहास र संस्कृतिसम्बन्धी खोज, अनुसन्धाताका लागि उपयोगी हुने किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङले बताउनुभयो ।  ‘चोत्लुङ’ याक्थुङ (भाषाको अर्थ ‘सिद्धि’ र ‘पूर्णता’ हुने तथा चोत्लुङ जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा मुन्धुममा रहेको म्याङलुङ–२ का लिम्बू संस्कृतिका जानकार बलदेव तुम्बाहाम्फेले बताउनुभयो ।विसं २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क १ सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ ।  चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा रु २ करोड बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताउनुभयो । आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको प्रवक्ता खड्काले बताउनुभयो । उहाँका अनुसार देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन् ।  पर्यटकलाई पार्क अवलोकनका लागि रु ५० र सङ्ग्रहालय अवलोकनका लागि रु १०० शुल्क लिने गरिएको छ । पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष रु १४ लाख राजस्व सङ्कलन भएको छ । चोत्लुङ पार्क गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमज) क्षेत्रको प्रवेशद्वारमा अवस्थित छ  । टिएमजे भ्रमण गर्नेहरू चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कने गरेका छन् । मध्यपहाडी लोकमार्गको वसन्तपुर बजार नजिक रहेको यो पार्क  प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।   

चितवन:    सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका ९ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ । इच्छाकामना गाउँपालिका–१ का तीनवटा चेपाङ बस्तीका छ सय ५० घर र रत्ननगरका तीन सय परिवारलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले बताउनुभयो ।  मङ्गलबार रत्ननगर वडा नं ८ का चौधरी समुदायका ३२ परिवारलाई चुलो वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।विपन्न समुदायका महिलाको स्वास्थ्य जोगाउन चुलो वितरण गरिएको उहाँले बताउनुभयो ।  चुलोसँगै विपन्न समुदायका बालबालिकालाई पौष्टिक आहार सर्वोत्तम पीठो तथा रत्ननगर वडा नं १ निपनी स्थित ओमशान्ति आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

रौतहट:   फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् ।  बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।  विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् ।  सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताउनुभएको छ । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उहाँको गुनासो छ ।  स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उहाँले गुनासो गर्नुभयो । अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताउनुभयो । अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेलले बताउनुभयो ।  बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताउनुभयो । हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् ।  स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताउनुभयो । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उहाँको बुझाई छ ।  सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाउनुभएको थियो । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताउनुभयो ।  विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उहाँले गुनासो गर्नुभयो ।  सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताउनुभयो । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उहाँ खिन्न हुनुहुन्छ । साउनदेखि खाजा खुवाउन सकेको छैन पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिनुभएको छ । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गर्नुभयो । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् ।  यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ ।  सात वर्षदेखि तलबविहीन सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गर्नुभयो । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताउनुभयो ।  फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताउनुभयो । सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिनुभयो ।  फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिनुभएको छ । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पोखरा:   पर्यटनको राजधानी पोखरामा बि वाइ डि अन्तर्राष्ट्रिय बेलनु महोत्सव मङ्गलबार पोखरामा सुरु  भएको छ ।    पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्वेश्यसहित पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.को संयुक्त आयोजनामा यो महोत्सव सुरू भएकाे हाे ।   पोखराको पामे क्षेत्रमा यही पुस ९ देखि १७ गतेसम्म उक्त महोत्सव चल्ने छ ।   क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हुने यस महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई पनि आकर्षित गरी पोखरा मात्र नभई  समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न सहयोग पुग्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  बताए ।    पोखरामा डुङ्गा खियायर मनोरञ्जन गर्ने क्रम क्रमिरुपमा प्याराग्लाङिडिङ्ग, अल्टा फराइटि र हाल  हट इयर बेलुन सम्म आइ पुगेको र अन्तर्राष्ट्रिय महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरु पर्यटकिय नगरी पोखरामा आउनेमा आफू विस्वस्त रहेको ब्याण्ड एम्बासडर तथा महानायक राजेश हमालले बताए ।   यस महोत्सव अवधिभर विभिन्न सांस्कृतक कार्यक्रमहरुका साथै पोखराका स्थानीय सांगीतिक ब्यान्ड र दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।    नौ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत २० भन्दा बढी देशको सहभागिता रहने बेलुन नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक सविन महर्जनले जानकारी दिएका छन् ।   त्यस्तै महोत्सवमा १५ देशका पाइलट पनि सहभागि हुने र एकै पटकमा २० वटासम्म बेलुनहरु पोखराको आकाशमा उड्ने उनले बताए ।    सो हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्नेछन् । बेलुन उडान महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म हुनेछ ।    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म बेलुन उड्न पाउनेगरि सीमा तोकिदिएको छ ।    पोखराको आकाशमा बेलुनको उचाईबाट उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा शहर, फेवाताल सहितका यहाँका प्राकृतिक सौन्दर्य समेत अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।   वि.सं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रा.लि.ले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ ।