पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

तनहुँ:     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।  डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।  ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो । स्करपियोमा सवार ४ जना सकुसल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो ।

बागलुङ:    ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल । टोलमा परम्परागत घर नै रहेका छन् । तिनै पुराना घरमा  हुर्किरहेका छन् ३५ बालबालिका । साथै टोलमा केही गर्भवती पनि रहेका छन् ।  ढोरपाटन–१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’ । आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ । यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्नुहुन्छ ।  उमेरले हजुरआमा पुस्ताकी उहाँ आमा पुस्ताभन्दा कम हुनुहुन्न । यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो ।  त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन् । समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन् । स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन् ।  पोषणयुक्त खाना खान्छन् । तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरिको तालिका बनाउँछन् ।मिलीजुली स्वास्थ्य आमा समूहकी सदस्यसचिव चन्द्रकलाले हरेक महिना आमा र शिशुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निःशुल्क खुवाउने गर्नुभएको छ ।  “म आफैले कहिले फर्सीको हलुवा त कहिले चना अण्डा बनाउँछु, कोदो, फापर, मकै भटमास गाउँमै फलेका पोषणयुक्त उत्पादनबाट खाना तयार गरेर महिनामा एक दिन निःशुल्क सबैलाई खुवाउँछु”, उहाँ भन्नुहुन्छ्, “आमाले शिशुलाई खुवाउने विषयमा सिकुन् भन्ने लाग्छ, उनीहरू सबैले घरमा त्यसैगरी खुवाउने गरेका छन् ।” समूहका आमामध्ये ३५ जनाका स–साना बालबालिका छन् । हरेक महिना एक–दुईजना बाहेक सबै समूहमा आउँछन् र चन्द्रकलाले तयार गरेको खाना खान्छन् ।  “यी सबै मेरा छोराछोरी हुन्, उनीहरू कुपोषणबाट जोगिए हाम्रो समज बलियो हुन्छ”, उहाँले भन्नुभयो, “धेरथोर खर्च त हुन्छ तर म अन्य व्यवसायबाट त्यसको व्यवस्थापन गर्छु ।”  चन्द्रकलाले दिने पोषणयुक्त खानाले आफूहरूलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खाना बनाउन सहज भएको स्थानीय सृजना कुँवरले बताउनुभयो । ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उहाँलाई प्रारम्भिक तालिम दिएको थियो ।  प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन् । आमा समूहमा हुने छलफल, पूर्वतयारी र सक्रियताले आमा तथा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

बागलुङ:     बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र हुन थालेको छ ।  मूल्यमा गिरावट आए पनि किबी अन्यत्रबाट माग आइरहेको किसानको भनाइ छ । जिल्लामा उत्पादन भएको किबी बुटवल,काठमाडौँ र पोखरालगायत स्थानमा बिक्री भइरहेको छ । विदेशमा समेत प्रशस्त उत्पादन हुने किबी बहुगुणी फलमध्येमा पर्छ । काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाडौँसम्म लैजान थालिएको छ । उहाँले किबी बिक्री गर्न थालेको २ वर्ष भएको छ ।  कँडेलको १२ रोपनी क्षेत्रफलमा किबीखेती छ ।यस्तै काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले समेत यस वर्ष किबी बजारमा पठाउनुभएको छ ।  एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति यहाँका किसानको आकर्षण छ । मूल्य सस्तो भए पनि पोखरा, काठमाडौँ, बुटवल तथा नारायणगढसम्म किबी खपत भइरहेको छ ।  यस वर्ष एक हजार केजी किबी काठमाडौंलगायत ठूला सहरमा बजारीकरण गरेको किबी किसान खिमानन्द कँडेलले जानकारी दिनुभयो ।  किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको उहाँको भनाइ छ ।   प्रतिकेजी रु ३ सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित छन् ।पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ ।  