काठमाडौं: नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गर्नुभएको हो । यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो ।‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राख्नु भएको हो । यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ । यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रुपमा टप सप काठमाडौँ र शतिसाल आइआइसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता लकेश श्रेष्ठ हुनुहुन्थ्यो । उक्त फेस्टिबलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोङ्गो, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो । आफ्नो यो सफलता १२ वर्षदेखिको मेहनत र धैर्यताको प्रतिफल रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो रेकर्ड प्रयास गर्न सुरुआत गरेको १२ भयो, निरन्तर लागिरहे र आज सफल भएँ ।” नयाँ पुस्ताहरुलाई पार्कर खेलमा अभिप्रेरित गरी खेलमार्फत देशको नाम विश्वसामु उँचो पार्न सकेकामा गौरवको महशुस गरेको बताउनुहुन्छ । साथै, उहाँले अमेरिकामा राखेको रेकर्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नै बताउँदै नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु आफ्ना लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले भविष्यमा पनि पार्कर खेलका माध्यमबाट नेपाल र अमेरिकाबीचको सांस्कृतिक, कूटनीतिक र खेलकुद सम्बन्धलाई सुमधुर बनाउने बताउनुभयो ।
कैलाली: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताउनुभयो । नेता डा कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिनुभयो । “यो अन्तिम विकल्पको सरकार हो । संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइराखेका छन् । हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका छौँ । अहिलेको सरकारलाई असफल हुने छुट छैन”,उहाँले जोड दिएर भन्नुभयो,“कुनै पनि हालतमा अहिलेको सरकार अगाडि जानुपर्छ । आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ ।” नेता डा कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो । नेता डा कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेका बताउनुभयो । यसैगरी उहाँले १ वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सोअनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।
मनाङ: हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् । स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन् । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङ भन्नुहुन्छ, “हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ । हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती । खै, के भएर होला १ आजकल समयमा हिउँ पर्न छोड्यो ।”समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरुङको भनाइ छ । “हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन । किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो”, उहाँले सुस्केरा हाल्दै भन्नुभयो । केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिमाल सेताम्मे हुन्थे । पर्याप्त पानी हुँदा किसान ‘मानो रोपी मुरी उब्जाउने’ काममा व्यस्त हुन्थे । अचेल भने न हिमाल सेता छन् न त किसानले सजह रूपमा कृषिकर्म गर्न पाएका छन् । प्रमुख जिल्ला अधिकारी मातृका आचार्य पनि पुस लागिसक्दासमेत हिउँ परेपछि चकित हुनुहुन्छ । हिउँ नपरी चिसो अत्यधिक बढेकाले उहाँलाई प्राकृतिक नियम नै फेरिएजस्तो महसुस भइरहेको छ । “जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेका छन् तर हिउँ भने परेको छैन । जसले प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश छन् । अरु मानिस नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्तित छौँ”, आचार्यले भन्नुभयो । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको बताउनुहुन्छ । यसले उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको उहाँको अनुभव छ । “हिउँकै पानीले सिँचाइ हुने यहाँ हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो । प्राकृतिक स्वभाव फेरियो, अब हामीले पो कसरी फेरिने होला रु यस्तो अवस्थासँग कसरी अनुकूलित हुने होला १”, उहाँले गुरुङले जिज्ञासा राख्नुभयो । स्थानीय फुर्वा छिरिङ लामाले पनि यहाँको हावापानीमा परिवर्तन भएको अनुभव गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “यतिबेला हिउँले सेताम्मे भएर घर बाहिर निस्कन वा कामकाज गर्नै सकस हुन्थ्यो । खै १ अचेल त हिउँ नै नपरी चिसो मात्रै बढ्छ । यो त अचम्मै भयो ।”
