पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

हुम्ला:    हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो ।  यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।  जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उहाँले बताउनुभयो । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।  सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा  पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।  हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नुभएको छ ।

गण्डकी:    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ ।       प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा आज जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।      जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उहाँले बताउनुभयो । “आज एक जना प्रतिवादीको मात्र बयान लिइएको छ, अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुन्छ”, सूचना अधिकारी अधिकारीले भन्नुभयो, “सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनचेकको बहस र आदेश हुन्छ ।”      यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।       लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको  सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो ।        लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो ।  प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिनुभयो ।      सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।  सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो ।       उहाँमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटकर्वमा ल्याइ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।

झापा:    झापा कपकोे उपाधि आज चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । उपाधि जितेसँगै चर्च ब्वाइजले नगद रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले पाँच लाख प्राप्त गरेको छ । झापा–११ द्वारा विर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । गतवर्ष झापा गोल्डकपको छैटौँ संस्करण पनि चर्च ब्वाइजले नै जितेको थियो । खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै पहिलो गोल गर्न सफल भएका थिए । खेलको ४३औँ मिनेटमा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई विदेशी खेलाडी अर्मान्डले गोल गरेका थिए । त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए । खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले अर्को गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भएका छन् । उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही रु ३५ हजार नगद प्राप्त गरेका छन् । ‘मस्ट भ्यालुएबल प्लेयर’ चर्च ब्वाइजका रोहन कार्की भए । उनले नगद रु एक लाख प्राप्त गरे । यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद रु २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । विजेता तथा उपविजेतालाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं, आयोजक झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पूर्वअध्यक्ष टीकाराज ढकाल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालगायतले पुरस्कार वितरण गरेका थिए ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लामिछाने सांसदबाट निलम्बित भएको जनाएका छन्।  संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन्।  

काठमाडौं:    ​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकिएको छ ।    रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको हो ।  पार्टी सभापति रवि लामिछानेद्वारा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोरा आजको सचिवालयको बैठकमा जानकारी गराइएको थियो ।  पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो, “सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न अपेक्षा सहित अर्याललाई शुभकामना दिनुभएको छ ।” पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।  आइतबार नै सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाइसकेको छ ।

काठमाडौं:    मध्य अफ्रिकी मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।      ‘लाइट इनफेन्ट्री बटालिएन’अन्तर्गत तैनाथ महावीर गण (रेञ्जर)को दोस्रो डफ्फालाई बदली गर्नका लागि युद्धभैरव गणको तेस्रो डफ्फाका दुई सय २५ शान्ति सैनिकको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।  उक्त टोलीको नेतृत्व सेनानी हुपेन्द्रलाल रेग्मीले गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।      यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत दुई सय २५ शान्ति सैनिक स्वदेश फर्केका छन् ।  उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रज्ज्वल थापाले गर्नुभएको थियो । हाल सो मिसनमा एक हजार दुई सय ४४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

काठमाडौं:    नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाउनुभएको हो ।  कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ ।      गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।  मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिनुभएको थियो । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।      कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका साथै सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत रहेका छन् ।  सर्वसाधारणलाई समेत सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाउनुभएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

काठमाडौँ:  भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला परेका छन् ।   सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् ।    उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । 

सिरहा:     सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले झण्डै डेढ महिनापछि अनुसन्धान प्रतिवेदन बुझाएको छ ।  समितिले गत बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी रवीन्द्रकुमार महतले जानकारी दिनुभयो ।  सूचना अधिकारी महतका अनुसार अनुसन्धान प्रतिवेदन ९० पृष्ठको रहेको छ । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बिदामा हुनुहुन्छ । सम्भवत उहाँ बिहीबार कार्यालय आउनुहुन्छ । उहाँ आएपछि जिल्ला सुरक्षा समितिको बैठकमा प्रतिवेदन पेस हुन्छ र प्रतिवेदन सार्वननिक हुन्छ ।”  गत कात्तिकमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सूचना बाहिरिएपछि सो सम्बन्धमा सम्बन्धमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा कात्तिक २५ गते पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।  छानबिन समितिमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहेका थिए ।कारागारका मूल नाइके र अन्य कैदीले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घट्ना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।  त्यस्तै कारागारमा ५ गुणासम्म मूल्यमा लागुऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने जानकारी बाहिरिएको थियो । यस प्रकरणमा कारागार व्यवस्थापन विभागले तत्कालै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा निर्देशन दिएको थियो ।  त्यसपछि गठन भएको छानबिन समितिलाई सुरुमा अनुसन्धान प्रतिवेदनका लागि १५ दिनको समय दिइएको थियो । तर, समयमै अनुसन्धान तथा छानबिनको काम नसकिएपछि जिल्ला सुरक्षा समितिले समय थप गरेको थियो ।  कारागारको अवलोकन, विद्यमान अवस्थाको अध्ययन, भौतिक संरचना तथा सुरक्षा व्यवस्थाको अवस्था, प्रशासनिक प्रणालीको अध्ययन, कैदीसँग छलफल तथा अन्तरक्रिया, कैदीसँग सम्बन्धित अभिलेख सङ्कलन, नीति नियम तथा निर्देशिकाको अध्ययन, सरोकारवालासँग अन्तरक्रियालगायतका काम गरी प्रतिवेदन तयार गर्न समय लागेको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी महतले जानकारी दिनुभयो ।