किबीको उत्पादन बढेपछि प्रतिकेजी रु ६ सयबाट घटेर रु ३ सयमा झरेको भए पनि ठूला सहरमा किबीको माग रहेको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।  केही वर्ष पहिलासम्म बाहिरी जिल्लाबाट ल्याएर किबी बिक्री गर्दै आएका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँगाउँमा उत्पादन भएको किबी बिक्री गर्न भ्याइनभ्याई भएको बताउँछन् ।   निसीखोला–४ स्थित लीला घर्तीले १२ रोपनी क्षेत्रफलमा उत्पादन गरेको किबी सोझै बुटवल लगिएको बताउनुहुन्छ । एकपटक गरेको लगानीले वर्षौैँसम्म उत्पादन दिने घर्तीको भनाइ छ ।  किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

सप्तरी:    सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आउनुभएको छ ।  “आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबैजना यही काममा लागिपरेका छौँ”, खेतमा गोलभेँडा गोडमेल गर्दै गर्नुभएका पबितारले भन्नुभयो, “वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक रु एक–डेढ लाख आम्दानी हुने गरेको छ ।”  उहाँले आफ्नो स्वामित्वमा रहेको २ कठ्ठा तथा लिजमा लिएर ४ कठ्ठा जमिनमा तरकारीखेती गरिरहेको बताउनुभयो ।पबितारले यस वर्षमात्र २ किवटल काउलीबाट मात्र रु ६० हजार आम्दानी गर्नुभयो भने अहिले खेतमा गोलभेँडा लगाउनुभएको छ ।  उहाँजस्तै सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेतीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उहाँले बताउनुभयो ।  गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।पबितार, चलितरजस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारीखेतीबाट जीवतस्तर उकासिएको छ । उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन् ।  विभिन्न सङ्घसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन् । उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन् ।यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारीखेतीतर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो ।  किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताउनुभयो ।  उहाँले नगरपालिकासँग समन्वय गरेर आफूहरूले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो ।किसानले गरेको तरकारीखेतीको प्रभावकारिता, समस्या, चुनौती तथा समाधानका उपायको पनि संस्थाले पहिचान गर्ने गरेको जनाइएको छ ।  तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको भन्दै नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले आगामी दिनमा संस्थाले कार्यक्रम छाडेको अवस्थामा पनि नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ताप्लेजुङ:     जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय  झिँगटीले छाएका घर  देखिन छाडेका छन् ।  सिदिङवा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुग्नुभयो । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड उहाँले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्नुहुन्थ्यो ।  अहिले उहाँका सहकर्मी कालिगड सबैको निधन भइसक्यो । गाउँमा झिँगटीको छाना लगनाउने उहाँ मात्र हुनुहुन्छ । तर उहाँ अहिले अन्यको साहारामा बाँच्नुपरेको छ । गाउँमा उहाँले नै बनाएको झिँगटीको घरसमेत चुइन थालेका छन् ।  धेरैले त भत्काएर अर्को घर बनाएका छन् ।सोही गाउँका मदन बरालको बुबाले २००४ साल अर्थात् ७७ वर्ष अगाडि झिँगटी छानो भएको घर निर्माण गर्नुभएको थियो । लामो समयपछि छानोबाट पानी चुइन थाल्यो ।  घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने हुन थाल्यो । तर मदनको बुबाले बनाएको घर भत्काउन मनले मानेन । संरक्षण गर्न झिँगटीको छानोमाथि त्रिपालले छोपेर राख्नुभयो ।  त्यो दीर्घकालीनका लागि नभएपछि बराल झिँगटीको छाना लगाउने कालिगड खोजी कार्यमा लाग्नुभयो । अन्तिममा  कालिगड नपाएपछि घर भत्काउनुबाहेक अन्य विकल्प उहाँसँग रहेन ।  