पर्वत: स्थापना भएको साढे ३ दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो । फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताउनुभयो । उहाँले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताउनुभयो । अब जिल्लामै अधिकांश रोगको उपचार हुनेगरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएपनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालन गर्न डा प्रमीला लामिछाने नियुक्त हुनुभएको हो । अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । ‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले बिरामीका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । डा बाँस्तोलाका अनुसार प्यारालाइसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रूपमा उपचार पाउने छन् । अस्पतालले पहिलो चरणमा १० शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ । स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ । जिल्लामा फिजियोथेरापी सेवा नहुँदा यस क्षेत्रका बिरामी पोखरा, काठमाडाँैलगायतका ठाउँमा जान बाध्य थिए । जिल्लाबाटै उक्त सेवा सञ्चालन भए पनि यस क्षेत्रका बिरामीलाई सहज हुने छ ।
चितवन: चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बन्नुभएको बताउनुभयो । विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिनुभएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आउनुभएको हो । उहाँ स्नातकोत्तर तह (एमएड) उत्र्तीण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बन्नुभएको छ । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपिएल०को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिनुभएको हो । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गर्नुभयो । “यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगितामार्फत तपाईंहरुको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन ग¥यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नका लागि म शुभकामना दिन्छु ।” आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्र्दै उहाँले यसका लागि बोलपत्र आह्वान भइसकेको बताउनुभयो । उहाँले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताउनुभयो । त्यस अवसरमा नेपाल क्रिकेट सङ्घ र खेल व्यवस्थापकहरुले नेपालमा विदेशी खेलाडी ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग ल्याउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृतिसम्बन्धी झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभयो । जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी भएको प्रतिक्रिया दिनुभयो ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि सुरु पोखरा हुँदै सिक्लेस–कपुचे–कोरी–क्होलासोँथर–याङ्जाकोटबाट पुनः पोखरासम्मको पदमार्ग प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसमा आयोजित अन्तर्क्रियाका सहभागीले सिक्लेसको मौलिकता गुम्न दिन नहुनेमा जोड दिएका हुन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले सिक्लेसको संस्कार र संस्कृति यहाँको मौलिकता भएको बताउनुभयो । मौलिकतालाई जोगाउँदै पर्यटकीय विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घका गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले यो क्षेत्र गुुरुङहरूको ऐतिहासिक स्थल भएको बताउँदै यहाँ प्राचीनकालदेखिका संस्कार र संस्कृति रहेको बताउनुभयो । सिक्लेसलगायतका गुरुङ गाउँहरू समेटेर यहाँबाट कपुुचे, कोरी, क्होलासोँथर समेटेर गुरुङ सम्पदा पदमार्ग विकास गर्न खोजिएको उहाँले बताउनुभयो । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले क्होलासोँथरबाट गुुरुङ समुदायका व्यक्ति पहिलोपटक बसाइ सरेर आएको स्थल सिक्लेस भएको बताउँदै यहाँको मौलिकतालाई पर्यटकीय रूपमा उपयोग गर्न काम गरिरहेको उल्लेख गर्नुभयो । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुुरुङले बढ्दो बस्ती विकाससँगै देशका विभिन्न पदमार्ग छोटिँदै गएको अवस्थामा गुुरुङ सम्पदा पदमार्ग एउटा महत्त्वपूर्ण विकल्प हुने धारणा राख्नुभयो । सिक्लेसमा शान्ति प्रक्रियाको सुरुआत भएको गन्तव्यका रूपमा शान्ति स्तम्भ बनाइएको छ । यहाँस्थित ‘इको म्युजियम’लगायत धेरै पर्यटकीयस्थल छन् । आगामी पुस १३ गतेसम्म हुने पदमार्ग प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका र गुरुङ पर्यटन व्यवसायी सङ्घले सहयोग गरेका छन् ।
काठमाडौं: आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू १ हजार १ सय र चाँदी प्रतितोला रू ३० ले बढेको छ । गत शुक्रबार प्रतितोला रू १ लाख ४८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू ज्ञ लाख ४९ हजार ट सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू १ हजार ७ सय ९० मा कारोबार हुनेछ ।
पोखरा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गर्नुभएको छ । मन्त्री गुरुङले राहदानीलगायतका सरकारी कागजात देशभित्रै छाप्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । वराह माध्यमिक विद्यालय माछापुच्छे ६, कास्कीमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय सुरक्षा र खर्च कटौतीका लागि पनि यसो गर्नु जरुरी रहेको औँल्याउनुभयो । “धेरैजसो सरकारी कागजात र परिचयपत्र विदेशमा छापिने गरेका छन् । अबको एक वर्षभित्रै पासपोर्ट ९राहदानी० नेपालमै छाप्छौँ,” उहाँले भन्नुभयो, “नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौं ।” उहाँले देशमा अराजकता, अस्तव्यस्तता बढ्दै जाँदा त्यसलाई रोक्न दुई ठुला दल मिल्नुपरेको बताउनुभयो । सरकार गठन भएको ५ महिनामा देखिने गरी ठुलो परिवर्तन नभएको भए पनि समस्या पहिचान गरी समृद्धिको यात्रा थालिएको उहाँको भनाइ छ । “देश भित्रभित्रै मक्किएको, अर्थतन्त्र कमजोर बनेको अवस्था थियो । अराजकतावादी, उग्र वामपन्थी र विदेशी हस्तक्षेपबाट देशलाई असफल हुनबाट बचाउन एमाले र कांग्रेस मिलेका हुन्,” उहाँले भन्नुभयो । देशमा प्रमुख राजनीतिक दलहरूले ठुला ठुला आन्दोलन, क्रान्तिहरूको सफल नेतृत्व गरेको स्मरण गर्दै उहाँले आर्थिक, सामाजिक रूपान्तरण गर्दै समाजवादतर्फको यात्रा अब जरुरी भएको औंल्याउनुभयो । सरकारले काम गरिरहेको भए पनि सन्तुष्ट हुने अवस्था नभएको जनाउँदै उहाँले बाँकी अवधिमा देखिने गरी केही काम हुने दाबी गर्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ३० प्रतिशत हाराहारीको विकास बजेटको पनि आधा मात्र खर्च हुने परिपाटी रहेको जनाउँदै यसलाई नबदली जनअपेक्षा पूरा नहुने प्रस्ट पार्नुभयो । “ऐन, कानुन, नीतिहरू बदल्दै अघि बढ्नु पर्छ । राजा महेन्द्रको पालाका ऐन, कानुनबाट गणतन्त्रको विकास र समृद्धि सम्भव छैन,” मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरीय इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पु¥याउन लागिपरेकोसमेत जनाउनुभयो । पहिले लहडका भरमा विद्यालयहरू खोलिँदा अहिले अनेक समस्या आएको उहाँको भनाइ छ । “अध्ययन नगरी, पछि आउन सक्ने बसाइँसराइबारे नसोची स्कुल खोलिए, अहिले पूर्वाधार छन्, विद्यार्थी छैनन्,” उहाँले थप्नुभयो, “अब सरकारी विद्यालयहरूले पनि स्कुल बसको सुविधा र छात्रावास सुरु गर्नु पर्छ । हरेक गाउँमा स्कुल चल्ने अवस्था नहुँदा छात्रावास र बस अनिवार्य हुँदै गएको छ ।” नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित सबैजसो क्षेत्रमा समस्या रहेको औँल्याउँदै उहाँले ती समस्या सुल्झाउँदै विकास र प्रगतिको पथ पहिल्याउन लागिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा आमूल परिवर्तन गर्नैपर्ने छ । अब शिक्षित बेरोजगार उत्पादन गर्ने होइन, सिप भएको, क्षमतावान र प्रतिस्पर्धी जनशक्ति तयार गर्न लाग्नु पर्छ ।” २०२४ सालमा स्थापना भएको वराह माविले कक्षा ११–१२ मा भेटेरिनरी अध्यापन गराउने गरेको छ । विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिनुभयो । यहाँ सञ्चालित भेटेरिनरी शिक्षालयको रजत महोत्सवसमेत शनिबारै सुरुवात गरिएको छ ।