आफ्नो पुस्ताले पसिना बगाएर बनाएको घर भत्काउन मन नभए पनि घर भत्काएर अहिले अर्कै नयाँ घर बनाइएको छ । विसं २००३ अगाडि ताप्लेजुङमा प्रायः झिँगटीको घर बनेको स्थानीयको भनाइ छ ।पछिल्लो समय कालिगड अभावकै कारण झिँगटीका घर लोप हुँदै गएको छ ।  बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल–ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई सङ्कटमा पार्दै लगेको छ । सिदिङवा गाउँपालिका–४ का दिलकुमार ताम्लिङ काठमाडौँ बसाइँ सर्नुभयो । तर उहाँका पुर्खाले करिब ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने केशव पन्दाकले रेखदेख गर्दै आउनुभएको छ । अहिले यस गाउँमा झिँगटीको घर भनेकै उहाँकै घरमात्र बाँकी छ ।  आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घर प्रशस्त देख्न पाइन्थ्यो । त्यस समयका घरमा बनेका काठका बुट्टा, ढोका, झ्यालमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिने घर देख्न पाइन्थ्यो ।  यस्ता संरचनालाई मात्र होइन, आफ्ना पुर्खाको सम्पत्ति र गौरवको रूपमा लिने गर्दथ्यो । यो वास्तुकला शैलीको संरक्षण गरिनुपर्नेमा अधिकांश स्थानीय सहमत भए पनि बदलिँदो समयका कारण उहाँहरूले झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराई त्रिवेणी गाउँपालिका–५ लक्षुमन राईले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा  गाउँमा झिँगटी छानाका ठाउँमा आरसिसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ । स्थानीयवासी घरलाई आधुनिक बनाउन र दीर्घकालीन मजबुत बनाउने उद्देश्यले परम्परागत शैलीलाई विस्थापित गरिरहेका छन् ।  यो परिवर्तनले परम्परागत कला लोप गराइरहेको छ, ताप्लेजुङको मौलिकतालाई पनि खतरा पु¥याइरहेको छ ।ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिता बोकेका घर लोप हुँदै गएका छन् ।  झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन । कला, सीप र स्थानीय परम्परा नै लोप हँुदै गएको छ । झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए ।  स्थानीय बासिन्दाले पुराना झिँगटी घरको संरक्षण र संवद्र्धन आवश्यक देखेका छन् । तर संरक्षणका लागि आवश्यक जनशक्ति अभाव तथा सहयोग नपाउँदा धेरै पुराना घर विस्तारै हराउँदै गएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्म गर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा वृहत झाँकी र्‍याली  प्रर्दशन गरिने भएको छ ।    “महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन विकास र समृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवलाई विगतका वर्षमा जस्तै यस वर्ष पनि सवै जातजाती र समुदायको भेषभुषा र संस्कृति झल्कने गरि झाँकी र्‍याली​ प्रर्दशन गरिने भएको हो ।   महोत्सव उद्घाटन समारोहका दिन स्थानिय आमा समुह, टोल विकास संस्था, सामाजिक संघ सस्थाको साथमा जातीय तथा धार्मीक संघ सस्थाहरुको प्रतिनिधीत्व हुने गरि मौलीक संस्कृती र जातीय भेष भुषाको पहिचान हुने गरि ब्यवस्थीत रुपमा झाँकी र्‍याली प्रर्दशन गर्न लागिएको हो ।    झाँकी र्‍याली प्रर्दशनी ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव जानुका अधिकारीले महोत्सवको आयोजक उद्योग वाणिज्य संघ भएपनि यसमा सवैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफनै घर आगनको पर्वको रुपमा लिएर सहभागि हुनका लागि अनुरोध गरिन् ।   महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका गरि करिव तीन सय ३५ वटा स्टलहरु रहनेछन् ।   लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।  

लमजुङ:     मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ ।       मालिङ प्राथमिक स्वास्थ्य चौकीमा ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आउनुभएकी उहाँले यसअघि नवजात शिशुलाई चिसोदेखि जोगाउन विगतमा निकै समस्या हुने गरेको सुनाउँदै ‘बेवी वाम’ (शिशुलाई न्यानो बनाउने उपकरण) जडान भएपछि खुसी लागेको बताउनुभयो ।      “नवजात शिशुलाई जोगाउन हिटर बालेर गर्नुर्‍थ्यो । अब भने सुव्यवस्थित नवनिर्मित अस्पतालमा बेवी वाम उपकरण आएको छ”, गुरुङले भन्नुभयो, “यो उपकरण पाएपछि बच्चाहरूलाई चिसोबाट बचाउन सकिन्छ । साँघुरो कोठामा सुत्केरी गराउँथ्यौँ, अहिले भवन पाउँदा दङ्ग छौँ ।”       पुस ४ गते लमजुङको क्व्होलासोथार गाउँपालिका–मा स्थित मालिङ प्राथमिक अस्पताल पूर्णरूपमा निर्माण सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालको उद्घाटन गरेसँगै स्थानीयस्तरमा गुणस्तरीय सेवा पाउनेमा स्थानीय हर्षित छन् ।       यहाँकै स्थानीय हुनुहुन्छ सिनियर अनमी गुरुङको । तीस वर्षदेखि सुत्केरी गराउँदै आउनुभएकी उहाँ सुविधासम्पन्न सुत्केरी कक्षसहित आवश्यक उपकरण र नवजात शिशुलाई न्यानो बनाउने उपकरण पाएपछि खुसीले गदगद हुनुहुन्छ । यसअघि जोखिमपूर्ण अवस्थामा सुत्केरी गराउनुपरेको भन्दै अब सेवा प्रदान गर्न सहज हुनुका साथै आमा र शिशुलाई प्रभावकारी सुरक्षा दिन सकिने धारणा राख्नुभयो ।       गुरुङले अस्पतालको सुत्केरी कक्षमा रहेको बेवी वाम उपकरणलाई निकैबेर नियाल्नुभयो । नवजात शिशुका लागि आवश्यकपर्ने उक्त उपकरण पाउँदा उहाँले आफूले ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दा गाउँमा भोग्नुपरेको अनेक चुनौतीहरू सम्झँदै सजह स्वास्थ्य सेवा पाएकामा हर्षित हुनुभयो ।       “तीस वर्षअघि गाउँमा सुडेनीले सुत्केरी गराउने चलन थियो । कुनै पनि घरमा सुत्केरी गराउँदा सुडेनीले नसकेका बेला मात्रै मलाई बोलाउने गर्थे”, गुरुङले भन्नुभयो ।       “सधैँ स्वास्थ्यकर्मीको धर्म निर्वाह गर्दै आउनुभएकी गुरुङले चार÷पाँच घण्टाको बाटो हिडेर घरदैलोमै सेवाका लागि पुग्नुहुन्थ्यो । कसैको ‘नर्मल डेलिवरी’ सुत्केरी हुन्थ्यो । कसैको पिसाब रोकिन्थ्यो । कसैको साल अड्किने, कसैको लामो अवधिसम्म सुत्केरी हुन नसक्ने अवस्था आउँथ्यो । राम्रो र सहज सुत्केरी हुनेबेला कसैले सम्झिँदैनथे । जब सुत्केरीमा जटिल अवस्था आउँथ्यो, तबमात्रै आफूलाई सम्झिने गर्दथे”, उहाँले आफ्नो विगतको अनुभव सुनाउनुभयो ।       स्वास्थ्यकर्मी भएर प्रदान गरेको सेवाको अनुभवमा सम्झिँदा अझै पनि शरीर जिरिङ हुने थुप्रै क्षण रहेका गुरुङले बताउनुभयो । तीन दशकअघि एउटा घटना भयो, त्यो घटनाले उहाँलाई बारम्बार तर्साइरहन्छ ।       उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “मङ्सिर महिना थियो, जाडो याम । समाज जातियताका हिसाबले अहिले जस्तो उदार थिएन । दलित समुदायलाई देख्दा साइत जुर्दैन भन्ने मान्यता भएको समाजमा दलितकै घरमा गएर सुत्केरी सेवा प्रदान गर्नु चुनौतीपूर्ण थियो ।” आफू स्वास्थ्य सेवा प्रवेश गरेसँगै मानव सेवामा जीवन समर्पित गर्ने अठोट सँगालेर अघि बढेकाले जस्तासुकै चनौती पनि सामना गर्ने हिम्मत आउने उहाँको अनुभव छ ।      गुरुङले एउटा स्वास्थ्यकर्मीको नजरमा न जात हुन्छ न धर्म हुने भन्दै मानवता र सेवा मात्र हुने बताउनुभयो ।  “दलित समुदायकी सुत्केरी छट्पटाइरहनुभएको थियो । मैले थाहा पाउनेबित्तिकै उहाँको घरमा पुगेँ । दुई दिनको लामो ब्यथापछि ती सुत्केरीले छोरा जन्माउनुभयो । छोरा पाएको भन्दै परिवार खुसी हुन थाले । आफन्ती र छरछिमेकीलाई सुनाउनु थाले । सुत्केरी गराए पनि म चिन्तित थिएँ । जन्मिएको नवजात शिशु निसास्सिएको अवस्थामा थियो । उसले श्वास फेर्न सकिरहेको थिएन । शिशु न रुन्छ, न आवाज निकाल्छ । मन आतिएको थियो”, उदास हुँदै उहाँले सुनाउनुभयो ।      परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर स्वास भनै थालेको गुरुङले उल्लेख गर्नुभयो । “झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो । जब बच्चा रोयो परिवार सबै खुसीले हास्न थाले । आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुसीले बच्चासँगै डाँको छोडेर रुन थालेँ”, उहाँले भन्नुभयो ।       बच्चा रुँदा मन थाम्नै नसकेर आफू पनि सँगै रोएको उहाँको अनुभव छ ।  आफ्नो प्रणा भरेर जीवन दिएको बच्चा अहिले कक्षा ५ मा पढ्छ । गाउँकै स्कुलमा पढ्ने त्यो बालक देख्दा गुरुङको हृदय ममताले भरिन्छ । उहाँले भन्नुभयो, “उसको मुख हेर्छु । अनि मुस्कुराउँछु अनि भगवान्लाई धन्यवाद मात्रै भन्छु ।”       गुरुङले स्वास्थ्यकर्मीका रूपमा आम्दनी गरेको अमूल्य सम्पत्ति भनेको आमा र बच्चाको सुरक्षा रहेको बताउनुभयो । सुत्केरी गराउने जिम्मेवारी आउँदा उहाँ चाडपर्वसमेत थाती राख्नुहुन्छ । एक दिनको दसैँमा उहाँ तीन दिन सुत्केरीको घरमा व्यस्त हुनुभयो । दसैँ सकियो । गुरुङ सुत्केरी गराएर मात्रै घर फर्किनुभयो । “दसैँ सकिएछ, पत्तै पाइनछु”, उहाँले विगत सुनाउनुभयो ।         सरकारले अस्पतालमा आएर सुत्केरी गराएबापत एक जना बराबर रु दुई सय ५५ दिने गरेको छ । गाउँमा सुत्केरी गराउन पुग्दा उहाँले गरीब परिवारका सुत्केरीलाई पैसा, लत्ताकपडा, खाना दिएर सघाँउनुभएको छ ।  “सुत्केरी भइसकेपछि एउटा सफा कपटाको टालोसमेत किन्न नसक्नेहरू पनि हुनुहुन्छ । यस्तो बेला आफैँले लुगाको व्यवस्था गरिदिने गरेकी छु”, गुरुङले भन्नुभयो । कहिलेकाहीँ सुत्केरी गराउन नसकिने अवस्थामा जिल्ला अस्पतालसम्म पु¥याउन आवश्यक रकमसमेत जुटाइदिने गरेको उहाँले बताउनुभयो ।      “तुरुन्तै अस्पताल पठाउनु पर्छ भन्दा पैसा छैन भनेर रुन थाल्छन्”, गुरुङले भन्नुभयो, “यस्तो बेला कहिलेकाँही आफँैले, कहिले अरुसँग जुटाएर खर्च व्यवस्थापन गरिदिने गर्छु, अधिकांशले इमान्दार भएर फिर्ता पनि गरिदिनुहुन्छ ।”       गुरुङले सेवामा कहिल्यै हिसाबकिताब राख्नुहुन्न । उहाँलाई लाग्छ, स्वास्थ्यकर्मी भनेको व्यवसायभन्दा बढी समाजसेवी हो । अहिले पालिकामा व्यवस्थित भवनसहितको वर्थिङ सेन्टर खोलेपछि उहाँ खुसी हुनुहुन्छ । केही महिनाभित्रै पालिकामा एम्बुलेन्सको व्यवस्था हुँदैछ भन्ने खबरले गुरुङ थप उत्साहित हुनुहुन्छ ।       क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले नवनिर्मित स्वास्थ्य अस्पताल व्यवस्थित बनाउन एम्बुलेन्ससहितको आवश्यक सामग्री जुटाउने प्रक्रियामा पालिका लागेको बताउनुभयो । उहाँले गुरुङजस्ता इमान्दार, मेहनती र आफ्नो सेवामा समर्पित स्वास्थ्यकर्मी स्वास्थ्य क्षेत्रका लागि सदैव आवश्यक पर्ने व्यक्ति हुन् भन्दै गुरुङको प्रशंसा पनि गर्नुभयो ।   

काठमाडौं:   सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ ।  परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।        आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचनामार्फत स्मरण गरिएको छ ।       पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ ।       यस्तै,  रोजगारदाताले राहदानी खोसिदिने, १२/१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।        वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने÷गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ ।      रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा ल्याई बन्दी बनाएर काम गर्न लगाएको पाइएको तथा सामाजिक सञ्जालहरूमार्फत विभिन्न स्थानका एजेन्टद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जालमा प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्नसमेत आग्रह गरिएको छ ।      “वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ । 

काठमाडौं:    सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ ।        नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ ।      कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ ।      विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।      स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालका हकमा अध्ययन गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । कार्यदलले विज्ञ तथा सरोकार भएका निकायसँग छलफल गरेर कार्यविधि तयार पार्नेछ ।      कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका अलावा सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारी सदस्य छन् ।  आमनागरिकलाई सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउनका लागि प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।